गोरक्ष समाचारदाता
तुलसीपुर, २६ भदौ । विपद्का समयमा सही, विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाले जोड दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सञ्चारमाध्यम, निजी क्षेत्र, मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीबिच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन् ।
सञ्चारिका समूह दाङले बिहिबार तुलसीपुरमा आयोजना गरेको ‘विपद् सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले विपद्का समयमा सूचना प्रवाहसँगै प्रभावित नागरिकको अधिकार संरक्षण, जोखिम न्यूनीकरण र राहत तथा पुनःस्थापनामा विभिन्न क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विपद्का समयमा सञ्चार क्षेत्रले सही, विश्वसनीय र समयमै सूचना प्रवाह गर्नु पर्ने बताए ।
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमले निर्वाह गर्नु पर्ने जिम्मेवारी, सूचनाको विश्वसनीयता र संवेदनशील विषयमा पत्रकारिताले अपनाउनु पर्ने सावधानीबारे उनले आफ्नो अनुभव प्रस्तुत गरे । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सञ्चार क्षेत्र र निजी क्षेत्रबिच आवश्यक समन्वय तथा सहकार्यका विषयमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले धारणा राखे । उनले विपद् व्यवस्थापनमा उद्योग वाणिज्य क्षेत्रको अनुभव, भूमिका तथा आगामी कार्ययोजनाबारे जानकारी गराए ।
मानव अधिकारकर्मी एवम् पत्रकार सुशील बस्नेतले विपद्बाट प्रभावित नागरिकको जीवन, सुरक्षा, सम्मान र आधारभूत अधिकार सुनिश्चितता गर्न मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । विपद्का बेला प्रभावित नागरिकको संरक्षण तथा अधिकार सुनिश्चितता गर्न आवश्यक पहल र निगरानीका विषयमा उनले जानकारी गराए । सञ्चारिका समूह दाङका सल्लाहकार सुलोचना गौतमले विपद् व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका र सञ्चारकर्मीले विपद्का समाचार सम्प्रेषण गर्दा ध्यान दिनु पर्ने विषयबारे प्रस्तुति दिएकी थिइन् ।
विपद्का समयमा तथ्यमा आधारित सूचना सम्प्रेषण, संवेदनशीलता तथा प्रभावित समुदायको अवस्थालाई प्राथमिकतामा राख्नु पर्नेमा उनले जोड दिइन् । महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी उपाध्यक्ष पदमा चौधरीले विपद्पछि महिला तथा बालबालिकामाथि बढ्न सक्ने लैङ्गिक जोखिम, हिंसा तथा अन्य संवेदनशील अवस्थाको सम्बोधनमा महिला अधिकारकर्मीको भूमिकाबारे जानकारी गराइन् । पछिल्ला विपद्का घटनामा भएका प्रत्यक्ष अनुभव तथा गरिएका पहलसमेत उनले प्रस्तुत गरिन् ।
पशुपति सहकारी संस्थाकी अध्यक्ष यमुना कँडेल शाहले परम्परा र संस्कृति संरक्षणसँगै महिला उद्यमशीलतालाई जोडेर अघि बढाउनु पर्ने बताइन् । विपद्का समयमा महिला उद्यमी तथा स्थानीय उत्पादनको प्रवर्धनसँगै सांस्कृतिक पहिचान संरक्षणमा उद्यमशीलताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्वउपाध्यक्ष वसुन्धरा गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरी, युनियनका जिल्ला उपाध्यक्ष यमकला भुसाल, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्याल, जनजाति पत्रकार संघ दाङका सचिव एचआर मगर, रिपोट्र्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, सामाजिक रूपान्तरण मञ्चका अध्यक्ष सुशीला आचार्य र थारू पत्रकार संघ दाङका अध्यक्ष नीता चौधरीलगायतले विपद् व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।
समूहका सचिव दीप्तिशिखा चौधरीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष उमा भण्डारीले स्वागत तथा सदस्य जयन्ती चौधरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । यस वर्ष सञ्चारिका समूह दाङले विगतका वर्षमा मनाउँदै आएको हरितालिका तीजलाई विपद् व्यवस्थापनसँग जोडेर विभिन्न क्षेत्रका सरोकारवालाबिच अन्तरक्रियाका रूपमा मनाएको हो ।