अमरराज आचार्य
दाङ, २१ भदौ । निजी क्षेत्रका अगुवाहरूले लगानीको वातावरण सहज बनाउँदै व्यवसायी तथा उद्योगीको मनोबल बढाउने नीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । राज्यका नीति, कर प्रणाली, अनुगमन तथा प्रशासनिक प्रक्रियाका कारण निजी क्षेत्र निरुत्साहित हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूले लगानीको सुरक्षा र व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको २१औँ साधारणसभा तथा १८औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सहभागी निजी क्षेत्रका अगुवाले राज्यले निजी क्षेत्रलाई समस्या दिनेभन्दा पनि लगानीका लागि प्रोत्साहित गर्ने नीति लिनु पर्ने बताए । उनीहरूले निजी क्षेत्रको लगानीबाट उत्पादन, रोजगारी र राजस्व वृद्धि हुने भएकाले व्यवसायीलाई राज्यको साझेदारका रूपमा व्यवहार गर्नु पर्नेमा जोड दिए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले राज्यले निजी क्षेत्रलाई दुःख दिने काम रोक्नु पर्ने बताए ।
व्यवसाय सञ्चालनका क्रममा विभिन्न नाममा उद्योगी व्यवसायीलाई समस्या पर्ने गरेको भन्दै उनले राज्यका सबै निकायबिच समन्वय गरी निजी क्षेत्रलाई सहज हुने वातावरण निर्माण गर्नु पर्ने बताए । ‘थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने क्षेत्र धेरै छन् तर राज्यका नीति तथा व्यवहारका कारण निजी क्षेत्र समस्यामा परेको छ’, उनले भने । नेपालमा पर्यटनको ठुलो सम्भावना भए पनि पर्यटकलाई सहज वातावरण दिन नसकिएको वलीले बताए । विशेष गरी भारतीय पर्यटकलाई विभिन्न नाममा दुःख दिने प्रवृत्तिले पर्यटन व्यवसायमा असर पारिरहेको उनको भनाइ थियो ।
पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन पर्यटकमैत्री नीति आवश्यक रहेको उनले बताए । उनले राज्यले उठाउने सबै खाले करलाई एकद्वार प्रणालीमार्फत् सङ्कलन गर्ने व्यवस्था गर्न आग्रह गरे । व्यवसायीले एउटै प्रकृतिको करका लागि विभिन्न कार्यालय र निकाय धाउनु पर्ने अवस्थाको अन्त्य गर्नु पर्ने बताउँदै उनले भने, ‘एक स्थानबाट कर लिने र त्यो रकम कुन कुन तह तथा ठाउँमा बाँडफाँट गर्ने हो, त्यसको व्यवस्था राज्यले गर्नु पर्छ ।’
कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बस्यालले निजी क्षेत्रले राज्य भएको अनुभूति गर्न नसकेको बताए । व्यवसायीले लगानी गरेर उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेको भए पनि विभिन्न क्षेत्रबाट निजी क्षेत्रमाथि आक्रमण भइरहेको उनको भनाइ थियो । निजी क्षेत्रबाट गरिएको लगानीको सुरक्षा राज्यले सुनिश्चितता गर्नु पर्ने उनले बताए । व्यवसायीलाई लगानी गरेपछि आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउन नसकिएसम्म थप लगानी आकर्षित गर्न नसकिने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्र ढुक्क भएर लगानी गर्ने अवस्था अझै निर्माण हुन नसकेको बताए । लगानीकर्ताको मनमा डर र असुरक्षाको भावना रहेसम्म लगानी विस्तार हुन नसक्ने उनले बताए । ‘मनमा डर हुँदा कसरी लगानी बढ्न सक्छ ? यसका लागि राज्यले डर हटाउने वातावरण सिर्जना गर्नुपर्छ’, शर्माले भने । व्यवसायीले आफू र आफ्नो लगानी सुरक्षित रहेको अनुभूति नगरेसम्म निजी क्षेत्रबाट ठुलो लगानी आउन नसक्ने उनले बताए ।
नेपालमा रहेका व्यवसायीको प्रवर्धन गर्ने स्पष्ट नीति राज्यले ल्याउनु पर्ने उनको भनाइ थियो । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउँदै शर्माले विभिन्न कारणले नेपाली उत्पादनको प्रवर्धन हुन नसकेको बताए । स्वदेशी उद्योग तथा उत्पादनलाई प्रतिस्पर्धी बनाउन राज्यले कर, बजार र नीतिगत सहजीकरण गर्नु पर्ने उनको भनाइ थियो । विज्ञापनका लागि राखिने होर्डिङबोर्डमा समेत कर लगाउने व्यवस्थाले नेपाली उद्योग तथा व्यवसायलाई थप भार परेको उनको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य राजु खनालले निजी क्षेत्र विभिन्न समस्या पार गर्दै अगाडि बढिरहेको बताए । अहिले पनि उद्योगी तथा व्यवसायीलाई विभिन्न वहानामा राज्यका निकायबाट दुःख दिने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रलाई उत्साह थप्ने काम सरकारबाट हुनु पर्ने बताए । नीतिगत रूपमा नै निजी क्षेत्रलाई सहज हुने व्यवस्था गरी लगानी विस्तारमा जोड दिनु पर्ने खनालले बताए । निजी क्षेत्र र सरकारबिच प्रभावकारी समन्वय हुन सकेमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तार गर्न सकिने उनको भनाइ थियो । ‘निजी क्षेत्र र सरकारबिच सहकार्य गरेर अघि बढ्न सकेमा रोजगारी सिर्जना गर्नुका साथै देशभित्रै उत्पादन बढाउन सकिन्छ’, उनले भने ।
यसैगरी लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशमा रहेका सम्भावनाको सदुपयोग गर्दै आर्थिक विकासको बाटोमा अघि बढ्नु पर्ने बताए । पर्यटन क्षेत्रमा ठुलो सम्भावना भए पनि त्यसको अपेक्षित सदुपयोग हुन नसकेको उनले बताए । पर्यटक भित्राउन आवश्यक भौतिक संरचना निर्माणसँगै प्रचारप्रसारलाई पनि प्राथमिकता दिनु पर्ने न्यौपानेले बताए । पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो । आफू मन्त्री हुँदा निजी क्षेत्रलाई सहज हुने गरी विभिन्न नीतिगत व्यवस्था गरिएको उनले बताए ।
उनका अनुसार अहिले १५ करोड रुपैयाँसम्मको लगानी घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता गर्न सकिने र ५० करोड रुपैयाँसम्मको लगानी प्रदेशको सम्बन्धित निर्देशनालयबाट दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । लामो समयदेखि नवीकरण हुन नसकेका तथा बन्द गर्नसमेत समस्या भएका उद्योग व्यवसायलाई सहज हुने गरी विभिन्न योजना अघि बढाइएको उनले बताए । लगानी आकर्षित गर्न प्रदेशमा मदिरा तथा सुर्तीजन्य उद्योगबाहेक अन्य उद्योगको दर्ता तथा नवीकरण निःशुल्क गर्ने नीति आफूले अघि बढाएको उनको भनाइ थियो । साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्दै उनीहरूको क्षमता विस्तारमा ध्यान दिनु पर्ने न्यौपानेले बताए । स्थानीय स्तरमा रहेका साना उद्योग तथा उद्यमलाई संरक्षण गर्न सके मात्रै दीर्घकालीन रूपमा रोजगारी र उत्पादन बढाउन सकिने उनको भनाइ थियो ।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न स्थानीय प्रशासन तयार रहेको बताए । निजी क्षेत्रको लगानी तथा व्यवसायको सुरक्षाका लागि प्रशासनले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । निजी क्षेत्रले पनि स्वच्छ प्रतिस्पर्धा र कानुनको पालना गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । अनुगमनका नाममा निजी क्षेत्रलाई त्रास सिर्जना गर्ने काम नहुने स्पष्ट पार्दै प्रजिअ पाण्डेले निजी क्षेत्रको सहभागितामा संयुक्त रूपमा अनुगमन गर्ने वातावरण बनाइने बताए ।
कार्यक्रममा सहभागी वक्ताले पछिल्लो समय राज्यका नीति तथा व्यवहारका कारण निजी क्षेत्रको मनोबल घट्दै गएको बताएका थिए । व्यवसायीमा लगानीको सुरक्षा र प्रतिफलप्रतिको विश्वास कमजोर हुँदै गएकाले नयाँ लगानी थप हुन नसकेको उनीहरूको भनाइ थियो । निजी क्षेत्रले उद्योग तथा व्यवसाय सञ्चालन गर्दा कर, दर्ता, नवीकरण, अनुगमन र प्रशासनिक प्रक्रियामा विभिन्न समस्या झेल्नुपरेको भन्दै सहभागीले यस्ता प्रक्रियालाई सरल र एकद्वार प्रणालीमा लैजानु पर्ने माग गरेका थिए ।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, संघका पूर्वअध्यक्ष रामदयाल गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव असिम भुसाल, नेपाली कांग्रेसका घोराही नगर सभापति तिलक रावत, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपाका जिल्ला सहसंयोजक विश्वराज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रिभुवन थापा, राष्ट्रिय जनमोर्चाका मनिराज खनाल, नेपाल कम्युनिस्ट पार्टीका साटन सी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, घोराही प्लास्टिक व्यवसायी समितिका अध्यक्ष खेमराज भण्डारीलगायतले धारणा राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष वसन्त जोसीको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन महासचिव महेन्द्र बुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगतप्रसाद आचार्यले प्रस्तुत गरेका थिए । संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन उद्योग उपाध्यक्ष ध्रुवराज गहतराजले गरेरका थिए । कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।
विभिन्न व्यक्तिलाई सम्मान
कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । पत्रकारिताको माध्यमबाट संघलाई सहयोग पु¥याएको भन्दै हिमाल महरा, उद्यमीतर्फ ऋषिराम चौधरी, वाणिज्यतर्फ सञ्जीव श्रेष्ठलाई सम्मान गरिएको थियो भने संघमा सबैभन्दा पहिले नवीकरण गर्ने पशुपति जैसवाल र दिले पुनलाई सम्मान गरिएको थियो ।