सुनिल पोख्रेल
समीक्षा
नवप्रतिभा शोभाराम ओलीद्वारा रचित ‘अलेटिस जोइ’ प्रेम कथामा आधारित एक सामाजिक विषय वस्तुको उपन्यास हो । शोभारामको समग्र कृतिका आधारमा छैठौँ तथा उपन्यासका सन्दर्भमा तेस्रो उपन्यास रूपमा प्रकाशित यस उपन्यासले हाम्रा समाजका यथार्थ जीवनहरूलाई चित्रण गर्ने प्रयास गरेको छ । नेपाली ग्रामीण समाजको परिवेशमा आधारित यस उपन्यासमा उनले अन्तर्जातीय प्रेम कथालाई मूल विषय बनाएका छन् ।
समाजमा व्याप्त जातीय विभेद, वर्गीय विभेदका साथै जनयुद्ध, वैदेशिक रोजगारी जस्ता विषयवस्तुमा यो उपन्यास केन्द्रित छ । जातीय विभेद तथा वर्गीय असमानताको पर्खालमा हुर्किएको दुई प्रेमी पे्रमिकाको प्रेमकथामा तयार गरिएको प्रस्तुत उपन्यासले नेपाली समाजमा व्याप्त सामाजिक, राजनैतिक र आर्थिक अवस्थाको सफल चित्रण गर्ने प्रयास गरेको छ ।
खोज तथा अनुसन्धानमूलक लेखन नै ‘अलेटिस जोइ’ उन्यासको सबैभन्दा राम्रो पक्ष हो । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय र सन्दर्भलाई खोजी गरी ती विषय तथा सन्दर्भको ज्ञान पाठकलाई दिनु यस उपन्यासको सफल पक्ष हो । नेपालको रापती नदीलाई धेरैले भारतमा पुगेपछि यो हराउँछ र यो समुन्द्रसम्म पुगेको छैन भन्ने उक्ति हाम्रा समाजमा व्याप्त छ । यसै सन्दर्भमा रापती नदीको उद्गम स्थान र यसका सहायक नदी तथा यो भारत हुँदै बङ्गलादेश पुग्दासम्म मिल्दै जाने नदी र बदलिदैजाँने नामको विवरण यस उपन्यासमा आएको छ ।
रापती नदीको समुन्द्रसम्मको मार्गलाई खोजमूलक ढङ्गबाट यहाँ उपन्यासकारले प्रस्तुत गरेका छन् जुन निकै सराहनीय कार्य हो । यसका साथै सुर्खेत जिल्लामा अवस्थित काँव्रmे बिहार र लाटी कोइली मन्दिरको ऐतिहासिक तथा निर्माण शैलीको अनुसन्धानमूलक विवरण, विश्वकप २०२२ को खेलको सत्य तथ्य जानकारी एवम् यस खेलमा रहेका एम्बाप्पे तथा मेसिको तथ्य परक परिचय र ऋक्ष्एब् भन्ने आनुवंशिक रोगको खोजमूलक परिचय यस उपन्यासमा आएका राम्रा पक्ष हुन् ।
विश्व समाजमा जाती व्यवस्थाको सुरुवात तथा नेपालमा यसको प्रवेशका सन्दर्भका उपन्यासकारले जुन अनुसन्धानमूलक तथ्यहरू प्रस्तुत गरेका छन् ती कुराले उपन्यासलाई ज्ञानवर्धक र स्तरीय बनाएको छ । यसैगरी ब्रह्माले ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्र चार वर्णका मानिस उत्पन्न गरेको वेदमा उल्लिखित मिथकका प्रसङ्ग उपन्यासमा प्रस्तुत् गर्नुले उपन्यासकार लेखनमा अनुसन्धानमूलक तथा खोजीनिती गर्न रुचाउँछन् भन्ने देखाउँछ । हाल यस प्रकारको लेखन साहित्यमा उपयुक्त मानिएको सन्दर्भमा पनि उनको यो प्रयोगले उपन्यासलाई जीवन्त र ज्ञानवर्धक बनाएको छ ।
स्थानीय संस्कार, संस्कृति, चाडबाड, मेलापर्वको उल्लेख उपन्यासमा हुनुले उपन्यासलाई जीवन्त र आकर्षक बनाएको देखिन्छ । रोल्पा जिल्ला तथा त्यस आसपासमा रहेका मगर समुदायमा प्रचलित ओखरा पस्ने (हाता खेल्ने) संस्कार, लुम्बिनी प्रदेशका पहाडी जिल्लामा प्रचलित पैसेरु नाँच, सारङ्गी नाच, सुदूरपश्चिम तथा कर्नाली क्षेत्रको देउडा नाचका साथै दशैँ, तिहार, चैते दशैँ, माघी तथा भुम्या पर्व, बाह्र भदौ, जस्ता स्थानीय संस्कार, संस्कृति र चाडबाडका परिचय तथा नाम उल्लेखले उपन्यासलाई मर्मस्पर्शी र सुन्दर बनाएको छ ।
यस उपन्यासको कथावस्तुमा आएको द्वन्द्व विधान आकर्षक छ । जातीय तथा वर्गीय असमानताको द्वन्द्वका विच उपन्यासका मूल पात्र सन्तोष र माया दुई प्रेमी प्रेमीकाको प्रेममा उत्पन्न समस्या नै यस उपन्यासको मूल द्वन्द्व हो । जातीय तथा वर्गीय असमानताको पर्खालका बिच हुर्किएको प्रेममा मायाको परिवार दाङ बसाइँ सर्नुले भौगोलिक दुरी पनि बाधक बन्न पुग्दा उपन्यासको द्वन्द्वले अझै आरोह लिन्छ । यसै बिच सन्तोष र माया दुबैको एसएलसीको नतिजा के हुन्छ भन्ने कौतुहताले पाठकको हृदयमा थप द्वन्द्व उत्पन्न गर्छ ।
एकातिर माया आईएड पढन दाङबाट सुर्खेत जान्छे भने पैरोको चेपेटामा परी सन्तोष पढन पाउँदैन र ऊ विदेश जाने योजना बन्दा यी दुवैको दुरी अझै कायम हुन्छ र द्वन्द्वले उचाई लिन्छ । यता सन्तोषको साथी सुनिलको भेट मायासँग हुँदा माया र सन्तोष चिठीपत्रमार्फत् जोडिन पुग्दा द्वन्द्वले अवरोह लिन्छ । माया काठमाडौँ पढ्न जान तयारी गर्दा द्वन्द्वले अझ अवरोह लिदाँ एका एक सन्तोषको भिसा आउनु र काठमाडौँमा बसेको सन्तोष युएई जानुले द्वन्द्वले फेरि आरोह लिन्छ ।
यस प्रकार पटक पटकका माया र सन्तोषको मिलनको अपेक्षामा पाठक रहँदा सन्तोषका बुबाआमाले जनयुद्धको आक्रमणको चेपेटामा परी त्रासदी मृत्युवरण गर्दा उपन्यासको द्वन्द्वमा अर्को मोड थपिन्छ । माया र सुनीलको विवाह प्रसङ्ग, सन्तोषले प्राप्त गरेको जालि पत्र तथा माया गायक बनेर युएइ जानु र सन्तोष बिरामी पर्नु जस्ता घटनाले उपन्यासमा द्वन्द्वको आरोह अवरोहको अवस्था चलिरहन्छ । एकातिर माया गायक बनेर युएई गीत गाउन पुग्दा एउटा कार्यक्रममा दर्शक बन्न पुगेको सन्तोषले मायालाई भेटेको छ तर पनि यी दुबैको विचमा मिलन हुन सक्दैन । यसले पाठक मनमा एउटा गहिरो प्रभाव छोडेको छ । यसरी द्वन्द्वमा चरम सङ्घर्ष उत्पन्न गरेर उपन्यासलाई आकर्षक बनाउने कार्यमा उपन्यासकार सफल देखिन्छन् ।
स्थानीय कथ्य संवादको प्रयोग तथा सरल र कलात्मक भाषाका साथै नवीन शैलीले उपन्यासलाई राम्रो बनाएको छ । रोल्पा जिल्लाको पश्चिम उत्तरको कथ्य जनबोली जस्तै ः ‘आस्ता शुक्रवार सबेरै आइजान्छौ । अर्नी क्यै बना छैन है ।’ ‘माठो माठो जाम है सन्तोष ।’ ‘यस्तै छ यार बड्डा ! तँ कहिले आइस् यता’ यस उपन्यासमा प्रयोग भएको छ । यस्तै डोल्पा जिल्ला र त्यस आसपासका क्षेत्रमा बोलिने नेपाली माझाली भाषिकाको प्रयोग कतिपय संवादमा भेट्न सकिन्छ, जस्तै ः ‘तुम्मो घर काँ हो ? के काम अद्दा छौ ? कैकन चाइएको हो कोठो ?’ ‘ कोेठा हेन्नेऊ त बाए ?’ । यस प्रकार नेपाली भाषाका भाषिकाहरूको प्रयोग तथा जनबोलीको प्रयोगले पाठकमा अपनत्वको भावनाको विकासहुँदा उपन्यासले पाठकसँगको सम्बन्ध बलियो बनाउनसक्ने देखिन्छ ।
यसै गरी बङ्गाली, हिन्दी भाषाका संवादहरूको पनि यस उपन्यासमा प्रयोग गरिएको छ । विभिन्न भाषाका संवादले उपन्यसालाई यथार्थपरक बनाएको देखिन्छ । यस उपन्यासमा सरल भाषाको प्रयोग भएका कारण सामान्य पाठकले पनि यो उपन्यास पढ्न र बुझ्न सक्छन् यो पनि यस उपन्यासको एक सकारात्मक पक्ष बनेको छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’, ‘आफ्नो जस्तो अर्को हुन्न, खास्टोजस्तो बर्को हुन्न’ ‘पहाडको छोरो र मेधेसको घोरोले त हो दुःख पाउने’, ‘दिन जान र ऋण लाग्न बेर लाग्दैन’ जस्ता उखान र उक्तिहरूले उपन्यासको भाषा सुन्दर बनाएको छ ।
‘मलेवा उडेर खोला कटेजस्तै यी देशका कर्णाधारहरू उडेर सीमा काट्नुनपरोस ।’ जस्ता लक्षणापरक अभिव्यक्तिका वाक्यहरूको प्रयोगले उपन्यासलाई स्तरीय बनाएको छ । यस्तै उपन्यासको कतिपय प्रसङ्गमा आएका लक्षणात्मक तथा व्यञ्जनात्मक अभिव्यक्ति तथा विम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक अभिव्यक्तिले पनि उपन्यासको भाषालाई स्तरीय बनाएको देखिन्छ ।
अइय… कहिले हात्ति चौबाटोमा कहिले हात्ति दाङमा
बादल फाटी घाम लागि जा बैरागीको आङमा हो ..।
जस्ता लोक गीतका अंशहरू यस उपन्यासका गहना बनेका छन् । वर्णात्मक, विवरणात्मक, संवादात्मक, पत्रात्मक शैलीका साथै उपन्यासमा प्रयोग गरिएका लोक तथा आधुनिक गीतका अंशहरूले उपन्यासलाई जीवन्त र आकर्षक बनाएका छन् । यस्तै–यस्तै यस उपन्यास मेटाफिक्सन शैलीको प्रयोग गरिएको छ । मेटाफिक्सन अहिलेको एक नवीन शैली हो जसमा कुनै पनि कृतिभित्रै अर्को कथा हुन्छ र त्यो कथाका कथावस्तु, पात्र, परिवेश तथा कृतिका उद्देश्यमाथि कृति कै पात्रले व्याख्या विश्लेषण गर्छ ।
यो प्रयोग नेपाली साहित्यमा युग पाठकको उर्गेनको घोडा उपन्यासमा पनि प्रयोग गरिएको छ । हुन त संस्कृतको ‘कथा सरित्सागर’ तथा नेपालीमा ‘वीरसिक्का’ जस्ता कृतिमा पनि कथाभित्र कथा भन्ने मेटाफिक्सन जस्तै शैली प्रयोग नभएको होइन तर यी कृतिहरूमा कथा भित्र कथाको प्रयोग गरिए पनि कथावस्तु, पात्र, परिवेश तथा कृतिका उद्देश्यमाथि कृति कै पात्रले व्याख्या विश्लेषण गर्ने पद्धति भने प्रयोग भएको देखिदैन । अतः नवीनतम् शैली र आकर्षक प्रस्तुतीले उपन्यालाई समसामयिक र पठनीय बनाएको छ ।
पूर्वीय मूल्य मान्यता र दर्शनका पक्षमा रहेर उपन्यास प्रस्तुत गर्नु यस उपन्यासको अर्को राम्रो पक्ष हो । पूर्वीय समाजमा स्वीकृत आत्मिक प्रेमका पक्षमा विचार राख्नु यस उपन्यासको अर्को राम्रो पक्ष हो । धोकामा इष्र्या लिएर जल्ने र जलाउने होइन निरन्तर प्रेम थप्दै जानु पर्छ भन्ने मान्यता यस उपन्यासमा छ । पूवीय ग्रन्थ ‘महाभारत’ मा राधा र कृष्णका माध्यमबाट प्रस्तुत आत्मिक प्रेमको विचारलाई यस उपन्यासले बोकेको देखिन्छ । यस उपन्यासमा योग दर्शनको चर्चा गर्दै यसको महत्वमाथि प्रकाश पारिएको छ जो पूर्वीय दर्शनको एक महत्वपूर्ण पक्ष हो । माया, मोह र लोभले मान्छेलाई दुःखी बनाउँछ भन्ने पूर्वीय दर्शनलाई पनि यस उपन्यासले बोकेको छ जसले उपन्यासको वैचारिक पक्षलाई सबल बनाएको छ ।
आगामी लेखनमा शोभारामले यथार्थपरक प्रस्तुतीमा जोड दिन आवश्यक छ । सन २०२२ को विश्वकप फुटबल म्याचको फाइनल खेलेमा अर्जेन्टिना र फ्रान्स भिडिरहेको सन्दर्भमा यो खेल हेर्ने यहाँ हिरा र शोभाराम दुई पात्र अर्जेन्टिनाको जर्सी लगाएर खेल भएकै रङ्गशालाको नजिकै रहेको एक ठूलो पर्दामा हेर्न पुगेका छन् । त्यही बसेर अलेटिस जोइ उपन्यास हिराले पढ्ने र शोमारामले सुन्ने गरेका छन् । यो प्रसङ्ग कति पनि यथार्थपरक छैन । यस्तो हुन पनि सक्दैन र त्यस्तो भिडमा उपन्यास पढ्न सकिदैन पनि । यस्ता गल्ति आगामी लेखनमा लेखकले सुधार गर्नु आवश्यक छ ।
परिवेश र समयावधिगत यथार्थमा लेखक चनाखो हुनु आवश्यक छ । ‘अलेटिक जोइ’ उपन्यासको एक प्रसङ्गमा साउनको महिनामा कोहलपुरमा ‘जाडो भयो चिया पिऊँ न है’ (पृ.१२२) भनि मायाले भनेको प्रसङ्ग त्रुटीपूर्ण छ । कोहलपुरमा साउनको महिनामा जाडो भन्नु परिवेशगत रूपमा मिल्दैन । त्यस्तै कक्षा ४ मा सन्तोष र मायाले पढदाँ पञ्चायत छ यता वि. सं. २०५७ सालमा उनीहरूले एसएलसीको जाँच दिएको प्रसङ्ग उपन्यासमा छ । पढ्नमा मिहिनेती यी दुबै कुनै पनि कक्षामा अनुत्तीर्ण भएको पनि देखिदैन । यहाँ लेखकले समयावधिको गणना नगरेको देखिन्छ । त्यस्तै २०५७ सालमा एस.एल.सी दिएकी मायाँ स्नातक तह सकेर काठमाडौँमा केही समय बिताउँदा पनि नेपालमा जनयुद्धको परिवेश कायमै रहेको उपन्यासले देखाएको छ । यसमा पनि उपन्यासकारले समयावधिको हिसाब सही ढङ्गले नगरेको देखिन्छ ।
‘अलेटिस जोइ’ एक रामै्र उपन्यासका रूपमा देखिएकाले भविष्यमा उनी एक सफल उपन्यासकार बन्ने सम्भावना देखिन्छ । एक पठन योग्य र सङ्ग्रहनीय पुस्तकका रूपमा ‘अलेटिस जोइ’ उपन्यासलाई लिन सकिन्छ । लामो कथावस्तुमा आकर्षक ढङ्गले द्वन्द्व सिर्जना गर्नु यस उपन्यासको मूख्य उपलब्धि हो । सरल र आकर्षक भाषा शैलीमा ग्रामीण क्षेत्रका निम्न वर्ग र उपेक्षित समूदायको समस्याहरू उठान गर्नु यस उपन्यासको अर्को मूख्य उपलब्धि हो । अध्ययनको दायरा बढाउँदै गएर निरन्तर साधनारत रहँदै गएमा शोभाराम ओली भविष्यमा एक सफल उपन्यासकारका रूपमा उपस्थित हुन सक्ने सम्भावना प्रस्तुत् उपन्यासले देखाएको छ ।
पुस्तकको नाम : अलेटिस जोइ
लेखक : शोभाराम ओली
प्रकाशक : वि. एन. पुस्तक संसार प्रकाशन मिति : वि.सं. २०८२
विधा : उपन्यास
संस्करण : प्रथम
पृष्ठसङ्ख्या : ३२८
आइएस्बिएन् : ९७८–९९३७–९४३०–७–९
मूल्य : ५५५