केराले मूल्य पाउँदा उत्साहित किसान

गोरक्ष समाचारदाता

दाङ, २९ भदौ । चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् । गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यो वर्ष भने उत्साहित बनेका छन् ।

राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्णजन्माष्टमीदेखि हालसम्म नौ लाख रुपैयाँको बढीको केरा बिक्री गरेको बताउँछन् । सिसहनियालगायत देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउएका सुवेदीले एक महिनाको अवधिमा नौ लाख रुपैयाँ बराबरको केरा बिक्री गरेको बताए । जन्माष्टमीको बेला मात्रै पाँच लाख रुपैयाँको केरा बिक्री गरेका सुवेदीले तिजको अवसरमा हालसम्म करिब चार लाख रुपैयाँँ बराबरको मालभोग केरा बिक्री गरेको बताए ।

समयमै तयार नहुँदा अन्य केराको तुलनामा मालभोग केरा बिक्रीमा समस्या हुने गरेको उनी बताउँछन् । फागुनमा आएको हावाहुरीका कारण १२ हजार बोट ढल्दा उत्पादनमा कमी आएको उनले बताए । राप्ती केरा प्रवर्धन समूहका अध्यक्षसमेत रहेका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन् । बाहिरबाट केरा आयातमा कमी हुँदा जिल्लामा उत्पादन भएको केराले मूल्य पाएको भन्दै किसान सुवेदीले भने, ‘गत वर्ष केराले मूल्य नपाउँदा बारीमै केरा सड्ने अवस्था थियो । यो वर्ष त्यो अवस्था हटेको छ ।’ उनका अनुसार चाडपर्वको समयमा बाहिरबाट केरा भित्रिन नपाउँदा स्थानीय केरा उत्पादक किसानले राम्रो मूल्य पाएका छन् ।

सिसहनियाकै अर्का किसान विद्याबहादुर चौधरीले यस वर्ष करिब तीन लाख रुपैयाँको केरा बिक्री गरेको बताउँछन् । गत वर्ष केराको मूल्य घट्दा बिक्रीमै समस्या बेहोरेका चौधरीले यो वर्ष बिक्रीमा समस्या नभएको बताएका छन् । बारीबाटै यो वर्ष प्रतिदजर्न सय रुपैयाँका दरले केरा बिक्री भइरहेको बताए । विगत वर्षको तुलनामा केरा बजारमा सुधार आएको भन्दै चौधरीले भने, ‘यो वर्ष केरा बारीबाटै सय रुपैयाँँ दर्जनका दरले बिक्री भइरहेको छ । बिक्रीका लागि कतै जानु परेको छैन ।’ मन्जुला बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर विगत सात वर्षदेखि व्यावसायियक रूपमा केरा खेतीमा लागेका चौधरीले फर्मबाट उत्पादित केरा लमहीलगायतका बजारका व्यवसायी आएर लैजाने गरेको उनले बताए । तीन बिघा जग्गामा व्यावसायिक केरा खेती गरेका चौधरीले डेढ बिघा क्षेत्रफलमा तयार भएको करा बिक्री गरिरहेको बताए ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा चार सय ४७ हेक्टर क्षेत्रफलमा मालभोग, हरिसाल जातलगायतका केराखेती हुने गरेको छ । जसबाट वार्षिक नौ हजार नौ सय ७३ मेट्रिकटन केरा उत्पादन हुने गरेको छ । सामान्य समयमा स्थानीय उत्पादनले बजार धान्ने गरे पनि चाडपर्वको समयमा बाहिरी जिल्लाबाट केरा आउने गरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले बताए । उनका अनुसार दाङका घोराही र तुलसीपुरलागतयका बजारमा नवलपरासी, चितवन, कैलालीसँगै भारतबाट पनि केरा आउने गरेको छ । कम लगानी र मेहनतमा केरा खेतीबाट राम्रो प्रतिफल लिन सकिने भएपछि पछिल्लो समय दाङको लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकालगायतका क्षेत्रमा व्यावसायिक केरा खेती बढ्दै गएको छ ।