बाढीपीडितलाई राप्ती इन्जिनियरिङको डेढ लाख बढी सहयोग

गोरक्ष समाचारदाता
दाङ, २५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राप्ती इन्जिनियरिङ कलेजले एक लाख ५१ हजार नौ सय सय ७० रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी बाढीका कारण ठुलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै कलेजले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कलेजले उक्त रकम सङ्कलन गरेको बताएको छ । कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी तथा कलेजको तर्फबाट रकम सङ्कलन गरी सहयोग गरिएको हो । सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कलेजले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै कलेजले उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ ।

चुनवाङी समाजद्वारा १५ हजार बढी सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चुनवाङ समाजले १५ हजार बढी रुपैयाँ सहयोग गरेको छ । समाजले १५ हजार एक सय पाँच रुपैया रहयोग गरेको समाजका जयप्रकाश वलीले जानकारी दिएका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । थोरै भए पनि सहयोग पुगोस भनेर सहयोग गरेको समाजले जनाएको छ ।

चन्द्रज्योतिद्वारा ३७ हजार बढी सहयोग

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित चन्द्रज्योति बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् । विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीले आफ्नो तर्फबाट सङ्कलन गरेको रकम राहत कोषमा जम्मा गरेका हुन् । विद्यार्थीको तर्फबाट सात हजार छ सय ९० तथा शिक्षक, कर्मचारीको तर्फबाट ३० हजार एक सय ७५ गरी ३७ हजार आठ सय ६५ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।

अम्बिकेश्वरी मन्दिरद्वारा ५१ हजार बढी सहयोग

रसुवाको बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि घोराहीस्थित अम्विकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । समितिले प्राकृतिक विपद्मा परेर प्रभावित बनेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार एक सय पाँच रुपैया सहयोग गरेको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पु¥याएको थियो । प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै समितिले पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित क्षेत्रमा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको जनाएको छ । समितिको बैठकले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको समितिका सचिव दामोदर भुसालले जानकारी दिएका छन् ।