गिद्ध जोगाउन थप तीन औषधी प्रतिबन्धको तयारी

खेमराज रिजाल

बिजौरी, २९ भदौ । प्रकृतिको कुचीकारका रूपमा स्वीकार गरिएको गिद्धहरूको सङ्ख्या हरेक वर्ष घट्दै गएपछि नेपाल सरकारले गिद्धको सङ्ख्या बढाउने उद्देश्यले पशुहरूमा प्रयोग गरिने थप तीन एन्टी एनाल्जेसिक औषधीहरू प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस अघि गिद्ध बढाउने अभियान अन्तर्गत २०६३ सालदेखि पशुहरूको दुखाइ कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक सोडियममा पूर्णप्रतिबन्ध लगाएको थियो । डाइक्लोफेनेक मुक्त अभियान पनि पहिलो पटक दाङबाटै सुरु भएको थियो ।

पशुहरूको दुखाइमा प्रयोग गरिने डाइक्लोफेनेक खुवाइएका पशुहरू मरेपछि गिद्धले खाने गरेका थिए । यस्ता पशुहरू खाएपछि गिद्धहरूमा मृगौलाले काम नगर्नेसम्मका समस्या देखिएर गिद्धको मृत्यु भएको तथ्य प्रमाणित भएपछि पशुहरूमा प्रयोग गरिने सो औषधी प्रतिबन्ध लगाइएपछि नेपालमा गिद्धको सङ्ख्या केही वृद्धि भएको पक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले बताएका छन् । फेरि गिद्धहरूको मृत्युको अनुसन्धान हुँदै गर्दा थप तीन औषधी घातक पुष्टि भएको विज्ञहरूले प्रतिवेदन दिएपछि औषधी व्यावस्था विभागले ती औषधीमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

औषधी व्यवस्था विभाग औषधी सल्लाहकार समितिको बैठकले जनस्वास्थ्य, पशुपन्छीहरूको स्वास्थ्य रक्षा र वातावरणिय सन्तुलनमा पर्न सक्ने गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै पशुपन्छीहरूको स्वास्थ्योपचारमा प्रयोग हुँदै आएका निमासुलाइड, एसिक्लोफेनेक र केटोप्रुफिनयुक्त औषधीहरूको प्रतिबन्ध लगाउने सिफारिस गरेको थियो । सोही अनुरूप यी औषधीको नयाँ दर्ता, उत्पादन अनुज्ञापत्र, बजार बिक्रीवितरण प्रमाणपत्र, पैठारी दर्ता, पैठारी सिफारिस प्रदान नगर्न निर्णय भएको औषधी व्यवस्था विभागले गत वैशाखमै सूचना जारी गरेको थियो । सूचना प्रकाशित भएको छ महिनाभित्र भएको मौज्दातसमेत सबै सक्नु पर्ने जनाउँदै अव ती औषधीको बिक्रीवितरण पूर्णरूपमा प्रतिबन्ध लगाउने विभागको तयारी रहेको छ ।

औषधी व्यवस्था विभागले यस सम्बन्धमा सार्वजनिक सूचनासमेत जारी गरिसकेको र अबको केही दिनमा एग्रोभेटकोसमेत अनुगमन गरी यी औषधीलाइ पूर्ण रूपमा प्रतिबन्ध लगाइने तुलसीपुरमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ । पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र हेमन्तपुरका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा वरिष्ठ वन अधिकृत खिमबहादुर केसीको प्रमुख आतिथ्यतामा शनिवार हेमन्तपुरमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा यी प्रतिबन्धित औषधीका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा गिद्ध संरक्षणको अभियानमा पशुहरूको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक पनि दाङ जिल्लाकै अगुवाइमा प्रतिबन्धित गरिएको भन्दै अब यी तीन औषधीको पनि पूर्ण रूपमा प्रतिबन्ध लगाउन दाङको अग्रणि भूमिकाको अपेक्षा कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ वन अधिकृत केसीले पत्रकार माझ बताएका छन् । ‘मैले सम्पूर्ण एग्रोभेट व्यवसायीलाई पनि यही फोरममार्फत् ती प्रतिबन्धित औषधीहरू नबेच्न सञ्चारकर्मीमार्फत् आग्रह गर्दछु’, प्रमुख अतिथि केसीले भने । यी औषधीहरूको विकल्पका रूपमा औषधी व्यवस्था विभागले अर्को औषधीसमेत सिफारिस गरिसकेको हुँदा पशुहरूको उपचारमा प्रयोग हुने यी औषधीहरू पूर्ण रूपमा प्रतिबन्ध लगाएर प्रकृतिको कुचीकार गिद्धको सङ्ख्या बढाउन सबैको भूमिकाको पनि प्रमुख अतिथि केसीले अपेक्षा गरे ।

अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा गिद्ध संरक्षणका लागि सञ्चारकर्मीको भूमिका एवम् सम्मान कार्यक्रममा गिद्धको आवश्यकताको औचित्यबारे पशु संरक्षण संघका कार्यक्रम अधिकृत नेपालीले प्रकाश पारेका थिए । सन् २००९ देखि विश्वभर अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस मनाउन लागिएको हो । नेपालमा रहेका जम्मा नौ सय दुई प्रजातिका चरामध्ये नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । विश्वमै नपाइने दुर्लभ पन्छी काँडेभ्याकुरसमेत नेपालमा मात्र पाइने भएकाले चराहरूको वासस्थानका लागि नेपाल अन्तर्राष्ट्रिय अध्ययनको थलो बन्न सक्ने विश्वास गरिएको छ । यसले यहाँको पर्यटकीय प्रवर्धनमा समेत सकारात्मक भूमिका निर्वाह गर्ने सो अवसरमा बताइएको छ । विश्वमा पाइने चराहरूको कम्तीमा १० प्रतिशत नेपालमै पाइने गरेको तथ्य पन्छी संरक्षण संघको तथ्याङ्कमा उल्लेख छ ।

संस्थाका अध्यक्ष रावतले विषय प्रवेश गराएको कार्यक्रममा सञ्चारकर्मीले गिद्ध संरक्षणको आवश्यकताका विषयमा प्रश्न गरेका थिए भने संघका कार्यक्रम अधिकृत नेपालीले गिद्धहरूको संरक्षणलाई वातावरणीय सन्तुलनका चक्रमा जोडेर प्रस्ट पारेका थिए । गिद्धहरूको वासस्थानको समस्याका विषयमा पनि कार्यक्रममा अवगत गराइएको थियो । प्राकृतिक विनाससँगै अग्ला अग्ला बिरुवा साज, सिमल तथा सालका बोट सकिँदै गर्दा गिद्धलाई वासस्थानमा समेत समस्या भएको भन्दै यसमा मुलुकका तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको थियो ।

अहिले प्रतिबन्धित गर्न लागिएका औषधीहरू पशुहरूमा प्रयोग भएको तथा स्वयम् गिद्धलाई प्रयोग गर्दा गिद्धको मृगौलामा गम्भीर समस्या आएर मृत्युसमेत भएको वैज्ञानिक पुष्टिपछि मात्रै ती औषधीहरू प्रतिबन्धित औषधीको सूचीमा राखिएको बताइएको छ ।यसैबिच गिद्ध संरक्षणका सन्दर्भमा सञ्चारमाध्यममार्फत् सचेतना जगाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा एनटिभीका पत्रकार विकास डाँगीलाई नगद तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव साधना शर्माले गरेकी थिइन् ।