बाढीपीडितका लागि ११ लाख बढी सहयोग

गोरक्ष समाचारदाता

तुलसीपुर, २३ भदौ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख ६६ हजार ८९ रुपैयाँ २३ पैसा आर्थिक सहयोग गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा बाढीबाट प्रभावित र उद्धार गरिएका नागरिकका लागि नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गतका अस्पतालले आर्थिक सहयोग गरेका हुन् ।

नेपाल नेत्रज्योति संघको परिपत्र अनुसार आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गतका अस्पताल तथा उपचार केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिन बराबरको तलब बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग स्वरूप सङ्कलन गरिएको जनाइएको छ । सो बराबरको चेक नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीलाई हस्तान्तरण गरिएको हो ।

रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, अस्पतालमा कार्यरत कर्मचारी, नेत्रज्योति प्राविधिक शिक्षालय, नेपाल नेत्रज्योति संघ दाङ शाखा र समाजसेवी नसरुल्ला खाँबाट प्राप्त आर्थिक सहयोग एकमुष्ठ नेपाल नेत्रज्योति संघ केन्द्रमा पठाइएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिए ।

‘मानवीय संवेदना, सामाजिक उत्तरदायित्वर सहकार्यको भावनासहित हाम्रो तीन वटै अस्पताल उपचार केन्द्र, अस्पतालका कर्मचारी, भोलिन्टेड र समाजसेवीबाट सङ्कलन भएको रकम नेत्रज्योति संघ केन्द्रलाई हामीले एकमुष्ठ हस्तान्तरण गरेका छौँ’, डा. थापाले भने । यसैगरी नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले सो रकम केन्द्रमा जम्मा गरी नेपाल नेत्रज्योति संघ केन्द्रले एकमुष्ठ रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए । गिरीले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।