नेतृत्व हत्याउन र टिकिरहने विवादमा फसेको अपाङ्ग संघ

विवेक खड्का

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र अपाङ्गताको क्षेत्रमा काम गर्ने नेपालकै सबैभन्दा पुरानो सामाजिक संस्था हो । स्वर्गीय खगेन्द्रबहादुर बस्नेतको पहलकदमीमा २०२६ सालमा केन्द्रको स्थापना भएको थियो । केन्द्रको झापा, धनुषा, काठमाडौं, दाङ, बाँके र धनगढीमा गरी ६ वटा शाखा कार्यालयहरु छन् । तर नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र यतिबेला इतिहासकै गम्भीर संकटमा छ।संस्थाभित्र चुलिएको नेतृत्व विवाद र आन्तरिक प्रशासनिक अराजकताले संस्थाको अस्तित्व जोखिममा परेको छ । काठमाण्डौको जोरपाटीस्थित केन्द्रीय कार्यालयमा केही वर्षयता नेतृत्वको विवाद चर्किंदै आएको भए पनि पछिल्लो अवस्था झनै जटिल बनेको छ अहिले यो विवाद जिल्ला जिल्ला पुगेको छ ।

संस्था सञ्चालनमा एकलौटी निर्णय, वैधानिक प्रक्रियाको उल्लङ्घन र पदको दुरुपयोग भएको प्रष्ट देखिन्छ । अपाङ्गता भएका असहाय, अशक्त, विपन्नहरुको हकहितमा काम गर्नुपर्ने नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र आफैं लथालिंग र बेसहारा बन्नु संस्थाको नेतृत्व हत्याउन र टिकिरहन पदाधिकारीहरु बिचको विवाद नै हो।सबलांग भएका व्यक्तिहरुले अपाङ्गता भएकाको हकहितमा कहिलै सोचेको पाइएन बरु संस्थालाई दोहन गर्ने र मोलाहिजाको माध्ययममात्र बनाउने गरेको पाइछ । सरकार तथा विभिन्न सहयोगबाट प्राप्त हुने अनुदान र भाडाको आयबाट अपाङ्ग संघ सञ्चालन हुँदै आएको छ ।

विवादको चुरो

गत मंसिरमा संघका दुइवटा अधिवेशन भए काठमाडौंमा भएको अधिवेशनले यज्ञप्रसाद उप्रेतीलाई अध्यक्ष वनायो भने कैलालीमा सामदेन लामालाइ । त्यस लगतै उप्रेतीमाथि कुटपिट भएको घटना सार्वजनिक भयो । विवाद सर्वोच्च अदालतसम्मै पुग्यो । अदालतको आदेश बमोजिम हाल कैलालीमा निर्वाचित लामा अध्यक्ष पदमा कायम हुनुहुन्छ । अपाङ्ग संघको विधान विपरीत कार्य गरेको भन्दै लामा नेतृत्वको समितिले कर्मचारी हटाउने, शाखा भङ्ग गर्ने र असहमत सदस्यहरुमाथि कारबाही गरेको छ । अहिले दाङ शाखा भङ्ग छ ।

संस्थाभित्रको अर्को गम्भीर विवाद सम्पत्ति व्यवस्थापनसँग जोडिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै संस्थाभित्रको बेथितिबारे छानबिन गरी सुधारका लागि निर्देशन दिएको थियो । तर, ती निर्देशन कार्यान्वयन नभएको आरोप एकथरीको छ । यस्तै, आर्थिक पारदर्शिता अभाव, अनुदान खर्चमा अपारदर्शिता र आन्तरिक लेखापरीक्षणमा अवरोधजस्ता विषय पनि उठिरहेका छन् । जिल्लाका पुनस्र्थापना, स्वास्थ्य सेवा र आवाससँग सम्बन्धित कार्यक्रमहरु प्रभावित भएका छन । अपाङ्गता क्षेत्रमा लामो इतिहास बोकेको संस्था आन्तरिक द्वन्द्व र नेतृत्व संघर्षका कारण कमजोर बन्दै जाँदा यसको प्रत्यक्ष असर हजारौं सेवाग्राहीमा देखिएको छ ।

संघको सम्पत्ति

केन्द्रको नाममा केन्द्रमा २ सयभन्दा बढी कोठा, सटरहरु भएको भवन र टहरा छन् । तीमध्ये ६ वटा कोठाबाट केन्द्रले आफ्नो कार्यालय सञ्चालन गर्दै आएको छ । ३३ कोठा र ३ वटा टहरामा आश्रय लिंदै आएका अपाङ्गता भएका व्यक्तिलाई आवासगृह सञ्चालन गरिएको छ । केही कोठामा क्यान्टिन÷चमेनागृह छन् । केन्द्रको नाममा रहेको भवनमा सय बेडको अर्थोपेडिक अस्पताल, ३१ कोठामा एसओएस बालग्राम, २५ कोठा बीआईईए फाउन्डेसन, २२ कोठामा १ देखि १२ कक्षासम्मको विद्यालय सञ्चालन हुँदै आएको छ ।

ठूलो एउटा हल र पाँच कोठा सामुदायिक प्रयोजनका लागि र २७ वटा सटर व्यापारिक प्रयोजनमा लगाइएको छ । २८ कोठाको पुरानो भवनमध्ये ८ वटा प्रयोगमा छन् भने अन्य जीर्ण छन् । ५ कोठामा केयरटेकरहरु बस्छन् । खाली जग्गामा पार्किङको सुविधा छ ।प्रत्यक जिल्ला शाखाहरुका आफ्नै जमिन तथा भवनहरु छन् । उनिहरुका पनि भवन र टहरा छन् । ४ वटा जिल्ला शाखाहरुमा अपाङ्गता भएका व्यक्तिलाई आवासगृह सञ्चालन गरिएको छ ।

निश्कर्ष

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको छुट्टै विशेष सामाजिक आन्दोलन स्थापित छ । अहिले पनि अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा बहस गर्ने गरिन्छ । मूलधारको आन्दोलनभित्र अपाङ्गता भएका व्यक्तीहरुले छुट्टै पहिचान पाउनुपर्छ यो आज सम्मको माग हो । यो विषयमा नजर अन्दाज कसैले नगरोस् । वैधानिक प्रक्रिया, पारदर्शिता र संस्थागत सुधारलाई पैतला मुनी राख्दा संस्था सङ्कटमा परेको हो ।

संस्थामा देखिएको विवाद समाधानका प्रचलित कानुन बमोजिम अपनाउनुपर्ने कानुनी उपायहरु अब प्रायः बन्द भएका छन् । मेलमिलाप, मध्यस्थता, वार्ता र छलफल विवाद समाधानको वैकल्पिक उपाय हुन् । विवाद समाधानका लागि संस्थाभित्र वा बाहिरका निष्पक्ष र विश्वासिलो तेस्रो व्यक्तिलाई मध्यस्थकर्ताको रुपमा रोजेर मध्यस्थकर्ताको सहयोगमा दुवै पक्षलाई मान्य हुने गरी मध्यमार्गी समाधान निकाल्नुको विकल्प अब देखिदँैन ।