ब्रह्माकुमार माधव तिमिल्सेना
हामीले मनाउँदै आएका चाडपर्व कुनै पात्रोमा अंकित एउटा दिन मात्र नभएर ती समाजका सामूहिक स्मृति, संस्कार, सम्बन्ध र जीवनदर्शनका जीवन्त अभिव्यक्ति हुन् । गीत–सङ्गीत, नृत्य, पूजा–आराधना, पारिवारिक मिलन र सामाजिक सद्भावका माध्यमबाट चाडपर्वले मानिसलाई एकता र मौलिक संस्कृतिसँग जोड्दछन् । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक तथा नैतिक विरासतलाई नयाँ पुस्तासम्म पु¥याउने महङ्खवपूर्ण सेतु पनि यिनै पर्व हुन् ।
हरितालिका तिज नेपाली समाजमा विशेषतः नारीहरुले श्रद्धा, उमंग र आत्मीयताका साथ मनाउँदै आएको महङ्खवपूर्ण उत्सव हो । समयसँगै यसको भौगोलिक सीमा पनि विस्तार भएको छ । देशभित्र मात्र होइन, संसारका विभिन्न मुलुकमा रहेका नेपालीहरुले पनि तिजमार्फत आफ्नो सांस्कृतिक पहिचान र भावनात्मक सम्बन्धलाई जीवन्त राख्दै आएका छन् । त्यसैले तिज धार्मिक आस्थाको पर्व मात्र नभई नारी भावना, पारिवारिक आत्मीयता, सामाजिक चेतना र सांस्कृतिक पहिचानको पर्वसमेत बनेको छ ।
पार्वतीको तपस्या र सङ्कल्पको कथा
सनातन परम्पराका विभिन्न धार्मिक ग्रन्थ तथा लोकविश्वासमा हरितालिका तिजको सम्बन्ध माता पार्वतीको दृढ सङ्कल्प र भगवान् शिवप्रतिको तपस्यासँग जोडिएको पाइन्छ । हिमालयकी पुत्री पार्वतीले शिवलाई नै आफ्नो पतिका रुपमा प्राप्त गर्ने दृढ इच्छा राखिन् । आफ्नो इच्छा विपरीत विवाह गरिदिने सम्भावनाबाट आफूलाई अलग राख्दै उनी सखीहरुसँग वनमा गई कठोर तपस्या र शिवको उपासना गर्न थालिन् ।
उनको अटुट श्रद्धा, साधना र सङ्कल्पबाट प्रसन्न भई शिवले उनलाई स्वीकार गरेको धार्मिक विश्वास छ । यस कथाको बाहिरी पक्ष जति रोचक छ, यसको आध्यात्मिक संकेत त्यसभन्दा गहिरो छ । पार्वती केवल एक पौराणिक पात्र होइनन्; उनी श्रेष्ठ लक्ष्यप्रति अडिग आत्माको प्रतीक हुन् । शिव परमचेतना, परमात्मा र सर्वोच्च सत्यका प्रतीक हुन् । त्यसैले पार्वतीको तपस्यालाई आत्माले परमात्मासँग सम्बन्ध जोड्न गरेको खोजका रुपमा पनि बुझ्न सकिन्छ ।
व्रतको अर्थ ः अन्न त्याग होइन
तिजमा व्रत बस्ने परम्परा छ । तर व्रतको वास्तविक अर्थ केवल भोजन त्याग्नु होइन; श्रेष्ठ सङ्कल्पमा दृढ रहनु हो । त्यस्तै ‘उपवास’ लाई केवल निराहार बस्नुका रुपमा नभई ‘उप’ अर्थात् समीप र ‘वास’ अर्थात् बस्नु–परमात्माको समीप रहनुका रुपमा बुझ्न सकिन्छ । आज मानिस बाहिरी सुविधाले सम्पन्न हुँदै गएपनि भित्री रुपमा तनाव, चिन्ता, असन्तोष, भय, क्रोध, ईष्र्या र असुरक्षाबाट पीडित छ । यस्तो अवस्थामा एक दिनको उपवासभन्दा पनि दैनिक जीवनमा नकारात्मकता, विकार र व्यर्थ सङ्कल्पबाट आफूलाई टाढा राख्नु महङ्खवपूर्ण हुन्छ ।
तर व्रत श्रद्धासँगै विवेकको विषय पनि हो । सबै व्यक्तिको स्वास्थ्य अवस्था एउटै हुँदैन । उमेर, स्वास्थ्य, औषधि सेवन वा शारीरिक अवस्थालाई बेवास्ता गर्दै कठोर निराहार वा निर्जल व्रत बस्नुलाई धार्मिकताको मापदण्ड बनाउनु उचित हुँदैन । श्रद्धासँगै स्वास्थ्य–सचेतना, संयम र विवेक पनि आवश्यक छन् ।
नारी भावना र सशक्तीकरण
तिजको अर्को महङ्खवपूर्ण पक्ष यसको नारी चेतना हो । परम्परागत नेपाली समाजमा विवाहपछि नारीहरु माइतीबाट टाढा पुगेर नयाँ परिवारमा जीवन बिताउँथे । माइतीको सम्झना, बाल्यकालका सम्बन्ध र मनका सुख–दुःख व्यक्त गर्ने अवसरका रुपमा तिजले महङ्खवपूर्ण भूमिका निर्वाह ग¥यो । तिजका गीतमा नारीका पीडा, आशा, प्रेम, विरह, सामाजिक अनुभव र आकांक्षा अभिव्यक्त हुँदै आए । यस अर्थमा तिज नेपाली नारीहरुको भावनालाई आवाज दिने सांस्कृतिक माध्यम पनि हो । नारी सम्मान केवल तिजको एक दिनको शुभकामनामा सीमित हुनु हुँदैन ।
छोरीको शिक्षा, महिलाको आर्थिक आत्मनिर्भरता, निर्णय गर्ने अधिकार, हिंसामुक्त परिवार, सम्मानजनक सम्बन्ध र नेतृत्वमा समान सहभागिता नै वास्तविक सशक्तीकरणका आधार हुन् । तिजले नारीलाई कमजोर वा आश्रित होइन, आत्मसम्मान, क्षमता र विवेकले सम्पन्न शक्तिका रुपमा स्थापित गर्ने प्रेरणा दिनुपर्छ । त्यसैले यसको मौलिक भावलाई संरक्षण गर्दै तिजलाई नारी गरिमा, स्वमान–सम्मान र सामाजिक सद्भावको पर्वका रुपमा अझ समृद्ध बनाउनु आवश्यक छ ।
संस्कार कि प्रदर्शन ?
समयसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक हो । तर परिवर्तनले पर्वको मूल मर्म नै विस्थापित गर्न थाल्यो भने पुनर्विचार आवश्यक हुन्छ । आज कतिपय ठाउँमा तिजको नाममा अत्यधिक खर्च, देखासिकी, भड्किलोपन, अनावश्यक प्रतिस्पर्धा र विलासिताले स्थान पाउन थालेको देखिन्छ । होटल, पार्टी प्यालेस तथा विभिन्न व्यावसायिक कार्यक्रम मार्फत हुने खर्चिलो उत्सवले तिजको धार्मिक, पारिवारिक र सांस्कृतिक पक्षलाई ओझेलमा पार्ने जोखिम बढाएको छ ।
सामाजिक सञ्जालले यसलाई अझ तीव्र बनाएको छ । फेसबुक, टिकटक, रील्स र अन्य डिजिटल माध्यमले तिजका गीत, नृत्य र संस्कृतिलाई संसारभर पु¥याएका छन्–यो सकारात्मक पक्ष हो । सुन्दर बन्नु, शृङ्गार गर्नु र रमाउनु तिजको स्वाभाविक पक्ष हो । तर शृङ्गार प्रदर्शनको विषय होइन, मर्यादा र सौन्दर्यको अभिव्यक्ति बनोस् । फेसन स्वतन्त्रताको नाममा असभ्यता नबनोस्, मनोरञ्जन विकृतिमा नबदलियोस् र उत्सव आर्थिक प्रतिस्पर्धाको माध्यम नबनोस् । हामीले सोच्नुपर्ने कुरा यति हो–हामी संस्कृति मनाइरहेका छौँ कि संस्कृतिको बाहिरी आवरण मात्र ?
वास्तविक शृङ्गार कहाँ छ ?
तिजमा चुरा, पोते, सिन्दूर, मेहन्दी, नयाँ वस्त्र र विभिन्न आभूषणले नारीहरु सजिन्छन् । यी सांस्कृतिक प्रतीकहरुको आफ्नै महङ्खव छ । तर आध्यात्मिक दृष्टिले हेर्दा आत्माका वास्तविक आभूषण भनेका पवित्रता, प्रेम, शान्ति, करुणा, सत्यता, सहनशीलता र सद्भाव हुन् । शरीरलाई गहनाले सजाएझैँ मनलाई पनि सदगुणले सजाउन सके तिजको सौन्दर्य अझ अर्थपूर्ण हुन्छ । एक दिन ऐनामा अनुहार हेरेर सजिनुका साथै कहिलेकाहीँ अन्तर्मनको ऐनामा आफूलाई हेर्नु आवश्यक छ । मेरो सोच कति सकारात्मक छ ? मेरो बोलीले कसैलाई चोट त दिएको छैन ? मेरो व्यवहारले परिवार र समाजमा प्रेम बढाएको छ कि तनाव ? यही आत्मपरीक्षण तिजको वास्तविक साधना बन्न सक्छ ।
विपत्तिको घडीमा तिजको सन्देश
यस वर्ष देशका विभिन्न भागमा बाढी, पहिरो, अतिवृष्टि, डुबान तथा अन्य प्राकृतिक विपत्तिले जनजीवन प्रभावित भइरहेको छ । यतिबेला तिजको उल्लाससँगै हाम्रो मानवीय संवेदनालाई पनि सम्झनु आवश्यक छ । कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपय विस्थापित छन् र धेरै मानिस भय, पीडा तथा अनिश्चितताको बीचमा जीवन बिताइरहेका छन् । कतै चेली माइती पुग्ने बाटो पहिरोले छेकेको छ, कतै घर–आँगन बाढीले प्रभावित भएको छ, कतै प्रियजनको प्रतीक्षामा परिवारको आँखा बाटोतिर टोलाइरहेको छ । यस्तो अवस्थामा तिजको उत्सव करुणाविहीन हुनु हुँदैन ।
आफ्नो घरमा दर पकाउँदा विपत्तिमा परेका परिवारलाई सम्झनु, सम्भव सहयोगका लागि हात बढाउनु, राहत र उद्धारमा सहकार्य गर्नु तथा पीडितप्रति आत्मीयता प्रकट गर्नु नै तिजको मानवीय सौन्दर्य हो । आफ्नो घरमा दीप बाल्दा अरुको घरमा अँध्यारो छ कि छैन भनेर सम्झनु पनि संस्कार हो । प्राकृतिक विपत्तिले अर्को गम्भीर पाठ पनि सिकाइरहेको छ–मानिस प्रकृतिको मालिक होइन, जिम्मेवार सहयात्री हो । वन, नदी, पानी, माटो र वातावरणप्रति असंवेदनशील व्यवहारको परिणाम अन्ततः मानव समाजले नै भोग्नुपर्छ । त्यसैले तिजलाई प्रकृतिप्रति सम्मान, वातावरण संरक्षण, मितव्ययिता र जिम्मेवार जीवनशैलीको सङ्कल्प गर्ने अवसर पनि बनाउन सकिन्छ ।
हरितालिकाको आध्यात्मिक रहस्य
ब्रह्माकुमारीजको आध्यात्मिक दृष्टिकोणबाट हेर्दा हरितालिका तिज आत्मा र परमात्माबीचको सम्बन्ध, आत्मशुद्धि र जीवनपरिवर्तनको प्रतीक मान्न सकिन्छ । ‘हरि’ लाई दुःख, विकार र अशान्ति हरण गर्ने परमात्माका रुपमा स्मरण गर्न सकिन्छ । ‘तालिका’ लाई जीवनलाई सही ताल र मर्यादामा सञ्चालन गर्ने दिव्य अनुशासनका रुपमा बुझ्न सकिन्छ । ‘वन’ लाई बाहिरी जंगल मात्र नभई संसारका आकर्षण र विकारबाट केही समय अन्तर्मुखी हुने अवस्थाका रुपमा बुझ्न सकिन्छ ।
‘गुफा’ भनेको अन्तर्मनको गहिराइमा प्रवेश गर्नु हो । त्यहाँ पुगेर आत्माले आफ्ना कमजोरी नियाल्छ, परमात्मासँग सम्बन्ध जोड्छ र श्रेष्ठ जीवनका लागि नयाँ सङ्कल्प गर्छ । ब्रह्ममुहूर्तमा जागेर ज्ञान, ध्यान र राजयोगमार्फत आत्मचिन्तन गर्नु, परमात्मासँग आत्मिक सम्बन्ध स्थापित गर्नु र दिनभरि श्रेष्ठ सङ्कल्प तथा कर्ममा रहनु नै आधुनिक जीवनमा तिजको आध्यात्मिक प्रयोग हुन सक्छ । त्यसैले तिजलाई मातृशक्तिको पर्व मात्रै नभई यसको आध्यात्मिक सन्देश सम्पूर्ण मानवजातिका लागि आत्मजागरणको निमन्त्रणा हो ।
विवाहित महिलाले अखण्ड सौभाग्य, पति तथा परिवारको सुख–शान्तिको कामना गर्दै व्रत बस्ने र अविवाहित कन्याले योग्य जीवनसाथीको कामना गर्ने परम्परा पनि यसैसँग जोडिएको छ । तर आध्यात्मिक
दृष्टिले हेर्दा ‘सौभाग्य’ केवल बाह्य दाम्पत्य सम्बन्धमा सीमित छैन । वास्तविक सौभाग्य भनेको जीवनमा शान्ति, प्रेम, पवित्रता, आत्मसम्मान, सद्भाव र सन्तुष्टि प्राप्त गर्नुमा छ ।
तिज ः सङ्कल्पको पर्व
हरितालिका तिजलाई अब केवल बाह्य उत्सवमा सीमित नराखौँ । यसलाई आत्मपरिवर्तनको पर्व बनाऔँ । व्रतलाई श्रेष्ठ सङ्कल्प बनाऔँ, उपवासलाई परमात्माको समीप रहने साधना बनाऔँ, शृङ्गारलाई सद्गुणको आभूषण बनाऔँ र गीत–सङ्गीतलाई सकारात्मक चेतना तथा सामाजिक सद्भावको माध्यम बनाऔँ । आजको समय बाह्य परिवर्तनसँगै आन्तरिक परिवर्तनको पनि हो । हामीले आफैँभित्रको क्रोध, लोभ, मोह, अहंकार, ईष्र्या र भयमाथि विजय प्राप्त गर्न सकेमात्र साँचो सौभाग्य प्राप्त हुन्छ । यस तिजमा एउटा सङ्कल्प गरौँ–आफू बदलिने, परिवारमा प्रेम बढाउने, समाजमा सद्भाव फैलाउने, प्रकृतिको सम्मान गर्ने र दुःखमा परेकाको सहारा बन्ने । तिजमा हातमा चुरा मात्र नबजाऔँ, चेतनामा परिवर्तनको घण्टी पनि बजाऔँ ।
ओठमा गीत मात्र नल्याऔँ, पीडितको आँसु पुछ्ने करुणा पनि ल्याऔँ । यही तिजको आध्यात्मिक रहस्य हो । यही सच्चा हरितालिका हो । देश–विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना । दिवङ्गत आत्माहरुप्रति चीरशान्तिको कामना । विपत्तिमा परेका सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति, शीघ्र उद्धार तथा पुनःस्थापनाको माग । हामी जहाँ छौँ, सुरक्षित रहौँ । मनमा शान्ति राखौँ । कर्ममा पवित्रता ल्याऔँ र सबैको कल्याणको भावना राखौँ । ॐ शान्ति । ॐ शान्ति । ॐ शान्ति ।