नेपाली कांग्रेसको इतर पक्षले दाङ जिल्ला संयोजकको जिम्मेवारी कांग्रेसका पुराना नेता गोपालराज शर्मालाई दिएको छ। कांग्रेस इतर पक्षका केन्द्रीय संयोजक शशांक कोइरालाले शर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन्।
शर्मालाई कांग्रेस इतर पक्षको जिल्लामा संगठन विस्तारसँगै आगामी जिल्ला अधिवेशनको तयारी गर्ने जिम्मेवारी दिएको छ । कांग्रेसको नियमित महाधिवेशनको पक्षमा आफूहरू रहेको बताउँदै आएको इतर पक्षले संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्यले शर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय शर्मा विद्यार्थी राजनीति गरेका नेता हुन्। शर्माले २०३४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताएका छन्। राजनीतिक आन्दोलनका क्रममा २०३८, २०३९ र २०४० सालमा राजनीतिक बन्दीका रूपमा जेलसमेत बसेका शर्मा पटक–पटक गरी करिब साढे चार महिना, साढे तीन महिना र एक महिना कारागारमा बसेका थिए।
कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीलगायत नेताहरूको समन्वयमा शर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको बताइएको छ। जिल्लामा संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा आगामी जिल्ला अधिवेशनको तयारीलाई प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी शर्मामाथि आएको छ।