सुप्रिया मां
सम्बन्धले हाम्रो जीवनमा ठूलो महत्व राख्दछ । किनकि चौबीस घण्टामा सोह्र घण्टा हामी कसै न कसैसँगको साथमा रहेका हुन्छौँ । हाम्रो जीवनको पचहत्तर प्रतिशत समय अरु मानिसहरुको साथमा रहेरै बितेको हुन्छ । घरमा हुँदा परिवारका कुनै सदस्यसँग, कर्म क्षेत्रमा हुँदा हाकिम वा सहकर्मीहरुसँग र बाहिर कतै हुँदा साथीभाइहरुसँग बसेका हुन्छौँ । खुशी, सफल र आनन्दित हुन चाहन्छौँ भने अरुसँगको हाम्रो सम्बन्ध सुमधुर र सौहार्दपूर्ण हुन अति आवश्यक छ । भनिन्छ व्यवसाय त्यसैको मात्र सफल हुन्छ, जसको सम्बन्ध अरुसँग राम्रो छ । सबै मानिसहरुको सहयोग हामीलाई कुनै न कुनै ठाउँमा चाहिएकै हुन्छ । अरुसँगको सम्बन्ध राम्रो भएका मानिसहरुले नै धेरै उन्नति र प्रगति गरेको पाइन्छ । हामीले दैनिक जीवनमा भेट्ने मानिसहरु धेरै प्रकारका हुन्छन् । कसैको राम्रो स्वभाव हुन्छ, कसैको नराम्रो । कसैको स्वभाव हामीलाई मनपर्छ कसैको पर्दैन । तर सबै प्रकारका मानिसहरुबाट हामीले केही न केही पाठ सिकेका हुन्छौँ । कसैले खुशी र आनन्द दिएर जान्छन् भने कसैले जीवनमा ठूलो पाठ सिकाएर जान्छन् ।
राम्रो सम्बन्ध राख्न जानेका छैनौँ भने सम्बन्धमै हामी अल्झिन्छौँ, उल्झिन्छौँ र सम्बन्धले पनि हामीलाई दुःखतिर लैजान्छ । आनन्दित जीवनका लागि सबै मानिसहरुसँग सुमधुर सम्बन्ध कसरी राख्ने यो हाम्रो आजको चिन्तनको विषय हो ।
वास्तवमा भन्ने हो भने यो संसारमा कोही पनि पराई छैन । सबैसँग हाम्रो गहिरो सम्बन्ध रहेको हुन्छ । हामी भित्रबाट एकअर्कासँग अन्तरसम्बन्धमा रहेका हुन्छौँ । मानिसहरु मात्र होइन अन्य प्राणीहरुसँग पनि हामी भित्रबाट अन्तरसम्बन्धमा रहेका हुन्छौँ । यो संसारमा अरु प्राणीहरु पनि छन्, त्यसकारणले हामी छौं, हामी छौँ त्यसकारणले अरु प्राणीहरु पनि छन् । प्राणीहरु मात्र होइन पृथ्वी, सूर्यलगायत सबै तारागणहरुसँग पनि हाम्रो अन्तरसम्बन्ध छ । हामीलाई थाहा भए पनि नभए पनि हामी एकअर्कासँग गहिरो सम्बन्धमा रहेका हुन्छौँ । सारा ब्रह्माण्ड प्रेमको एउटा सुमधुर सम्बन्धको सञ्जाल (Network) मा रहेको छ र यही सञ्जालले टिकेको छ ।
सम्बन्धको कुरा गर्दा धेरै मित्रहरुले मलाई यस्तो प्रश्न गर्नुहुन्छ– ‘मैले अरु मानिसहरुलाई सधैँ राम्रो गर्छु तर अरुले चाहिँ मलाई कहिल्यै पनि राम्रो गर्दैनन्, म अरुलाई सधै राम्रो गर्ने तर अरुले चाहिँ मलाई सधैँ नराम्रो गर्ने, मेरो जीवनमा यस्तो किन भएको होला ? अब त म पनि जस्तालाई त्यस्तै व्यवहार गर्छु ।‘ धेरै मानिसहरुलाई यस्तै लाग्छ । मैले त राम्रो गरेको छु अरुले पो मलाई नराम्रो गर्छन् । आफूले राम्रो व्यवहार गरेपछि अरुले पनि आफूलाई राम्रो गर्छन्, तर आफूले राम्रो गर्दैमा अरुले पनि आफूलाई राम्रो गर्नु पर्छ भन्ने चाहिँ होइन । त्यस्तो नियम कतै छैन । कसैको स्वभाव अरुलाई राम्रो व्यवहार गर्ने, राम्रो बोल्ने हुन्छ भने कसैको स्वभाव अरुलाई दुःख दिने, नराम्रो व्यवहार गर्ने, नराम्रो भन्ने खालको हुन्छ । त्यस्ता मनिसहरुलाई हामीले परिवर्तन गर्न सक्दैनौँ । आफूले राम्रो व्यवहार गरेर देखाएर सम्झाउन र बुझाउन सकिन्छ । त्यो भन्दा अरु केही पनि गर्न सकिँदैन । आफ्नो सोचविचार, आफ्नो पुरानो संस्कार र आफ्नो बानीअनुसार मानिसले राम्रो र नराम्रो व्यवहार गर्दछ । अरुले जस्तो व्यवहार गरे पनि आफूले सधै आफ्नो मर्यादाभित्र रहेर शिष्टता, असल स्वभाव, संस्कार र राम्रो व्यवहार गर्नुपर्छ । किनकि आफ्नो चेतनाको स्तरबाट तल झरेर कुनै पनि नराम्रो व्यवहार गर्नु हुँदैन । अरुले नराम्रो गरे भन्दैमा आफूले पनि त्यस्तै व्यवहार गर्ने हो भने आफ्नो पनि संस्कार, बानी र स्वभाव नराम्रो बन्दै जान्छ र दुर्गुणले भरिएका मानिसहरु र आफूमा केही पनि फरक रहँदैन । नराम्रो संस्कारले हाम्रो चेतना तलतिर जान्छ । चेतना तल जानु भनेको मानिसबाट पशु बन्दै जानु हो र मानवता हराउँदै जानु हो । एउटा भनाई छ–‘कुकुरले टोक्यो भन्दैमा कुकुरलाई नै टोक्न जानु हुँदैन ।’ आफ्नो असल गुण, स्वभाव, व्यवहार र संस्कारलाई निरन्तरता दिइरहनु पर्छ । चेतनाको स्तरलाई घट्न दिनु हुँदैन ।
स्वभाव र संस्कारको कुरा गर्दा मलाई कतै पढेको एउटा कथा याद आयो । एक जना मानिस खोलामा नुहाउन जाँदा उनले एउटा बिच्छी खोलामा डुब्दै गरेको देखे । उनलाई बिच्छी देखेर दया र करुणा जाग्यो र त्यो बिच्छीलाई उनले पनीबाट बचाउने विचार गरे । आफ्नो हातले त्यसलाई पानीबाट बाहिर निकाले पनि । तर बिच्छीले उनको हातमा टोकिदियो र हातबाट छुटेर फेरि पानीमा खस्यो । यसरी नै ती सज्जन मानिसले बिच्छीलाई धेरै पल्ट पानीबाट बाहिर निकाले र उनको हातमा पनि बिच्छीले धेरै पल्ट टोकिदियो । बिच्छीले जति पल्ट हातमा टोके पनि उनि निराश भएनन् बरु एउटा उपाय निकाले । यस पटक उनले बिच्छीलाई पानीबाट बाहिर निकाल्नेबित्तिकै तुरुन्तै जमिनमा राखिदिए । बिच्छी बाँचेर आफ्नो बाटो लाग्यो । सज्जन मानिसको यो कर्मलाई छेउमा बसेका अर्का एक जना मानिसले हेरिरहेका थिए र उनले ती सज्जन मानिसलाई सोधे–‘तपाईले त्यो टोक्ने बिच्छीलाई किन त्यसरी बचाउनुभएको ? यसरी टोक्ने बिच्छीलाई पानीमै मर्न दिएको भए पनि त हुन्थ्यो । तपाईंलाई धेरै पल्ट त्यसले टोक्यो, किन बचाइरहनु भएको ?‘ ती सज्जन मानिसले जवाफ दिए–‘बिच्छीको स्वभाव टोक्ने हो र मेरो स्वभाव बचाउने हो । म उसलाई नबचाइरहन सक्दिन । किनकि यो मेरो स्वभाव र संस्कार हो । उसले आफ्नो स्वभावको काम गरेको हो र मैले मेरो स्वभावको काम गरेको हुँ ।‘ कति मार्मिक र प्रेरणादायी छ, यो भनाई – ‘उसको स्वभाव टोक्ने हो र मेरो स्वभाव बचाउने हो ।’ जस्तै परिस्थितिमा पनि आफ्नो असल स्वभाव र संस्कारमा रहने हो । यही नै मानवीय धर्म हो । राम्रो सम्बन्ध बनाइराख्नका लागि तलका यस्ता कुराहरुमा पनि ध्यान दिन आवश्यक छ ।
१) मेरो पनि जित तिम्रो पनि जित (Think Win–Win)
लेखक स्टिफन आर कोवेले आफ्नो पुस्तकमा बताउनुभएअनुसार साधारणतया मानिसहरुको सोचाई, बानी र व्यवहार चार प्रकारको हुन्छ । (क) मेरो जित तिम्रो हार (Win–Lose), (ख) मेरो हार तिम्रो जित (Lose–Win), (ग) मेरो हार तिम्रो पनि हार (Lose–Lose), (घ) मेरो जित तिम्रो पनि जित (Win–Win) । धेरैजसो मानिसहरुको सोचाईमा मेरो सधैँ जित होस् र अरुको सधैँ हार होस (Win–Lose) भन्ने खाल्को हुन्छ । यस्तो स्वभाव र व्यवहार गर्ने मानिसको सम्बन्ध अरुसँग कहिल्यै पनि राम्रो हुँदैन । आफूलाई सधैँ फाइदा र नाफा होस् भन्ने, अरुको सहयोग लिने तर अरुलाई कहिल्यै पनि सहयोग नगर्ने हो भने सम्बन्ध कति लामो रहला ? यस्तो स्वार्थीपनको स्वभाव र व्यवहारले सम्बन्ध कहिल्यै पनि राम्रो हुँदैन । त्यसको विपरित मेरो हार होस् र तिम्रो सधैँ जित होस्(Lose–Win) भन्ने हो भने पनि सम्बन्ध धेरै लामो लैजान सकिँदैन । मातापिता र गुरुहरुले माया र करुणाले मेरो हार भए पनि तिम्रो जित होस् भन्ने सोच राखेर व्यवहार गरेका हुन्छन् । आफू हारेर पनि आफ्ना सन्तानहरुलाई जिताउँछन् । अर्को हो, मेरो हार तिम्रो पनि हार (Lose–Lose) । यो अति नै नराम्रो सोच र व्यवहार हो । म खाल्टोमा गए भने अरुलाई पनि खाल्टोमा हाल्छु भन्ने सोच र व्यवहार हो यो । यस्तो सम्बन्धले मानिसलाई महादुःखमा लैजान्छ । ईर्षा र द्वेष भावनाले भरिएर मानिसले यस्तो व्यवहार गर्दछ । यसको विपरित सबैभन्दा उत्तम सोच, बानी र व्यवहार भनेको मेरो जित तिम्रो पनि जित (Win–Win) हो । मेरो जय होस् र अरुको पनि जय होस् भन्ने सोच र व्यवहार गर्ने हो । यस्तो किसिमको सोच र व्यवहारले सबैसँग उत्तम सम्बन्ध बन्दछ । आफ्नो उन्नति र प्रगति भयो भने अरुलाई पनि उन्नति र प्रगति गर्न सहयोग गर्ने, आफू सफल, खुशी र आनन्दित भए अरुलाई पनि खुशी सफल र आनन्दित हुन सहयोग गर्ने । सबैको राम्रो होस भन्ने सोच, विचार र व्यवहार गर्ने हो । यस्तो सोच, विचार, व्यवहार, कामना र संस्कारले सबैभन्दा उत्तम सम्बन्ध बनाउँछ र यस्तो सम्बन्धले हामीलाई सधैँ खुशी र आनन्द दिन्छ ।
२) अरुलाई सम्मान, आदर, प्रेम र सहयोगको भावना :
सम्मान, आदर, प्रेम र प्रशंसा खोज्नु मानिसको प्राकृतिक स्वभाव हो । सबै मानिसहरु आफूलाई अरुले प्रेम गरुन् र आफ्नो प्रशंसा होस् भन्ने चाहन्छन् । कोही पनि घृणा सहन र अपमानित हुन चाहँदैन । राम्रो सम्बन्ध राख्न चाहनेले अरुलाई सधैँ आदर, सम्मान र प्रेमको भावनाले हेर्नुपर्छ । अरुलाई सम्मान र आदर गरे आफूलाई पनि सम्मान र आदर मिल्छ । जे हामीले अरुलाई दिन्छौँ त्यो नै अनन्त गुणा भएर हामीलाई प्राप्त हुन्छ । यो प्रकृतिको नियम हो ।
३) सबै सम्बन्धहरुलाई ध्यान दिइरहने :
जसरी जल–मल भएन भने एउटा विरुवा ओइलाएर जान्छ त्यसैगरी बेला–बेलामा ध्यान दिएका छैनौँ भने सम्बन्ध पनि विस्तारै ओइलाएर जान्छ । सम्बन्धलाई ताजा बनाइराख्न बेला–बेलामा सबैसँग कुरा गरिरहनु पर्छ ।
४) सकारात्मक दृष्टिकोण :
मानिसहरु उसैसँग सम्बन्ध जोड्न र उसलाई आफ्नो बनाउन चाहन्छन् जो खुशी, उत्साहित, आशावादी, सकारात्मक र रमाइलो स्वभावको छ । गुनासो र दुःखको मात्र कुरा गर्ने र सधैँ निराशाले भरिएको मानिस कसैलाई पनि राम्रो लाग्दैन ।
५) अरुको विचारलाई सम्मान :
मानिस चेतनशील प्राणी हो । सबैको आ–आफ्नो सोच्ने, बुझ्ने, मनन् गर्ने र ग्रहण गर्ने क्षमता हुन्छ । त्यसकारणले हामी सबैको विचार एउटै हुँदैन र फरक–फरक हुन सक्छ । आफ्नो भन्दा फरक विचार राख्नेलाई शत्रुभावले हेर्ने होइन, विचारको सम्मान गर्नुपर्छ ।
६) विवाद होइन सम्वाद गर्ने :
विवादले सम्बन्धमा दरार ल्याउँछ र सम्बन्ध बिग्रिन्छ । कसैसँग पनि विवाद गर्ने होइन सम्वाद गर्ने हो । सम्वाद गरेर सम्बन्धलाई राम्रो बनाउन सकिन्छ ।
आफ्नो चेतनाको स्तर माथि लैजान, खुशी र आनन्दित जीवन जिउनका लागि हामीले अरुसँग गर्ने व्यवहार र सम्बन्धलाई ध्यान दिन आवश्यक छ । सम्बन्धले हाम्रो जीवनमा ठूलो महत्व राख्दछ । सबै सम्बन्धहरुलाई सुमधुर बनाउन आवश्यक छ । आजलाई यति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।