प्रिया स्मृती गजमेर
देउखुरी, २३ भदौ । देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वर प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसहित कार्यसमितिका सम्पूर्ण पदमा आवश्यक सङ्ख्याभन्दा बढी उम्मेदवारी नपरेपछि निर्वाचनको प्रतिस्पर्धात्मक प्रक्रियाविनै नयाँ नेतृत्व चयन भएको हो ।
निर्वाचन समितिका संयोजक शिव वलीका अनुसार तोकिएको समयसीमाभित्र प्रत्येक पदमा एक÷एक जनाको मात्र उम्मेदवारी परेको थियो । उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्तालगायतका प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्दै सबै उम्मेदवारलाई सम्बन्धित पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उनले बताए । संघको बरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, महिला उपाध्यक्षमा मेनका केसी, उद्योग उपाध्यक्षमा डिल्लीराज खनाल तथा वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासचिवमा सुदीप पाण्डेय, कोषाध्यक्षमा अब्जल अली, सचिवमा बुद्धिराम भुसाल तथा सहकोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यतर्फ पनि सबै उम्मेदवार निर्विरोध चयन भएका छन् । उद्योग सदस्यमा डिल्लीराज अधिकारी, वाणिज्य सदस्यमा सुन्दर केसी र थम्मन चौधरी तथा महिला सदस्यमा राधा खनाल र एलिजा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी खुला सदस्यमा खिमलाल खनाल, राकेश चौधरी, विष्णीकुमारी बस्नेत, झपेन्द्रबहादुर वली क्षेत्री र सुनिल मन्त्री निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा भई अन्तिम नामावली प्रकाशन गर्दा सबै पदमा एकल उम्मेदवारी कायम रहेकाले मतदानको आवश्यकता नपरेको हो । यससँगै आगामी भदौ २७ गते निर्वाचन हुने भनिए पनि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएपछि संघले नयाँ नेतृत्व पाएको छ ।
निर्वाचन समितिले निर्विरोध निर्वाचित हुने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्दै आगामी कार्यक्रमका सम्बन्धमा थप जानकारी गराइने जनाएको छ । निर्वाचित पदाधिकारीको औपचारिक घोषणा तथा शपथ ग्रहण कार्यक्रमलगायतका विषयमा संघको कार्यालयबाट अर्को सूचना जारी गरी जानकारी गराइने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वले देउखुरी क्षेत्रका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको हकहित संरक्षण, स्थानीय उद्योग व्यवसायको प्रवर्धन र समग्र आर्थिक विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।