समयको पदचाप र जीवनको रङ्गमञ्च भावनाका लहर

यम रेग्मी

समीक्षा

साहित्य शब्द र अर्थको सङ्गम मात्र होइन, यो त स्रष्टाको हृदयको ढुकढुकी र समाजको जीवन्त चित्रण हो । जहाँ जीवन जगतदेखि समाजका विभिन्न पाटा समेटिएको हुन्छ । साहित्यका विभिन्न विधामध्ये मुक्तक विधा साहित्यको यस्तो विधा हो, जहाँ चार पङ्क्तिभित्रै ब्रह्माण्ड अटाउने सामथ्र्य रहन्छ । त्यो नै मुक्तकको विशेषता हो । स्रष्टा शरद गौतमका मुक्तक पनि केवल कागजका पानामा कोरिएका अक्षर मात्र होइनन्, यी त उहाँले आफ्नो जीवन यात्रामा देखेका, भोगेकै र अनुभूति गरेका सत्यको संगालो हो ।

दाङ घोराहीमा बसेर नेपाली भाषा र साहित्यको सेवामा समर्पित एक बौद्धिक व्यक्तित्व, अनुभवी शिक्षासेवी र चिन्तनशील साहित्यकारका रुपमा उहाँका यी सिर्जनाले नेपाली मुक्तक विधामा यो मुक्तक संग्रहले एउटा इट्टा थप्ने काम गरेको छ । उहाँको भावनाका लहर मुक्तकसंग्रहमा २८० वटा मुक्तक रबेका छन् ।

कुनै पनि शुभ कार्यको थालनी ईश्वरीय वन्दनाबाट गर्ने नेपाली संस्कारलाई पछ्याउँदै स्रष्टा गौतमले आफ्ना मुक्तकमा आध्यात्मिक चेतलाई प्राथमिकता दिनुभएको छ । मुक्तक संग्रहको शुभारम्भमा नै उहाँले ईश्वरीय शक्तिप्रति अगाध श्रद्धा प्रकट गर्नुभएको छ । उदाहरण हेरौँ :

वन्दना गर्छु गणेशको, गर कल्याण सधैं भरी
कार्य सिद्ध होस् सबैको, पुगोस् ध्यान सधैं भरी
सरस्वतीको नित्य कृपा रहोस् मेरो कलममा
मनका भाव पोख्ने मिलोस्, वरदान सधैं भरी । (मुक्तक १)

यहाँ स्रष्टाले केवल आफ्नो लागि मात्र होइन, सबैको कार्य सिद्ध होस् भन्दै ‘सर्वे भवन्तु सुखिनः’ को उदात्त भावना व्यक्त गर्नुभएको छ । यस संग्र्रहको सबैभन्दा सबल पक्ष भनेको सामाजिक यथार्थको चित्रण हो । समाजमा देखिएका विभिन्न प्रकारका समस्या मुक्तक चित्रण गरिएको छ । शिक्षामा भएको व्यापारीकरण र बेरोजगारीको समस्यालाई उहाँले मुक्तक ४ र २९ मा निकै मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चौथो मुक्तक हेरौँ ः

शिक्षा भयो महँगो यहाँ, शुल्क तिर्न कठिन भो
पढाई सकूँ भन्यो तर, जागिर छन् कठिन भो
बेरोजगारी बढेपछि यो बिरानो देशमा पुगेर
आफ्नै छोराछोरीको फेरि माया फिर्न कठिन भो । (मुक्तक ४)

’सरकारी काम कहिले जाला घाम’ आजको नेपाली समाजको तितो सत्य यहाँ हो । सरकारी अड्डा–अदलतमा हुने भ्रष्टाचार र ढिलासुस्तीमाथि मुक्तक ५ र ४५ मा उहाँको कलम निकें तिखो भएर चलेको छ । जुन यस प्रकार रहेको छ :

अड्डा अदालत जान्छु म त काम गराउन
दश बजे नै पुग्छु त्यहाँ बानी बसाउन
यो देशका कर्मचारी कस्ता छन् र कस्ता केही न केही दिनैपर्छ छिटो गराउन ।
(मुक्तक ५)

नेपाली राजनीतिमा देखिएको कुर्सी मोह र नेताको द्वैध चरित्रलाई स्रष्टाले मुक्तक २८, ४९ र ७७ मा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । ती मुक्तक नेपाली समाजको यथार्थ चित्रणलाई प्रस्तुत गरेका छन् ।

कुर्सी निमित्त लडाईं छ कुर्सीर्मा छ मौज
कुर्सी प्राप्ति हुनासाथ दिन दिने भोज
कुर्सी पाउनका लागि अनेक छ झगडा जनताको सेवा कहाँ भ्रष्टाचारको मौज ।
(मुक्तक २८)

सत्ता र शक्तिको वरिपरि घुम्ने चाकडी प्रथा हाम्रो समाजमा हिजो पनि थियो । आज पनि छ । सत्ता र शक्तिको वरिपरि घुम्ने चाकडी प्रवृत्ति माथि उहाँले मुक्तक ५१ र १३८ मा कडा प्रहार गर्नुभएको छ । त्यसैगरी समय कसरी परिवर्तन भयो र मानवीय जीवनशैली कसरी यन्त्रवत् बन्दै गयो भन्ने कुरालाई स्रष्टाले मुक्तक १८, १९ र ३१ मा पुराना स्मृतिसँग तुलना गर्नुभएको छ । उदाहरणको रुपमा मुक्तक उन्नाइसलाई लिन सकिन्छ ।

भोला मेरो कपडाको फित्ता थियो कस्ने
जान्थें स्कुल पढ्नलाई काँधमा थियो बस्ने
पढ्ने–लेख्ने ठुलो कुरा संसारमा रहेछ
काठको पाटी ढुंगा–सिलोट बोकी गाठो कस्ने । (मुक्तक १९)

हिजोको संयुक्त परिवार र आजको एकल परिवार बीचको खाडललाई मुक्तक ४२ र ४३ मा चित्रण गरिएको छ भने टुकी र लालटिनको युगलाई मुक्तक ४४ मा सम्झिएको छ । जसले नेपालको इतिहासको स्मरण गराउँछ । मानिस ठूलो हुन्का लागि जात होइन, चरित्र चाहिन्छ भन्ने विचार मुक्तक ८२, १११ र ११७ मा स्पष्ट देखिन्छ । ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयसँगको सामीप्यताल मुक्तक १२२, १७७ र १८३ मा शान्ति र शिव–योगको महत्वलाई उजागर गरेको छ ।

जस्तै ः

मान्छे ठूलो बन्ने स्वभावले हो, जातले हुँदै हैन
मीठो स्वभाव राम्रो स्वभाव, सबैले पाउने हैन
संसारमा जन्मेकाको, स्वभाव अनेक–अनेक
नाम चलने हो राम्रो कामले, जातले हुँदै हैन । (मुक्तक १९७)

नेपाली युवाको पलायन र आमाको ममतालाई मुक्तक १३, ९४ र १७५ मा समेटिएको छ । जुन यस प्रकार रहेको छ ः

कति दुःख–कष्टका साथ, जन्म दियौ आमा
दशधारा दूध खुवाई, हुर्कायौ नि आमा
तिम्रो ऋण मैले कहाँ, तिर्न सक्छु र
हरदम यादमा आउने, मेरी धन्य आमा । (मुक्तक ९३)

मुक्तकारमा आफ्नो जन्मभूमिप्रतिको अथाह प्रेम छ । दाङको माटो र स्थानीय सन्दर्भ बारेमा मुक्तक ८, ५४, ५८ र १० मा समेटिएका छन् । विशेष गरी कोइलाबास नाकाको दुर्दशालाई मुक्तक ४० मा समेटिएको छ । जसले वर्तमान अवस्थामा रहेको कोइलाबास नाकाको यथार्थलाई दर्शाउँछ ।

घरबस्ती उजाड भयो, कोइलाबास नाका
पर्खाल आदि ढलिसके, पक्की भए बाटा
कहिले पो चल्ने होला, हुँदै पक्की नाका ?
अन्धकारको भुमरीमा, कोइलाबास नाका । (मुक्तक ४०)

शरद गौतमका मुक्तकहरूको मुख्य विशेषता सरलताल हो । उहाँले कुनै जटिल शास्त्रीय बन्धन भन्दा पनि आम मानिसले बुझ्ने भाषालाई प्राथमिकता दिनुभएको छ । मुक्तक ३२, ११९ र १८६ मा आधुनिकता र महङ्गी जस्ता समसामयिक विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ ।

समग्रमा भन्नुपर्दा, यो मुक्तक संग्रह केवल एउटा पुस्तक मात्र होइन, विषयवस्तुका दृष्टि हेर्ने हो भने यो एउटा युगको जीवन्त दस्तावेज हो । २८० मुक्तकमा हास्य, व्यङ्ग्य, आक्रोश र मानवताको खोजी छ । स्रष्टाले आफ्नो जीवनका ३८ वर्ष शिक्षा सेवामा बिताउनुभएको अनुभवलाई यहाँ शब्दमा उतार्नुभएको छ जुन विषयवस्तु मुक्तक २२ र ७४ मा समेटिएको छ । भाव र शिल्पपक्ष सुन्दर भए तापनि विधातगत रुपमा हेर्दा केही मुक्तक मुक्तक विधालाई समेट्न सकेका छैनन् । पहिलो कृति भएको नाताले यसलाई सामान्य नै मानिन्छ ।

शरद गौतमको यो कृतिले नेपाली मुक्तक साहित्यको श्रीवृद्धिमा योगदान दिने नै छ । उहाँको कलमले समाजको अन्धकार चिर्न मद्दत गरिरहोस् । उहाँको कलम निरन्तर चलिरहोस् ! हार्दिक बधाई तथा शुभकामना !

(लेखक राप्ती साहित्य परिषद्, दाङको अध्यक्ष हुनुहुन्छ ।)