दाङ, ३१ भदौ । घोराहीमा जारी एशियन पेन्ट्स च्याम्पियन्स कप अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलको फाइनलमा सिद्धार्थ एकेडेमी घोराही र मेचिकाली सेकेण्डरी स्कुल घोराही पुगेका छन् ।
घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीमा भएको पहिलो सेमिफाइनलमा सिद्धार्थ एकेडेमीले पद्मोदय नमूना मावि घोराहीलाई १–० गोलले हराएको थियो भने दोस्रो सेमिफाइनल खेलमा मेचिकाली सेकेण्डरी स्कुलले डिभाइन टेम्पल एकेडेमी तुलसीपुरलाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर वलीका अनुसार छनोट प्रतियोगिताको फाइनल खेल असोज १ गते बिहीबार दिउँसो ३ : ३० बजेदेखि लुम्बिनी फुटबल एकेडेमीको मैदानमा हुनेछ । यसअघि बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा मेचिकाली सेकेण्डरी स्कुलले ग्रेटबुद्ध एकेडेमीलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
हिमालय टाइम्सको आयोजना र लुम्बिनी फुटबल एकेडेमीको व्यवस्थापनमा भइरहेको प्रदेशस्तरीय छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशअन्तर्गत दाङ, रुपन्देही र नवलपरासी पश्चिमका गरी जम्मा २२ विद्यालयको सहभागिता रहेको थियो । घोराही क्षेत्रबाट छनोट हुने उत्कृष्ट विद्यालयले नेपालगन्ज क्षेत्रबाट छनोट भएको विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ । उक्त छनोट खेलमा विजयी हुने विद्यालयले काठमाडौंको दशरथ रंगशालामा हुने राष्ट्रिय फाइनल खेलका लागि छनोटमा हुनेछ ।