गोरक्ष समाचादाता
दाङ, २६ भदौ । त्रिभुवननगर जेसीजको आयोजनामा ‘ट्रेनिङ म्याराथन–२०२६’ सुरु भएको छ । युवाको व्यक्तित्व तथा नेतृत्व विकासमा केन्द्रित साताव्यापी अभियान अन्तर्गत विभिन्न सात विषयमा तालिम सञ्चालन गरिने भएको छ । सन् २०२६ को मूलमन्त्र ‘कनेक्ट, एक्ट, सस्टेन’लाई आधार बनाएर सेप्टेम्बर ११ देखि १९ सम्म तालिम अभियान सञ्चालन गर्न लागिएको त्रिभुवननगर जेसीजले जनाएको छ ।
अभियानमा समाजका विभिन्न वर्ग, विद्यार्थी तथा युवालाई लक्षित गरी क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । त्रिभुवननगर जेसीजका शाखा अध्यक्ष मिनराज भाटका अनुसार संस्थाले स्थापनाकालदेखि नै दाङका युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा काम गर्दै आएको छ । सोही अभियानलाई निरन्तरता दिँदै यस वर्ष विभिन्न सात विषयमा तालिम आयोजना गरिएको हो । म्याराथनको पहिलो दिन पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय, घोराहीमा विद्यार्थीका लागि नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तालिममा विद्यालयका दुई सय बढी विद्यार्थी सहभागी भएका थिए ।
त्रिभुवननगर जेसीजका पूर्वअध्यक्ष तथा बोर्ड अफ ट्रस्टिजका अध्यक्ष जेसी कुमारराज श्रेष्ठले विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए । त्रिभुवननगर जेसीजका शाखा अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डे प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष पाण्डे र पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा तालिमको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रम संयोजक जेसी पुजन योगीले स्वागत गरेका थिए भने सहजीकरण त्रिभुवननगर जेसीजका महासचिव बाबुराम पाण्डेले गरेका थिए । म्याराथन अन्तर्गत दोस्रो कार्यक्रम शनिवार बिहान ६ः०० बजे सञ्चालन हुने भएको छ । ज्वाला दल गण घोराहीको सहयोगमा सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी प्रशिक्षण सञ्चालन गरिने त्रिभुवननगर जेसीजले जनाएको छ ।