बाबुको मुख हेर्ने पर्व तथा हरितालिका तिज

नारायणप्रसाद श्रेष्ठ

जन्ममरनको इतिहासभित्र बाँचेको हाम्रो जीवन, उकाली ओराली, दुःखकष्ट तथा हासी खुसी सबै सहदै स्वीकार्दै, अगाडि बढिरहेको हुन्छ । कहिले घाम कहिले छाँया, कहिले उज्यालो कहिले अँध्यारो यो जीवनमा सधै आइरहने प्रकृतिले दिएको सत्य हो ।

यही सत्यभित्र बाँचेका हामी, हाम्रो संघर्षको इतिहास कहिले भुकम्पसँग लडेका छौँ भने कहिले कोरोना जस्तो महामारीसँग पनि जुधेका छौँ । अहिले आएर बाढी पहिरोसँग पौठीजोरी खेलिरहेको छौँ । भोटेकोशीको वितण्डाले मच्चाएको कहाली लाग्दो अकल्पनीय घटनासँग पनि लडिरहेका छौँ । अब फेरि भविष्यमा के कस्ता सङ्कट आइ पर्ने हुन नयाँ इतिहासले बताउला ।

समयको प्रवाहसँगै अहिले जति धेरै धनजन र भौतिक क्षति भए पनि दुःख र कष्ट आइपरे पनि जीवनको इतिहास गतिशिल भइरहेको छ । प्रत्यकले आफूलाई जिम्मेवारी बनाइ प्रस्तुत हुनु परेको छ । विपतको समयमा हामीले भोगेका विपतबारे जुन जस्तो पाठ सिकेका छौँ, निराकरणको लागि हामी जसरी जिम्मेवार हुन खोजेका छौँ, यसलाई हामी भविष्यमा कति पालना गर्छौँ वा गर्दैनौँ यो भविष्यले बताउला । अहिले हामीले जे जति क्षति व्यहोरेका छौँ कतै यो हामी स्वयम्ले प्रकृतिको नियमलाई पालना नगर्दा को कारण त होइन ? अब सजक हुन जरुरी छ ।

बाबुको मुख हेर्ने पर्व र तिज हिन्दु संस्कारभित्रको चाडपर्व र पर्व भित्रका मौलिक संस्कृतिमा स्थापित मानवीय जीवन चरित्र बनेर प्रत्येक वर्ष आउने बाबुको मुख हेर्ने पर्व तथा हरितालिका तिज अब केही दिनपछि हाम्रो घर आँगनमा भित्रिनेछ । श्रद्धा र विश्वास जगाउँदै मान सम्मान र अनुशासनलाई जीवनको अभिन्न अंग बनाउँदै आउने यी पर्वहरुले मानवीय जीवनमा नौलो अभ्यास सिकाउँदै जानेछन् ।

आचरण र व्यवहारलाई परिस्कृत गर्दै सामाजिक सद्भाव बढाउन यी पर्वले हामीलाई नयाँ ऊर्जा प्रदान गर्ने छन् । मनमा दुःखपिर र कष्ट भएर पनि संस्कृतलाई जीवन्त दिन अहिले हामीले हाम्रो पर्वलाई निरन्तर गतिशील बनाउनु पर्नेछ । यस अवसरमा हामी सबैमा सत विचार र नयाँ ऊर्जाका साथ आफूलाई प्रस्तुत गर्ने वातावरण बन्न सकोस् यही कामनासँगै हार्दिक शुभकामना ।

एक्काइसौँ शताब्दी भित्रको हाम्रो सामाजिक र सांस्कृतिक रुप आधुनिक युग सुहाउँदो हुनु कुनै नौलो विषय होइन । समय र परिस्थिति अनुकूल संस्कृति र संस्कारमा देखिएका गलत मान्यतालाई परिमार्जित गर्दै अगाडि बढ्नु यो पनि नयाँ विषय मानिदैन । अहिले हिन्दु संस्कृति र संस्कारले सिकाएको अनुशासित जीवनशैलीमा समय सापेक्ष केही परिमार्जित हुँदैछ । विवेकशील मानवीय बुद्धि र विवेकले परिकल्पना गरेको नयाँ सुधारात्मक संस्कृतिको विकास भइरहेको छ । परिवर्तन समयानुकूल हुनु नराम्रो विषय होइन ।

सूर्य उदाउँछ, अस्ताउँछ । फेरि उदाउँछ, फेरि अस्ताउँछ । यसैगरी प्रत्येक दिन हुन्छ, रात पर्छ । बिहानी हुन्छ, दिन हुन्छ र फेरि रात पर्छ । यो नियमित प्रक्रिया हो । जबसम्म प्रकृति र यसको नियमले नियमितता पाइरहन्छ, तबसम्म यो यसरी नै चलिरहन्छ । त्यस्तै किसिमले संस्कृति र संस्कारहरु पनि प्रत्येक वर्ष आउँछ, नयाँ किसिमको कुरा सिकाउँछ, जान्छ । फेरि आउँछ । यो यसरी नै जीवनको प्रत्येक पाइलामा नयाँ अनुभूति गराउँदै आउँछ, जान्छ ।

वास्तवमा हामीले यसलाई कति अनुशासित र मर्यादा अनुकुल अनुशरण ग¥र्यौँ ? यो महत्वपूर्ण विषय मानिन्छ । आउने चाडपर्वले हामीलाई के कति परिवर्तन ग¥र्यो ? वा गरेन ? हामीले अनुशरण गर्दा यसका सकारात्मक पक्षलाई के कस्तो किसिमले व्यवहारमा परिणत ग¥र्यौ ? हामीले पर्वसँग गाँसेको सत्यलाई स्वीकार्न सक्यौँ वा सकेनौँ ?

हामी नियमबद्ध हुन सक्यो वा सकेनौँ ? यो विषय निकै सुझबुझपूर्ण तरिकाले हेर्न जरुरी छ । अहिले समन्वयवादी संस्कृतिभित्रको सामाजिक संस्कृति र संस्कारमा परिमार्जित गर्ने बहानामा सामाजिक, सांस्कृतिक, मनोविज्ञानमा समेत असर पर्नेगरी आधुनिकताले प्रवेश गरेको अवस्था देखिँदैछ । विकृति र विसंगतीको माहोलले पौराणिक सत्यभित्र लुकेको आचरण र व्यवहारमा परिवर्तन भइरहेको छ ।

मर्यादित आचरण र व्यवहारभित्रको अनुशासित जीवनशैलीमा विकृति देखा परेको छ । खानु, लाउनु, पिउनु, मोजमस्ती गर्नु नै जीवनको उद्देश्य हो भन्नेगरी अहिले सामाजिक संस्कृतिमा बदलाव आएको देखिन्छ । कुन कुरा हाम्रो जीवनको लागि आवश्यक पर्छ, त्यसतर्फ ध्यान नदिई केवल मनोरञ्जन प्रधान आयातित संस्कृति र संस्कारलाई बढावा दिनु कति औचित्य होला ?

पौराणिक सत्यभित्र लुकेको जीवनको यथार्थ सत्यभन्दा बाहिर रहेर हामीले जुन आयातित संस्कृतिभित्र आफूलाई परिमार्जित गर्दैछौँ । यसले हाम्रो संस्कृति र संस्कार र आचरण र व्यवहार कता मोडिँदैछ ? गम्भीर प्रश्न उठेको छ । हिजो हामीले जुन कुरा छाडा संस्कृति भनी भन्दै आएका थियौँ । त्यही संस्कृति स्वतन्त्रताभित्र परिभाषित भई युग सुहाउँदो सभ्यता भनी जुन किसिमले अङ्गीकार गरिरहेका छौँ, प्रकृतिको नियमसँग हुर्केको मानव जीवनलाई मनोरञ्जन र विलासीतर्फ धकेल्दै आचरण र व्यवहारलाई केवल स्वार्थ परिपूर्तितर्फ केन्द्रीकृत भएका छौँ, यो बढी चिन्ताको विषय देखिन्छ ।

आयातित छाडा संस्कृति नै जीवनको सुखद क्षण तथा उद्देश्य हो भन्ने गरी जुन सोच वृद्धि भएको छ, त्यसैको परिणाम अहिले हामीले विभिन्न समस्या झेलिरहेका छौँ, समस्यासँग जुधिरहेका छौँ । हिन्दु संस्कृति र सभ्यताले सिकाएको आचरण र पद्धतिलाई पूर्णविराम दिएर मानवीय स्वच्छतालाई क्षणिक खुसी, आवेग, र सटही प्रविधितर्फ रुपान्तरण हुनु वास्तवमा यो जटिल समस्या ल्याउने परिस्थिति जन्य बास्तबिकता हुन् ?

शान्ति र सद्भाव कायम गर्दै अघि बढ्ने मानवीय प्रवृत्तिमा जुन किसिमको आचरणले अहिले धावा बोलिरहेको छ । त्यसैको परिणाम प्रकृतिमा नयाँ किसिमको समस्याहरु देखा परेका छन् । तसर्थ यस अवस्थामा हामीले हाम्रो आचरण र व्यवहारमा परिष्कृत गरी हामीले अपनाउनुपर्ने हाम्रो परम्परागत संस्कारलाई जीवन्त दिनुपरेको छ । चर्म दृष्टिको सुखद क्षणतर्फ मानसिकता बढाउनु भनेको मानव सभ्यतालाई नै अप्ठ्यारो अवस्थामा लैजानु हो । तसर्थ यसतर्फ सबैको गम्भीर ध्यान पुग्न जरुरी छ ।

अब केही दिनपछि ८३ साल भाद्र २६ गते बाबुको मुख हेर्ने पर्व हाम्रो घर आँगनमा देखिनेछ । यस अवसरमा हामीले हाम्रो अभिभावकलाई के कसरी सम्मान र मर्यादा दिन्छौँ वृद्ध बाआमाप्रतिको हाम्रो धारणा के कति परिवर्तन भएको छ अहिले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ बाबुको त्याग र समर्पणले नै म यो अवस्थासम्म आइपुगेको छु । म पनि कसैको बाबु बनेको छु भन्ने सोच वृद्धि गर्न यस पर्वले हामीलाई गतिलै सन्देश दिएको हुन्छ । आमाबाबुलाई मैले पालेको छु भनेर गर्व गर्नुको बदला । आमा बाबुबाट म पालिएको छु । भन्नु कति उपयुक्त होला ? यति मात्र होइन उनै बाबुआमाको सम्पत्तिमा रजाई गरेर उनीहरुलाई नै वृद्धाश्रममा लगि आफूलाई सुखान्त भएको महसुस गर्नु कति उपयुक्त होला ?

बाबुआमा ईश्वरको अर्को रुप हो भन्ने पौराणिक मान्यतालाई स्वीकार गर्दै अहिले हामीले हाम्रो दायित्वमा कति सुधार गर्न सफल भयौ ? कहीँ कतै त्रुटि त भएन ? अहिले गम्भीर चिन्तन गर्नु परेको छ । किनकि हामी सबै कसैन कसैको बाबु हो । हामीले गरेको कर्म र व्यवहार हाम्रा सन्ततिका लागि मार्गदर्शक हुन्छन् । तसर्थ सबैले सोचौँ । बुझौँ क्षैनिकतालाई हैन निरन्तरतामा आधारित सत्यलाई अँगालो ।

समयले हामीलाई यही सिकाइरहेको छ । साथै अर्को चाड हरितालिका तिज पनि यही महिनाको भाद्र २९ गते परेको छ । हामी मनाउने तर्खरमा छौँ । वर्ष दिनपछिको भेटमा आमा छोरीले आआफ्नो कथा र व्यथा सुनाउँदै विश्राम लिने र तिजको अघिल्लो दिन मिठो मसिनो खाई उत्तम बरको लागि तिजको व्रत बसेर पूजा आजालगायत विविध योजना बनाई हामीले तिज मनाउँदै छौँ । वास्तवमा तिज मनोरञ्जन प्रधान मात्र नभएर यसले दिन खोजेको सत्य अर्कै छ ।

लामो समय बिछोड रहेका माइतीसँगको भेट र सुयोग्य बरको लागि गरिने तपस्या यो पर्वसँग गाँसिएको छ । त्यसैले हाम्रो तिज पर्वसँग लुकेको संस्कृति र आदर्शलाई विभाजनमा होइन एकतामा आधारित जीवन पद्धतिको रुपमा मनाउने सङ्कल्प गर्नु परेको छ । हुँदा खाने र हुने खाने बिचको खाडललाई पुर्दै समग्रमा एकताको पर्वको रुपमा यसलाई स्वीकारेर, तिज हाम्रो मौलिक संस्कृति र संस्कार हो, यसले हामीलाई एकताको सुत्रमा बाँधेर सबै दिदीबहिनी र दाजुभाई बिचको सम्बन्धमा न्यानोपन ल्याउन मद्दत पु¥याएको छ भनी यसको गहि¥याईमा पुगेर मनाऔंँ । यस पर्वले हामीलाई सद्बुद्धि, सद्विचार दिन सकोस् यही शुभकामना । चेतना भया ।