दाङको घोराही स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी सहुलियत बजार सञ्चालन गर्न गइरहेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा बजार सञ्चालन गर्न लागिएको हो । प्रदेश मन्त्रालय र सहकारीबीच सम्झौता भई काम समेत सुरु भइसकेको छ । दाङ जिल्लाभर कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले एउटै छानामुनि दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरु सहुलियत दरमा उपलब्ध गराउने योजना बनाएको छ । बजारमा शेयर लगानी गरी कारोबार गर्ने सदस्यहरुले वर्षभरिमा आफूले गरेको कारोबार अंकको शून्य दशमलव ५ देखि २ प्रतिशतसम्म रकम फिर्ता समेत हुने योजना सहकारी बजारको छ । प्रस्तुत छ, सहकारी बजार सञ्चालकका विविध पक्षमा सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलसँग बालचन्द्र शर्माले गरेको कुराकानीको सार संक्षेप ।
सर्वोत्तम सहुलियत सहकारी बजार कस्तो परियोजना हो ?
सहकारीको माध्यमबाट हामीले दैनिक जीवनमा किनमेल गर्ने हरेक किसिमका सामानहरु एउटै छानामुनिबाट त्यो पनि बजार मूल्यभन्दा सहुलियत दरमा खरिद गर्न सकिने बजार हो । यो सहकारी बजारको व्यवस्थापन २०७१ सालमा स्थापित र २०७४ देखि नयाँ व्यवस्थापनका साथ सञ्चालन भइरहेको घोराही १५ सहकारी रोड स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गर्दैछ ।
यो सहकारी बजारमा कुनै सरकारी सहयोग छ कि छैन ?
यस सहकारी बजारका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ सरकारको केही आर्थिक अनुदान सहयोग रहेको छ । साथै बजार सञ्चालनका लागि आगामी दिनमा सरकारको सहयोग रहने विश्वास लिएका छौँ ।
यो सहकारी बजार कहाँ र कहिलेदेखि सञ्चालन हुँदैछ ?
यो सहकारी बजार घोराहीको तुलसीपुर चोक स्थित युनिक मार्केटमा सञ्चालन हुँदैछ । आगामी घटस्थापनाका दिन औपचारिक उद्घाटन हुने गरी कार्य अघि बढिरहेको छ । बजारले कारोबार भने त्यस अघि नै सुरु गर्ने लक्ष्य लिएको छ ।
अहिले व्यक्तिगत रुपमा सबैबाट शेयर संकलन गरिँदै रहेछ किन होला ?
परियोजनामा संस्थाको तर्फबाट लगानी गर्नुपर्ने रकम संकलन गर्नका लागि यसरी व्यक्तिगत रुपमा शेयर संकलन भइरहेको छ ।
आर्थिक पारदर्शीताको लागि कस्ता रणनीतिहरु अंगिकार गरिएको छ नि ?
बजार सञ्चालनका लागि बजार सञ्चालन उपसमिति गठन गरिएको छ । दक्ष कर्मचारीहरुको व्यवस्थापनमा आर्थिक हिसाब राखिन्छ । त्रैमासिक रुपमा कारोबारको विषयमा सदस्यहरुलाई पत्रपत्रिकामार्फत् जानकारी गराइन्छ । सपिङ कार्ड र सफ्टवेयरको माध्यमबाट परियोजनाको दैनिक हिसाबहरु अद्यावधिक गरिन्छ ।
संस्थाको अन्य कुन–कुन परियोजनाहरु सञ्चालनमा रहेका छन् ?
सहकारीको पहिलो परियोजनाको रुपमा बचत तथा ऋण परियोजना सञ्चालन भइरहेको छ, दोस्रो परियोजनाको रुपमा सहुलियत सहकारी बजारको सञ्चालन हुन गइरहेको छ । आगामी दिनमा क्रमिक रुपमा सदस्यमैत्री परियोजनाहरु सञ्चालन गर्दै जाने उद्देश्य पनि लिएका छौँ ?
यो बजारबाट कारोबार गर्नका लागि शेयर सदस्य नै बन्नुपर्छ कि पर्दैन ?
कारोबार गर्नका लागि मात्र सदस्य बन्नु पर्दैन । गैरसदस्यहरुले समेत कारोबार गर्न सकिन्छ, तर सदस्य बनेर कारोबार गर्दा फाइदा हुन्छ ।
यो सहकारी बजारबाट हामीले के–कस्ता समानहरु खरिद गर्न सक्छौँ ?
हालको लागि हाम्रो भान्छामा आवश्यक पर्ने सबै प्रकारका दैनिक उपभोग्य वस्तुहरु, खाना पकाउने ग्यास, सुकेपाकेका तयारी तरकारी तथा खाद्यान्नहरु, स्थानीय प्रजातिका तरकारीहरु तथा खाद्यवस्तुहरु जस्तै कोदो, फापर, मकैको पीठो, आटो, जौंको सातु, डोको, नाम्लो, तोरण, दुना, टपरीजस्ता सहजै उपलब्ध हुन नसक्ने वस्तुहरु समेतको उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौँ
बाहिर बजार र यस बजारमा उपलब्ध हुने खाद्यवस्तुहरुमा के फरक पाउन सकिन्छ ?
स्थानीय तथा अर्गानिक तरकारी तथा फलफूलहरु सिधै कृषकहरुबाट खरिद गरी सरसफाई तथा ग्रेडिङ समेत गरी उपभोक्ताहरुले घरमा लगेर कत्ति पनि खेर नजाने गरी उपलब्ध गराउने उद्देश्य राखेका छौँ । यसरी वाह्य बजारमा किसान र उपभोक्ताहरुबीच हुने मूल्यको अन्तरलाई कम गर्ने समेत योजना रहेको छ ।
होमडेलिभरीको सुविधा पनि छ कि ?
छ । अनलाइन किनमेल समेत गर्न मिल्ने गरी कार्ययोजना बनाइरहेका छौँ ।
गैरसदस्यहरुले सहकारी बजारमा सामानहरु खरिद–विक्री गर्दा सहुलियत पाउँछन् कि पाउँदैनन् ?
गैरसदस्यहरुले पनि बजार मूल्यभन्दा सहुलियत दरमै सामानहरु खरिद गर्न सक्छन् । तर संस्थाबाट सदस्यको हैसियतमा प्राप्त गर्ने अन्य सुविधाहरु पाउन सक्दैनन् ।
यस बजारबाट आम उपभोक्ताहरुले कसरी फाइदा लिन सक्छन् ?
यसलाई यसरी बुझौँ न; मानौँ ४ जना सदस्य भएको परिवारमा चाडवाड र अन्य महिनाहरुको समेत हिसाब गर्दा औषतमा मासिक कम्तिमा १५ हजार रुपैयाँको दैनिक उपभोग्य सामानहरुको खपत हुन्छ । औषतमा बजार मूल्यभन्दा ५ प्रतिशत सस्तोमा सबै उपभोक्ताहरुले सामानहरु खरिद गर्न पाउँछन् । यसरी मासिक ७ सय ५० रुपैयाँ बचत हुन्छ । यही रकमलाई मासिक रुपमा यही सहकारीमै नियमित १ वर्ष बचत गर्दा ९ हजार ४ सय २४ रुपैयाँ र यही क्रमले ३५ वर्षसम्म नियमित बचत गर्नुभयो भने न्यूनतम २८ लाख ४७ हजार ४ सय ७८ रुपैयाँ पुग्छ । यो रकमले तपाईंको बुढेसकाल अत्यन्तै सहज रुपमा बित्ने छ । अनि भएन त कमाल ? भएन त उपभोक्तालाई फाइदा ?
अनि यो सम्भव कसरी छ नि ?
यो सहकारी संस्थाले सञ्चालन गर्ने परियोजना हो । त्यसमाथि हजारौँ सदस्यहरुको लगानी हुने हुँदा सबै सदस्यहरु बजारको नियमित उपभोक्ताभित्र पर्नुहुन्छ । व्यक्तिगत रुपमा सञ्चालन भएको भए लगानी र बैंक ब्याजको चिन्ता हुने थियो । मार्जिन बढी राख्नुपर्ने हुनसक्थ्यो । तर सदस्यहरुकै लगानी रहने भएकाले हामीले कमभन्दा कम मुनाफा लिएर सदस्यहरुलाई सामानहरु उपलब्ध गराउन सक्छौँ ।
बजारबाट विक्री हुने सामानको आयात कहाँबाट कसरी गर्ने योजना छ नि ?
दाङ जिल्लाभरमा उत्पादन हुने कृषि उपजहरुलाई खरिद गर्नका लागि स्थानीय किसानहरुलाई समेत संस्थामा आबद्ध गराई उहाँहरुको कृषि उत्पादन खरिद गर्ने योजना छ ।
सदस्य बनेर कारोबार गर्दा के–के फाइदा हुन्छ त ?
शेयर सदस्य बनेर कारोबार गर्दा वार्षिक कारोबारका आधारमा शून्य दशमलव ५ प्रतिशतदेखि २ प्रतिशतसम्म रकम फिर्ता हुन्छ । सपिङ कार्डको माध्यमबाट घरका अन्य सदस्यहरुले समेत सामान खरिद गर्न सकिन्छ । शेयर कित्ताको आधारमा लाभांश प्राप्त गर्न सकिन्छ । संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त गर्नुका साथै संस्थाले सञ्चालन गर्ने अन्य परियोजनाहरुमा समेत सहभागी हुन सकिन्छ ।
यस सहकारी संस्थाको सदस्य बन्ने आधार के–के छन् ?
दाङ जिल्लाभर बसोबास गर्ने जुनसुकै व्यक्ति पनि यस सहकारी संस्थाको सदस्य बन्न सक्छ ।
यो सहकारीमा पहिले सदस्य बनेकाहरु पनि फेरि सहकारी बजारमा सदस्यता लिनु आवश्यक छ ?
होइन, सहकारीको सदस्यता लिइसकेकाले सहकारी बजारका लागि छुट्टै सदस्यता लिनुपर्ने छैन । तर सहकारीको यो फरक परियोजना भएकाले यसमा छुट्टै लगानी गर्न पनि सकिन्छ । यस्तो व्यवस्था हामीले मिलाएका छौँ ।
संस्थाको सदस्यताका लागि के–के कुराको आवश्यक पर्दछ ?
आफू र आफूले इच्छाएको व्यक्तिको नागरिकताको फोटोकपी र ३/३ प्रति पासपोर्ट साइजको फोटो सहित तोकिएको फारम अनलाइन वा अफिसमै गएर भर्नुपर्ने हुन्छ ।
लगानी गर्न कति रकम आवश्यक पर्छ ?
सदस्यता शूल्क वापत सय रुपैयाँ । तालिम शुल्क वापत २ सय रुपैयाँ, सदस्य कल्याणकोष वापत २ सय रुपैयाँ गरी जम्मा ५ पाँच सय रुपैयाँ आवश्यक पर्छ । जो संस्थाले फिर्ता गर्ने छैन । रह्यो सहकारी बजारमा शेयरको कुरा, यसमा न्यूनतम एक हजारदेखि माथि सदस्यले चाहेमा जति पनि लगानी गर्न सकिन्छ ।
परियोजनामा कसैको धेरै र कसैको थोरै लगानी हुँदा सदस्यहरुमा विभेद हुने र मुनाफा बाँडफाँडमा पनि एकरुपता नहुने हुन्छ होला नि ?
लगानीको आधारमा सदस्यहरुलाई विभेद गर्ने नीति सहकारीमा हुँदैन । मुनाफा बाँडफाँडको विषयमा भने शेयर कित्ताको आधारमा हुने भएकाले धेरै लगानी हुनेको धेरै र कम लगानी हुनेको कम मुनाफा प्राप्त गर्नु स्वभाविकै हो । यसमा कुनै शंकै छैन ।
सहकारी बजारमा लगानी गरेकै आधारमा ऋण प्राप्त गर्न सकिन्छ कि सकिँदैन ?
सकिँदैन । त्यसका लागि संस्थाको बचत तथा ऋण नीतिको आधारमा शेयर तथा बचतको कारोबार गरेको हुनु पर्दछ ।
यो सहकारी बजारमा लगानी गरेपछि लगानीकर्तालाई नाफा कति हुन्छ त ?
यो बजारलाई कति नाफामा लैजाने भन्ने कुरा तपाईं हाम्रो कारोबारमा निर्भर रहन्छ । बजारबाट जति धेरै कारोबार गर्न सक्यो उति धेरै नाफामा जाने निश्चित हुन्छ ।
मुनाफा वितरण कसरी हुन्छ ?
यो सहकारी संस्था हो । यसमा कुनै प्रालिजस्तो शेयर कित्ताको आधारमा नाफा वितरण गर्ने भन्ने हुँदैन । संस्थाको विभिन्न आन्तरिक कोषहरु हुन्छन् । संस्थाको कूल मुनाफाबाट विनियमको आधारमा कोषहरुमा रकम बाँडफाँड गरेपछि मात्र शेयर कित्ताको आधारमा लगानीको बढीमा १८ प्रतिशतसम्म मात्र मुनाफा वितरण गर्न सकिन्छ ।
संरक्षित पुँजी फिर्ता कोष भनेको के हो ?
यो एउटा गज्जबको र धेरैलाई थाहा नभएको विषय हो । हामीले बैंकमा लाखौँ रकम जम्मा गर्ने र ऋण लिने गर्छौं । तर बैंकले हामीलाई ब्याज तिरेको र बचत गरेको आधारमा छुट्टै रकम दिएको छ त ? अवश्य पनि छैन । तर सहकारीमा त्यसो हुँदैन । हामिले कारोबार गरेको आधारमा ब्याजका अतिरिक्त छुट्टै रकम समेत वार्षिक रुपमा वितरण गर्छौं, त्यसलाई संरक्षित पुँजी फिर्ता कोष भनिन्छ ।
शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषको रकम कहिले, कसरी र कुन प्रक्रियाबाट वितरण हुन्छ ?
हरेक आर्थिक वर्षको लेखापरीक्षण पश्चात संस्थाको मुनाफाको आधारमा साधारणसभाले अनुमोदन गरेपछि सदस्यहरुको शेयर कित्ता अनुसार शेयर लाभांश र सदस्यले बजार वा संस्थामा कारोबार गरेको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण हुने गर्छ । पहिले नै ठीक यति प्राप्त हुन्छ भनेर आँकलन गर्न भने सकिँदैन ।