नुमाकान्त पौडेल
नेपालले विश्व मानचित्रको जम्मा ०.०३ प्रतिशत भूभाग ओगटे तापनि प्राकृतिक सुन्दरता, जैविक विविधता र जलस्रोतका लागि धनी देश भनेर विश्वमा चिनिन्छ । तर यही जलस्रोत र भौगोलिक विविधताको संवेदनशीलताले हरेक वर्ष मनसुनको समयमा नेपाली नागरिकका लागि एउटा भयानक अभिशाप बनेर देखापर्ने गरेको छ ।
नेपालमा मनसुन भित्रिएसँगै बाढी, पहिरो र डुबानका समाचारहरु मुख्य सञ्चारमाध्यमका मुख्य शीर्षक बन्ने गर्दछन् । प्रत्येक वर्ष सयौँको संख्यामा मानवीय क्षति हुनु, हजारौँ परिवार घरबारविहीन हुनु, र अर्बौँ रुपैयाँ बराबरको भौतिक पूर्वाधार तथा कृषि क्षेत्र नष्ट हुनु नेपालको वार्षिक नियति जस्तै बनेको छ । जसका कारण प्रत्येक बर्ष ठुलो मात्रामा जनधनको समेत क्षति हुने गरेको छ ।
यसै सन्दर्भमा, नेपालमा बाढी र पहिरोको यो बढ्दो सङ्कट केवल “दैवी प्रकोप“ मात्र होइन, बरु यो प्रकृतिमाथिको मानवीय हस्तक्षेप, अदूरदर्शी विकास नीति र कमजोर राज्य संयन्त्रको संयुक्त परिणाम हो । नेपालमा बाढी र जल उत्पन्न विपद्को गम्भीरता, यसका प्रमुख कारक तत्वहरु, राज्यको कमजोरी र समस्याको दीर्घकालीन समाधानका उपायहरुबारे थोरै भएपनि विवेचना गर्ने कोशिस गरिएको छ ।
नेपालमा बाढी र पहिरोको वर्तमान अवस्था
नेपालको भौगोलिक विविधताको बनावट अत्यन्तै जटिल र संवेदनशील छ । उत्तरमा गगनचुम्बी हिमाल छन् भने मध्य भागमा कमजोर भू–बनोट भएका पहाडहरु रहेका छन् । त्यसैगरी दक्षिणमा समथर तराई भू–भाग रहेको छ । वर्षाको समयमा बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा पहाडी श्रृङ्खलाहरुसँग ठोक्किएर बर्षाद गराउने गर्दछ ।
पछिल्ला केही वर्षहरुमा विश्वमा जलवायु परिवर्तनका कारण वर्षाको रुपरेखामा ठूलो परिवर्तन आएको छ । कुनै ठाउँमा अत्यधिक वर्षा हुने र कतै सुख्खा हुने घटना बढेका छन् । जसका कारण पहाडमा भीषण पहिरो जाने र सोही पहिरोले नदीको बहाव थुनेर आकस्मिक बाढी आउने गरेको छ । पहाडबाट बगेर आएको यो लेदोसहितको पानीले तराईका समथर भूभागलाई पूर्ण रुपमा डुबानमा पार्ने गर्दछन् ।
यही भदौं १० गते नेपाल–तिब्बत सिमा क्षेत्रमा गएको रहेको रसुवा जिल्लामा पर्ने भोटेकोशी र त्रिशुली नदीमा आएको महा विनासकारी बाढीपहिरो पनि त्यहीको उदाहरण हो । केही वर्ष पहिले मेलम्चीमा आएको विनाशक बाढी, काठमाडौँ उपत्यकाभित्रका नदीहरुको जलस्तर वृद्धि र तराईका विभिन्न जिल्लाहरुमा हुने वार्षिक डुबान यसका ज्वलन्त उदाहरणहरु हुन् । वैज्ञानिकका अनुसार यस्ता विपतिहरु अझै आउन सक्ने चेतावनी समेत दिने गरेका छन् ।
बाढी र डुबानका प्रमुख कारणहरु
बाढी आउनुमा प्राकृतिक र भौगोलिक अवस्थाका कारणहरु त जिम्मेवार छन् नै, तर ती प्राकृतिक प्रक्रियाहरुलाई विपत्तिमा बदल्ने काम मानवीय कार्यहरुले गरेका छन् । जसमा अवैज्ञानिक र ‘डोजरे विकास’ नीतिले गर्दा त्यस्ता पहाडी भेगहरुमा इन्जिनियरिङ अध्ययन र भौगर्भिक प्रतिवेदनबिना नै जथाभाभी सडक खन्ने प्रतिस्पर्धा चलेको छ ।
यसलाई आम रुपमा ‘डोजरे विकास’ भनिन्छ । स्थानीय तहहरुले उपभोक्ता समितिमार्फत प्राविधिक मूल्यांकन नगरी पहाडका भित्ताहरु काट्दा वर्षाको समयमा ती ठाउँहरुबाट ठूला–ठूला पहिरो जान्छन्, जसले तल रहेका बस्ती र नदीहरुलाई सोझै प्रभावित पार्छ ।
अर्को तर्फ नेपालको दक्षिणी भेगको चुरे क्षेत्रको तीव्र दोहनले गर्दा नेपालको अन्न भण्डार मानिने तराई क्षेत्रलाई सुरक्षा दिने चुरे पर्वत श्रृङ्खलाको अत्यधिक र अवैध दोहन भइरहेको छ । चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा पहाडहरु खिइँदै गएका छन् । यसले गर्दा वर्षाको पानी जमिनमुनि सोसिन पाउँदैन र सोझै बगेर तराईमा आकस्मिक बाढी र मरुभूमिकरणको खतरा बढाएको छ ।
त्यसैगरी नेपालमा अव्यवस्थित सहरीकरण र नदी किनारको अतिक्रमण गरी देशका ठूला सहरहरुमा नदीको बहाव क्षेत्रलाई मिचेर पक्की घर, सडक र कारखानाहरु निर्माण गरिएका गरिएका छन् । नदीको आफ्नो प्राकृतिक बाटो सानो पारिँदा सामान्य वर्षामा पनि पानी सडक र घरहरुमा पस्ने गर्दछ । साथै फोहोरमैला र ढल निकासको कमजोरीका कारण ठूला सहरहरुमा ढल र पानी निकासको उचित इन्जिनियरिङ गरिएको छैन । प्लास्टिकजन्य फोहोरहरुले ढलका पाइपहरु थुनिँदा पानी भुइँमै जम्ने गर्छ, जसले सहरहरुलाई कृत्रिम पोखरीमा परिणत गरिदिन्छ ।
अन्तर्राष्ट्रिय सीमा र बाँधहरुको कारण नेपालको दक्षिण सिमानासँग जोडिएको भारतीय भूभागमा निर्माण गरिएका विभिन्न लक्ष्मणपुर, कोशी र गण्डक जस्ता बाँध तथा सडकजन्य संरचनाहरुका कारण पनि नेपालको तराई भूभाग वर्षा याममा डुबानमा पर्दछ । मनसुनको समयमा भारतले बाँधका ढोकाहरु समयमै नखोल्दा नेपालतर्फ ब्याकवाटर सिर्जना भई ठूलो क्षेत्र जलमग्न हुने गर्छ ।
राज्यको भूमिका
नेपालमा विपद् व्यवस्थापनको सबैभन्दा ठूलो कमजोरी भनेको राज्यको दृष्टिकोण घटना घटिसकेपछि मात्र ब्युँझिने प्रकृतिको हुनु हो । हामीसँग मौसम पूर्वानुमान महाशाखा छ, जसले स्याटेलाइट र आधुनिक प्रविधिको प्रयोग गरेर कुन क्षेत्रमा कति वर्षा हुन्छ र कुन नदीमा बाढीको जोखिम छ भन्ने सूचना केही दिन अगाडि नै सार्वजनिक गर्दछ ।
तर विडम्बना के छ भने त्यो सूचनालाई सर्वसाधारण नागरिकले बुझ्ने भाषामा तल्लो तहसम्म पु¥याउने र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने संयन्त्र अत्यन्तै कमजोर छ । जसका कारण कुनै विपदका घट्ना हुँदा ठुलो मानवीय क्षति हुने गरेको छ । भोटेकोसीकै बिनासकारी बाढीको समयमै सूचना प्रवाह गर्न सकेको भए भौतिक पूर्वाधारमा हुने क्षति रोक्न नसकेपनि मानवीय क्षती कम गर्न सकिन्थ्यो ।
नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ । तर यो संस्था अझै पनि पर्याप्त स्रोत, साधन, दक्ष जनशक्ति र स्वायत्तताको अभावमा छ । बाढी आइसकेपछि सेना, प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो ज्यान जोखिममा राखेर नागरिकको उद्धार त गर्छन्, तर त्यो पर्याप्त हुँदैन ।
विपद् व्यवस्थापन भनेको केवल हेलिकप्टर लिएर उद्धार गर्नु र चाउचाउका पोका बाँड्नु मात्र होइन । वास्तविक व्यवस्थापन भनेको क्षति हुनै नदिने गरी पूर्वतयारी गर्नु हो । प्रत्येक बर्ष बाढी पहिरोको जोखिम रहने भएकाले त्यही अनुसारको नेपालले तयारी गर्नुपर्ने समेत देखिन्छ । त्यही अनुसारको प्राविधिक उपकरणसँगै जनशक्ति तयार गर्नतर्पm ध्यान दिन आवश्इक रहेको छ ।
बाढी र डुबानका दूरगामी प्रभावहरु
यो वार्षिक सङ्कटले नेपालको समग्र अर्थतन्त्र, समाज र दिगो विकासको लक्ष्यमाथि गम्भीर धक्का पु¥याइरहेको छ ः
आर्थिक आर्थिक क्षति : राष्ट्रिय गौरवका आयोजनाहरु, जलविद्युत गृहहरु, सडक र पुलहरु बाढीले बगाउँदा देशले अर्बौँको नोक्सानी बेहोर्नुपर्छ । यसले देशको विकासको गतिलाई दशकौँ पछाडि धकेल्छ । त्यसैले पूर्वाधार निर्माण गर्दा जोखिमपूर्ण ठाँउँमा त्यही अनुसारको पूर्वाधार विकासमा ध्यान दिन आवश्यक देखिन्छ । जसले गर्दा सानो तिनो विपदले समेत क्षति गर्न नसकोस । कृषि क्षेत्रको विनाशः तराई नेपालको प्रमुख कृषि उत्पादन केन्द्र हो । बाढी र डुबानले हजारौँ हेक्टरमा लगाइएको धानबाली नष्ट गर्छ । कतिपय अवस्थामा खेतहरुमा बालुवा थुप्रिएर ती जमिनहरु वर्षौँसम्म बाँझो बन्न पुग्छन्, जसले देशमा खाद्य असुरक्षा बढाउँछ ।
स्वास्थ्य सङ्कट र महामारी : बाढीको पानी कम भएपछि प्रभावित क्षेत्रहरुमा झाडापखाला, हैजा, डेंगु र टाइफाइड जस्ता जलजन्य रोगहरुको महामारी फैलिने उच्च जोखिम हुन्छ । सफा पिउने पानी र उचित सरसफाइको अभावमा बालबालिका र वृद्धवृद्धाहरु सबैभन्दा बढी प्रभावित हुन्छन् ।
मानसिक र सामाजिक प्रभाव : आफ्नो जन्मथलो, घरजग्गा र परिवारका सदस्य गुमाएका नागरिकहरु लामो समयसम्म मानसिक आघातमा बाँचिरहेका हुन्छन् । सुकुम्वासी र विस्थापितहरुको संख्या बढ्दा सामाजिक सन्तुलनमा समेत असर पर्छ ।
अबको बाटोः दीर्घकालीन र वैज्ञानिक समाधान
नेपाललाई यो वार्षिक सङ्कटबाट सधैँका लागि मुक्त गर्न वा यसको क्षतिलाई न्यूनीकरण गर्न अब परम्परागत शैली बदलेर वैज्ञानिक र व्यावहारिक कदमहरु चाल्न ढिलो भइसकेको छ । त्यसैले सम्बन्धित नियकायले बेलैमा यो विषयलाई वैज्ञानिक तवरले समाधान गर्नको लागि निम्न कुराहरु गर्नुपर्ने देखिन्छः
– नदी नियन्त्रण र इन्जिनियरिङ गर्दा नदीहरुको दुवैतर्फ वैज्ञानिक र बलियो तटबन्ध निर्माण गर्ने । नदीको प्राकृतिक बहाव क्षेत्रलाई कानुन बनाएर खाली गराउने ।
– हरित विकास र चुरे संरक्षण गरी चुरे क्षेत्रमा ढुंगा, गिट्टी उत्खननमा पूर्ण प्रतिबन्ध लगाउने । पहाडी क्षेत्रमा व्यापक वृक्षारोपण गर्ने र बायो–इन्जिनियरिङ प्रविधिको प्रयोग गर्ने ।
– पूर्व–सूचना प्रणालीको सुदृढीकरण गरी स्थानीय भाषामा मोबाइल एसएमएस, रेडियो र माइकिङमार्फत् बाढी आउनु १२ देखि २४ घण्टा अगावै नागरिकलाई सचेत गराउने र सुरक्षित सेल्टरमा सार्ने ।
– स्थानीय सरकारको सबलीकरण गरी तीन तहको सरकारमध्ये स्थानीय सरकार नागरिकको सबैभन्दा नजिक हुन्छ । त्यसैले स्थानीय तहलाई विपद् कोष, उद्धार सामग्री र तालिमप्राप्त स्वयंसेवक टोली उपलब्ध गराउने ।
– त्रिपक्षीय कूटनीतिक पहल थाली नेपाल, चीन र भारतबीचको सीमा क्षेत्रमा हुने बाढी पहिरो र डुबानको समस्या समाधान गर्न उच्चस्तरीय कूटनीतिक वार्ता गरी वैज्ञानिक तवरले जलवायु परिवर्तन र यसले पार्नसक्ने अवसरका बारेमा, जल व्यवस्थापन र बाँधको संयुक्त सञ्चालन कार्यविधि बनाउने ।
निष्कर्ष
बाढी र पहिरो प्राकृतिक प्रक्रिया हुन्, जसलाई पूर्ण रुपमा रोक्न असम्भव छ । तर सही नीति, बलियो राजनीतिक इच्छाशक्ति र वैज्ञानिक व्यवस्थापनको माध्यमबाट यसले निम्त्याउने महाविपत्ति र मानवीय क्षतिलाई ९० प्रतिशतसम्म कम गर्न सकिन्छ ।
अब सरकारले हरेक वर्ष बजेटमा राहतका लागि मात्र रकम छुट्याउने परिपाटी बन्द गर्नुपर्छ । त्यसको सट्टा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्छ । डोजरे विकासलाई विस्थापित गरी वातावरणमैत्री इन्जिनियरिङलाई प्राथमिकता दिनु नै आजको मुख्य आवश्यकता हो ।
प्रकृतिसँग डराएर वा प्रकृतिलाई सरापेर मात्र हाम्रो भविष्य सुरक्षित हुँदैन; प्रकृतिसँग तादाम्यता मिलाएर अघि बढ्नु नै नेपाल र नेपालीको विकासका लागि आजको आवश्यकता हो । डोजरे विकासभन्दा पनि आवश्यकालाई महसुस गरेर प्राकृतिक भूवनोटमा असर नगने गरि विकास निर्माणका कार्यलाई अघि बढाउनुपर्ने देखिन्छ ।