सुनिल पोख्रेल
धर्मे चार्थे च कामे च मोक्षे च भारतर्षभ ।
यदिहास्ति तदन्यत्र यन्नेहास्ति न कुत्रचित् ।।
अर्थात् धर्म, अर्थ, काम र मोक्षको विषयमा जो महाभारतमा भनिएको छ त्यो अन्यत्र पनि छ । जो यसमा छैन त्यो कहि पनि छैन भनि महाभारतको स्वार्गारोहण पर्वको पञ्चम अध्यायको ५० औँ श्लोकमा उल्लेख गरिएको छ । यो श्लोकमा महाभारतले आफ्नो प्रशंसा आफै गाएको भए पनि महाभारत अध्ययन गर्ने हरेक पाठकले यसलाई सत्य मान्छ जसले गर्दा यो श्लोक महाभारतका सन्दर्भमा अत्यन्त लोकप्रिय बन्न पुगेको छ । यस प्रकारका महाभारतको मानव जातिका लागि एक महत्वपूर्ण ज्ञानकोशका रूपमा मानव समाजमा स्थापित छ ।
करिब एक लाख पच्चिस हजार श्लोकको यो वृहत् महाकाव्य एक व्यापक आयाम भएको कृति पनि हो । यसै कृतिलाई ‘बालमहाभारत’ का रूपमा बालकको पाठ्य सामग्री बनाएर नेपाली पाठक सामु पस्किने कार्य एकराज शर्मा अधिकारीले गर्नु भएको छ । अतः पौरस्त्य साहित्यको अनुपम र ज्ञानवद्धर्क कृति बाल साहित्यका रूपमा प्रस्तुत गरेर शर्माले एक उदाहरणीय कार्य गर्नु भएको छ ।
पौरस्त्य साहित्यमा एक वृहत् महाकाव्यका रूपमा प्रस्तुत् महाभारतको अठारै पर्वलाई समेटेर बालसाहित्यका रूपमा प्रस्तुत् गर्नु यस पुस्तकको एक महत्वपूर्ण उपलब्धि हो । यस्ता कृति तयार गर्दा धेरैले पौराणिक कृतिका कुनै अंशमा आधारित भएर अन्य कृति जन्माउने कार्य नेपाली साहित्यकमा अनेकन कार्य भएका छन् तर सिङ्गो कृतिमा आधारित भएर यस्ता कृति कमै तयार भएका छन् । अतः महाभारतको समग्र कृतिमा के छ भन्ने जानकारी दिने उद्देश्यले यो कृति तयार पारिएको छ ।

महाभारतको आरम्भदेखि अन्तसम्मका सम्पूर्ण विषयवस्तुलाई समेटेर यो कृति तयार पारिएको छ । मुख्यतः बाल तथा किशोर वर्गलाई सरल, सहज, आकर्षक र बालसाहित्यका रूपमा समग्र महाभारतको ज्ञान प्रदान गर्नु यस कृतिको मुख्य योगदान दिएको देखिन्छ । महाभारतमा रहेका आदि पर्व, सभा पर्व, वन पर्व, विराट पर्व, उद्योग पर्व, भिष्म पर्व, द्रोण पर्व, कर्ण पर्व, शल्य पर्व, गदा पर्व, सौतिक पर्व, नारी पर्व, शान्ति पर्व, अनुशासन पर्व, अश्वमेध पर्व, आश्रमबास पर्व, मुसल पर्व र स्वार्गारोहण पर्व गरी अठार ओटै पर्वको यस कृतिमा अध्ययन गर्न सकिन्छ । सरल तथा सार रूपमा महाभारतको सबै पर्वको अध्ययन गर्न पाइनु यस कृतिको सवल पक्ष हो ।
मूल कथा वृहत् रहेको तथा अनेकौँ प्रासङ्गिक कथाहरूले भरिपूर्ण महाभारत ग्रन्थको मूल कथालाई आकर्षक तथा सङ्क्षिप्त रूपमा बुझाउन सक्नु र आवश्यक प्रासङ्गिक कथालाई मात्र स्थान दिनु यस कृतिको अर्को महत्वपूर्ण उपलब्धि हो । समग्र महाभारत त मूल ग्रन्थ खोजेरै पढन सकिन्छ तर मूल ग्रन्थ पढनका लागि लामो समय र एक प्रकारको तपस्या नै गर्नु पर्छ । त्यसमा पनि बाल तथा किशोर उमेरका विद्यार्थीमा यस्ता ग्रन्थ पढ्न त्यसमा रहेको भाषा, शैली र जटिलताले त्यती सहजता प्रदान गदैन ।
यस्तो समस्यालाई नै बुझेर कृतिकार एकराज शर्मा अधिकारीले सरल रूपमा मूल कथालाई सङ्क्षेपीकरण गर्नु भएको छ जसले गर्दा पाठकलाई मूल कथा सजिलै सँग बुझ्न सहयोगी बनेको छ । अत्यावस्यक प्रासङ्गिक कथालाई पनि स्थान दिँदा तथा त्यसको सूचना दिँदा मूल कृतिको मर्म पनि अपूर्ण रहदैन भन्ने मान्यतामा आधारित रही यो कृति तयार गरिएको छ । अतः अत्यन्त चलाखीपूर्ण तरिकाले पाठककेद्रित रहेर यो कृति तयार गरिएको छ जसले गर्दा कृति पठनीय बनेको छ । महाभारत नपढेका आम पाठकले पनि यो कृतिलाई पढेर महाभारत कथा पढ्दा महाभारतको विषयवस्तु र कथा बुझ्न थप सहज हुने देखिन्छ । महाभारतको मूल मर्म नबिग्रने गरी पूर्ण महाभारतलाई बाल तथा किशोर वर्गले पनि सहजै बुझ्ने गरी यो कृति तयार गरिएको छ ।
महाभारतमा उल्लेखित पौरस्त्य दार्शनलाई सरल रूपमा बुझाउन पनि यो कृति सफल छ । आम पौरस्त्य पौराणिक ग्रन्थहरूमा कथा मात्र छैनन् तिनमा जीवन र जगत्लाई हेर्ने पौरस्त्य दार्शनिक मूल्य र मान्यता पनि छन् । महाभारत त्यो ग्रन्थ हो जसमा पौरस्त्य जगत्को दर्शनको सार मानिने गीता एक अंश बनेर समेटिएको छ । महाभारतमा गीता मात्र होइन् यसका विभिन्न प्रसङ्गमा पौरस्त्य दर्शनका विविध पक्षको चर्चा परिचर्चा पनि छ । यिनै दार्शनिक मूल्य र मान्यातालाई आम बाल भाषा र बालमन तथा बालकको क्षमतालाई मूल्याङ्कन गर्दै सरल रूपमा बुझाउने कार्य यस पुस्तकले गरेको छ ।
पौरस्त्य कृति रचनाको मूल्यलाई आत्मसाथ गदैै दर्शनका पक्षलाई पनि यस कृतिले समेटेको छ । बाल साहित्यका सिद्धान्तमा लेखिएकोले लेखकले यो कृतिलाई महाभारतको कथामा मात्र पर्नि समित गर्न सक्थे तर त्यसो नगरी सरल रूपमा पौरस्त्य दर्शनलाई प्रस्तुत् गर्ने काम यहाँ लेखकले गरेका छन् । भिष्म पर्वमा रहेको कृष्ण तथा अर्जुन संवादको गीता दर्शन तथा अश्वमेध यज्ञमा कृष्ण, व्यास तथा कस्यप ऋषिले दिएका दार्शनिक विचार यस कृतिमा सरल रूपमा बुझाउने प्रयास गरिएको छ । समग्र पौरस्त्य दर्शनको प्रभाव बालक कालबाटै पार्नु पर्छ र यसबाट मात्रै हाम्रो संस्कृति, सभ्यता र दर्शन बच्छ भन्ने
मान्यताबाट प्रभावित भई लेखकले यस कृतिमा दर्शनलाई पनि समेट्ने जुन प्रयास गरेका छन् त्यो अत्यन्त प्रसंशनीय छ । बाल साहित्यको मूल्य र मान्यता अनुसारको भाषा र शैलीको प्रयोग गर्नु यस कृतिको अर्को सफल पक्ष हो । छोटा वाक्य, सरल भाषा, आकर्षक र रोचक प्रस्तुती र जटिल विचारको सरल प्रस्तुुति यस कृतिको अर्को सवल पक्ष हो । बाल तथा किशोर उमेर समूहका अध्ययताहरूले सजिलै बुझ्ने भाषा शैलीले गर्दा यो कृति हरेक अभिभावकले आफ्ना बालबालिकालाई पढन दिन उपयुक्त हुने देखिन्छ ।
मूल कृतिमा पद्य प्रस्तुति रहेकोमा यस कृतिमा शर्माले गद्य प्रस्तुति दिएका छन् । एक सामान्य बाल उपन्यासका रूपमा प्रस्तुति दिइएको यस कृतिमा पाठक निरन्तर मूल कथावस्तुसँग जोडिरहने अवस्था रहेको छ । मूल महाभारत कृतिमा आएका प्रासङ्गिक कथाले मूल कथालाई धेरैबेर पर्खन बाध्य बनाउँछ भने यहाँ लेखकले पाठकलाई औपन्यासिक शैलीमा निरन्तर पाठकलाई मूल कथासँग जोडिइरहदा कृति आकर्षक र रोचक बनेको छ । यस प्रकार भाषा शैलीका आधारमा कृति सफल रहेको छ । यस कृतिको बिच बिचमा आकर्षक चित्रहरू राखिएका छन् ।
बाल कृतिहरूमा चित्रको विशेष महत्व हुन्छ । यस्ता चित्रले बालकलाई कृति पढन र हेर्न रूचि उत्पन्न गर्छ । कथाका प्रसङ्गअनुसारका चित्रहरूको प्रस्तुतीले कृतिलाई थप आकर्षक बनाएको छ । चित्र प्रस्तुतिका आधारमा पनि यो कृति सफल छ । समग्र रूपमा कृति सफल रहदाँ रहदै पनि कतिपय स्थानमा ससाना कमी कमजोरीहरू पनि देखिन्छन् । आदि पर्वमा भिष्म प्रतिज्ञापछि भिष्मले बुबा सन्तनुलाई इच्छा मरणको वरदान दिए भनी यस कृतिमा भनिएको छ जो गलत छ । यस समयमा भिष्मले सन्तनुलाई नभई सन्तनुले भिष्मलाई इच्छामरणको वरदान दिएका हुन् ।
आगामी संस्करणमा यस गल्तीलाई लेखकले सुधार गर्ने अपेक्षा गर्न सकिन्छ । यस्तै कतिपय स्थानमा राखिएका चित्र अलि धमिलो छ । अतः आगामी संस्करणमा आउँदा यसमा भएका चित्र थप स्पष्ट हुने तथा यसमा रहेका सामान्य कमी कमजोरी सुधार भएर आउने आशा राख्न सकिन्छ । महाभारत कृति एक भिमकाय रचना भएका कारण समग्र पठन एक कठिन कार्य मान्न सकिन्छ त्यस्तो अवस्थामा सामान्य पाठकले यही बालमहाभारत अध्ययन गरी महाभारतको स्वाद प्राप्त गर्न सक्छ ।
यस्तै महाभारत कृति अध्ययन गर्न चाहाने हरेक नेपाली भाषी पाठकले यही बालमहाभारतको अध्ययन गरी मूल ग्रन्थको अध्ययन गर्दा विषय वस्तु बोध गर्न सहज बन्न सक्छ । विद्यालय तहका बालबालिका तथा उच्च तह अध्ययन गरी रहेका किशोर किशोरीका लागि तयार पारिएको यो पुस्तक यो वर्गले अध्ययन गर्दा पौरस्त्य संस्कृति, सभ्यता, दर्शन र इतिहास के कस्तो थियो भन्ने कुरा सहज तरिकाले बुझ्न सक्छ । अतः महाभातको कथा तथा महाभारतको दर्शन बुझ्न इच्छा राख्ने हरेक वर्गका लागि यो कृति पठनीय र सङ्ग्रहणीय छ ।
पुस्तकको नाम ः बालमहाभारत
लेखक : एकराज शर्मा अधिकारी
प्रकाशक : बिएन पुस्तक संसार प्रा.लि.
मिति : वि.सं. २०८३
विधा : कथा
संस्करण : प्रथम
पृष्ठसङ्ख्या : १५४+ ६ मूल्य : ३५०।–