यम रेग्मी
मङ्सिरको चिसो बिहानीमा सुनपुर गाउँको आकास ढकमक्क तुवाँलोले ढाकेको थियो । ३० वर्षको वैंशालु उमेरमै कार दुर्घटनामा परेर गाउँका उर्जावान् र प्रिय युवा आदित्यको असमायिक निधन भयो । घरमा वृद्धा बाआमा, नवयौवना श्रीमती, पाँच वर्षको छोरो र छ महिनाकी दुधे छोरीको आडभरोसा एकाएक भासियो । आदित्यको असमायिक बिदाइसँगै सम्पूर्ण गाउँ नै मलीन र स्तब्ध बन्यो ।
भौतिक देह पञ्चतत्वमा बिलाएपछि आदित्यको सूक्ष्म आत्मा चित्रगुप्तको दिव्य न्यायसभामा पुग्यो । यमलोकको त्यो वातावरण अत्यन्त गम्भीर, भव्य र शान्त थियो । एकातिर विशाल स्वर्णपत्रमा मानिसका पाप–पुण्यका लेखाजोखा कोरिएका थिए भने अर्कातिर दण्ड र पुरस्कारको गम्भीर वातावरण व्याप्त थियो । चित्रगुप्तले उनका सत्कर्मको खाता पल्टाउँदै प्रसन्न मुद्रामा भने, ‘आदित्य ! तिम्रा पुण्यकर्मका कारण तिमी स्वर्गका दिव्य सुख भोग्न योग्य छौँ ।’ तर आदित्यको मनभित्र स्वर्गको तृष्णा थिएन, केवल धर्तीमा छुटेका आत्मीयहरुको छटपटी र विरहको आँधी चलिरहेको थियो । उनी दुवै हात जोडेर चित्रगुप्तसामु घुँडा टेक्दै भक्कानिए ।
‘प्रभु ! मलाई स्वर्गको अभिलाषा छैन,’ आदित्यले साश्रु नयनले बिन्ती गरे, ‘मेरा वृद्ध बाआमाको सहारा खोसिएको छ, दुई कलिला सन्तान टुहुरा भएका छन् । मेरी जवान श्रीमतीको सिउँदो पुछिएको छ । मलाई केवल एकपटक उनीहरुलाई भेट्न धर्तीमा जाने अनुमति दिनुहोस् ! म उनीहरुको आँसु पुछेर फर्कनेछु ।’
चित्रगुप्तले गम्भीर हुँदै नकार्ने शैलीमा टाउको हल्लाए, ‘असम्भव आदित्य ! जन्मिएपछि मरण हुनु र मरेपछि भौतिक संसारसँगको नाता टुट्नु, प्रकृतिको शाश्वत नियम हो । कालचक्रको यो विधानलाई उल्लंघन गर्ने अधिकार मलाई पनि छैन । म तिमीलाई फर्काउन सक्दिनँ ।’
आदित्य अझै अड्डी कस्दै, रुँदै र चित्रगुप्तको चरण समात्न खोज्दै बोले, ‘हे न्यायदाता! म हजुरसँग जीवनको भीख मागिरहेको छैन । म सदाका लागि फर्कन चाहन्नँ, केवल केही पलका लागि मात्र भएपनि दिनुहोस् । यदि यो नियम विपरित छ भने, त्यसको सजाय स्वरुप मलाई स्वर्गको सट्टा सदाका लागि नर्कको भीषण कुण्डमा फालिदिनुहोस् ! म नर्कको यातना सहनै तयार छु, तर मलाई एकपटक जाने अनुमति दिनुहोस् !’
एकतिर प्रकृतिको अटल नियम र अर्कातिर एउटा आत्माको निष्छल मोह एवम् नर्कसम्म भोग्न तयार हुने अनौठो हठ–यही तीव्र द्वन्द्वकाबिच न्यायसभा नियन्त्रित स्तब्धतामा डुब्यो । आदित्यको यो अगाध मोह र कठोर त्याग देखेर चित्रगुप्तको कठोर हृदय पनि पग्लियो ।
चित्रगुप्तले लामो सास फेर्दै भने, ‘हे आत्मा ! तिम्रो यो अगाध मोह र हठ देखेर म नियम मिचेर एउटा विशेष छुट दिँदै छु । तर याद राख, यसको परिणाम तिमी स्वयम्ले भोग्नुपर्नेछ तर आज होइन । तेह्रौँ दिनमा तिमीलाई धर्तीमा जाने अनुमति दिन्छु ।’ आदित्यमा खुसीको सीमा रहेन । उनी तेह्रौँ दिनको पर्खाइमा रहे । त्यो दिन पनि आयो । उनीले चित्रगुप्तसित अनुमति लिए । चित्रगुप्तले भने,‘जाऊ, तिमीलाई जति दिन धर्तीमा बस्ने मन छ, त्यति नै दिन धर्तीमै बस !’ चित्रगुप्तको यो उत्तर सुन्नेबित्तिकै आदित्यको खुसीको सीमा नै रहेन । मनमा अपार हर्ष र उत्साह बोकेर उनी हावाको वेगझैँ सूक्ष्म शरीर धारण गरी आफ्नै गृहआँगनतिर उडे ।
घरको अगाडि तेह्रौँ दिनको शुद्धशान्तिका लागि ठूलो सेतो पाल टाँगिएको थियो । घरमा गाउँले, नातागोता र इष्टमित्रहरुको ठूलो उपस्थिति थियो । हिन्दु परम्पराअनुसार पण्डितजी वैदिक मन्त्रोच्चारण गर्दै धूप–दीप बालेर अन्तिम पिण्डदान र शुद्धशान्तिको पूजा गराइरहेका थिए । घरको पछाडि शुद्ध भोजनका लागि मानिसहरु लहरै बसेर खाइरहेका थिए ।
घरको पिँढीमा परिवारका सदस्यहरु आ–आफ्नो ठाउँमा बसिरहेका थिए । आदित्य आत्म नजिकै पुग्यो । तर, त्यहाँ उसले सोचेको जस्तो शोकको चीत्कार थिएन । छ महिनाकी छोरी आफ्नै धुनमा भुइँमा खेलौनासँग खेलिरहेकी थिइन् भने पाँच वर्षको छोरो कुनातिर बसिरहेको थियो । श्रीमती सेतो वस्त्रमै भए पनि पूजाका लागि आवश्यक सामान जुटाउने र घरव्यवहारका सानातिना काममा अभ्यस्त भइसकेकी देखिन्थिन् । आदित्य सुटुक्क आफ्नी वृद्ध आमाको अगाडि पुगे र उनका आँखामा हेरे । आमाका आँखामा छोरो गुमाउनुको छटपटी र कालो छाया थिएन, बरु त्यहाँ त कालान्तरको शान्ति र परिस्थितिको मौन स्वीकारोक्ति प्रष्ट झल्कन्थ्यो ।
आफ्ना लागि प्राणै दिने आत्मीय परिवारलाई आफूबिना पनि शान्त र सहज देखेपछि आदित्यको मनभित्र ठूलो भूकम्प गयो । उनी भारी मन बोकेर आफ्नो कार्यस्थल (अफिस) तिर लागे । अफिसको वातावरण सधैँझैँ व्यस्त र कोलाहलपूर्ण थियो । कम्प्युटरका किबोर्ड बजिरहेका थिए, टेलिफोनका घण्टीहरु बजिरहेका थिए र कर्मचारीहरु फाइल बोकेर आउजाउ गरिरहेका थिए । आदित्य आफ्नै कार्यकक्षमा छिरे; तर त्यहाँ उनको कुर्सीमा अर्कै नयाँ व्यक्ति विराजमान भई मग्न भएर कम्प्युटरमा औँला नचाइरहेको थियो । उनको टेबुलको नामपट्टि फेरिइसकेको थियो । उनीबिना अफिसको दिनचर्या पूर्ववत् गतिमा गतिशील थियो ।
‘जसका लागि मैले स्वर्ग त्यागेर नर्क जान समेत मन्जुर गरेँ, तिनै मानिसहरु मबिना पनि पूर्ण र प्रसन्न छन्’ भन्ने शाश्वत सत्यको बोधले उनको मोहको भ्रमपूर्ण पर्दा चटक्कै च्यातियो । बाहिर मङ्सिरको घाम झन् मलीन हुँदै गयो, मानो परिवेश पनि आदित्यको आन्तरिक वैराग्य र पराजयमा मौन रुइरहेको थियो । मर्महत र शून्य बनेका आदित्य यमलोक उसै दिन फर्किए । एकान्तमा टाउको निहुराएर बसे । चित्रगुप्तको विशाल दरबारको त्यो गम्भीर शून्यतामा आदित्यको अनुहार कान्तिहीन र मलीन देखिन्थ्यो ।
चित्रगुप्तले करुणापूर्वक सोधे, ‘हे दिव्य आत्मा ! आफ्ना मानिसहरुलाई भेटेर फर्किँदा पनि तिम्रो अनुहार किन यसरी उदास छ ?’ आदित्यले लामो चिसो सास फेर्दै भने, ‘हे न्यायदाता !’ आज मेरो अहंकार र भ्रमको अन्त्य भयो । म सोच्थेँ– मेरो भौतिक अवसानपछि मेरो घर, मेरो अफिस र मेरो संसार अनाथ हुनेछ । तर धर्तीमा पुग्दा त मेरो घर, मेरो कुर्सी र मेरो स्थान अरु नै कुराले भरिसकेको रहेछ । मानिसहरु मबिना नै बाँच्न र अघि बढ्न अभ्यस्त भइसकेछन् । धर्तीको माया त केवल समय र परिस्थितिको क्षणिक ।