पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप सुरु

लीलाधर वली

दाङ, २३ भदौ । दाङमा पाठेघरको मुखमा हुने क्यान्सर बिरुद्ध आठ हजार किशोरीलाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ । जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सोमवारदेखि किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार पहिलो चरणमा भदौ २२ देखि २४ गतेसम्म तीन दिनको अवधिमा जिल्लाका छ पालिकाका चार हजार नौ सय ४५ जना किशोरीलाई खोप लगाउन थालिएको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार पाँच सय ८३ जना र विद्यालय बाहिर रहेका एक सय सात जना गरी दुई हजार छ सय ९० जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत छ सय १९ र विद्यालय बाहिर रहेका २६ जना गरी छ सय ४५ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत पाँच सय १८ जना, राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ९२ र विद्यालय बाहिर रहेका सात गरी दुई सय ९९ जना, राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत पाँच सय ३५ र विद्यालय बाहिर रहेका दुई गरी पाँच सय ३७ जना र बङ्गलाचुली गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ४० र विद्यालय बाहिर रहेका १६ गरी दुई सय ५६ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

यसैगरी दोस्रो चरणमा भदौ २४, २५ र २६ गते तीन दिन तुलसीपुर उपमहानगपालिका र दंगीशरण गाउँपालिका, बबई गाउँपालिका र अन्तिम तेस्रो चरणमा असोज १, २ र ५ गते शान्तिनगर गाउँपालिकामा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने तयारी रहेको छ । जस अन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार एक सय ६९ र विद्यालय बाहिर रहेका ६५ गरी दुई हजार दुई सय ३४ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक सय ८६ र विद्यालय बाहिर रहेका सात गरी एक सय ९४ जना र बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत तीन सय २२ जना र विद्यालय बाहिर रहेका चार जना गरेर तीन सय २६ जना र तेस्रो चरणमा शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ८९ जना र विद्यालय बाहिर रहेका १६ जना गरी तीन सय पाँच जना किशोरीलाई एचपिभी खोप लगाउन थालिएको हो ।

पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि सरकारले विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय नजाने बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने गरिएको छ । जिल्लामा यो वर्ष विद्यालयमा अध्ययनरत सात हजार सात सय ५३ र विद्यालय बाहिर रहेका दुई सय ५० गरी आठ हजार तीन जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन थालिएको हो । खोप फोकल पर्सन वलीका अनुसार खोपका लागि जिल्लाका १० स्थानीय तहमा तीन सय ६७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

जस अनुसार घोराही उपमहानगरपालिकामा एक सय पाँच वटा, तुलसीपुर उपमहानगरपालिकामा एक सय वटा, शान्तिनगर गाउँपालिकामा ३१ वटा, लमही नगरपालिका र गढवा गाउँपालिकामा २५÷२५ वटा, बबई गाउँपालिकामा २० वटा, राप्ती र बङ्गलाचुली गाउँपालिकामा १७÷१७ वटा, दंगीशरण गाउँपालिकामा १६ वटा र राजपुर गाउँपालिकामा ११ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप लगाउनका लागि प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र सहयोगी खटाइएको छ । खोप लगाउनका लागि किशोरीलाई सहजताका लागि अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको खोप फोकल पर्सन वलीले जानकारी दिएका छन् ।

पहिलो दिन १२ सय बढीलाई खोप

दाङमा पहिलो दिन एक हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । आर्थिक वर्ष २०८३÷०८४ को कार्यक्रम अन्तर्गत पहिलो दिन घोराहीमा कक्षा ६ मा अध्ययनरत पाँच सय ४९ र विद्यालय बाहिर रहेका छ गरी पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइएको हो । यसैगरी राप्ती गाउँपालिकामा दुई सय ६७, लमही नगरपालिकामा एक सय ८४, राजपुर गाउँपालिकामा एक सय २५, गढवा गाउँपालिकामा ८६ र बङ्गलाचुली गाउँपालिकामा ३५ गरेर जम्मा एक हजार दुई सय ५२ जना किशोरीलाई एचपिभी खोप लगाइको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिएका छन् ।