दाङ, २६ भदौ । घोराहीमा जारी एशियन पेन्ट्स च्याम्पियन्स कप अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिता–२०८३ को लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा दोस्रो दिन सिद्धार्थ एकेडेमी घोराही, ज्ञानज्योति एकेडेमी, गोरखा बोर्डिङ स्कुल तुलसीपुर र डिभाइन टेम्पल एकेडेमी बिजयी भएका छन् ।
घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमी मैदानमा भएको पहिलो खेलमा सिद्धार्थ एकेडेमी घोराहीले राममणि मल्टिपल कलेज रुपन्देहीलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि नतिजाका लागि खेल सुटआउटसम्म पुगेको थियो । त्यसैगरी दोश्रो खेलमा ज्ञानज्योति एकेडेमीले बराहक्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँलाई ४–० गोलले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
त्यसैगरी चौथो खेलमा डिभाइन टेम्पल एकेडेमीले रमना पाठशालालाई ५–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको थियो । दोश्रो दिनको तेश्रो खेलमा रुपन्देहीको बुटवलमा रहेको महाकवी देवकोटा माध्यमिक विद्यालयका खेलाडी खेल स्थलमा नआएपछि गोरखा बोर्डिङ स्कुल तुलसीपुरले वाकओभरबाट जीत सुनिश्चित गरेको लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर वलीले जानकारी दिएका छन् ।
द हिमाल टाइम्सको आयोजना तथा लुम्बिनी फुटबल एकेडेमी घोराहीको व्यवस्थापनमा घोराहीमा भइरहेको प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, रुपन्देही र नवलपरासी पश्चिमका २२ विद्यालयले सहभागिता रहेको छ । १८ वर्षमुनिका खेलाडीको सहभागीता रहेको फुटबल प्रतियोगिता असोजको १ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजकका अनुसार भदौ २७ गते शनिबार पहिलो खेल सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुर र त्रिभुवन युनाइटेड एकेडेमी रुपन्देहीबिच खेल हुनेछ । उक्त खेल बिहान ९ बजेदेखि सुरु हुने भएको छ ।