गुरुको महिमा

एकराज शर्मा अधिकारी

सद् गुरुलाई गुरु भनिन्छ । गुरु दुई अक्षरबाट बनेको छ । गु– भनेको अन्धकार रु– भनेको तेज हो । अन्धकारको नाशक हो । गुरु गीतामा गुरुको महिमा यसरी वर्णन गरिएको छ ।
गुकार अन्धकारश्र रुकार तेज उच्चेते ।

अज्ञान नाशकं ब्रहम गुरुरेव नशंसयः । अर्थात् अज्ञानरुपी अन्धकारलाई ज्ञानरुपी तेजले हटाउनेलाई गुरु भन्दछन् । तन्त्र शास्त्रमा चार थरीका गुरुको वर्णन पाइन्छ । गुरु, परम गुरु, परात्पर गुरु र परमेष्टी गुरु । हाम्रो हिन्दु परम्परामा माता, पिता गुरु र आचार्यलाई देवका सम्मान मानेको छ । मातृ देवो भव, पितृदेवो भव, गुरुदेवो भव, आचार्य देवोभव । जसले शिष्यलाई सदाचार सिकाउँछ त्यस्तालाई आचार्य भन्दछन् । आचार्यले शास्त्रका अर्थहरु र ज्ञानलाई एकै ठाउँमा जम्मा गरेर उपदेश दिन्छन् ।

हाम्रा शास्त्रहरुमा जन्मदिने, उपनयन गराउने, मन्त्र सुनाउने, विद्या र ज्ञान दिने, भयबाट मुक्त गराउने पाँच प्रकारका गुरु हुन्छन् भनेको छ । यो मध्ये ज्ञान दिने गुरुलाई प्रमुख स्थान दिएको छ ।

गुरु ब्रहमा गुरु विष्णुः गुरुदेवो महेश्वर ।
गुरु साक्षात परम ब्रहम तस्मै श्री गुरुवे नमः ।
अज्ञान तिमिरान्धस्य ज्ञान्जन शलाकया,
चश्रु रुन्मिलितंयन तस्मैश्री गुखे नमः ।

गुरुलाई ब्रहमा विष्णु महेश्वरको स्थान दिएको छ । साथै परब्रहमको स्थान दिएको छ । साथै अज्ञानले अन्धो भएको आँखालाई ज्ञानरुपी सलाईले खोलिदिने त्यस्ता गुरुलाई पटक–पटक नमस्कार गर्ने संस्कार हाम्रो धर्मशास्त्रमा छ । हाम्रो धर्म शास्त्रमा आमालाई पनि गुरुको स्थान दिएको छ ।

वैदिक मान्यताअनुसार बालकको प्रथम पाठशाला आमाको गर्भ हो । जन्मपछिको प्रथम गुरुआमा नै हुन् । त्यसैले, नास्ति मातृसमो गुरु भनेको छ ।

सर्ववेदान्त सिद्धान्तसार ग्रन्थमा यसरी भनेको छ ।
अविद्याहृदय ग्रन्थि, बन्धमोक्षो यतो भवेत् ।
तमेव गुरुमित्याहु र्गुरु शब्वेदन उच्मते ।

अर्थात् अविद्या र अज्ञानका साथै मनमस्तिष्कका ग्रन्थिका बन्धनलाई फुकाइदिनेलाई गुरु भनिन्छ । पहिले–पहिले शिष्यलाई पढाइसकेपछि गुरुले दिक्षान्त समारोहमा सत्यं वद साचो बोल, धर्म चर, धर्म गर सत्यात् नप्रमदि सत्यबाट विचलित नहुनु, तत्पम् धर्मान्मप्रमदि तत्पम् धर्मबाट विचलित नहुनु भनेर शिक्षा दिने चलन थियो । यी उपदेश जीवनको लागि अत्यन्त उपयोगी छन् ।

त्यति मात्र होइन, सहनाववतु सहनौ भुनक्तु सहवीयंकरवा वहै तेजस्विना बधितमस्तुमा माकश्चित् विद्धिषा वहैm संगच्छध्वय, संवदध्वम् संवो मनांसि जानताम्, सँगै हिडौं, सँगै खाऔं, सँगै पराक्रम गरौं, सबै तेजस्वी बनौं, कसैसँग द्धेष नगरौं, सँगै बोलौं, सँगै एकअर्काको मन बुझौं भनेर सामुहिक जीवनयापनको लागि गुरुले दिएका उपदेश हुन् । यी उपदेशहरु आज कता हराए । हामी हाम्रा संस्कारबाट टाढा–टाढा भाग्दैछौं ।

हामीलाई जीवन जिउने कलात गुरुले नै सिकाउनुहुन्छ । जीवन यात्राको कठिन समयमा मार्ग प्रदर्शन गर्ने, पितृ समान स्नेह गर्ने, मातापिता गुरुभन्दा अर्को को छ ? कोही छैन, त्यसैले भनिन्छ, अरुको ऋण तिर्न सकिन्छ, मातापिता र गुरुको ऋण तिर्न सकिँदैन । प्रत्यक्ष मातापिता गुरुदेवता हुन्, माता पिता र गुरु आज्ञा र उपदेशलाई जसले पालना गर्छ त्यसले कही कतै गएर तीर्थ ब्रत गर्नु पर्दैन भनी शास्त्रमा भनेको छ ।

आज समाजमा मातापिता गुरुको अपहेलन भएको छ । नजिकको तीर्थ हेला हुन्छ । मातापिता र गुरु सधै नजिकमा हुनुहुन्छ, हामीले जतिसुकै आदर्शका कुरा गरे पनि दुःख परेको बेला मातापिता र गुरुलाई नै सम्झन्छौँ । अहंकारको छहारीमा बसेको मानिसले सजिलै गुरुको महिमा बुझ्न सक्दैन । सच्चा गुरुले शिष्यलाई कहिले पनि भ्रमजालमा फसाउँदैन । सच्चा गुरु र मातापिताले त कर्मयोगी, धर्मयोगी, ब्रहमयोगी बनाउँछन् । मातापिता र गुरुले दिएको ज्ञान र उपदेश भन्दा बढी देवताले पनि दिन सक्दैनन् । त्यसैले शास्त्रमा भनेको छ– देवता रिसाए गुरुले रक्षा गर्नुहुन्छ, गुरु रिसाए कसैले रक्षा गर्न सक्दैन । समाजमा ज्ञान दिन नसक्नेलाई पनि गुरु भन्ने बानीले गुरुको महिमा हराएको हो । समाजमा गुरुको महत्व बुझाउन सके गुरुको महिमा हराएको छैन ।