दाङ,२१ भदौ । पाँचौँ दाङ जिल्ल स्तरीय हाप्किडो प्रतियोगितामा घोराही प्रथम बनेको छ ।
दाङ जिल्ला हाप्किडो संघको आयोजनामा घोराहीमा भएको पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो प्रतियोगिता–२०८३ मा २३ स्वर्ण, १३ रजत र १५ कास्य पदक प्राप्त गर्दै घोराही उपमहानगरपालिकाको टिम प्रथम हुन सफल भएको हो । प्रतियोगितामा १८ स्वर्ण, १० रजत र १६ कास्य पदकसहित तुलसीपुर उपमहानगरपालिकाको टिम दोस्रो हुँदा ४ स्वर्ण, ६ रजत र ३ कास्य पदक प्राप्त बंगलाचुली गाउँपालिकाको टिम तेस्रो स्थान हुन सफल भएको छ ।
प्रतियोगिताका बिजेता खेलाडीलाई दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठलगायतले शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा पुरस्कृत गरिएको छ । जसअन्तर्गत पुरुषतर्फ उमंग घर्ती मगर र महिलातर्फ अंकिता घर्ती मगरलाई ‘बेस्ट प्लेयर’ घोषित भएका थिए ।
त्यसैगरी पुरुषतर्फ जेनिश खड्का र महिलातर्फ जस्लिन पौडेललाई ‘बेस्ट अनुशासन’ अवार्ड प्रदान गरिएको थियो । प्रतियोगितामा रेफ्रीतर्फ पुरुषमा चन्द्रबहादुर बोहोरा र महिलामा अन्जली केसी ‘बेस्ट रेफ्री’ घोषित भए । प्रशिक्षकतर्फ पुरुषमा राजन चौधरी र महिलामा आशिका घर्ती मगर ‘बेस्ट कोच’ घोषित हुँदै पुरस्कृत भएका थिए । त्यस्तै पुरुषतर्फ सुनिल परियार र महिलातर्फ सुप्रिया घर्ती मगरलाई ‘राइजिङ प्लेयर’का रुपमा सम्मान गरिएको थियो भने ‘बेस्ट अनुशासन स्कुल डोजाङ’को उपाधि शान्ति निकेतन स्कुल घोराहीलाई प्रदान गरिएको छ ।
दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष विशालको अध्यक्षतामा भएको समापन समारोहमा बिजेता खेलाडीलाई नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, कोषाध्यक्ष बिजयाकुमारी वाईबा, केन्द्रीय सदस्य राजेन्द्र मदाई, लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष त्रिभुवन बर्तौलालगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता भदौ १९ गतेदेखि २१ गतेसम्म घोराही उपमहानगरपालिका–१५ स्थीत न्यू स्केट पार्कमा सञ्चालन भएको थियो ।