पाकिस्तान स्थित नेपाली राजदूतावासमा शिष्टाचार भेटघाट

तुलसीपुर, २१ भदौ । नेपाल–पाकिस्तानबीचको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहकार्य, साझेदारी र अनुभव आदान–प्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले पाकिस्तानमा स्वास्थ्य तथा शिक्षा सम्मेलनमा सहभागी हुन पुगेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालको प्रतिनिधिमण्डलले पाकिस्तानस्थित नेपाली राजदूतावासमा शिष्टाचार भेटघाट गरेको छ।

भेटघाटमा राष्ट्रिय स्वास्थ्य सेवा, नियमन तथा समन्वय मन्त्रालय, पाकिस्तानका सचिव, पूर्व महामहिम राजदूतहरू, अल–शिफा ट्रष्ट आँखा अस्पतालका अध्यक्षलगायत प्रतिष्ठित उच्चपदस्थ व्यक्तित्वहरू, वरिष्ठ नेत्रविशेषज्ञ तथा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत महामहिम रीता धितालले प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्वागत गर्दै नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध, नेपालबाट पाकिस्तानमा सहभागी हुन पुगेको प्रतिनिधिमण्डल, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि तथा आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीका विषयमा जानकारी गराएकी थिइन् ।

त्यस अवसरमा नेपाल नेत्रज्योति संघले नेपालमा प्रदान गर्दै आएको आँखा स्वास्थ्य सेवा, संघका भावी कार्यक्रम, लक्ष्य तथा उद्देश्यका विषयमा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द, केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्र तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा। सम्शेर थापाले जानकारी गराएका थिए ।

नेपालबाट सहभागी प्रतिनिधिमण्डलमा केन्द्रीय महासचिव भरतबहादुर चन्द,केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी,नेपाल नेत्रज्योति संघ, दाङ शाखा सदस्य शारदा चौधरी,संघका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा सम्शेर थापा वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादव सूचना अधिकृत बालाराम खड्का यस शिष्टाचार भेटघाटले नेपाल–पाकिस्तानबीच आँखा स्वास्थ्य, स्वास्थ्य शिक्षा, संस्थागत सहकार्य तथा साझेदारीका नयाँ सम्भावनाहरू पहिचान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।