रोकिए होटलका तिज कार्यक्रम, सहयोगमा खर्च

भोटेकोशी बाढीको प्रभाव

अमरराज आचार्य

दाङ, २७ भदौ । रसुवाको भोटेकोसीमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि दाङमा तिज विशेष कार्यक्रमका लागि होटलमा भएका बुकिङ रद्द भएका छन् । तिजको अवसरमा आयोजना हुने कार्यक्रमका लागि छुट्याइएको रकम विभिन्न सामाजिक संघसंस्था, सहकारी, टोल विकास संस्था तथा समूहले बाढीपीडितका लागि सहयोग स्वरूप पठाइरहेका छन् । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले ठुलो क्षति पु¥याएपछि त्यसको प्रभाव दाङको सामाजिक तथा व्यावसायिक क्षेत्रमा परेको हो ।

तिजलाई लक्षित गर्दै होटल तथा पार्टी प्यालेसमा आयोजना गर्ने तयारी गरिएका कार्यक्रम विपद्को अवस्थालाई मध्यनजर गर्दै रद्द गरिए । कार्यक्रम रद्द गरेर बचत भएको रकम बाढीपीडितको सहयोगमा पठाउने क्रम बढेको छ । तिजमा महिला समूह, सहकारी, सामाजिक संघसंस्था, टोल विकास संस्था, विभिन्न पेसागत संगठन तथा अन्य समूहले सामूहिक कार्यक्रम आयोजना गर्दै आएका थिए । यस्ता कार्यक्रमका लागि होटल, पार्टी प्यालेस तथा अन्य कार्यक्रमस्थलमा अग्रिम बुकिङ हुने गरेको थियो । तिज विशेष कार्यक्रमले होटल व्यवसायमा कारोबार बढाउनुका साथै खानपिन, सजावट, साउन्ड सिस्टम, यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढाउने गरेको व्यवसायी बताउँछन् ।

यस वर्ष भने विपद्का कारण बुकिङ गरिएका कार्यक्रमसमेत रद्द भएपछि होटल व्यवसाय प्रभावित भएको छ । तिजका कार्यक्रमबाट व्यवसायमा केही सुधार आउने अपेक्षा गरेका होटल व्यवसायीहरू कार्यक्रम रद्द भएपछि व्यवसायमा चहलपहल घटेको बताउँछन् । घोराहीमा रहेको होटल मालाइन प्रालिका व्यवस्थापक हेमराज सुवेदीका अनुसार तिज विशेष कार्यक्रमका लागि बुकिङ भएका करिब ३० वटा कार्यक्रम रद्द भएका छन् । साना तथा ठुला गरी करिब ३० वटा कार्यक्रमका लागि बुकिङ भएको भए पनि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ती सबै कार्यक्रम रद्द भएको उनले बताए । उनका अनुसार एक्कासी ठुलो विपद् आएपछि तिजको रमाइलोभन्दा विपद्मा परेका नागरिकलाई सहयोग गर्नु पर्ने अवस्थाका कारण कार्यक्रम स्थगित तथा रद्द भएका हुन् ।

‘तिजका लागि आयोजना गर्न लागिएका कार्यक्रम रद्द भएका छन् । कार्यक्रमका लागि छुट्याइएको रकम पनि बाढीपीडितलाई सहयोग पठाउनुभएको छ’, सुवेदीले भने । तिजका कार्यक्रम रद्द हुँदा होटल व्यवसायमा प्रत्यक्ष असर परेको भए पनि विपद्को समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु पर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । तिजका अवसरमा हुने सामूहिक भोज, सांस्कृतिक कार्यक्रम तथा भेटघाटका लागि होटलमा हुने गतिविधिले व्यवसायलाई चलायमान बनाउने गरेको थियो । यस वर्ष भने त्यस्ता कार्यक्रम नहुँदा होटलमा विगतका वर्षको तुलनामा चहलपहल कम भएको व्यवसायी बताउँछन् ।

होटल कौसीमा पनि तिजका लागि बुकिङ गरिएका १५ बढी कार्यक्रम रद्द भएका छन् । होटल कौसीका सञ्चालक मिनराज भाटका अनुसार तिजलाई लक्षित गरेर विभिन्न समूह तथा संस्थाले कार्यक्रमका लागि बुकिङ गरेका थिए । रसुवामा आएको बाढी तथा त्यसबाट भएको ठुलो क्षतिपछि कार्यक्रम रद्द गरिएको उनले जानकारी दिए । उनका अनुसार विपद्को अवस्थाका कारण अहिले तिजका कार्यक्रम आयोजना गर्नेभन्दा बाढीपीडितलाई सहयोग गर्ने विषय प्राथमिकतामा परेको छ । ‘अहिलेको परिस्थितिका कारण कार्यक्रम आयोजना गर्ने अवस्था रहेन, बुकिङ भएका कार्यक्रम पनि रद्द भएका छन्’, भाटले भने । तिज विशेष कार्यक्रम होटल व्यवसायका लागि महत्वपूर्ण हुने अपेक्षा गरेको उनले बताए । तिजका अवसरमा होटलमा कार्यक्रम आयोजना हुँदा खानाको कारोबार, हल बुकिङ तथा अन्य सेवामा वृद्धि हुने गरेको भए पनि यस वर्ष विपद्का कारण त्यस्तो कारोबार हुन नसकेको उनको भनाइ छ ।

होटल भिङ्ग्रेली भिलेज प्रालिमा पनि तिज विशेष कार्यक्रमका लागि बुकिङ भएका ठुला १५ वटा कार्यक्रम रद्द भएका छन् । होटल भिङ्ग्रेली भिलेज प्रालिका प्रबन्ध निर्देशक निरञ्जन राजभण्डारीका अनुसार तिजमा आयोजना हुने कार्यक्रमबाट होटल व्यवसायमा केही चहलपहल बढ्ने अपेक्षा गरिएको थियो तर भोटेकोशीमा आएको बाढीबाट ठुलो क्षति भएपछि कार्यक्रम रद्द गरिएको उनले बताए । ‘तिजका कार्यक्रमबाट होटल व्यवसाय केही चलायमान हुने अपेक्षा गरिएको भए तापनि अहिले विपद्को अवस्था भएकाले सबै कार्यक्रम रद्द भएका छन्’, भण्डारीले भने । तिजका कार्यक्रम रद्द भएपछि होटल क्षेत्र अहिले तुलनात्मक रूपमा सुनसान बनेको उनको भनाइ छ । राजभण्डारीका अनुसार तिजका अवसरमा होटलमा आयोजना हुने कार्यक्रमले होटलको मुख्य कारोबारसँगै अन्य क्षेत्रमा पनि आर्थिक गतिविधि बढाउने गरेको थियो । कार्यक्रमका लागि खाना, हल, सजावट तथा अन्य सेवाको माग बढ्ने भएकाले तिज होटल व्यवसायका लागि महत्वपूर्ण समय मानिने गरेको उनले बताए । यस वर्ष भने विपद्का कारण त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ ।

व्यवसायीहरूले विपद्का कारण कार्यक्रम रद्द भए पनि बाढीपीडितलाई सहयोग पुग्नु सकारात्मक भएको बताएका छन् । मनोरञ्जन तथा सामाजिक भेटघाटका लागि छुट्याइएको रकम विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि प्रयोग हुँदा पीडित परिवारलाई केही राहत पुग्ने उनीहरूको भनाइ छ । दाङमा पछिल्लो समय तिजका अवसरमा होटल तथा पार्टी प्यालेसमा सामूहिक कार्यक्रम आयोजना गर्ने चलन बढ्दै गएको छ । विभिन्न महिला समूह, सहकारी, वित्तीय संस्था, सामाजिक संघसंस्था तथा टोल विकास संस्थाले तिजलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्दै आएका छन् । यस्ता कार्यक्रमका लागि होटल तथा पार्टी प्यालेसमा केही साताअघि नै बुकिङ हुने गरेको व्यवसायी बताउँछन् । तिजका कार्यक्रमका कारण होटल व्यवसायमा मात्र नभई स्थानीय बजारमा आर्थिक गतिविधि बढ्ने गरेको छ ।

कार्यक्रमका लागि आवश्यक खाद्यान्न, पेय पदार्थ, फूल तथा सजावटका सामग्री, साउन्ड सिस्टम, यातायातलगायतका सेवाको माग बढ्ने भएकाले यसको प्रभाव अन्य व्यवसायमा पर्ने गरेको व्यवसायीको भनाइ छ । यस वर्ष रसुवाको भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपद्का कारण भने सामाजिक कार्यक्रमको प्राथमिकता परिवर्तन भएको छ । तिजको कार्यक्रमका लागि छुट्याइएको बजेट राहत तथा सहयोगमा प्रयोग हुन थालेपछि होटल व्यवसायीले अपेक्षा गरे अनुसारको कारोबार हुन सकेको छैन ।

होटल व्यवसायीहरू आगामी चाडपर्वसम्म विपद्को अवस्था सामान्य हुने र व्यवसायमा पुनः चहलपहल बढ्ने अपेक्षामा छन् । राजभण्डारीले आगामी पर्वहरूमा यस्तो विपद्को अवस्था नआए होटल तथा पर्यटन क्षेत्रमा पुनः चहलपहल बढ्ने विश्वास व्यक्त गरे । विपद्का कारण तत्कालका लागि होटल व्यवसाय प्रभावित भए पनि सामाजिक संघसंस्था तथा विभिन्न समूहले मनोरञ्जनका लागि छुट्याएको रकम पीडितको सहयोगमा प्रयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको व्यवसायीको भनाइ छ । बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेका बेला तिज कार्यक्रम रद्द गरेर रकम सहयोगमा लगाउने निर्णयले विपद्प्रतिको सामाजिक संवेदनशीलता देखाएको उनीहरू बताउँछन् ।

भोटेकोशीमा आएको बाढीले रसुवामा ठुलो क्षति पु¥याएपछि त्यसको मानवीय असर देशका विभिन्न भागमा देखिन थालेको छ । दाङमा तिज विशेष कार्यक्रम रद्द गरी बाढीपीडितलाई सहयोग गर्ने निर्णय त्यसैको एउटा उदाहरण बनेको छ । यसले एकातिर होटल व्यवसायमा अपेक्षित कारोबार हुन नसकेको अवस्था सिर्जना गरेको छ भने अर्कोतर्फ सामाजिक संस्थाहरूले विपद्मा परेका नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाएका छन् ।