प्रेरणाको विन्दु÷सफलताको तयारी : अवसर आउनुअघि आफूलाई तयार बनाऔँ

तुफानबाबु श्रेष्ठ

सफलता संयोगले होइन, तयारीले जन्मिन्छ । जीवनमा सफल हुन चाहने मानिसको संख्या धेरै हुन्छ, तर सफलताको लागि आवश्यक तयारी गर्ने मानिस भने निकै कम हुन्छन् । अधिकांश मानिस अवसरको प्रतीक्षामा बस्छन्, तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जसले अवसर आउनुभन्दा धेरै पहिले नै आफूलाई त्यसका लागि योग्य बनाइसकेका हुन्छन् । वास्तवमा सफलता भाग्यको उपहार होइन, निरन्तर अभ्यास, धैर्यता, अनुशासन र सही तयारीको प्रतिफल हो । जब मानिसले आफ्नो लक्ष्य स्पष्ट बनाउँछ र त्यसका लागि निरन्तर अभ्यास गर्न थाल्छ, तब सफलता ढिलो–चाँडो उसको जीवनमा अवश्य आउँछ ।

हामीले अक्सर सुन्ने गर्छौँ– ‘अवसर एकपटक मात्र आउँछ ।’ तर यो भनाइभन्दा पनि ठूलो सत्य के हो भने, अवसरले सधैं तयार मानिसलाई नै रोज्छ । जो व्यक्ति आजदेखि नै भविष्यका चुनौती र सम्भावनाका लागि आफूलाई तयार बनाइरहेको हुन्छ, उसले अवसरलाई समात्न कुनै कठिनाइ महसुस गर्दैन । त्यसैले सफलताको यात्रा लक्ष्य निर्धारणबाट मात्र सुरु हुँदैन, त्यसको आधार बलियो तयारीबाट सुरु हुन्छ । यही सन्देश बोकेको एउटा प्रेरणादायी प्रसंग छ । सहरदेखि केही टाढा एक वृद्ध दम्पती बस्ने गर्थे । वरिपरि हरियाली, शान्त वातावरण र चराचुरुङ्गीको मधुर चिरबिराहटले बिहानलाई जीवन्त बनाउँथ्यो । त्यो क्षेत्र प्रायः सुनसान नै हुन्थ्यो । मानिसको आवतजावत पनि निकै कम थियो ।

एक बिहान उनीहरूले एउटा युवकलाई हातमा कोदालो बोकेर साइकलमा कतै जाँदै गरेको देखे । उनीहरूले सोचे– सायद गाउँतिर खेतको काममा जाँदै होला । तर अर्को दिन पनि उही युवक उही समयमा त्यही बाटो हुँदै गयो । त्यसपछि त यो क्रम दैनिकजस्तै बन्न पुग्यो । प्रत्येक बिहान ऊ कोदालो बोकेर त्यही बाटो हुँदै जान्थ्यो र केही बेरपछि आँखाबाट ओझेल पथ्र्यो । यसरी लगातार केही दिनसम्म देखेपछि वृद्ध दम्पत्तिको मनमा जिज्ञासा जाग्यो । यति सुनसान ठाउँमा त्यो युवक हरेक दिन किन जान्छ ? कतै कुनै रहस्य त छैन ? अन्ततः उनीहरूले युवकलाई पछ्याउने निर्णय गरे ।

अर्को बिहान युवक साइकलमा अघि लाग्यो र दम्पत्ति केही दूरीबाट पछिपछि लागे । केहीबेरपछि युवक एउटा ठूलो रुखमुनि रोकियो । साइकल त्यहीँ अड्यायो, कोदालो उठायो र केही पाइला अगाडि बढेर जमिन खन्न थाल्यो । यो दृश्य देखेर दम्पत्तिले उत्सुकतावश नजिक पुगेर सोधे– ‘बाबु, यो सुनसान ठाउँमा तिमी किन जमिन खन्दैछौँ ? यहाँ केही रोप्ने योजना हो ?’

युवकले विनम्र मुस्कानसहित उत्तर दियो– ‘दुई दिनपछि म नजिकैको गाउँमा एक किसान कहाँ काम माग्न जाँदैछु । उहाँहरूलाई खेतमा काम गर्न सक्ने मानिस चाहिएको छ तर म त सहरमा हुर्केको मान्छे, खेतमा काम गर्ने अनुभव छैन । त्यसैले काम सुरु गर्नुअघि केही दिनदेखि यहाँ आएर कोदालो चलाउने अभ्यास गरिरहेको छु, ताकि मौका पाएपछि मैले काम राम्रोसँग गर्न सकूँ ।’

युवकको जवाफ सुनेर वृद्ध दम्पती भावुक भए । उनीहरूले एउटा असाधारण सोच भएको साधारण युवकलाई देखिरहेका थिए । वृद्धले स्नेहपूर्वक भने– ‘बाबु, तिमीले अपनाएको बाटो नै सफलताको बाटो हो । तयारी बिना कुनै पनि उपलब्धि सम्भव हुँदैन । तिम्रो मेहनतले अवश्य राम्रो फल दिनेछ ।’

युवकले सम्मानपूर्वक उनीहरूको आशीर्वाद लियो र फेरि आफ्नो अभ्यासमा जुट्यो । यो कथा सानो भए पनि यसको सन्देश अत्यन्त गहिरो छ । आजको प्रतिस्पर्धी संसारमा सफल हुने ती होइनन्, जसले अवसरको मात्र प्रतीक्षा गर्छन्; सफल हुनेहरू त ती हुन्, जसले अवसर आउनुअघि नै आफूलाई सक्षम बनाइसकेका हुन्छन् । विद्यार्थी परीक्षाअघि निरन्तर अभ्यास गर्छन्, खेलाडी प्रतियोगिताअघि महिनौँ प्रशिक्षण लिन्छन्, कलाकार मञ्चमा उत्रिनुअघि अनगिन्ती पटक अभ्यास गर्छन्, व्यवसायी नयाँ योजना कार्यान्वयन गर्नुअघि बजारको अध्ययन गर्छन् । यी सबैको साझा आधार एउटै हो– तयारी ।

दुर्भाग्यवश, धेरै मानिसहरू तयारी नगरेर नै ठूलो उपलब्धिको अपेक्षा गर्छन् । उनीहरू परिणाम चाहन्छन्, तर त्यसका लागि आवश्यक मेहनत र अनुशासन अपनाउन चाहँदैनन् । यस्तो सोचले सफलता टाढिँदै जान्छ । वास्तविकता के हो भने, सफलताको कुनै छोटो बाटो हुँदैन । प्रत्येक उपलब्धिको पछाडि अदृश्य संघर्ष, निरन्तर अभ्यास र अथक परिश्रम लुकेको हुन्छ ।हामीले आफ्नो जीवनमा पनि यही सिद्धान्त अपनाउनुपर्छ । चाहे पढाइ होस्, रोजगारी होस्, व्यवसाय होस् वा व्यक्तिगत विकास– हरेक क्षेत्रमा पहिले आफूलाई योग्य बनाउने प्रयास गर्नुपर्छ । किनकि अवसरले ढोका ढकढक्याउँदा तयार व्यक्ति आत्मविश्वासका साथ ढोका खोल्छ, तर तयार नभएको व्यक्ति पछुताउन मात्र बाध्य हुन्छ ।

निष्कर्षतः, सफलताको यात्रा भाग्यको प्रतीक्षा गरेर होइन, आजैदेखि गरिने तयारीबाट सुरु हुन्छ । अवसर कहिले आउँछ भन्ने कसैलाई थाहा हुँदैन, तर अवसर आउँदा आफू तयार हुनु हाम्रो हातमा हुन्छ । त्यसैले समयलाई व्यर्थ नफालौँ, हरेक दिन केही नयाँ सिकौँ, आफ्नो सीप निखारौँ र लक्ष्यतर्फ निरन्तर अघि बढौँ । याद राखौँ– सफलता भाग्यमा लेखिएको कथा होइन, तयारी, लगन, अनुशासन र अथक परिश्रमले लेखिएको इतिहास हो । जसले आज आफूलाई तयार पार्छ, भोलि सफलताको शिखरमा उही व्यक्ति उभिएको देखिन्छ ।