एकताको १५औँ महाधिवेशन बनाउने प्रयास भइरहेको छ : उपसभापति भुसाल

११२ औँ बीपीजयन्ती

लीलाधर वली
दाङ, २५ भदौ । नेपाली कांग्रेसका नेताहरूले आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । ११२ औँ बीपीजयन्तीका अवसरमा नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको बीपी कोइरालाको शालिक पुनःअनावरण तथा ‘अग्रज नेतृत्व जीवनी संग्रह’ र ‘दाङ कांग्रेस आवाज’ स्मारिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले कांग्रेसभित्रको मतभेदलाई हटाउँदै पार्टीलाई एकताबद्ध र संगठित बनाउने गरि लाग्न नेतृत्वलाई आग्रह गरेका थिए । पार्टीमा विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि नेताको मन नमिल्दा पार्टी फुटको सङ्घारमा पुगेको भन्दै नेताहरूले पार्टीलाई एकजुट बनाउन ध्यान केन्द्रित गर्न नेतृत्वलाई आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सम्बोधन गर्दै नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आगामी असोजमा हुने महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरि पार्टी नेतृत्वले प्रयास गरिरहेको बताएकी छिन् । पार्टीमा देखिएको विमति र असन्तुष्टिलाई सम्बोधन गर्दै सवैको सहभागितामा महाधिवेशन गर्ने गरी प्रयास भइरहेको र भदौमा गर्ने भनेको महाधिवेशन सहमतिकै लागि असोजसम्म सारिएको बताइन् । पार्टी एकताका लागि प्रयास भइरहेको भन्दै कार्यक्रमकी प्रमुख अतिथि भुसालले बीपीका विचार, आदर्श र सिद्धान्तलाई आत्मसात् गरी संगठन सुदृढीकरणमा सबै नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्नु पर्ने जोड दिएकी थिइन् ।

बीपी कोइरालाका विचार र लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्दै संगठनलाई बलियो बनाउने, पुस्तान्तरणलाई प्रभावकारी बनाउने र सबैलाई समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउनेतर्फ अघि बढ्नु पर्ने उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सबै नेता तथा कार्यकर्ता विधि, पद्धति र विधानमा टेकेर अघि बढ्नु पर्ने उनको भनाइ थियो । ‘पार्टीमा विमति हुन्छ, फरक मत हुन्छ तर नेतृत्वलाई असहयोग गर्ने गरी कोही जानु हुँदैन’, उनले भनिन, ‘पार्टी नेतृत्वलाई सफल बनाउँदै कांग्रेसलाई राष्ट्रिय शक्तिका रुपमा अघि बढाउने गरी लाग्नुपर्छ ।’ कांग्रेसका कति क्रियाशील सदस्य छन्भन्दा पनि पार्टी जनताको कति नजिक जान सक्यो र जनतालाई कति जोड्न सक्छ भन्ने विषयमा महाधिवेशनमा गम्भीर छलफल हुनु पर्ने र कांग्रेस जनताको सुखदुःखमा साथ दिने पार्टी बन्नु पर्नेमा जोड दिएकी थिइन् ।

भौगोलिक विकटता र यातायातको असुविधाका बाबजुद बीपी कोइरालाले त्यो समयमा गाउँगाउँ पुगेर निर्माण गरेको पार्टी संगठनलाई पदका लागि विवादमा नपार्न भुसालले आग्रह गरेकी थिइन । सस्तो लोकप्रियताको हुण्डरीले देश नचल्ने भन्दै अहिलेको विषय परिस्थितिमा कांग्रेसलाई बलियो शक्तिका रुपमा स्थापित गर्नु पर्ने आवश्यकता रहेको बताइन् । ‘सस्तो लोकप्रियताको हुण्डरीले देश चल्दैन । यसले कुनै दिन लोकतन्त्रलाई नै अप्ठेरोमा पार्छ, त्यसतर्फ नेताहरू सचेत हुनुपर्छ’, उनले भनिन्, ‘त्यसैले पनि कांग्रेस बलियो हुन आवश्यक छ, त्यसका लागि कांग्रेस मिल्नुपर्छ ।’ निर्वाचन आयोग र अदालतले वैधानिकता प्रदान गरिसकेको विशेष महाधिवेशनको विषयलाई लिएर अब विवाद गर्ने समय नरहेको बताउँदै उनले सबै नेताकार्यकर्तालाई आगामी असोजमा हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरिन् ।

सहमति र सहकार्यका माध्यमबाट मात्र एकताको महाधिवेशन सम्भव रहेको उनको भनाइ थियो । विगतमा सुवर्ण शमशेरले विशेष महाधिवेशनमार्फत् तत्कालीन आवश्यकता महसुस गरी बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गरे जस्तै निवर्तमान सभापति शेरबहादुर देउवाले पनि पार्टीभित्रको विवाद मिलाउनतर्फ ध्यान दिनु पर्ने बताइन् । उनले दाङ कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा अग्रज नेतृत्वले पु¥याएको योगदान, सङ्घर्ष र त्यागबाट वर्तमान पुस्ताले महत्वपूर्ण सन्देश लिनु पर्ने धारणा व्यक्त गर्दै अग्रजहरूको अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई समेत साथमा लिएर नेपाली कांग्रेसलाई थप सशक्त, संगठित र गतिशील बनाउनु पर्नेमा जोड दिएकी थिइन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टीभित्रको विवादलाई अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउने गरी प्रयास भइरहेको बताए । निर्वाचनमा दोस्रो भए पनि राष्ट्रिय प्रमुख शक्तिका रुपमा रहेको पार्टीमा भएको विवाद मिलाउने गरी वर्तमान पार्टी नेतृत्व लागिरहेको भए पनि निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले एउटा गुटमा लाग्दा समस्या भएको बताए । ‘पाटीमा एकता गरेर सर्वोच्च नेता बन्नु पर्ने बेला पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका देउवा एउटा गुटको नेता बन्न पुग्नु दुर्भाग्यपूर्ण हो’, कार्यक्रमका विशिष्ट अतिथि चौधरीले भने, ‘निर्वाचन आयोग र अदालतले वैधानिकता दिइसकेको विशेष महाधिवेशनलाई मान्न नसक्दा नै विवाद उत्पन्न भएको छ ।’ न्यायिक निकायबाटै भएको फैसला नमान्दा विवाद देखिएको र पार्टीको विधिविधान पालना गरे विवादै नरहने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपराज शर्माले आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सबैलाई आआफ्नो ठाउँबाट लाग्न आग्रह गरेका थिए । नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवराज आचार्यले कांग्रेसलाई सही दिशा र जनताको मनोभावना बुझ्ने नेतृत्व वर्तमान सभापति गगनकुमार थापा भएकाले आगामी निर्वाचनबाट पनि उनलाई नै सभापतिमा ल्याउने गरी लाग्नु पर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य लीला नेपालीले पार्टीभित्र देखिएको विमतिलाई सहमति र सहकार्यका माध्यमबाट मिलाउँदै महाधिवेशनलाई सफल बनाउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा मूल्य र मान्यतालाई स्थापित गर्दै सहमति, सहकार्य र संवादका माध्यमबाट एकताको सन्देश दिने गरी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । विषम परिस्थितिमा पार्टीलाई अघि बढाउन भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत वैधानिकता दिइसकेको समयमा कसैले मान्दैनौँ भनेर हिँड्न नहुने धाराणा थियो । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा पार्टीमा हालको अवस्था सिर्जना भएको भन्दै पार्टीको विधिविधान पालना गरे विवादै नरहने उनले भनाइ थियो ।

लुम्बिनी प्रदेश कार्यसमितिका उपसभापति राजु खनालले जनतालाई अधिकार दिलाउन जीवनभर सङ्घर्ष गरेका बीपी कोइरालाले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने अभियानको नेतृत्व गरेको बताए । उनले बीपीको योगदानको सम्मान गर्दै घोराहीमा उनको शालिक पुनःस्थापना गर्नु महत्वपूर्ण कार्यकांग्रेस दाङले गरेको बताएका थिए । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमितिका सहमहामन्त्री खगराज पाण्डेयले पार्टी र देशको हितलाई केन्द्रमा राखेर संगठन निर्माणमा लाग्नु पर्ने बताए । उनले कांग्रेसलाई बलियो बनाउन नेताकार्यकर्ताबिच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमितिका प्रवक्ता एवम् पूर्वमन्त्री प्रचण्डविक्रम न्यौपानेले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै जनतामा एकताको सन्देश दिने गरी लाग्नु पर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशवरी गौतम, कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी र मोहनलाल बलीले कांग्रेस कमजोर हुँदा अराजक तत्वहरू हावी हुने र त्यसको असर राष्ट्रियतामा समेत पर्ने बताएका थिए । साथै उनीहरूले राष्ट्र र जनताको हितका लागि कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन नेताहरूले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले बीपी कोइरालाको राजनीतिक आदर्श राष्ट्रियता, समाजवाद र राष्ट्रिय मेलमिलाप भएको भन्दै जनताको अधिकारका लागि सङ्घर्ष गरेको कांग्रेसले बीपीको विचार र आदर्शलाई व्यवहारमा उतार्नुपनेृमा जोड दिएका थिए । पार्टीको विधि र विधानलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको भन्दै नेताहरूले कांग्रेसभित्रको मनभेद अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संविधान सभा सदस्य अनिता देवकोटा, बुद्धिराम भण्डारी र विमला नेपाली, लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्मा, लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य शङ्कर गिरी, महासमिति सदस्य भूपबहादुर डाँगी, जानकीलाल बस्नेत र किरणकिशोर घिमिरे, नेपाली कांग्रेसका क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का र क्षेत्र नं. ३ का सभापति जगत खड्कालगायतले कांग्रेस अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै नेतृत्वबिच समझदारी र सहकार्य बढाउँदै पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका थिए । साथै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वकै काँधमा रहेको बताएका थिए ।

कार्यक्रममा पुस्तक प्रकाशन समिति सदस्य तथा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले पुस्तक प्रकाशनसम्बन्धी जानकारी दिए । पुस्तकमा कांग्रेस स्थापनाकालदेखि २०४६ सालसम्म आन्दोलनमा नेतृत्व गरेका अग्रजहरूको जीवनीलाई समेटिएको छ । नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।

ठडियो बीपीको शालिक

घोराहीको बिपी चोकमा पुनः बिपी कोइरालाको शालिक ठडिएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोकमा राखिएको बीपी कोराइलाको शालिक गतबर्ष भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको थियो । तोडफोडपछि खाली रहेको उक्त स्थानमा नेपाली कांग्रेस दाङले ११२ औं बिपीजयन्तीका अवसरमा बुधवार अनावरण गरिएको छ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको शालिकको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले बुधवार पुनः अनावरण गरेकी हुन् ।

अनावकरण कार्यक्रममा उपसभापति भुसालसहित नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलगायतका नेताको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका स्व. पूर्वमहामन्त्री खुमबहादुर खड्काले २०७१ भदौ २४ गते शिलान्यास गरेको शालिकको २०७६ भदौ २७ गते कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले अनावरण गरेका थिए ।