गोरक्ष समाचारदाता
दाङ, २५ भदौ । लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको रामपुर–कपुरकोट सडक अन्तर्गत हालसम्म ७८ दशमलव ८५ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको छ । ती मध्ये ५० दशमलव ५५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने तीन दशमलव आठ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको लुम्बिनी प्रदेश सरकार, यातायात पूर्वाधार निर्देशनालयका बरिष्ठ इन्जिनियर एवम् सूचना अधिकारी अरुण गुप्ताले जानकारी दिए । यो प्रदेश स्थापनादेखि गत आर्थिक वर्षसम्मको उपलब्धि हो ।
हालसम्म सडकमा एक अर्ब सात करोड ३७ लाख ३६ हजार खर्च भएको छ । प्रदेश सरकारको गौरवको आयोजना भए पनि यस कार्यले तीव्रता पाउन नसकेको देखिएको छ । प्रदेश सरकार स्थापना भएको लामो समय भइसके पनि हालसम्म पनि यो सडक निर्माण सम्पन्न हुन नसक्नुले यसले तीव्रता नपाएको बताइएको छ । यसतर्फ प्रदेश सरकारले ध्यान दिन नसकेको देखिएको छ । रामपुर–कपुरकोट सडकलाई प्रदेशको पूर्व–पश्चिम तथा पहाडी जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा अघि बढाइएको हो । ‘जीवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग’ नाम दिइएको यो आयोजनाले पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पासहितका जिल्लालाई सडक सञ्जालमार्फत् जोड्ने लक्ष्य राखेको छ ।
प्रदेश सरकारले आयोजना अन्तर्गत विभिन्न सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामार्फत् निर्माण तथा स्तरोन्नति गरिरहेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । रामपुर–कपुरकोट सडक अन्तर्गत उपलब्ध तथ्याङ्कमा देखिएको सबैभन्दा पुरानो ठेक्का आर्थिक वर्ष २०७६÷०७७ मा सम्झौता भएको छ । पाल्पाको तानसेन–रिडी बाइपास सडक खण्डमा तीन दशमलव दुई किलोमिटर निर्माण भइसकेको छ । यसैगरी अर्घाखाँचीको सन्धिखर्क–धारापानी–चुजाठाँटी सडकको १६ दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि २०७६ फागुन १९ गते सम्झौता भएको थियो । हाल उक्त सडक निर्माण भइ सकेको छ ।
अर्घाखाँचीमा सबैभन्दा धेरै सडक खण्ड
जिल्लागत रूपमा हेर्दा रामपुर–कपुरकोट सडक आयोजनाको सबैभन्दा ठुलो हिस्सा अर्घाखाँचीमा पर्छ । उपलब्ध विवरणमा अर्घाखाँचीमा मात्रै सम्पन्न तथा निर्माणाधीन गरी विभिन्न खण्डमा ठुलो परिमाणमा सडक ठेक्का भएको देखिन्छ । अर्घाखाँचीको सन्धिखर्क–धारापानी–चुजाठाँटी सडकको १६ दशमलव पाँच किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । यसैगरी नरपानी–ढिकुरा–नुवाकोट–पोखरडाँडा सडक अन्तर्गत पोखरडाँडा–चिउरामाटी खण्डको पाँच किलोमिटर सडक पनि सम्पन्न भएको छ ।
नरपानी–ढिकुरा–नुवाकोट–पोखरडाँडा सडककै नरपानी–खाँचीमैदान खण्डको तीन िदशमलव दुई किलोमिटर सडक सम्पन्न भइसकेको छ । यसैगरी घुम्ती–तिनगिरे सडक अन्तर्गत घुम्ती–दुर्गाफाँट खण्डको ११ दशमलव पाँच किलोमिटर सडक पनि निर्माण सम्पन्न भएको छ । अर्घाखाँचीमै घुम्ती–तिनगिरे सडकको दुर्गाफाँट–पोखराथोक खण्डको छ दशमलव १५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । तथ्याङ्क अनुसार अर्घाखाँची जिल्लामा मात्रै सम्पन्न भएका सडक खण्डको लम्बाइ ४२ दशमलव ३५ किलोमिटर पुग्छ । यस बाहेक सोही जिल्लाको सन्धिखर्क–धारापानी–चुजाठाँटी सडकको थप नौ दशमलव पाँच किलोमिटर खण्ड अहिले निर्माणाधीन अवस्थामा छ ।
पाल्पा जिल्लामा रामपुर–कपुरकोट सडक अन्तर्गत तानसेन–रिडी वाइपासको तीन दशमलव दुई किलोमिटर सडक सम्पन्न भइसकेको छ । पाल्पामै हाथोक–छहरा सडक खण्डको चार दशमलव सात किलोमिटर पाल्पाकै आयर्भाङ–रामपुर सडक अन्तर्गत पाँच दशमलव पाँच किलोमिटर सडक निर्माण भइरहेको छ । यसैगरी रामपुर–कपुरकोट सडकले प्युठान जिल्लालाई पनि समेटेको छ । प्यूठानको दाखाक्वाडी–बर्जिबाङ–भिङ्ग्री सडक अन्तर्गत दुई छुट्टाछुट्टै खण्डमा निर्माण अघि बढाइएको थियो । पहिलो खण्ड पाँच किलोमिटर लामो सडक सम्पन्न भएको छ । बाँकी चार दशमलव आठ किलो मिटर विस्तार तथा निर्माणका लागि ठेक्का आवहान भइसकेको छ । रामपुर–कपुरकोट सडकको पहुँच रोल्पासम्म विस्तार भएको छ । रोल्पाको निगालपानी–दहवन सडक खण्ड अन्तर्गत दुई दशमलव पाँच किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । यसरी जिल्लागत रूपमा हेर्दा आयोजना अन्तर्गत अर्घाखाँची, पाल्पा, प्युठान र रोल्पामा निर्माण कार्य अघि बढेको छ ।
२४.५ किलोमिटर सडक अझै निर्माणाधीन
आयोजनाको सबैभन्दा पछिल्लो अवस्था अनुसार चार वटा प्रमुख सडक खण्ड अहिले कार्यान्वयनमा छन् । ती खण्डको कुल ठेक्का लम्बाइ २४ दशमलव पाँच किलोमिटर छ । पाल्पाको हाथोक–छहरा खण्डमा चार दशमलव सात किलोमिटर, पाल्पाकै आयर्भाङ–रामपुर सडकमा पाँच दशमलव पाँच किलोमिटर, अर्घाखाँचीको सन्धिखर्क–धारापानी–चुजाठाँटी सडकमा नौ दशमलव पाँच किलोमिटर र प्युठानको बाँकी खण्डमा चार दशमलव आठ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिको चरणमा रहेको छ । यसमा अर्घाखाँचीको नौ दशमलव पाँच किलोमिटर खण्डको गएको आर्थिक मसान्तसम्म भौतिक प्रगति २५ प्रतिशत भएको थियो ।
पाल्पाको पाँच दशमलव पाँच किलोमिटर सडक खण्डको आयर्भाङ–रामपुर खण्डमा ५० प्रतिशत भौतिक प्रगति पुगेको छ । अर्घाखाँचीको नौ दशमलव पाँच किलोमिटर सन्धिखर्क, धारापानी, चुजाठाँटी सडकको ४५ प्रतिशत भौतिक प्रगति भएको छ । यसले आयोजना अन्तर्गत पुराना ठेक्काका धेरै खण्ड सम्पन्न भए पनि पछिल्ला चरणमा थपिएका सडक खण्डमा निर्माणको गति अझै तीव्र बनाउनु पर्ने देखाउँछ ।
आयोजनाको लक्ष्य र चुनौती
रामपुर–कपुरकोट सडक केवल सडक निर्माणको आयोजना मात्र नभई लुम्बिनी प्रदेशका पहाडी जिल्लाबिचको यातायात सम्बन्ध विस्तार गर्ने रणनीतिक मार्गका रूपमा हेरिएको छ । पाल्पाको रामपुर क्षेत्रबाट अर्घाखाँची, प्युठान हुँदै रोल्पा–कपुरकोटतर्फ जोडिने भएकाले यो मार्गले पहाडी जिल्लाका नागरिकलाई तराई तथा प्रदेशका प्रमुख बजारसँग जोड्ने अपेक्षा गरिएको छ ।
सडक निर्माण सम्पन्न भएपछि कृषि उपजको बजारसम्म पहुँच, स्थानीय उत्पादनको ढुवानी, पर्यटन प्रवर्धन तथा पहाडी जिल्लाका नागरिकको आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ तर पहाडी भूगोलका कारण सडक निर्माणमा आउने भौगोलिक कठिनाइ, वर्षायाममा हुने क्षति, निर्माण सामग्रीको ढुवानी तथा पर्याप्त बजेट व्यवस्थापन आयोजनाका प्रमुख चुनौतीका रूपमा रहने गरेका छन् । रामपुर–कपुरकोट सडक यही प्रदेशस्तरीय सडक पूर्वाधार विस्तारको प्रमुख आयोजनामध्ये एक हो । प्रदेश स्थापना भए यता क्रमशः विभिन्न खण्डमा ठेक्का लगाएर निर्माण अघि बढाइएको यो सडकमा अहिलेसम्मको प्रगतिले आयोजनाले भौतिक रूपमा महत्वपूर्ण दूरी तय गरिसकेको देखाउँछ ।
यसैबिच प्रदेश सरकारले आर्थिक वर्ष ०८२÷८३ मा जिल्लागत रूपमा सडक निर्माण, विस्तार, ग्राभेल, कालोपत्रे, नाला तथा पुल निर्माणमा समेत उल्लेख्य प्रगति गरेको तथ्याङ्ले देखाउँ छ । गएको आर्थिक वर्षमा प्रदेशभर ५५ दशमलव ९१ किलोमिटर नयाँ ट्रयाक, १०७ दशमलव ३३ किलोमिटर सडक विस्तार, १२७ दशमलव १८ किलोमिटर ग्राभेल तथा १२३ दशमलव ५० किलोमिटर कालोपत्रे सम्पन्न भएको तथ्याङ्कले देखाएको छ ।