प्रेरणाको विन्दु÷उपकार बिर्संदाको परिणाम

तुफानबाबु श्रेष्ठ

जीवनमा मानिसको वास्तविक उचाइ केवल उसको शक्ति, धन वा पदले निर्धारण गर्दैन । उसले पाएको अवसरलाई कसरी उपयोग गर्छ, आफूलाई सहयोग गर्ने मानिसप्रति कति कृतज्ञ रहन्छ र आफ्नो क्षमताको सही मूल्याङ्कन कति गर्न सक्छ भन्ने कुराले उसको व्यक्तित्वको वास्तविक परिचय दिन्छ तर जब मानिसले प्राप्त गरेको सुविधा र सफलतालाई आफ्नै योग्यता मात्र ठान्न थाल्छ, तब घमण्ड जन्मिन्छ । घमण्डले विवेक हराउँछ र विवेक हराएपछि मानिसले आफ्नै हितैषीलाई पनि चुनौती दिन थाल्छ ।

‘सिंह र स्याल’ को यो प्रेरक प्रसंगले यस्तै एउटा गहिरो जीवनसत्य उजागर गर्छ । अरूको कृपा र संरक्षणबाट माथि उठेको मानिसले त्यही उपकार बिर्सेर आफूलाई उपकारीकै बराबर ठान्न थाल्यो भने उसको पतन धेरै टाढा हुँदैन ।

त्यसैले जीवनमा सफलता पाएपछि अझ बढी विनम्र बन्नुपर्छ, किनकि सफलताको यात्रामा हाम्रो क्षमता मात्र होइन, अरूको सहयोग र अवसरको पनि ठूलो भूमिका हुन्छ । धेरै समय पहिले हिमालयको एउटा घना जंगलमा एउटा शक्तिशाली सिंह बस्थ्यो । एक दिन उसले एउटा ठूलो बारासिङ्गेको शिकार ग¥यो । पेटभरि भोजन गरेपछि सिंह आफ्नो गुफातर्फ फर्किंदै थियो । त्यही समयमा एउटा स्याल उसको बाटोमा आइपुग्यो । स्यालले सिंहलाई देख्नेबित्तिकै दण्डवत् गर्दै उसको प्रशंसा गर्न थाल्यो ।

उसले भन्यो, ‘हे जंगलका राजा ! म तपाईंको सेवक बनेर आफ्नो जीवन धन्य बनाउन चाहन्छु । कृपया मलाई आफ्नो शरणमा राख्नुहोस् र तपाईंको सेवा गर्ने अवसर दिनुहोस् ।’ सिंह बुद्धिमान् थियो । उसले स्यालको वास्तविक उद्देश्य बुझिसकेको थियो । सिंहले छाडेको शिकारको बाँकी मासु खान पाउने लोभले स्याल उसको नजिक आएको कुरा उसलाई थाहा थियो तर सिंहले सोच्यो, ‘यसलाई साथमा राख्दा मेरो के नै बिग्रन्छ र ? केही सानातिना काममा सहयोग गर्ला ।’

त्यसपछि सिंहले स्याललाई आफ्नो साथमा बस्ने अनुमति दियो । त्यस दिनदेखि स्यालको जीवन बदलियो । सिंहले शिकार गर्दा उसले पनि सजिलै मासु खान पायो । नियमित रूपमा पौष्टिक भोजन पाउँदा केही समयमै स्यालको शरीर बलियो हुँदै गयो । उसको आत्मविश्वास पनि बढ्दै गयो तर दुर्भाग्यवश, आत्मविश्वाससँगै उसमा घमण्ड पनि बढ्न थाल्यो ।

केही समयपछि स्यालले जंगलका अन्य जनावरलाई पनि आफू ठूलो शक्तिशाली भएको जस्तो व्यवहार गर्न थाल्यो । सिंहको नजिक बस्न पाएको र उसको शिकार खान पाएको कुरालाई उसले आफ्नो क्षमता ठान्न थाल्यो । एक दिन त उसले सिंहलाई नै भन्यो, ‘आज तपाईं आराम गर्नुहोस् । शिकार म गर्छु । तपाईंले मेरो शिकारको मासु खानुहोस् ।’

स्यालको कुरा सुनेर सिंह निकै क्रोधित भयो । तर उसले तत्काल रिसमा प्रतिक्रिया दिएन । बरु स्याललाई उसको वास्तविक क्षमता आफैं बुझाउने उपाय सोच्यो । सिंहले शान्त स्वरमा भन्यो, ‘त्यसो भए आज मलाई भैंसीको मासु खाने इच्छा छ । जाऊ, एउटा भैंसीको शिकार गरेर ल्याऊ ।’ स्यालले सिंहको कुरा चुनौतीका रूपमा लियो । ऊ आत्मविश्वासका साथ भैंसीको बथानतर्फ लाग्यो । उसले एउटा ठूलो भैंसीलाई आफ्नो निशाना बनायो र दौडिँदै त्यसैमाथि झम्टियो तर भैंसी सतर्क थियो । उसले तत्काल आफ्नो शक्तिशाली सिङ घुमाएर स्याललाई जोडले हान्यो । स्याल केही पर पुगेर बजारियो । उसको शरीरमा गम्भीर चोट लाग्यो र ऊ मुस्किलले घिस्रिँदै सिंह भएको ठाउँमा फर्कियो ।

सिंहले सोध्यो, ‘के भया े? भैंसी कहाँ छ ?’ स्यालको घमण्ड सबै समाप्त भइसकेको थियो । उसले लज्जित हुँदै भन्यो, ‘मलाई क्षमा गर्नुहोस् । म बहकिएँ । तपाईंको साथ र संरक्षण पाएर आफूलाई तपाईंको बराबर ठान्न पुगेछु ।’ यो प्रसंग केवल सिंह र स्यालको कथा होइन, हाम्रो समाजको ऐना पनि हो ।

मानिसले कुनै व्यक्तिको सहयोग, संस्थाको अवसर, परिवारको साथ वा समाजको विश्वास पाएर सफलता प्राप्त गर्न सक्छ तर सफलता प्राप्त गरेपछि त्यही सहयोगलाई बिर्सेर आफूलाई सर्वश्रेष्ठ ठान्नु ठूलो भूल हो । कतिपय मानिस पदमा पुगेपछि आफूलाई माथि पु¥याउनेको योगदान बिर्सन्छन् । आर्थिक रूपमा बलियो भएपछि कठिन समयमा साथ दिनेलाई हेप्न थाल्छन् । केही सफलता पाएपछि आफूलाई सबैभन्दा योग्य ठान्छन् तर समय सधैं एउटै रहँदैन । परिस्थितिले मानिसलाई फेरि उसको वास्तविक क्षमताको सामना गराउन सक्छ । सफलताले मानिसलाई ठूलो बनाउँदैन, सफलतापछि पनि विनम्र रहन सक्ने व्यवहारले मानिसलाई ठूलो बनाउँछ ।

‘सिंह र स्याल’ को कथा हामीलाई तीनवटा महत्वपूर्ण पाठ दिन्छ–उपकार कहिल्यै नबिर्सनु, आफ्नो क्षमताको सही मूल्याङ्कन गर्नु र सफलता पाएपछि घमण्ड नगर्नु । हामी जहाँ पुगेका छौँ, त्यहाँ पुग्न हाम्रो मेहनतसँगै धेरै मानिसको सहयोग, अवसर र विश्वास जोडिएको हुन्छ । त्यसैले आफू सफल हुँदा अरूलाई सानो देखाउने होइन, आफूलाई माथि उठाउन सहयोग गर्ने हात सम्झनुपर्छ ।

जीवनमा प्राप्त भएको शक्ति स्थायी नहुन सक्छ, पद परिवर्तन हुन सक्छ, धन घट्न सक्छ र परिस्थिति बदलिन सक्छ तर कृतज्ञता, विनम्रता र असल व्यवहारले बनाएको सम्मान लामो समयसम्म टिकिरहन्छ । त्यसैले अरूको काँधमा चढेर उचाइमा पुगेपछि त्यो काँधलाई कमजोर ठान्ने भूल नगरौँ । किनकि उपकार बिर्सेर जन्मिएको घमण्डले मानिसलाई माथि होइन, अन्ततः पतनतर्फ नै लैजान्छ ।