संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा डाँगीलाई जिम्मेवारी

दाङ,३१ भदौ । मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको नेतृत्वदायी संयन्त्र ‘संघीय समन्वय समिति’को प्रतिनिधि सदस्यमा टिका डाँगीलाई मनोनित गरेको छ ।

मानव अधिकारकर्मी डाँगीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भदौ २६ को निर्णयानुसार उक्त जिम्मेवारी दिएको हो । मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले भदौ २९ मा पत्र पठाउँदै डाँगीलाई मनोनयनमा परेको औपचारिक जानकारी दिएको थियो ।

दाङको घोराही उपमहानगरपालिका–८ ढिकपुर निवासी डाँगी हाल नेपाल मानव अधिकार संगठनका केन्द्रीय कोषाध्यक्ष हुन्। लामो समयदेखि मानव अधिकार, सामाजिक न्याय र नागरिक अधिकारको क्षेत्रमा क्रियाशील डाँगीलाई कार्ययोजनाको प्रावधान ४.२.१ बमोजिम समितिमा समेटिएको हो।

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्म) मा उल्लिखित नीति, कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयन सुनिश्चित गर्न यो समितिले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ । महाशाखा प्रमुख रामजी दनाईद्वारा जारी पत्रमा कार्ययोजना कार्यान्वयनको सुनिश्चितताका लागि डाँगीलाई प्रतिनिधि सदस्य तोकिएको छ । नागरिक समाज तथा मानव अधिकार आन्दोलनको तर्फबाट डाँगीको प्रतिनिधित्वले राज्यका संयन्त्र र सरोकारवाला निकायबीच जवाफदेहिता बढाउन तथा कार्ययोजनालाई परिणाममुखी बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।