देउखुरी उद्योग वाणिज्य संघ लमही क्षेत्रका व्यवसायीको साझा संस्था हो । देउखुरी उपत्यकामा पुरानो व्यवसायिक सस्थाका रुपमा स्थापना भएको देउखुरी उद्योग वाणिज्य संघले लमही क्षेत्रका व्यवसायीहरुको पेशागत हकहितसँगै समग्र देउखुरीको विकासका लागि समेत नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यही संस्थाको नेतृत्व भर्खरै सर्वसम्मतिमै चयन गरिएको छ । देउखुरी क्षेत्रका उद्योग व्यवसायीले भोग्दै आएका समस्यासँगै लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका रुपमा रहेको देउखुरीमा उद्योग व्यवसायको अवस्था, भोग्नु परेको समस्यासँगै व्यवसायिक हकहितका लागि के गर्न आवश्यक छ भन्ने विषयमा केन्द्रीय रहेर गोरक्षकर्मी प्रियास्मृति गजमेरले देउखुरी उद्योग वाणिज्य संघका नवनिर्वाचत अध्यक्ष इश्वर प्रकाश श्रेष्ठसंग गरेको कुराकानीको सारसंक्षेप ।
अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस भएको छ ?
सर्वप्रथम मलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिनुहुने सम्पूर्ण उद्योगी, व्यवसायी तथा संघका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यो पद मेरा लागि सम्मानभन्दा बढी जिम्मेवारी हो । व्यवसायीका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र संघलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने मेरो प्रमुख दायित्व हुनेछ । व्यक्तिगत रूपमा मैले पाएको जिम्मेवारीलाई अवसरका रूपमा भन्दा पनि व्यवसायीको सेवाका लागि पाएको जिम्मेवारीका रूपमा लिएको छु ।
नयाँ नेतृत्वले पहिलो प्राथमिकता केलाई दिनेछ ?
हाम्रो पहिलो प्राथमिकता उद्योगी–व्यवसायीका वास्तविक समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्नु हो । अहिले व्यवसायीहरू आर्थिक मन्दी, बजारमा आएको सुस्तता, बढ्दो लागत, कर तथा प्रशासनिक झन्झट, अनियमित बजार प्रतिस्पर्धालगायत विभिन्न समस्याबाट गुज्रिरहेका छन् । त्यसैले संघले व्यवसायीको समस्या बोकेर स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा सम्बन्धित कार्यालयसम्म पुग्ने काम गर्नेछ । हामीले संघलाई व्यवसायीको साझा घरका रूपमा विकास गर्न चाहेका छौँ । साना व्यवसायीदेखि ठूला उद्योगीसम्म सबैको आवाज संघमा समान रूपमा उठ्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
बजारमा कर छली र बिलबिजकको विषय पनि बेलाबेला चर्चामा आउने गर्छ । यस विषयमा संघको धारणा के छ ?
कर राज्य सञ्चालनको महत्वपूर्ण आधार हो । त्यसैले व्यवसायीले पनि आफ्नो व्यवसायअनुसार राज्यलाई तिर्नुपर्ने कर इमानदारीपूर्वक तिर्नुपर्छ । हामी कर छलीको पक्षमा छैनौँ । तर कर प्रशासनको प्रक्रिया पनि व्यवसायीमैत्री, पारदर्शी र व्यवहारिक हुनुपर्छ । हाम्रो उद्देश्य व्यवसायीलाई त्रसित बनाउने होइन, कर प्रणालीप्रति सचेत बनाउने हो । व्यवसायीले अनिवार्य रूपमा बिल काट्ने, खरिद–बिक्रीको अभिलेख राख्ने, आफ्नो कारोबारअनुसार कर विवरण बुझाउने र कानुनको पालना गर्ने वातावरण बनाउन संघले सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । साथै कर छली भएको छ भने त्यसलाई संरक्षण गर्ने काम संघले गर्नु हुँदैन । गलत कामलाई गलत भन्न सक्नु पर्छ । राज्यको राजस्व सुरक्षित हुनु भनेको अन्ततः विकास निर्माण र सार्वजनिक सेवाका लागि स्रोत सुरक्षित हुनु हो ।
व्यवसायीहरू अनुगमनका नाममा आफूहरूलाई दुःख दिने गरिएको गुनासो गर्छन्, यसलाई कसरी हेर्नुहुन्छ ?
अनुगमन आवश्यक छ अनुगमन गर्नै पर्छ । बजारमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध हुनुपर्छ, उपभोक्ताको अधिकार सुरक्षित हुनुपर्छ र व्यवसाय पनि कानुनअनुसार सञ्चालन हुनुपर्छ तर अनुगमन आतंक सिर्जना गर्ने किसिमको हुनु हुँदैन । हामी सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर सचेतनामूलक र सुधारमुखी अनुगमनको पक्षमा छौँ । पहिलोपटक सामान्य त्रुटि भेटिएमा सुधारका लागि समय दिन सकिन्छ । तर जानाजानी उपभोक्ता ठग्ने, कालोबजारी गर्ने, नक्कली वस्तु बेच्ने वा कर छली गर्ने प्रवृत्तिलाई भने संरक्षण गर्न सकिँदैन । व्यवसायीले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ र राज्यका निकायले पनि व्यवसायीलाई अपराधीको रूपमा हेर्नु हुँदैन । दुवै पक्षबीच विश्वासको वातावरण आवश्यक छ ।
राजस्व चुहावट नियन्त्रणका लागि संघले के गर्न सक्छ ?
राजस्व चुहावट नियन्त्रण सरकारको मात्र जिम्मेवारी होइन । व्यवसायी संगठनको पनि नैतिक जिम्मेवारी हुन्छ । हामी व्यवसायीलाई करको दायरामा आउन प्रोत्साहित गर्नेछौँ । बिलबिजकको प्रयोग, दर्ता प्रक्रिया, कर विवरण, लेखा व्यवस्थापनलगायत विषयमा आवश्यक परामर्श र सचेतना कार्यक्रम सञ्चालन गर्न सकिन्छ । त्यसैगरी व्यवसायी र राजस्व प्रशासनबीच संवादको वातावरण निर्माण गर्न चाहन्छौँ । कहाँ समस्या छ, कर तिर्न व्यवसायीलाई किन कठिन भइरहेको छ, कानुनी प्रक्रियामा कहाँ जटिलता छ भन्ने विषयमा छलफल आवश्यक छ । व्यवसायीको अधिकार संरक्षण गर्दै राज्यको राजस्व पनि सुरक्षित गर्नुपर्छ ।
बजारमा व्यवसायीले भोगिरहेका समस्या के छन ?
अहिले बजारमा ग्राहकको क्रयशक्ति घट्नु, व्यापारमा मन्दी आउनु, बैंक तथा वित्तीय क्षेत्रको ब्याज र ऋणको दबाब, व्यवसाय सञ्चालन खर्च बढ्नु, बजारमा अस्वस्थ प्रतिस्पर्धा हुनु, सडक तथा पार्किङ व्यवस्थापन, फोहोर व्यवस्थापन, यातायात व्यवस्थापनलगायतका समस्या छन् ।यसका साथै कतिपय व्यवसायीले दर्ता, नवीकरण, कर तथा अन्य प्रशासनिक प्रक्रियामा झन्झट भएको गुनासो गर्नुहुन्छ । यी विषयमा सम्बन्धित स्थानीय तहसँग बसेर समाधान खोज्नुपर्छ । लमही बजार देउखुरी क्षेत्रकै महत्वपूर्ण व्यापारिक केन्द्र हो । त्यसैले यसको व्यवस्थित विकासका लागि दीर्घकालीन योजना आवश्यक छ ।
स्थानीय सरकारसँग संघको सम्बन्ध कस्तो रहनेछ ?
स्थानीय सरकार हाम्रो सबैभन्दा नजिकको सरकार हो । उद्योगी–व्यवसायीका धेरैजसो दैनिक समस्या स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । त्यसैले देउखुरी उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीचको सम्बन्ध अत्यन्तै सुमधुर, सहकार्यपूर्ण, पारदर्शी र परिणाममुखी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । हामी स्थानीय सरकारसँग कुनै विषयमा संवाद, सहकार्य र समन्वयका माध्यमबाट समस्या समाधान गर्दै अघि बढ्न चाहन्छौँ ।
व्यवसायी र स्थानीय सरकार एकअर्काका स्थानीय अर्थतन्त्र निर्माणका साझेदार हुन् । नगरपालिकाले व्यवसायीलाई कर तथा राजस्व संकलनको स्रोतका रूपमा मात्र हेर्नु हुँदैन । व्यवसायीले पनि नगरपालिकालाई कर उठाउने निकायका रूपमा बुझ्नु हुँदैन । स्थानीय सरकार र निजी क्षेत्रबीच आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सकियो भने त्यसको प्रत्यक्ष लाभ नगरवासी, उपभोक्ता, व्यवसायी र समग्र स्थानीय अर्थतन्त्रलाई पुग्छ ।
लमही बजारलाई व्यवस्थित, सुरक्षित, आकर्षक र व्यवसायमैत्री बजारका रूपमा विकास गर्नु हाम्रो प्रमुख प्राथमिकतामध्ये एक हुनेछ । यसका लागि नगरपालिकासँग नियमित रूपमा छलफल गर्नेछौँ । बजारको पार्किङ समस्या, सडक व्यवस्थापन, ट्राफिक व्यवस्थापन, फुटपाथ तथा व्यवसाय सञ्चालनका विषय, बजारको सरसफाइ, फोहोर व्यवस्थापन, सडक बत्ती, सार्वजनिक शौचालय, ढल तथा खानेपानीजस्ता आधारभूत विषयमा पनि संघले नगरपालिकासँग सहकार्य गर्नेछ ।
युवा व्यवसायी र नयाँ उद्यमीलाई संघमा कसरी जोड्नुहुन्छ ?
अहिलेको समय युवा पुस्ताको समय हो । व्यवसाय र उद्यमशीलतामा पनि युवाको सहभागिता बढ्दै गएको छ । विशेषगरी सूचना प्रविधिको विकाससँगै व्यवसाय गर्ने शैलीमा ठूलो परिवर्तन आएको छ । पहिले पसल खोलेर ग्राहक कुरेर बस्ने परम्परागत व्यवसाय थियो भने अहिले सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म, डिजिटल मार्केटिङ, होम डेलिभरी, ई–कमर्सलगायतका माध्यमबाट घरमै बसेर पनि व्यवसाय सञ्चालन गर्न सकिने अवस्था छ । त्यसैले देउखुरी उद्योग वाणिज्य संघले पनि समयअनुसार आफूलाई परिवर्तन गर्न आवश्यक छ । हाम्रो कार्यकालमा युवा व्यवसायी र नयाँ उद्यमीलाई संघको मूल प्रवाहमा ल्याउने विषयलाई विशेष प्राथमिकता दिनेछौँ ।
संघ लामो समयदेखि व्यवसाय गर्दै आएका पुराना व्यवसायीको संस्था मात्र हुनु हुँदैन । नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, साना उद्यमी, महिला उद्यमी, स्टार्टअप सञ्चालन गरिरहेका व्यक्ति तथा डिजिटल माध्यमबाट व्यापार गरिरहेका युवाहरू पनि संघका महत्वपूर्ण सदस्य र साझेदार हुन् भन्ने मान्यताका साथ अघि बढ्नेछौँ । धेरै युवामा व्यवसाय गर्ने इच्छा र क्षमता हुन्छ, तर उनीहरूसँग लगानी कहाँबाट जुटाउने, व्यवसाय कसरी दर्ता गर्ने, कर प्रणाली कसरी बुझ्ने, बजार कसरी खोज्ने, लेखा व्यवस्थापन कसरी गर्ने र व्यवसायलाई कसरी विस्तार गर्ने भन्ने विषयमा पर्याप्त जानकारी नहुन सक्छ । यही ठाउँमा उद्योग वाणिज्य संघले भूमिका खेल्न सक्छ । नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्नुअघि आवश्यक जानकारी, कानुनी प्रक्रिया, कर प्रणाली, बैंक तथा वित्तीय पहुँच, बजार व्यवस्थापन र व्यवसाय सञ्चालनसम्बन्धी आधारभूत ज्ञान उपलब्ध गराउने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ ।
तपाईंको नेतृत्वमा संघ पारदर्शी र जवाफदेही हुन्छ भन्ने प्रतिबद्धता कसरी पूरा गर्नुहुन्छ ?
संघको पैसा र संघका गतिविधि सदस्यकै सम्पत्ति हुन् । त्यसैले आर्थिक तथा प्रशासनिक काममा पारदर्शिता अत्यन्त आवश्यक छ । आय–व्यय व्यवस्थित राख्ने, नियमित बैठक गर्ने, सदस्यलाई आवश्यक जानकारी उपलब्ध गराउने र महत्वपूर्ण निर्णयमा संस्थागत प्रक्रिया अपनाउनेछौँ । अध्यक्ष एक्लैले संघ चलाउने होइन । कार्यसमिति, सल्लाहकार, सदस्य तथा सम्पूर्ण व्यवसायीको सहभागिताबाट संस्था चल्नुपर्छ । म एक्लो निर्णयभन्दा सामूहिक निर्णयमा विश्वास गर्छु ।
तपाईंको कार्यकालमा व्यवसायीले देख्न सक्ने परिवर्तन के हुनेछ ?
हामी धेरै ठूला कुरा गरेर सुरु गर्न चाहँदैनौँ । पहिले व्यवसायीको वास्तविक समस्या सुन्छौँ, प्राथमिकता निर्धारण गर्छौँ र क्रमशः समाधानका लागि काम गर्छौँ । संघमा गुनासो सुन्ने व्यवस्थित संयन्त्र, व्यवसायीका लागि सूचना तथा परामर्श सेवा, सरकारी निकायसँग नियमित छलफल, बजार व्यवस्थापनका विषयमा पहल, कर तथा राजस्वसम्बन्धी सचेतना, युवा उद्यमशीलता प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिनेछौँ । व्यवसायीले समस्या पर्दा ‘संघ कहाँ छ ?’ भनेर खोज्नुपर्ने होइन, संघ आफैँ व्यवसायीको बीचमा पुग्नुपर्छ भन्ने मेरो मान्यता हो ।
अन्त्यमा देउखुरी क्षेत्रका उद्योगी–व्यवसायीलाई तपाईंको सन्देश के छ ?
म सम्पूर्ण उद्योगी–व्यवसायीलाई संघसँग जोडिन र आफ्ना समस्या खुलेर राख्न आग्रह गर्दछु । संघ सबै व्यवसायीको साझा संस्था हो । यहाँ कुनै राजनीतिक, व्यक्तिगत वा समूहगत पूर्वाग्रह हुनु हुँदैन र हुने छैन । व्यवसाय गर्दा आफ्नो अधिकारसँगै कर्तव्य पनि पूरा गरौँ । राज्यलाई तिर्नुपर्ने कर तिरौँ, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा दिऔँ, बिलबिजकको प्रयोग गरौँ र व्यवसायमा पारदर्शिता कायम गरौँ । त्यसका साथै राज्यका निकायले पनि व्यवसायीलाई सम्मानजनक र सहज वातावरण उपलब्ध गराउनुपर्छ । मेरो नेतृत्वमा देउखुरी उद्योग वाणिज्य संघलाई व्यवसायीको हकहित संरक्षण गर्ने, जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्ने र स्थानीय अर्थतन्त्र बलियो बनाउने प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रयास हुनेछ । सबैको साथ, सुझाव र सहयोगबाट हामी यो लक्ष्य हासिल गर्न सक्छौँ भन्ने विश्वास लिएको छु ।