तिज आयो, पिङ हरायो, दर आयो, बियर भरियो !

पिताम्बर रिजाल

व्यङ्ग्य

तिज आयो रे ! कसले भन्यो ? मोबाइलले भन्यो । फेसबुकले भन्यो । टिकटकले भन्यो । होटलको स्पिकरले भन्यो । अनि बजारका पसलले भन्यो– ‘लु, अब रातो सारी निकाल्ने बेला भयो !’ पहिले तिज आउँदा गाउँमा छुट्टै रौनक हुन्थ्यो । आँगनमा लिपपोत हुन्थ्यो । घरमा दर पाक्थ्यो । दिदीबहिनी भेला हुन्थे । माइतीको सम्झना आउँथ्यो । पिङ हालिन्थ्यो । वरिपरिका दिदीबहिनी जम्मा भएर गीत गाउँथे ।

नाच्थे । हाँस्थे । सुखदुःख साट्थे । अहिले पनि तिज आउँछ तर तिज आएको थाहा पाउन पहिले गाउँको आँगन हेर्नुपथ्र्यो, अहिले फेसबुकको स्टाटस हेरे पुग्छ । पहिले दरको निम्तो घरबाट आउँथ्यो, अहिले होटलबाट आउँछ । पहिले ‘दर खान आउनु है’ भनिन्थ्यो, अहिले ‘आजको पार्टी कहाँ ?’ भनेर सोधिन्छ । अनि हाम्रो तिज पनि आधुनिक भइसकेछ ! दाङमा केही वर्षअघिसम्म तिजका बेला तुलसीपुर चोक, बालमन्दिर, ट्राफिक चोकलगायतका ठाउँमा नाँचगानको रौनक हुन्थ्यो । गाउँ–गाउँमा कार्यक्रम हुन्थे । तुलसीपुर, बिजौरीदेखि घोराहीका विभिन्न ठाउँसम्म दिदीबहिनीहरु जम्मा भएर तिजका भाका गाउँथे ।

अहिले त्यस्ता कार्यक्रम खोज्नुपर्छ । कतै गुलेरिया पार्कतिर भीड देखिन्छ । त्यहाँ पुगेपछि लाग्छ– तिज त छ, तर तिजको गाउँ हराइसक्यो ! भीड चाहिँ बाक्लो । मोबाइल चाहिँ हातमा । सेल्फी चाहिँ सयौँतर पिङ चाहिँ कहाँ ? पिङलाई पनि सायद अहिलेको विकासले बेरोजगार बनाइदिएको छ ।

पहिले तिज आयो भने गाउँको रुख खोजेर पिङ हालिन्थ्यो । पिङमा मच्चिँदै गीत गाइन्थ्यो ‘माइती घर जाऊँ कि…’अहिले पिङको ठाउँमा पार्किङ छ । पिङ हाल्ने ठाउँमा मोटरसाइकल छ । पिङ खेल्ने ठाउँमा मोबाइल छ । गीत गाउने ठाउँमा ठूलो स्पिकर छ । अनि नाच्ने ठाउँमा स्टेज छ । त्यसैले होला, अहिले तिजको उचाइ पिङले होइन, साउन्ड सिस्टमले नाप्न थालेको छ । हामीले तिजलाई आधुनिक बनाउँदैछौँ कि तिजले हामीलाई आधुनिक बनाउँदैछ, छुट्याउनै गाह्रो भयो । अझ दरको कुरा गरौँ । दर भनेको के हो?दर भनेको भोलिपल्ट व्रत बस्ने भएकाले अघिल्लो दिन शरीरलाई चाहिने पौष्टिक खाना खाएर परिवारसँग रमाइलो गर्ने परम्परा हो । घरमा खिर पाक्थ्यो । ढकनी पाक्थ्यो । दही, दूध, घिउ, फलफूल र विभिन्न परिकार हुन्थे ।

गाईभैँसी पाल्ने चलन थियो । घरकै दुध हुन्थ्यो । घरकै दही हुन्थ्यो । घरकै घिउ हुन्थ्यो । अहिले गाईभैँसी पाल्ने कुरा ग¥यो भने कतिपयले सोध्लान ‘गाई कहाँ राख्ने?”“घरमा ।’ ‘घर कहाँ छ?‘ ‘ र त छ नि !’ ‘त्यसमा गाई राख्ने ठाउँ ?’ ‘त्यो त छैन !’त्यसपछि डेरीको दूध आयो । डेरीको दही आयो । बजारको घिउ आयो । अब दर पनि बजारकै आयो । पहिले आमाले पकाएको खिरको स्वाद हुन्थ्यो । अहिले होटलको मेनु हेरेर दरको स्वाद छानिन्छ । ‘आज के खाने ?’ ‘पिज्जा?’ ‘अँ, हुन्छ ।’ ‘चाउमिन?’ ‘त्यो पनि हुन्छ ।’ ‘मम ?’ ‘त्यो पनि हुन्छ ।’

अनि कसैले भने–‘बियर ?’ ‘त्यो पनि तिजकै नाममा हुन्छ नि !’ बस्, अब तिजले पनि सोच्नुपर्छ– म तिज हुँ कि रेस्टुरेन्टको अफर ? दर खाने दिन साँझसम्म खानु प¥यो भने पनि उद्देश्य शरीरलाई भोलिको व्रतका लागि तयार गर्नु थियो । अहिले चाहिँ कतिपय ठाउँमा दरको नाममा राति अबेरसम्म भोज चल्छ । भोलिपल्ट व्रत बस्ने हो कि भोलिपल्टको व्रतका लागि आजै रातभर अभ्यास गर्ने हो, छुट्याउन गाह्रो ! हाम्रो समस्या दर खाएकोमा होइन । समस्या दरको अर्थ बिर्सिँदै गएकोमा हो ।

माछामासु खानु आफैँमा कुनै अपराध होइन । होटलमा गएर खानु पनि अपराध होइन । साथीभाइसँग रमाइलो गर्नु पनि गलत होइन । समयअनुसार संस्कारमा केही परिवर्तन आउनु स्वाभाविक हो तर प्रश्न यति हो– परिवर्तन गर्दा आफ्नो मौलिकता पनि सँगै लिएर जाने कि बाटोमै छोडेर आउने ? तिजको नाममा पार्टी गरौँ, तर तिजको गीत पनि गाउँ । होटल जाऊँ, तर घरमा पनि दिदीबहिनी जम्मा होऊन् । आधुनिक कपडा लगाऊँ, तर आफ्नै संस्कृति सम्झौँ । मोबाइल चलाऊँ, तर आमासँग बसेर दुई शब्द पनि बोलौँ । डिजे बजाऊँ, तर हाम्रा पुराना तिजका भाका पनि नसुकाऊँ ।

किनभने संस्कार भनेको पुरानो कुरा मात्रै होइन । संस्कार भनेको हामी को हौँ भन्ने चिनाउने आधार पनि हो । दाङमा तिजको आफ्नै सामाजिक र सांस्कृतिक वातावरण छ । यहाँ गाउँ छन्, टोल छन्, आफ्नै भाषा र भाका छन् । वृद्ध आमाहरुलाई अझै पुराना तिजका गीतहरु कण्ठस्थ छन् । उनीहरुसँग गीत मात्रै छैन, त्यसमा एउटा पुस्ताको इतिहास छ तर हामीले ती आमालाई गीत गाउन लगाउनुको सट्टा मोबाइलमा ‘तिज स्पेसल’ खोज्न थाल्यौँ ।

उहाँले गाउनुभएको गीत सुन्ने फुर्सद छैन ।तर टिकटकमा अरूको नाच हेर्न तीन घण्टा समय छ ! यहीँबाट हाम्रो मौलिकता बिस्तारै हराउँदै गएको हो ।अझ अर्को रमाइलो कुरा– पहिले तिज गाउँमा सीमित थियो भनेर हामी गुनासो गथ्र्यौँ । अहिले तिज सहरमा सीमित हुन थालेको छ । पहिले गाउँको चौरमा पिङ हुन्थ्यो । अहिले सहरको पार्कमा कार्यक्रम हुन्छ । पहिले टोलटोलमा गीत हुन्थ्यो । अहिले एउटा ठाउँमा ठूलो स्टेज हुन्छ । पहिले सबै मिलेर नाच्थे । अहिले अगाडि नाच्ने र पछाडि मोबाइलबाट खिच्ने हुन्छ । अनि त्यो भिडियो सामाजिक सञ्जालमा गएपछि कमेन्ट आउँछ– ‘वाह !

हाम्रो संस्कृति !’ संस्कृति कहाँ थियो ? मोबाइलमा ? त्यसैले आगामी वर्षदेखि दाङमा तिजलाई अझ व्यवस्थित र सांस्कृतिक ढंगले मनाउनेतिर सोच्न सकिन्छ । घोराही होस्, तुलसीपुर होस्, बिजौरी होस् वा गाउँका टोलहरु– एउटा कार्यक्रम मात्रै गरेर तिज सकिने होइन, टोल–टोलमा मौलिक कार्यक्रम हुनुपर्छ । पिङ हाल्ने ठाउँ पहिचान गरौँ । पुराना तिजका गीत गाउने कार्यक्रम गरौँ । स्थानीय भाका र लोकनृत्यलाई प्राथमिकता दिऔँ । वृद्ध आमाहरुबाट पुराना गीत संकलन गरौँ । दिदीबहिनी, दाजुभाइ र परिवारबिच भेटघाट गर्ने वातावरण बनाऔँ ।

अनि दर खाने कार्यक्रमलाई पनि प्रतिस्पर्धा बनाऔँ– कसले होटलमा सबैभन्दा महँगो दर खायो भन्ने होइन, कसले घरकै मौलिक परिकार बनायो भन्ने प्रतिस्पर्धा । कसैको घरमा खिर राम्रो पाक्ला । कसैको घरमा ढकनी । कसैको घरमा सेलरोटी । कसैको घरमा स्थानीय परिकार । त्यसलाई उत्सव बनाऔँ । हामीले आधुनिकतालाई रोक्न खोजेको होइन । रोक्न पनि सकिँदैन । समयसँगै संस्कृति परिवर्तन हुन्छ तर परिवर्तनको नाममा आफ्नो जरा नै काटियो भने भोलि हाम्रा छोराछोरीले सोध्नेछन्– ‘बुबा, तिज भनेको के हो ?’ हामीले भनौँला– ‘होटलमा पार्टी गर्ने दिन !’त्यो दिनचाहिँ हाम्रो संस्कृति साँच्चिकै हाँस्नेछ ।

अनि पिङले माथिबाट हेरेर भन्नेछ– ‘मलाई त पहिले नै बिर्सिसकेका थिए, अब तिजलाई पनि बिर्सिएछन् !’ त्यसैले तिज मनाऔँ । खुसी भएर मनाऔँ । नाचौँ, गाऔँ, रमाऔँ तर तिजलाई तिजकै रुपमा मनाऔँ । दारु खाएर रमाउनु संस्कृति होइन । अरूलाई देखाउन महँगो पार्टी गर्नु संस्कृति होइन । सामाजिक सञ्जालमा फोटो हाल्नु मात्रै संस्कृति होइन । संस्कृति भनेको आफ्ना मान्छेसँग बस्नु हो । आफ्नो दुःखसुख साट्नु हो ।

पुरानो पुस्ताबाट नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्नु हो । आफ्नो माटो, आफ्नो भाका र आफ्नो पहिचान सम्झनु हो । त्यसैले अर्को वर्ष दाङमा तिज आउँदा एउटा दृश्य फेरि देखियोस्– तुलसीपुर चोकमा गीत गुञ्जियोस्,बालमन्दिरमा दिदीबहिनी नाचून्, ट्राफिक चोक वरिपरि सांस्कृतिक कार्यक्रम होऊन्, बिजौरीका गाउँमा पुराना भाका सुनिऊन्, घोराहीका टोलमा पिङ हालिऊन्, घर–घरमा खिर पाकून्, आँगनमा दिदीबहिनी भेला होऊन् ।

अनि गुलेरिया पार्कमा मात्रै होइन, दाङका गाउँगाउँमा तिजको रौनक देखियोस् । त्यो दिन कसैले मोबाइल निकालेर फोटो खिच्दै भन्यो भने पनि हुन्छ– ‘आज तिजको फोटो हाल्दैछु’ तर फोटो खिचिसकेपछि मोबाइल खल्तीमा राखेर आमाको छेउमा बसेर एउटा पुरानो तिजको गीत पनि गाइयोस् । किनभने तिजको असली रौनक फेसबुकको स्क्रिनमा होइन, आफ्ना मान्छेको अनुहारमा देखिनुपर्छ । नत्र भोलि हामीसँग तिज त हुनेछ तर तिजको मौलिकता खोज्न संग्रहालय जानु पर्ने दिन नआओस् ।