टेकबहादुर पुन
दाङ, २७ भदौ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विभिन्न बैंकमा सञ्चालित खाताहरू क्रमशः बन्द हुन थालेपछि संस्थाको आर्थिक तथा प्रशासनिक कारोबार प्रभावित भएको छ । संस्थाका अनुसार लमहीका अधिकांश बैंक शाखामा रहेका खातामध्ये पछिल्लोपटक भदौ ८ गते कुमारी बैंक लमही शाखाको खातासमेत बन्द भएको हो ।
संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारी व्यक्तिगत बैंकिङ कारोबारका क्रममा कालोसूचीमा परेको विषय नेपाल राष्ट्र बैंकको पत्रमा उल्लेख भएपछि संस्थाका बैंक खाताहरू सञ्चालनमा समस्या देखिएको हो । हालको कार्यसमिति २०८१ माघ २७ गते निर्वाचित भए पनि राष्ट्र बैंकको पत्र अनुसार भण्डारी सो भन्दा अगाडिदेखि नै संस्थासँग जोडिएका छन् । कालोसूचीमा परेको व्यक्ति संस्थाको कोषाध्यक्ष रहँदारहँदै करिब १८ महिनासम्म बैंक खाताहरू सामान्य रूपमै सञ्चालनमा रहनुले सम्बन्धित बैंक शाखाहरूको प्रक्रियामाथिसमेत प्रश्न उठाएको छन् ।
खाता बन्द हुँदै जाँदा संस्थाको नियमित आर्थिक कारोबारमा प्रत्यक्ष असर परेको छ । २५ जना कर्मचारी कार्यरत रहेको यस संस्थामा मासिक करिब नौ लाख एक हजार रुपैयाँ तलब खर्च हुने गरे पनि खाता बन्द हुँदा तलब भुक्तानीमै समस्या देखिएको छ । यसैगरी संस्थाले नेपाल विद्युत् प्राधिकरणलाई करिब चार लाख ७८ हजार रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी छ । यो रकम चालु महिनाभित्रै भुक्तानी नभए नियम अनुसार पाँच प्रतिशत जरिवाना लाग्ने संस्थाकी कार्यवाहक प्रमुख कल्पना जिसी बताउँछिन् । उनका अनुसार यसबाट थप करिब २३ हजार नौ सय रुपैयाँ जरिवाना लाग्न सक्छ । बक्यौता लामो समयसम्म कायम रहे विद्युत् प्राधिकरणले नियमानुसार लाइनसमेत काट्न सक्ने अवस्था छ ।
भण्डारी कालोसूचीमा परेको विषय संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई जानकारी हुँदाहुँदै पनि समयमै आवश्यक निर्णय नलिइँदा वर्तमान अवस्था सिर्जना भएको भन्दै संस्थाभित्रै प्रश्न उठेको छ । भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त गठबन्धनबाट कोषाध्यक्षमा निर्वाचित भएका थिए । समस्या समाधानका लागि संस्थाले भदौ २५ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएको थियो । जसमा संस्थाका पदाधिकारी, सदस्य, पूर्व अध्यक्षहरू तथा सल्लाहकारसहित रास्वपा लमही नगर सभापति रोशन खनाल, नेपाली कांग्रेस लमही सभापति सन्तोष बुढाथोकी, नेकपा एमालेका रतनकुमार केसी, लमही–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी र लमही–६ का वडाध्यक्ष श्यामनारायण चौधरीलगायतको सहभागिता थियो । संस्थाका अध्यक्ष सनमकुमार पौडेलका अनुसार बैठकमा यस विषयमा छलफल भए पनि तत्काल कुनै निष्कर्ष निस्किएन ।
बैठकमा सहभागी कोषाध्यक्ष भण्डारीले आफू आफ्नै कारणले होइन, सहोदर दाइको ऋणमा साक्षी बसेकै कारण कालोसूचीमा परेको दाबी गर्दै समस्या समाधानका लागि प्रयास भइरहेको बताए । उनले संस्थाको नामबाट ‘स्टे अर्डर’ माग गरेपछि बैंकिङ कारोबार सहज हुने दाबी गर्दै एक साताभित्र समाधान नभए स्वतः राजीनामा दिने प्रतिबद्धतासमेत जनाएको अध्यक्ष पौडेलले बताए । व्यक्तिगत बैंकिङ समस्याका सन्दर्भमा संस्थाले नै अदालतबाट आदेश माग्ने विषयमा सहमति नबनेपछि भने कानुनी पक्षमा थप छलफलका लागि बैठक स्थगित गरिएको हो ।
यसैबिच लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नाममा विभिन्न बैंकमा रहेका खाता बन्द भई आर्थिक तथा प्रशासनिक कारोबार प्रभावित भएपछि संस्थाले समस्या समाधानका लागि कानुनी परामर्श लिने निर्णय गरेको छ । भदौ २५ र २६ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा कोषाध्यक्षको स्थानमा कार्यसमितिका कुनै एक सदस्यको हस्ताक्षरबाट खाता सञ्चालन गर्न सकिने विकल्पबारे केही दिनभित्र कानुनी परामर्श गर्ने सहमति भएको हो ।
संस्थाका अध्यक्ष सनमकुमार पौडेलका अनुसार आगामी भदौ ३१ गते बस्ने कार्यसमितिको बैठक अघि नै आवश्यक कानुनी परामर्श गरिसकिने छ । बैठकमा कोषाध्यक्ष भण्डारीले आफू कालोसूचीमा परेको कारण आफ्नो व्यक्तिगत ऋण नभई सहोदर दाइको ऋणमा साक्षी बसेकाले भएको दाबी गर्दै समस्या समाधानका लागि १५ दिनको समय र उच्च अदालतबाट ‘स्टे अर्डर’ ल्याउन सहयोग माग गरेका थिए तर यसमा सहमति जुट्न नसकेपछि संस्थाले नियमित कारोबार सञ्चालनका लागि वैकल्पिक कानुनी बाटो खोज्ने निर्णय गरेको हो ।