एकराज शर्मा अधिकारी
विचार
अमरसिंह थापालाई नेपाली इतिहासले निस्वार्थ राष्ट्रवादी विभूतिको रुपमा चिन्दछन् । उनको जन्म वि.स.. १८१५ मा पिता भीमसेन थापा र माता उमादेवी थापाको कोखबाट म्याग्दी जिल्लाको पूजा भन्ने गाउँमा भएको थियो । हुने विरुवाको चिल्लो पात भने झै सानै उमेरदेखि उनी साहसी थिए ।
गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने अभियान सुरु गर्दा उनी १७ वर्षका थिए । त्यसबेला पृथ्वीनारायण शाहले कान्तिपुरसँग युद्ध गरिरहेका थिए । १७ वर्षको कलिलो उमेरमा उमेरमा नै उनी कान्तिपुरको युद्धमा सरिक भए । उनको वीरता र युद्ध कुशलता देखेर पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा अमरसिंह थापालाई सरदारको पद दिए । यसबाट उनलाई अझ बढी उत्साह थपियो ।
अर्को विचार थियो– नेपालीको अस्तित्व पृथ्वीमा हुनुपर्छ । आफ्ना सन्ततीलाई धनी गराउनुभन्दा राष्ट्रलाई धनी गराउनुपर्छ भन्ने विचार थियो उनीमा । राष्ट्र र राष्ट्रियता बाहेक कुनै स्वार्थ थिएन । वि.सं. १८७१ देखि १८७२ सम्म नेपाल र अंग्रेजको बिच ठूलो युद्ध भयो । अमरसिंह थापाले युद्ध रोक्न निकै कोशिस गरे । यो युद्ध नेपालको लागि हानिकारक छ भन्ने संकेत पृथ्वीनारायण शाहलाई दिइसकेका थिए तर उनले मानेनन् र युद्ध हुने भयो ।
सामरिक आधुनिक हतियार अंग्रेजसँग थियो । नेपाली सेनासँग खुडा खुकुरी मात्र थियो । नेपालीलाई अंग्रेजसँग लड्न कठिन भयो । नेपाली सेनासँग खाद्यान्नको पनि अभाव थियो । तैपनि नेपाली सैनिकहरु पछाडि हटेनन्, नेपालीको विजय भयो । पुनः १८७२ मा युद्ध भयो । अमरसिंहको वीरता देखेर उनलाई आफूतिर मिलाउन प्रलोभन देखाए । तिमी हामीसँग मिल्न आउ तिमीलाई राजा सरहको सुविधा दिन्छौँ भने तर अमरसिंह थापाले स्वीकारेनन् । युद्ध हुने भयो । सन्धी गरौँ भन्दा राजाले मानेनन् । यो युद्ध टार्न पनि अमरसिंह थापाले निकै कोशिस गरे ।
उनले भने यो युद्ध नेपालको लागि हानिकारक छ । हामीले आजसम्म मृगको शिकार गरेका छौँ । बाघको शिकार गरेका छैनौँ भनी पराजयको शंका गर्दै राजालाई भनेका थिए । तर, विश्वको इतिहास हेर्दा हरेक कालखण्डमा नयाँ राष्ट्रको निर्माण गर्दा त्यस राष्ट्रका संस्थापकहरुले विशेष योगदान गरेको पाइन्छ । उदाहरणको लागि महाभारतकालमा हस्तिनापुरलाई समृद्ध गराउन र जोगाउन भिष्म पितामहले मुख्य भूमिका खेलेका थिए ।
प्राचिन युनानी राजा सिकन्दरले पनि विश्वलाई आफ्नो श्री राज्य अन्तर्गत पार्ने दाउमा युद्ध सुरु गरेका थिए । आधुनिक युरोपको इतिहास हेर्दा पनि नेपोलीयन बोनापाटले फ्रान्सलाई आफ्नो अधिनमा पार्न र विषमार्कले जर्मनलाई आफ्नो अधिनमा पार्न साम्रराज्य स्थापना गर्न प्रयास गरेको इतिहासमा पाइन्छ । यसैगरी आधुनिक कालमा नेपालका राज्य पृथ्वीनारायण शाह र उनका भारदाहरुले नेपाल राष्ट्रको निर्माण गर्न योगदान गरेका थिए । त्यसमा पनि विशेष गरेर सेनानी अमरसिंह थापाको योगदान विश्वको इतिहासमा अमर छ ।
यस्ता देशभक्त स्वाभिमानी व्यक्ति विश्वको इतिहासमा विरलै पाइन्छन् । नेपाल र अंग्रेजको युद्ध सीमा रेखाको विषयमा मतभेद भएको थियो । अझै पनि नेपाल र भारतको सीमा रेखाको विषयमा मतभेद यथावत छ । कुटनैतिक हिसाबले समाधान गर्न नितान्त आवश्यक छ । हतियारले ठूलो राष्ट्रलाई साना राष्ट्रले कहिले पनि जित्न सक्दैन । यो कुराको विचार पु¥याउनु पर्छ । अंग्रेज र नेपालको युद्धमा अंग्रेजतर्फका सेनापति अक्टर लोनी थिए ।
नेपालीतर्फ सेनापति अमरसिंह थापा थिए । अमरसिंह थापा लड्दै थिए, अंग्रेज सेना पनि अक्टर लोनीले कम्पनी सरकारसँग थप सेना मागे । अमरसिंह थापाले पनि नेपाल सरकारसँग सेना र हात हतियार मागे । नेपाल सरकारले दिन सकेन, केही थप हतियार पठाएको थियो । तैपनि बाटोघाटोको असुविधाले समयमा पुग्न सकेन र दोस्रो पटकका युद्धमा नेपालले हार व्यहोर्न परेको हो । त्यसपछि सुगौली सन्धी भयो । सुगौली सन्धिले विजयको ढोका बन्द भयो । अमरसिंह थापालाई यस सन्धिले निकै चोट पु¥यायो । उनले आँसु बगाउँदै यस सन्धिमा हस्ताक्षर गरे ।
अमरसिंह थापाको युद्ध कुशलता देखेर अंग्रेजलाई निकै प्रभाव परेको थियो । यो युद्धको पराजय अमरसिंह थापाको कारणबाट भएको होइन । नेपालको दुर्भाग्यबाट भएको हो भन्ने कुरा अंग्रेजले बुझेका थिए । अंग्रेजको धूर्त नीति बुझेर युद्ध रोक्न प्रयासरत रहँदा रहँदै युद्ध गर्नु आफ्नो इच्छा विपरित हुँदा हुँदै पनि सन्धि गर्नु यस्तो नीतिले अमरसिंह थापालाई निकै चोट पु¥यायो । अंग्रेजसँगको युद्धमा प्रलोभन नपरेर इमानदारिताका साथ लड्नु उनको विशेषता हो । अंग्रेज सँगको युद्धमा पराजित हुनु परे पनि अंग्रेजले विजय हासिल गरे पनि हामी वीरताको दृष्टिले नेपाली भन्दा तल छौ भनी महसुस गरेर नेपालको स्वाभिमान बचाइराख्ने अमरसिंह थापा हुन् भनेर शीला लेखमा लेखेर गएका छन् ।
सुगौली सन्धिले विजयको ढोका बन्द भएपछि अमरसिंहको जीवनमा वितृष्णा भयो । उनको मन खिन्न भयो । मानसिक अशान्ति भयो । त्यसपछि मानसिक शान्तिका लागि वि.सं. १८७१ मा गोसाइकुण्डमा गएर नाग पञ्चमीका दिन जल समाधि दिएर आफ्नो जीवनलीला समाप्त गरे । यस प्रकार नेपालको एकीकरणदेखि नेपालको सीमाना स्थायी रुपमा निश्चित नहुँदासम्म निरन्तर लागिरहने योद्धा एक मात्र अमरसिंह थापा हुन् । युद्ध गर्नु हुँदैन भन्ने सल्लाह दिँदा युद्ध गर्नु, युद्ध रोक्नु हुँदैन भन्दा युद्ध गर्नु यस्तो बाध्यात्मक परिस्थितिमा सेना नायक भई पुरुषार्थले आर्जन गरेको मुलुक आफै अगाडि गुमाउनु पर्दा अमरसिंहलाई चोट पर्नु स्वभाविकै हो ।
आफ्नो इमानदारितालाई देशप्रति गरेको योगदानलाई देखेर राष्ट्र राष्ट्रिय भिभूतिको रुपमा कदर गरेको छ । हामी सबै नेपालीले अमरसिंह थापाले जस्तै राष्ट्रप्रति निस्वार्थ चिन्तन, आस्था र प्रेम गर्नुपर्छ । यसको अनुकरण गर्नुपर्छ । नेपाल रहे नेपाली रहन्छौँ भन्ने भाव जगाउनुपर्छ । आफ्नो देश स्वर्गभन्दा प्यारो हुन्छ । अमरसिंह थापाले जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने कुराको शिक्षा दिएका छन् ।