गोरक्ष समाचारदाता
दाङ, २९ भदौ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तिज) आज मनाउदैछन् । तिजको अघिल्लो दिन दर खाने प्रचलन भएकाले बजारमा किनमेल गर्नेको भिडभाड रहेको थियो । आइतवार जिल्लाका बजारमा फलफूल, तरकारी, दुध, पूजा सामग्री खरिद गर्नेको भिड रहेको थियो । भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तिज पर्वको औपचारिक सुरुआत भएको हो ।
विशेष गरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नु पर्ने भएकाले त्यसको पूर्वतयारी स्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मिठा परिकार दरका रूपमा खाने गरिन्छ । दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको छ । शास्त्रीय मान्यता अनुसार दर दुई भाग रात छँदै खाई सक्नु पर्ने विधान छ ।
तिजलाई महिलाहरूले वर्षभरिका दुःख, पिर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन् । जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । आइतवार दर खाएपछि सुरु हुने यो पर्व ऋषिपञ्चमीका दिनसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका ब्रत बसिन्छ भने चौथीका दिन गणेश पूजा गरिन्छ ।
यस वर्ष भदौ ३० गते मङ्गलवार बिहान गणेश चौथी र सोही दिन मध्याह्नकालमा स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजाआजा गरेर ऋषि पञ्चमी पर्व मनाइने गरिन्छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन् । पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरेर (लुकाएर) कसैले नदेख्ने ठाउँमा पु¥याएका थिए । सोही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार ब्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ ।
साथीहरूद्वारा हरण गरिएकी हुनाले यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ । तिजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा ब्रतालु महिलाहरूको ठुलो भिड लाग्ने गर्दछ । तिजको सुरुआतसँगै नेपाली समाजमा चाडपर्वको उल्लासमय वातावरण छाएको छ र यस लगत्तै बडादसैँ तथा तिहार जस्ता ठुला पर्वहरू सुरु हुने गर्दछन् ।
तिजको धार्मिक पृष्ठभूमि
भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तिजको परम्परा चलेको पाइन्छ । जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन् ।
वासुदेव स्वयं देवः कन्यां प्रार्थयते यदि ।
तदा मया प्रदातव्या त्वदागमनगौरवात् ।।
पिताजीले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो । उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन् । सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे, र हरण गरि जंगलमा पुर्याए । पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो । यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन् । उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ‘ॐ नमः शिवाय’ मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन् । यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो ।
व्रत बस्ने दिन
तिजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तिजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण–ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तिजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
सामाजिक महत्व
नेपाल कृषिप्रधान मुलुक हो । तिज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
सांस्कृतिक महत्व
मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तिज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तिजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ ।