पिताम्बर रिजाल
मानिसको जीवनमा केही यस्ता मोडहरू आउँछन्, जसले उसको सम्पूर्ण यात्राको दिशा नै परिवर्तन गरिदिन्छन् । मेरो जीवनमा पनि रेडियो त्यस्तै एउटा माध्यम बन्यो । आज म जुन ठाउँमा छु, मेरो परिचय जुन रूपमा बनेको छ र समाजमा आफूलाई उभ्याउन जुन आत्मविश्वास प्राप्त गरेको छु, त्यसको जगमा रेडियो स्वर्गद्वारीसँग जोडिएको मेरो लामो यात्रा छ ।
२०६१÷६२ सालतिर मेरो रेडियो यात्रा सुरु भयो । त्यो समय आजजस्तो सञ्चारका अनेकौँ माध्यम थिएनन् । रेडियो नै आम मानिसको घर–घरमा पुग्ने प्रभावकारी सञ्चार माध्यम थियो । त्यही रेडियो स्वर्गद्वारीको माध्यमबाट मैले आफ्नो आवाजलाई समाजसम्म पु¥याउने अवसर पाएँ ।
मेरो रेडियो यात्राको एउटा महत्वपूर्ण अध्याय हो, ‘हास्यव्यङ्ग्ये कार्यक्रम टोकरी’ । यो कार्यक्रम सुरु गर्नु मेरो लागि केवल एउटा कार्यक्रम सञ्चालन गर्नु मात्र थिएन, यो आफ्ना विचार, सिर्जना, हास्यव्यङ्ग्य र समाजप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने एउटा खुला मञ्च थियो । कार्यक्रमलाई श्रोताहरूले मन पराउँदै गए । विस्तारै ‘टोकरी’ मेरो परिचय बन्न थाल्यो । रेडियो सुन्ने श्रोताहरूले कार्यक्रमका साथै मलाई पनि चिन्न थाले तर यो यात्रा मेरो एक्लो प्रयासले सम्भव भएको होइन । यस यात्रामा मलाई अवसर दिने, विश्वास गर्ने र हौसला प्रदान गर्ने धेरै व्यक्तिको योगदान छ ।
विशेषगरी आदरणीय दाजु बिपुल पोखरेल, सुदीप गौतम र दधिराम सुवेदीप्रति म सधैँ कृतज्ञ छु । उहाँहरूले मेरो क्षमतामाथि विश्वास गर्नुभयो, रेडियो पत्रकारिताको क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिनुभयो र आफ्नो प्रतिभा प्रस्तुत गर्ने ठाउँ दिनुभयो ।
यसैगरी मलाई रेडियोमा कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर अगाडि ल्याउने तत्कालीन कार्यक्रम संयोजक लोकराज अधिकारीप्रति पनि मेरो विशेष सम्मान छ । उहाँको त्यो एउटा प्रोत्साहनले मेरो जीवनमा नयाँ बाटो खोलिदियो । कहिलेकाहीँ एउटा व्यक्तिले दिएको सानो अवसरले मानिसको सम्पूर्ण जीवन बदल्न सक्छ भन्ने कुराको उदाहरण मेरो रेडियो यात्रा पनि हो । ‘टोकरी’ कार्यक्रम लोकप्रिय हुँदै जाँदा रेडियोले मलाई केवल श्रोता र सञ्चारकर्मीबीचको सम्बन्ध मात्र दिएन, यसले मलाई समाजसँग जोडिन सिकायो ।
मानिसको भावना बुझ्न, विषयवस्तुलाई फरक ढङ्गले प्रस्तुत गर्न, बोल्न, लेख्न र आफ्ना विचारलाई स्पष्ट रूपमा राख्न सिकायो । यही सिकाइले मलाई पत्रकारिता र साहित्यको क्षेत्रमा समेत अघि बढायो । रेडियोमा बोल्दै जाँदा मेरो परिचय विस्तार हुँदै गयो । ‘टोकरी’कै यात्राबाट म गायक र कलाकारका रूपमा पनि चिनिन थालेँ । मेरो सिर्जनालाई मानिसहरूले सुन्न र हेर्न थाले । त्यसपछि शिक्षा क्षेत्रसँग जोडिने अवसर पनि प्राप्त भयो । यसरी एउटा रेडियो कार्यक्रम मेरो जीवनमा मनोरञ्जनको माध्यम मात्र नभएर पहिचान निर्माण गर्ने आधार बन्यो ।
आज म शिक्षा क्षेत्रमा पनि सक्रिय छु । हिन्दू विद्यापीठ नेपाल, घोराही, दाङको प्राचार्यको जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु । यो स्थानसम्म आइपुग्दा रेडियो स्वर्गद्वारीबाट प्राप्त परिचय, आत्मविश्वास र सामाजिक सम्बन्धको ठुलो भूमिका छ । यद्यपि मेरो शैक्षिक यात्रामा डा. भोलानाथ योगीजस्ता अग्रजहरूको प्रेरणा र विश्वासको पनि उत्तिकै महत्वपूर्ण योगदान छ । उहाँहरूले मलाई शिक्षा क्षेत्रमा काम गर्ने अवसर र जिम्मेवारीप्रति अघि बढ्न प्रेरित गर्नुभयो ।
रेडियोले मलाई पत्रकारितामा मात्र सीमित राखेन । यसले साहित्यिक क्षेत्रमा पनि प्रवेश गरायो । लेखक संघ दाङको सचिवका रूपमा तीन कार्यकाल काम गर्ने अवसर पाएँ । विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूसँग जोडिने अवसर पनि रेडियोबाट बनेको परिचय र सम्बन्धकै निरन्तरता हो । अहिले पनि शितोपानी नेपाल, दाङ शाखाको सचिवका रूपमा काम गरिरहेको छु । यी सबै जिम्मेवारी र अवसरलाई फर्केर हेर्दा रेडियो स्वर्गद्वारी सँगको मेरो सम्बन्ध एउटा महत्वपूर्ण आधारका रूपमा देखिन्छ ।
आज प्रविधिको विकासले सञ्चारका माध्यमहरू धेरै परिवर्तन भएका छन् । सामाजिक सञ्जाल, अनलाइन सञ्चार र डिजिटल प्लेटफर्महरूले सञ्चारलाई अझ छिटो र व्यापक बनाएका छन् । तर मेरो पुस्ताका लागि रेडियो केवल एउटा सञ्चार माध्यम थिएन; रेडियो हाम्रो विद्यालय थियो, रेडियो हाम्रो मञ्च थियो र रेडियो नै हाम्रो पहिचान बनाउने माध्यम थियो ।
रेडियो स्वर्गद्वारीले मलाई बोल्ने अवसर मात्र दिएन, बोल्ने आत्मविश्वास दियो । यसले मलाई चिनायो, समाजसँग जोड्यो र नयाँ–नयाँ क्षेत्रमा प्रवेश गर्ने साहस दियो । विशेषगरी बिपुल पोखरेल र सुदीप गौतमजस्ता अग्रजहरूले दिएको हौसला र विश्वासलाई म आफ्नो यात्राको अमूल्य सम्पत्ति ठान्छु । आज पनि ‘टोकरी’ कार्यक्रम निरन्तर चलिरहेको छ । वर्षौँ बिते, समय बदलियो, प्रविधि बदलियो, सञ्चारका शैली बदलिए, तर श्रोतासँगको मेरो सम्बन्ध र रेडियोप्रतिको आत्मीयता उस्तै छ ।
त्यसैले मेरो लागि रेडियो स्वर्गद्वारी एउटा रेडियो स्टेशन मात्र होइन, मेरो जीवन यात्राको एउटा महत्वपूर्ण अध्याय हो । त्यहीँबाट मेरो आवाजले उडान भ¥यो, त्यहीँबाट मेरो पहिचान बन्यो र त्यहीँबाट मैले समाजमा आफूलाई स्थापित गर्ने आत्मविश्वास पाएँ । आज म जहाँ छु, त्यसको श्रेय मेरो मेहनतसँगै मलाई अवसर दिने, विश्वास गर्ने र हौसला प्रदान गर्ने सबै अग्रज तथा शुभेच्छुकहरूलाई जान्छ तर मेरो यात्राको पहिलो ठुलो मञ्च सम्झँदा मेरो मनमा एउटै नाम आउँछ—रेडियो स्वर्गद्वारी । रेडियो स्वर्गद्वारीसँग मेरो सम्बन्ध केवल विगतको सम्झना होइन; यो मेरो जीवन, मेरो पहिचान र मेरो निरन्तर यात्रासँग जोडिएको एउटा अविस्मरणीय अध्याय हो ।