भोटेकोशी बाढी : दाङका ५४ जना सम्पर्कविहीन, पीडा र आशामा परिवार

लीलाधर वली
दाङ, २२ भदौ । लमही नगरपालिका–३, वनगाउँ निवासी ३० वर्षीय शम्भुजित चौधरी रसुवाको अपर त्रिशुली–१ जलविद्युत् आयोजनाको ड्याम्बर साइड २१६ मा विद्युतीय कामदारका रूपमा कार्यरत थिए । रसुवामै विगत ४÷५ वर्षदेखि काम गर्दै आएका शम्भुजित अपर त्रिशुली–१ मा कामका लागि गत फागुन ५ गते घरबाट गएका थिए ।

कामसँगै परिवारको नियमित सम्पर्कमा रहेका शम्भुजितले भदौ ९ गते साँझ श्रीमतीसँग फोनमा कुराकानी गरेको भए तापनि भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिले शम्भुजित सम्पर्कविहीन भएका छन् । बाबु तुलसीप्रसाद चौधरीका अनुसार हाइड्रोपावरको सुरुङमार्गमा फसेका नागरिक जीवित उद्धार भएको समाचार सुन्दा आफ्नो छोरा पनि सकुशल फेला पर्ने आशा जीवित छ । छोराको खोजीमा चितवन, काठमाडौं हुँदै नुवाकोटसम्मका अस्पताल र होल्डिङ सेन्टरहरू धाइसकेका छन् तर कतै भेट्न सकेका छैनन् ।

‘बेपत्ता छोराको खोजीका लागि चितवनदेखि काठमाडौं हुँदै नुवाकोटसम्मका अस्पताल र होल्डिङ सेन्टरसम्म पुग्यौ’, बुबा तुलसीपप्रसादले भने, ‘तर कतै भेट्न सकेनौ ।’ करिब डेढ सातादेखि सम्पर्कविहीन भएको छोरा चाँडै फर्किने आशामा रहेकी छिन्, आमा चङ्खी चौधरी । बुढेसकालको सहरा छोरा शम्भुजित फर्किन्छ कि भन्ने आशामा बसेको उनी बताउँछिन् । ‘छोरा हराएपछि मनमा पीडासँगै फर्किन्छ भन्ने आशा पनि छ’, आमा चंखी भन्छिन्, ‘हराएका १०÷११ दिनसम्म पनि जिउँदै मानिस भेटिरहेका छन्, राम्रोसँग खोजी गरे भेटिन्छ कि भन्ने आशा छ ।’

शम्भुजित जस्तै राजपुर गाउँपालिका–५ सिमलखुटी निवासी ४० वर्षीय अर्जुन घर्ती मगर पनि विगत १२ दिनदेखि सम्पर्कविहीन नै छन् । रसुवाकै अपर त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा कार्यरत घर्ती मगरले भदौ १० गते बिहान परिवारसँग कुराकानी गरेका थिए । श्रीमती मनमाला घर्ती मगरका अनुसार त्यसपछि उनी सम्पर्कमा आएका छैनन् । भाइ अर्जुन सम्पर्कविहीन भएपछि दाइ रेगबहादुर खोजीका लागि चितवनलगायतका विभिन्न ठाउँमा पुगे तर भाइको अत्तोपत्तो लाग्न सकेको छैन । ‘बाढीका कारण सम्पर्कविहीन भएपछि भाइको खोजीमा लागिरहेका छौँ । चितवनदेखि काठमाडौम्म पुग्यौ’, दाइ रेगबहादुर भन्छन्, ‘तर अहिलेसम्म सम्पर्क हुन सकेको छैन, भाइको कुनै खबर पाउन सकेका छैनौँ ।’

लमही नगरपालिका–६ खैरी निवासी २६ वर्षीया शिवानी चौधरी पनि रसुवामा ज्यामी काम गर्दै दसैँमा घर फर्किने घरपरिवारलाई बताउँदै आएकी थिइन । भोटेकोसीमा आएको बाढीका कारण भने चौधरी पनि अहिले परिवारको सम्पर्कमा छैनिन् । भदौ १० गतेको बाढीसँगै सम्पर्कविहीन भएकी छोरीको खोजीमा परिवारल लागेका छन् । छोरीसँग सम्पर्क हुन नसकेपछि आमा कमला चौधरी पीडा पोख्छिन्, ‘छोरीको खबर नआउँदा परिवार पीडामा छ भने पक्की घर बनाउने सपना पनि हराएको छ ।’

शम्भुजित, अर्जुन र शिवानी प्रतिनिधिमूलक पात्र भए पनि जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि दाङका ६० जना सम्पर्कविहीन भएका छन् । जसमा हालसम्म छ जना पुरुष घरपरिवारको सम्पर्कमा आएका छन भने बाँकी ४४ जना पुरुष र १० जना महिला अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे बताउँछन् ।

बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहे पनि बेपत्ता व्यक्ति फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसी बताउँछन् । बेपत्ता व्यक्ति परिवारको सम्पर्कमा आउन नसकेपछि पहिचानका लागि दाङमा पनि परिवारका सदस्यबाट डिएनए नमुना सङ्कलन गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डा केसी बताउँछन् । उनका अनुसार सोमवार दाङमा ३८ परिवारको डिएनए नमुना लिने तयारी भइरहेको बताए । जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालबाट सङ्कलन गरी काठमाडौं पठाइने छ ।