मेरो खुशी : आध्यात्मिक रूपमा दीक्षित हुँदा…

२०६० साल माघको एउटा शीतल बिहान । भारतको गायत्री तीर्थ शान्तिकुञ्जमा गुरुको सामु टाउको निहुराउँदै दीक्षा लिइरहेका थिए, दाङको लमही नगरपालिका–९, अमिलिया निवासी श्रीराम दहित । त्यही क्षणमा उनलाई महसुस भयो– यो त उनको दोस्रो जन्म हो । वर्षौँ बितिसक्दा पनि त्यो क्षण उनको मनमा उस्तै ताजा छ, र आज पनि उनी त्यसैलाई आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीका रूपमा सम्झन्छन् ।

सरल जीवनशैली र आध्यात्मिक ज्ञानप्रति गहिरो लगाव राख्ने दहितको जन्म २०३० साल साउन २६ गते दाङ देउखुरीको साविक फुलबारी गाउँ पञ्चायतअन्तर्गत अमिलियामा भएको थियो । पिता शियाराम दहित र माता पुतली दहितका सुपुत्रका रूपमा जनजाति परिवारमा जन्मे–हुर्किए पनि उनले सादगी र संयमलाई नै आफ्नो पहिचान बनाए । माछामासु नखाने, हिंसाबाट सधैं टाढा रहने र निरन्तर मेहनतमा अटुट विश्वास राख्ने उनको स्वभावले नै उनलाई सरल तर दृढ व्यक्तित्वका रूपमा चिनायो ।

आध्यात्मिक गुरु पण्डित श्रीराम शर्मा आचार्यले स्थापना गर्नुभएको गायत्री तीर्थ शान्तिकुञ्जबाट दीक्षित हुनु नै उनको जीवनको सबैभन्दा ठूलो खुसीको क्षण हो, र त्यसलाई उनी आफ्नो ‘आध्यात्मिक जन्म’ मान्दछन् ।

‘जुन दिन म गुरुबाट दीक्षित भएँ, त्यो आध्यात्मिक रूपमा नयाँ जन्म हो, जुन मेरा लागि जीवनको सबैभन्दा ठूलो खुसीको क्षण हो’, दहित मुस्कुराउँदै सुनाउँछन् । यही आस्थाले नै उनलाई अमिलियामा मन्दिर स्थापना गर्न र हरेक शनिवार निरन्तर गायत्री साधनामा लाग्न प्रेरित गरेको छ । निरन्तर मेहनतले नै सफलताको बाटो खोल्छ भन्नेमा दृढ विश्वास राख्ने दहित आध्यात्मिक ज्ञानले नै आफूलाई धार्मिक र वैज्ञानिक– दुवै दृष्टिकोणबाट जीवन र समाज बुझ्न सघाएको बताउँछन् ।

आध्यात्मिक यात्रापछिको अर्को उज्यालो अध्याय हो, उनको पारिवारिक जीवन । २०४६ साल फागुन २९ गते तुलसीपुर उपमहानगरपालिका–१४ अम्बापुर (साविकको फुलबारी गाविस) निवासी हिरा चौधरीसँग विवाहिक बन्धनमा बाँधिएको क्षणलाई पनि उनी अर्काे खुसीको क्षणका रूपमा सम्झन्छन् । ‘जीवनको हरेक दुःख–सुखमा साथ दिने साथी पाउनु आफैंमा एउटा खुसीको क्षण हो’,उनी भन्छन्,‘हिरालाई जीवनसंगिनीका रूपमा पाउँदाको त्यो क्षण मेरा लागि अर्को अविस्मरणीय खुसी हो ।’ दहित दम्पत्तिका जेठी छोरी प्रभा, कान्छी छोरी सविना र छोरा अमृत गरी तीन सन्तान छन्, जसमा उनको खुसीको अर्को संसार बसेको छ ।

तर दहितको खुसी व्यक्तिगत घेराभित्रै सीमित रहेन, त्यो समाजसेवासम्म फैलियो । शिक्षा क्षेत्रमा दहितले करिब २५ वर्ष जीवन सर्मपन गरे । गाउँकै श्री माध्यमिक विद्यालय, अमिलियामा २०५० साल माघदेखि २०७५ साल चैतसम्म बालबालिकालाई ज्ञानको दियो बाल्ने काम गरे । सरकारी शिक्षकबाट विदाई भएपछि उनले गाउँमै निजी लगानीमा प्रगन्ना प्रज्ञा निकेतन नामक विद्यालय थापना गरी त्यसको सञ्चालक तथा प्रिन्सिपलका रूपमा वर्षौँ सेवा दिए । सयौँ विद्यार्थीको भविष्य सजाउनमा आफ्नो साना योगदान रहेकोमा उनी आज पनि उत्तिकै सन्तुष्ट देखिन्छन् ।

योग, ध्यान, प्रकृतिसँगको सामीप्य र स्वास्थ्य परामर्श– यी सबै क्षेत्रमा पनि दहित उत्तिकै रमेका छन् । पतञ्जलि योग समिति, दाङमा लामो समय सचिवका रूपमा खटेर र स्वास्थ्य परामर्शदाताका रूपमा समाजसेवा गरेर पाएको सन्तुष्टि पनि उनका खुसीका महत्वपूर्ण अध्यायमध्ये पर्दछन् ।

२०४६ सालदेखि नै राजनीतिमा जोडिएका दहितका लागि सार्वजनिक जीवनमा सक्रिय रहनु पनि सानो खुसीको कुरा होइन । बुबाकै प्रेरणाले विपी अनुयायी बनेका उनी २०४६–०५१ मा नेविसंघमा आवद्ध भई हाल नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) का सदस्य हुन् । त्यसअघि क्याम्पस अध्ययनकै दिनमा नेपाल विद्यार्थी संघमा लागेर विद्यार्थी राजनीतिमा पनि हात हालेका थिए ।

शिक्षण पेसामा रहँदा नेपाल शिक्षक संघ साविक सतबरिया इकाई सचिव र शिक्षक महासंघ लमही कार्यसमिति सदस्य समेत रहेका उनी अहिले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ (२) प्रदेश कार्यसमिति सदस्यमा पुगेका छन् ।

सामाजिक कार्यसँगै पार्टी राजनीतिमा सक्रिय दहित राजनीति व्यक्तिगत लाभभन्दा पनि जनताको सेवा हो भन्ने स्थापित गर्ने गरी लागेको बताउँछन् । त्यही भावना अनुसार पाएको जिम्मेवारी बहन गर्दै आएका चौधरी जनताका हरेक दुःखसुकमा सहभागी हुने गरेका छन् ।

चौधरी लोकतान्त्रिक थारू संघको केन्द्रीय सदस्य, दहित समाजको केन्द्रीय कोषाध्यक्ष, जडिबुढी उत्पादक संघको केन्द्रीय सदस्य रहेका छन् भने नेपाल प्रेस युनियन दाङको कार्यसमितिमा पनि लगातार दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन् । हाल ग्लोबल एग्री सोलुसनमार्फत् दाङ र सल्यानका किसानलाई कृषि मल व्यवस्थापनमा सघाउँदै आफूले समाजप्रतिको साना जिम्मेवारी पूरा गरेको महसुस गर्ने गरेको उनी बताउँछन् ।

प्रस्तुती : लीलाधर वली