अट्वारी पर्व थारूहरूको एक मौलिक पर्व

आशाराम चौधरी

नेपाल एउटा बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त देश हो । २०७८ सालको जनगणना अनुसार नेपालमा एक सय ४२ जातजातिहरु छन् भने मातृभाषा एक सय २४ कायम रहेको छ । नेपालको तराई क्षेत्रका २४ जिल्ला र काठमाडौं उपत्यकामा थारुहरुको स्थायी बसोबास रहेको पाइन्छ । उसो त छिटफुट रुपमा अन्य जिल्लामा पनि थारुहरुको अस्थायी बसोबास रहेको देखिन्छ । नेपालको धेरै जनसङ्ख्या रहेको जातजातिहरुको क्रममा थारुहरु चौथो नम्बरमा पर्दछन् । नेपालको कूल जनसङ्ख्यामध्ये थारुहरुको जनसङ्ख्या ६.२ प्रतिशत अर्थात् १८ लाख सात हजार एक सय २४ रहेको छ । हरेक जातजाति तथा समुदायको भिन्नाभिन्नै मौलिक पहिचान जस्तै संस्कृति, भेषभुषा, साहित्य, कला, रीतिरिवाज, चालचलन छन् । यसैगरी थारुहरुको पनि आफ्नै मौलिक संस्कृति, भेषभुषा, साहित्य, कला, रीतिरिवाज, चालचलन रहेको छ ।

अट्वारी पर्व थारुहरुको एउटा मौलिक पर्व हो । यो पर्व थारु बाहेक नेपालका कुनैपनि जातिले मनाउदैनन । कुसेऔँसी पछिको पहिलो आइतबारलाई थारु भाषामा “बर्का अट्वारी” भन्ने चलन छ । यस बर्का अट्वारीमा थारुहरु धुमधामसँग अट्वारी पर्व मनाउने गर्दछन । परम्परा कालदेखि मनाउँदै आएको यो अट्वारी पर्वलाई किन मनाइन्छ भन्ने सन्दर्भमा थारुहरुको आफ्नै मूल्य र मान्यता रहेको छ । थारुहरु बल र पौरखमा बिस्वास राख्दछन् । अट्वारी पर्वमा विशेष गरी थारु पुरुषहरु बलको प्रतिक मानिने भीमको बर्त बस्दछन् र भीमलाई नै पूजा अर्चना चढाउँछन् । थारुहरु यो पर्व द्वापर युगको पाँच पाण्डवसँग जोडिएको विश्वास गर्दछन् । द्वापर युगमा राक्षसहरुको बिगबिगी रहेको कथाहरु प्रशस्तै सुन्छौँ । थारुहरुको उद्गम स्थल दाङ, थारु राजा दंगीशरणले राज्य गरेकोले यो ठाउँको नाम दाङ रहेको हो भन्ने इतिहास छ ।

जुनबेला दंगीशरण राजाले यो ठाउँमा राज्य गर्दथे, त्यसबेला पाँच पाण्डवहरु बाह्रवर्षे वनबासको अवधिमा दाङ धारपानीको जङ्गलमा वनबासी जीवन बिताइरहेका थिए । त्यसैबेला दंगीशरण राजाको राज्यमा राक्षसहरुले आक्रमण गरे । राजा दंगीशरणले हारगुहार गरी पाण्डवहरुसँग सहायता मांगे । पाण्डवका जेठा पुत्र युधिष्ठिरले सहायताको लागि आफ्ना महिला भाइ भीमलाई खटाए । ठिक त्यसैबेला भीमले भान्सामा रोटी पकाई राखेका थिए । युद्धमा सहायता गर्ने हतारमा रोटी पाक्दापाक्दै छोडेर भीम सहायताको लागि हिंडे र युद्धमा दंगीशरण राजालाई विजय पनि दिलाए । भीमको अजङ्गको भीमकाय बडेमानको शरीर रहेकोले उनलाई खुराक पनि त्यसै प्रकारको चाहिथ्यो । भीमले आफूलाई पकाएको रोटी पनि ठुलै थियो ।

पाक्दापाक्दै छोडेको त्यो बडेमानको ठुलो रोटी त्यहाँ भएका अरुले गलले फर्काउन खोज्दा पनि फर्काउन सकेनन, त्यसैले त्यो रोटी नफर्काई त्यसै एकोहोरो रुपमा पाक्यो । युद्ध बाट फर्किसकेपछि भीमले एकोहोरो रुपमा पाकेको त्यो रोटी खाए । यस्तो अवस्थामा भीमले थारु राजा दंगीशरणलाई युद्धमा सघाई युद्ध जितेकोले त्यसको सम्मान स्वरुप सम्झनामा थारुहरु अट्वारी पर्वमा नफर्काई एकोहोरो पकाएको पहिलो रोटी भीमको नाममा चढाई पूजाअर्चना गर्दछन् भन्ने किम्बदन्ती छ ।

अट्वारी पर्वको पूर्वरात अर्थात् सनिबारको राती भाले नबास्दै खाने खानपिनलाई “भिन्सरिया“ खाना भनिन्छ । थारुहरु अट्वारी बर्तको तयारीमा भिन्सरिया (दर) खानपिन गर्दछन् । भिन्सरिया खानामा विशेषगरी माछा, गंगटा, घोंघी, खेंरिया लगायत अन्य मिठामिठा पकवानहरु खान्छन । आइतबार दिउँसोतिर गाउँका सबैजना मिलेर गन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्दछन । द्वापर युगमा आगोको आविस्कार भएपनि आगो उत्पादन गर्ने यन्त्रहरुको आविस्कार भएको थिएन ।

पाण्डवहरु बनबासमा गन्यारी काठ घोटेर आगो बाल्ने गर्थे भन्ने भनाइ छ । त्यसैले थारुहरुले अट्वारीमा गन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्दछन र त्यहि चोखो आगोमा भीमलाई चढाउनलाई एकोहोरो रोटी पाकाउछ्न र खानलाई चाँही सामान्य रोटी पाकाउछ्न । रोटी पकाई सकेपछि सबै ब्रतालुहरु स्नान गरी पूजामा सरिक हुन्छन् । गाईको चोखो गोबरले पूजाकोठा पोत्छन । भीमको लागि पकाएको एकोहोरो रोटी, काँक्रा, बेलौती, नौनीलगायत पूजाको अन्य सामग्री एउटा टपरीमा छुट्याउँछन् । यस पूजा सामग्रीलाई “अग्यारी“ भन्ने चलन छ ।

यसैगरी ब्रतालु सबैलाई एउटा एउटा टपरीमा रोटी, काँक्रा, फलफुलको भाग लगाउँछन । ब्रतालुपिच्छे एक एक वटा खाली टपरी पनि हुन्छ । ब्रतालुहरु आ–आफ्नो भागबाट आधा आधा भाग छुट्याएर खाली टपरीमा राख्छन । यो कार्यलाई “अग्रासन कहर्ना“ भनिन्छ । अग्रासन कहारी सकेपछि अग्यारी भनि छुट्याएको पूजा सामग्री भीमको नाममा ठेड्की (अगुल्टो) मा चढाउँछन र जलले पर्छिन्छन (छितो हाल्छन) । अनि आ–आफ्नो भागको खानेकुरा खान्छन । जसरी पाँच पाण्डबका चार भाइहरुले खाना खानु भन्दा अगाडि आ–आफ्नो भाग बाट आधा आधा भाग भीमको लागि छुट्याउंथे त्यसै गरि आज पनि थारुहरु अट्वारीमा आफ्नो भाग बाट आधा भाग भीमको लागि छुट्याएर मात्र खान्छन । त्यस दिन ब्रतालुहरु नुन लगायत जुठो मानिने अन्य खानेकुरा खाँदैनन ।

थारु समुदायमा कार्यविभाजन अनुसार सामान्यतया खाना पकाउने काम महिलाको हुन्छ तर यस पर्वमा अट्वारीको अर्को दिन चोखो खाना पकाउने जिम्मा ब्रतालु पुरुष कै हुन्छ । यस दिन भात लगायत् तरकारीमा ३, ५, ७ बिजोडा तरकारी पकाउनुपर्छ । यस दिनको तरकारीमा पवइँको साग, कर्कलो, गेडागुडी विशेष तरकारीको रुपमा मानिन्छ । खाना पकाईवरी सकेपछि सबैजना ब्रतालुहरु स्नान गर्छन् र पूजा कोठामा गई पकाएको खानाको अग्रगास भात र तरकारीहरु अग्यारिको रुपमा एउटा टपरीमा छुट्याउँछन र सबै ब्रतालुको खानाको भाग पनि लगाउँछन् । साँझ कै प्रक्रिया अनुसार पूजापाठ गरेर बिहानको खाना खान्छन । यस बिहानको कार्यलाई “फह्रार“ भन्ने चलन छ ।

अट्वारीमा साँझ र बिहान ब्रतालुहरु आ–आफ्नो भागबाट आधा आधा निकालिएको भागलाई “अग्रासन“ भनिन्छ । यो अग्रासनको अग्राधिकार ब्रतालुको दिदीबहिनीको हुन्छ । ब्रतालुहरुले आ–आफ्नो अग्रासन आ–आफ्ना दिदीबहिनीको घरमा पु¥याउन जान्छन् । अग्रासन दिन गएको बेला दिदीभाइ, दाइबहिनीहरु अट्वारीको खुसियाली साटासाट गर्छन् । यस पर्वमा जसका दाइभाइ हुँदैनन्, त्यस्ता दिदीबहिनीहरु अग्रासन खान पाइएन भनेर बहुत दुःखी हुन्छन् ।