पुस्तक समिक्षा : सामाजिक विकृतिभित्रको चेतनाको मियो : ‘चेष्टा’ कथासङ्ग्रह

यम रेग्मी

समीक्षा

साहित्य, शिक्षा र पत्रकारिताका बहुआयामिक व्यक्तित्व पद्मप्रसाद शर्माको २०औँ कृतिका रूपमा ‘चेष्टा’ कथासङ्ग्रह २०८२ असोज ३ गते लेखकको जन्मदिनको अवसरमा पाठकमाझ आएको थियो । २०१५ साल प्युठानको माण्डवी गाउँपालिका–४, मुक्तिचौरमा जन्मिएर हाल दाङको घोराहीमा स्थायी बसोबास गर्दै आउनुभएका शर्माले लामो समय शिक्षण तथा प्रधानाध्यापकका रूपमा शिक्षाको क्षेत्रमा योगदान पु¥याउनुभयो । डेढ दर्जनभन्दा बढी कृतिका सर्जक शर्माले २०७६ सालदेखि प्रत्येक वर्ष एउटा कृति प्रकाशन गर्ने र आफ्ना गुरुहरूलाई सम्मान गर्ने उदाहरणीय परिपाटी बसाल्दै आउनु भएको छ । जुन कार्य हरेक तरहले सम्मानयोग्य छ ।

नेपाली आख्यान साहित्यको इतिहासमा लघुकथा तथा कथा विधाको विशेष महत्व रहेको छ । साहित्यको आख्यान विद्याले समाजमा ऐना मात्र बनेर काम गरेका छैन, तत्कालीन सामाजिक, राजनीतिक विकृति, उत्पीडन र जनचेतनाका झिल्काहरूलाई लिपिबद्ध गर्ने सशक्त माध्यमको काम पनि गरेको छ । यसै पृष्ठभूमिमा कथाकार तथा समालोचक पद्मप्रसाद शर्माद्दारा रचित कथासङ्ग्रह ‘चेष्टा’ नेपाली कथा साहित्यको फाटमा एउटा महत्वपूर्ण कथासङ्ग्रह रूपमा देखा परेको छ ।

विशेषत गरी यस वि.सं. २०३० र २०४० को दशक नेपाली समाजमा रहेको निरङ्कुश पञ्चायती व्यवस्थाको उत्तराद्र्धको सामाजिक, राजनीतिक र सांस्कृतिक पृष्ठभूमिमा सिर्जना गरिएका र २०८२ सालमा पुस्तकाकार रूपमा प्रकाशित यी कथाहरूमा तत्कालीन नेपाली समाजको यथार्थ चित्र, सत्ताले गरेको शोषण दमन र पीँधमा पारिएका मानिसहरूको चीत्कार र चेतनाका नवअङ्कुरहरूलाई बडो कलात्मक ढङ्ग्ले उजागर गरेका छन् ।पहिलो खण्डमा २१ वटा कथाहरू र दोस्रो खण्डमा २१ वटा लघुकथाहरू गरी जम्मा ४२ वटा कथाहरू रहेका छन् ।

प्रस्तुत सङ्ग्रहमा ’मालिक गाउँ फर्केको छैन’, ‘भूमा’, ’ललितको खोजी’, ‘पुष्पा’, ‘काहिँला बाजे’, ‘घर ज्वाइँ’, ‘जीर्ण मन्दिर’, ‘बुबाको सपना’, ‘बजारूको पेन्सन’, ‘हात लागेको माया’, ‘काव्यको साटो’, ‘गोपीलाल’, ‘अध्ययन विदा’, ‘फरक नदेखिएको चित्र’ र ‘चेष्टा’लगायत समग्र कथासङ्ग्रहको मूल वैचारिक धरातल भनेकै प्रगतिशील यथार्थवाद र सामाजिक आलोचनात्मकता विचार हो । कथाकारले समाजमा विद्यमान वर्गभेद, सामन्ती दमन, महिला उत्पीडन, अन्धविश्वास र गरिबी जस्ता जल्दाबल्दा समस्यालाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । जुन विषय प्रगतिशील यथार्थवादभित्र पर्दछ ।

सङ्ग्रहको शीर्ष कथा ‘मालिक गाउँ फर्केको छैन’ कथामा २०४४ सालको पञ्चायती कालखण्डको निरङ्कुश र सामन्ती उत्पीडनको जीवन्त दस्तावेज हो । कथामा दीपक सिंहजस्ता शोषक, प्रधानपञ्च र दलालहरूले सोझा गाउँलेहरूमाथि गरेको चरम थिचोमिचो र दमनको नाङ्गो रूप कथा देखाइएको छ । तर कथामा सामन्तवाद सत्तालाई सहेर बस्ने निरीहतामा मात्र सीमित छैन; सचेत युवाहरू सङ्गठित भएर सामन्तलाई मोसो दल्ने, जाली तमसुक जलाउने र गाउँबाट लखेट्ने तहसम्मको वर्ग सङ्घर्ष र जनप्रतिरोधको चेतना कथाले बोकेको छ ।

‘भूमा’ र ’पुष्पा’ कथाहरूले नेपाली समाजमा महिलाहरूले भोग्नुपरेको शारीरिक, मानसिक र सांस्कृतिक उत्पीडनको मर्मस्पर्शी चित्र खिचेका छन् । ‘भूमा’ कथामा सुत्केरी व्यथा र धर्म अन्धविश्वास ‘कि तँ मर्छेस् कि म मर्छु भन्ने लोग्ने र जोगीको भ्रम’ लाई समेटिएको छ । कथा मनोविज्ञानले कसरी एउटी निर्दोष महिलाको ज्यान लिन्छ भन्ने कारुणिक यथार्थ छ । त्यसैगरी ‘पुष्पा’ कथामा दुर्गम र स्वास्थ्य सुविधाविहीन नेपालमा प्रसव पीडाका कारण ज्यान गुमाउनुपरेका अनगिन्ती महिलाहरूको प्रतिनिधि व्यथा पोखिएको छ ।कथा पढ्दा मन रसाएर आउँछ ।

‘ललितको खोजी’ शीर्षकको कथा पनि नारीप्रदान कथा हो । कथामा बालविधवा, गहना र चुरा–चुरीको विभेद छ ।लोग्नेमान्छेले श्रीमती मरेमा केही बदल्न नपर्ने तर महिलाले विधवा भएपछि चुरा र गहना त्याग्नुपर्ने पुरुषप्रधान पितृसत्तात्मक धर्म–संस्कृतिका विसङ्गतिमाथि बौद्धिक प्रश्न उठाइएको छ । कथा पढ्दा गर्दा जो कोही पाठक पनि एक पटक टक्क रोकिएर नेपाली समाजमाथि प्रश्न गर्दछु ।

‘बजारूको पेन्सन’ कथामा थारु समुदायका कमैया–कमलहरीहरूको पुस्तौँपुस्तासम्म चल्ने ऋणको दुष्चक्रको कारुणिक कथा हो । ७०० रुपैयाँको ऋण १८ वर्षमा १३,४१७ र २४ मुरी धान पुग्ने जाली हिसाबलाई उजागर गरिएको छ । यो कथाले शोषणको विकराल संरचनालाई नग्न बनाएको छ । केहीबेर ‘चेष्टा’ कथासङ्ग्रहका पात्रहरूको बारेमा छलफल गरौँ । यस कथासङ्ग्रहका पात्रहरू काल्पनिक आकाशबाट ओर्लिएका होइनन्, यी पात्रहरू हाम्रै समाजका, गाउँघरका, धुलोमैलोमा हुर्किएका हाडछाला घोटेर श्रम गर्ने मानिसहरू हुन् ।

‘बुबाको सपना’ को भैरव जसले व्यक्तिगत स्वार्थ र हाकिम बन्ने सपनाभन्दा माथि उठेर समग्र देश र जनताको मुक्तिको बाटो रोज्छ । ’ललितको खोजी’ का ललितराजजस्ता पात्रहरू चेतनाका अग्रदूत हुन् । भूमा, पुष्पा, बजारू थारु (छोट्का), र गोपीलालजस्ता पात्रहरू हाम्रो नेपाली समाजले पिँधमा पारिएका, सामन्ती र पुँजीवादी संरचनाबाट पिसिएका र मिचिएका प्रतिनिधि पात्र हुन् । कथासङ्ग्रहमा सामन्ती तथा लोभी पापी पात्रहरू पनि रहेका छन् । दीपक सिंह शोषक र दमनकारी मालिक पात्र हो । उप्रेती काहिँला बाजे अत्यन्तै लोभी, आफ्नै ओखतीमा पैसा खर्च नगर्ने तर अरूलाई ठग्न सिपालु पात्र हो । उमेशमान साहू जाली तमसुक बनाएर अनाथ सीतानन्दको जायजेथा हत्याउने खराब पात्र हो । यी माथिका पात्रहरूले समाजका शोषक प्रवृत्तिको प्रतिनिधित्व गर्दछन् ।

कथाकारले चेष्टा कथामा स्थानीय र तत्कालीन परिवेशको निर्माण अत्यन्तै जीवन्त ढङ्ग्ले प्रस्तुत गरेका छन् । ‘मालिक गाउँ फर्केको छैन’ मा सिमलको रुखमुनि औंसीको रातमा युवाहरूको गुप्त बैठक बस्छन् । पञ्चायती प्रहरीको दमन र गाउँलेहरूको निःस्वार्थ श्रम जस्ता दृश्यहरूले २०४० को सेरोफेरोको दशकको नेपाली गाउँको यथार्थ परिवेशलाई आँखाअगाडि ल्याउँछन् । ‘जीर्ण मन्दिर’ कथामा नेताजीले आफ्नो घरतिर बाटो मोडेपछि ऐतिहासिक मन्दिर, धारो र परेवाहरूको बिजोग भएको प्रसङ्ग छ ।

यसले के देखाउँछ भने राजनीतिक स्वार्थले कसरी संस्कृति र सम्पदाको विनाश गर्छ भन्ने देखाइएको छ । ‘फरक नदेखिएको चित्र’ कथामा बसपार्क, सिनेमा हल र होटलहरूमा नाम्लो बोक्ने, बदाम बेच्ने, र भाँडा माझ्ने चिचिला बालबालिकाहरूको दृश्य खिचेर कथाकारले देशको कारुणिक सामाजिक–आर्थिक चित्र प्रस्तुत गरेका छन् । यो बाल शोषणको पक्षमा लेखिएको कथा हो । ‘चेष्टा’ कथासङ्ग्रह सरल, सहज र आञ्चलिक सुवासले युक्त भाषा छ ।

कथाहरूमा प्रयोग भएका स्थानीय शब्दावलीहरू जस्तैः कुलारी, छप्परगन्ती, सुल्फा, कक्कड, पात्लो, धन्सार, दाईं, गुवाला, बछेला आदिले कथालाई माटोको सुवास र आञ्चलिक जीवन्तता प्रदान गरेका छन् । कथाहरूमा कथाकारले पात्र अनुकूलको संवादलाई स्थान दिएका छन् । शोषकको हप्काइ, प्रहरीको धम्की, सोझा गाउँलेको कानेखुसी र युवाहरूको आक्रोस संवादका माध्यमबाट बडो स्वाभाविक रूपमा प्रस्तुत भएको छ ।

कथाकारको शैलीमा कुनै जटिल दार्शनिक क्लिष्टता वा कृत्रिम शब्दजाल छैन । सरल वाक्य गठन र सहज प्रवाहका कारण यी कथाहरूले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्न सफल छन् । सङ्ग्रहका कथाहरूले नेपाली समाजको इतिहास, वर्ग–सङ्घर्ष, र तल्लो वर्गको जनजीवनलाई इमानदारीपूर्वक प्रस्तुत गरेका छन् । कथाहरू केवल निराशा वा दुःखको रोदनमा मात्र सीमित छैनन्; तिनले शोषणविरुद्ध प्रतिरोध, विद्रोह र परिवर्तनको स्पष्ट सन्देश दिएका छन् । आजभन्दा ३५–३७ वर्षअघि २०४३÷२०४४ सालतिर लेखिएका यी कथाहरूले तत्कालीन पञ्चायती कालको सामाजिक–राजनीतिक वस्तुस्थितिलाई बुझ्नका लागि ऐतिहासिक दस्ताबेजको काम गरेका छन् ।

वंशवृत्तान्त र अन्य आयामहरू

‘चेष्टा’ केवल कथासङ्ग्रहां कथा मात्र नरहेर इतिहास र वंश परम्पराको प्रामाणिक दस्तावेज पनि बनेको छ । यस कृतिको तेस्रो खण्डमा प्युठान खैरा निवासी ’बूढो मावली’ अर्थात् कौण्डिन्य गोत्रीय आचार्य वंशको संक्षिप्त वंशवृत्तान्त र ऐतिहासिक विवरण समावेश गरिएको छ । लेखकका मावली भाइ रामकृष्ण आचार्यका अनुसार यस कार्यले पुर्खाप्रतिको सम्मान र भावी पुस्ताका लागि सम्पर्कको सेतु निर्माण गरेको छ । चौथो खण्डमा लेखक परिचय, प्राप्त सम्मान र पारिवारिक तस्बिरहरू समेटिएका छन् । लेखक शर्माले प्रस्तुत कृति आफ्ना पूज्य माता–पिता अनन्तप्रसाद उपाध्याय र टीकादेवी उपाध्यायको स्मृतिमा अर्पण गर्नुभएको छ ।

‘चेष्टा’ कथासङ्ग्रहको आवरणकला डा. खेमराज मल्लले तयार पार्नुभएको छ । कथामा प्रा.डा. कपिलदेव लामिछानेका सुन्दर भनाइहरू रहेका छन । उहाँका अनुसार, ‘‘चेष्टा’ निष्ठाको सबल आख्यान हो । कथाहरू मुन्सी प्रेमचन्दका सामाजिक यथार्थवादी आख्यानबाट प्रभावित देखिन्छन् ।’ समग्रमा, ‘चेष्टा’ कथासङ्ग्रह नेपाली कथा साहित्यको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हो । वरिष्ठ साहित्यकार तथा समालोचक कथाकारले यस सङ्ग्रहका माध्यमबाट समाजका थिचिएका, मिचिएका, अशिक्षा र अन्धविश्वासमा पिसिएका वर्गको पक्षमा आफ्नो सशक्त आवाज उठाएका छन् ।

’चेष्टा’ केवल कथाहरूको सङ्गालो मात्र होइन, यो नेपाली समाजको रूपान्तरणको एउटा ऐतिहासिक ’चेष्टा’ वा कोसिस पनि हो । सामन्तवादको अन्त्य, चेतनाको प्रसार, महिला मुक्ति, र बाल अधिकारका पक्षमा वकालत गर्ने यी कथाहरू आजको परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक र मननीय छन् । आम पाठक, साहित्यप्रेमी तथा नेपाली समाज बुझ्न चाहने जो कोहीका लागि यो पुस्तक एकपटक अवश्य पढ्नै पर्ने कृति बनेको छ ।

कथासङ्ग्रह सुन्दर भइरहँदा केही ठाउँमा सावधानी हुनबाट चिप्लिएको पाइन्छ । नेपाली कथामा पनि कथाहरूमा आधुनिक तथा उत्तरआधुनिक प्रयोगशीलता, धाराप्रवाह चेतना वा जटिल आख्यानात्मक संरचना देखापरिसकेको छ । शर्माका कथामा यसको कमी देखिन्छ । धेरै कथाहरू सरल रेखात्मक ढङ्गमा बगेका छन् । केही कथाहरूको अन्त्यमा कथाकार आफैँ अगाडि सरेर उपदेश वा निष्कर्ष दिन खोजे जस्तो देखिन्छ । उदाहरणका लागि ‘भूमा’ वा ‘फरक नदेखिएको चित्र’ को अन्त्यलाई लिन सिकन्छ । कथाको सन्देशलाई पाठककै विवेकमा छोडिदिएको भए कथा अझ बढी व्यञ्जनात्मक र कलात्मक बन्न सक्थ्यो कि ?

जे होस् ‘चेष्टा’ कथासङ्ग्रहले समाज रूपान्तरण, सुशासनको अपेक्षा र मानव अधिकारको वकालत गर्दछ । सरल भाषाशैली, स्पष्ट विचार र सामाजिक चेतनाले भरिपूर्ण यो कृति नेपाली साहित्यको श्रीवृद्धिमा एक महत्वपूर्ण इट्टा साबित भएको छ । सुन्दर कथासङ्ग्रहका लागि लेखकलाई हार्दिक बधाई ।