नारायणप्रसाद श्रेष्ठ
विश्वास मनको पवित्रता हो । यो एकपटक जीवनमा अनुभूति भयो भने यसले लामो समयसम्म जीवनलाई सहज गतितिर डो¥याइरहन्छ । यसले मनको प्रत्येक कुनामा रहेको भ्रम घटाई जीवनमा सधैं उमंग र उत्साह देखाइराख्छ । यो ज्ञानको त्यो चम्किलो उज्यालो हो, जसलाई सामान्य आँधीतुफानले पनि हटाउन सक्दैन । यो मनको चम्किलो मणि पनि हो । मैनबत्तीको उज्यालो होइन यो । जो सामान्य बतासले निभ्न सक्छ । यो त चम्किलो मणि हो । जो आफै चम्किरहन्छ । विश्वासमा अहंकार, घमण्ड, छलकपट केही हुँदैन । न त यसमा घोका नै हुन्छ । अथवा न त यसमा कुनै प्रश्न चिह्न नै खडा हुन्छ । चाहे सुख होस्, चाहे दुःख होस्, सम्पन्नता वा दरिद्रता किन नहोस्, यो कहिल्यै पनि विचल्ली हुँदैन । विचलित मानसिकतालाई यसले हरहमेसा सकारात्मकतर्फ लैजान्छ । यो धैर्य र संकल्पमा आधारित हुन्छ । यसले दृढता ल्याउँछ । यो न त भक्तिमा आधारित हुन्छ न त चाकडी र चाप्लुसीमा नै रहेको हुन्छ । निष्कलंकिता यसको विशेषता हो । साम, दाम, दण्ड, भेद यसले जान्दैन ।
विश्वास झरनाको कलकलाउँदै स्वच्छ गंगाजल हो । जसले मानव जीवनको हरेक तृष्णालाई मेट्दछ । यो भूमण्डलमा रहेको समस्त वनस्पति र जीवजन्तुको लागि वरदान भएर प्रस्तुत भएको हुन्छ । छोटकरीमा भन्ने हो भने विश्वास निर्मलीकरण गरेको वस्तुझैँ यथार्थ सत्य हो । जीवन र जगतलाई युगौँयुगसम्म गतिशील बनाइरहने पवित्र आधार पनि हो । सृष्टिको इतिहासदेखि वर्तमानसम्म जे–जति उतारचढाव भइरहेका छन्, ती सबै यही विश्वासका कारणले भएका हुन् । राम्रो र नराम्रो काम यसैको परिणाम पनि हो । जहाँ अविश्वास हुन्छ, त्यहाँ गलत मानसिकताको उपज हुन्छ । तसर्थ, विश्वास जीवन हो, मानवीय संवेदनशीलतालाई सहज गति दिने आधार हो, अर्को अर्थमा धैर्य, सहनशील र अनुशासित भई बग्ने जीवनको गतिशीलता हो । जन्म, मृत्युको गतिमा देखिने समस्याको समाधान पनि विश्वासमै आधारित हुन्छ । त्यसैले यसलाई जति स्वच्छ र गतिशील बनाउने वातावरण बनाउन सकिन्छ त्यति मानव जीवन सक्षम हुन्छ । जीवनको गति सहज र गतिशील हुन्छ । त्यसैले मनको पवित्र गंगामा वहने चैतन्य शक्तिभित्र प्रदर्शन हुने विश्वासलाई जीवनको आधार बनाई गतिशील हुनु सबैको जिम्मेवारी हो ।
केही समय पहिले महाभूकम्प आयो । यो कसैलाई सोधेर आएको थिएन । न त प्रकृतिले आफूलाई बदल्न यस्तो निम्त्याएको थियो । सय वर्षको इतिहासलाई हेर्ने हो भने १९९० साल, २०४५ साल र २०७२ सालमा यसले आफ्नो स्वरुप पृथ्वीमा देखाइसकेको छ । प्राणी मात्र होइन, प्रकृति समेत यसबाट प्रभावित भएका छन् । त्यस समय केही धनजनको क्षति अवश्य भयो । भौतिक र मानवीय क्षति समेत भयो । तर पनि धैर्य र शाहसका कारण एकअर्काप्रति विश्वास र भरोषाले मानव जीवन सदाझैँ चलायमान भयो । समयको गतिशीलतासँगै जीवनले पनि गति लिँदै गयो । जीवनमा क्षणिक निराशा देखिए पनि यसले लामो समय गति लिन सकेन । विवेकशील मानवीय चेतनाले यसलाई पनि परास्त गरेर जीवनलाई उज्यालो घामसरी प्रदर्शन गरिरह्यो । विश्वासको बलियो आधारलाई आत्मसात गरी एकअर्काबीच हातेमालो गर्दै जीवनलाई गति दियो । ०७२ सालको कहालीलाग्दो क्षण पनि अहिले आएर पुनःनिर्माण भई राष्ट्रिय जागरण ल्याउन सफल भयो । अहिलेको वर्तमान त्यो कहालीलाग्दो क्षण बिर्सिएर मानिस धैर्य र शाहसको संकल्पले पुनः हराभरा र पवित्र बन्दै गएको छ । सानो, ठूलो, तेरो, मेरो अहंकार गर्नु हुँदैन भन्ने चेतना जगाई एकअर्काबीच हातेमालो गर्न यसले सिकाएको छ । श्रेष्ठ संकल्पको बलियो आधार बनी परिस्थितिलाई सहज गतिमा आफूलाई प्रदर्शन गर्न मानवीय चेतना त्यसैको कारण सफल हुँदै गयो ।
औंशीको चकमन्न रातपछि शुब्लपक्ष पूर्णिमाको उज्यालोझैँ जीवन उज्यालो गतिमा लाग्न थालेकै अवस्थामा पुनः अर्को समस्याले मानिसलाई आक्रान्त बनाउन सुरु ग¥यो । एकपछि अर्को गर्दै विवेकशील प्राणीलाई शून्यको अवस्थासम्म पु¥याउन खोजेझैँ गर्न थाल्यो । अदृश्य शक्तिको रुपमा प्रकट भई मानवीय जीवनलाई तहसनहस गर्न पनि यसले छोडेन । तर धैर्य गरौँ आत्मविश्वासका साथ अघि बढ्ने संकल्प गरौँ । अँध्यारोपछि उज्यालो आउने सत्यलाई जानौँ । वर्तमान समयमा जुन परिस्थितिको सिर्जना भएको छ, यो मानव आचरणकै गलत प्रवृत्तिका कारण उत्पन्न भएको भन्ने कुरा अहिले घामझैँ छर्लंङ्ग भइसकेकोले यसको रोकथाम समयले अवश्य गर्ने छ, विश्वास जगाऔँ । अँध्यारोपछि उज्यालो हुने छ यो सत्य धारण गरौँ । रोग आउँछ, जान्छ । यो प्रकृतिमा यस्ता कैयौँ अप्ठ्यारा समस्या आए र गए । यो पनि अवश्य जान्छ भन्ने सत्य बुझी मनलाई धैर्य र सहनशील बनाई अनुशासित जीवनशैली हाम्रो आधार हो भन्ने बुझी आफूलाई समयको गतिसँगै परिवर्तन गरौँ ।
विहान जे भयो दिउँसो त्यो हुँदैन र दिउँसो जे भयो त्यो रातमा हुँदैन । यति मात्र होइन, आज जे भयो भोलि त्यो हुँदैन, भोलि जे हुन्छ त्यो पर्सि हुँदैन । यो निरन्तर परिवर्तन भइरहने सत्य हो । यसलाई कदापि भुल्नु हुँदैन । यसलाई ग्रहण गर्न विश्वासको बलियो आधार तयार गरौँ । चेतनशील मानव उच्च गतिशीलतालाई आधार बनाई अघि बढेको सोच र चिन्तनलाई विश्वासयोग्य बनाउन आफै अनुशासित र चरित्रवान् बनौँ । दिनमा चार प्रहर हुन्छ, विहान, दिउँसो, साँझ र राति । प्रत्येक विहानीले सत्यलाई उजागर गर्छ भने दिउँसोले सत्यवादी चरित्र र कर्म खोजेको हुन्छ । साँझले सुख, दुःख र रातिले विहानीको प्रतीक्षामा आफूलाई समर्पण गरेको हुन्छ । यसरी नै जीवन पनि कहिले उकाली कहिले ओराली गरेर निरन्तर गतिशील भइरहने सत्य भएकोले विभिन्न समयमा देखिने अविश्वासको वातावरणलाई हटाई स्वच्छ र पवित्र मनको बलियो आधार बनाऔँ । विश्वासलाई जीवनको अभिन्न सत्य ठानी आफूलाई प्रदर्शन गर्न सिकौँ । कुनै पनि समस्याको समाधान केवल दृढ मनस्थिति बनाउने विश्वास नै महत्वपूर्ण आधार भएकोले त्यसलाई भरोषायोग्य बनाऔँ । अनुशासित र कर्तव्यपरायण भएर बाँच्ने बलियो आधार विश्वास भएकोले यसलाई सुनौलो भविष्यसँग गाँसेर निर्धारण गर्ने क्षमताको विकास गरौँ । जहाँ विश्वास हुन्छ त्यहाँ अनुशासन हुन्छ । जहाँ अनुशासन हुन्छ त्यहाँ कर्म र व्यवहारमा पवित्रता हुन्छ । जब कर्म र व्यवहारमा पवित्रतता आउँछ त्यहाँ जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा सहजता बढ्न सक्छ । जब सबैलाई समान दृष्टि हेर्ने अवस्था सिर्जना हुन सुरु हुन्छ तब त्यहाँ उँच, नीच, ठूलो, सानो, गरिब, धनीको कूचक्र स्वतः समाप्त हुन्छ । मनमा भ्रान्ति उत्पन्न हुँदैन । भ्रान्तिले ल्याउने गतिछाडा काम हुँदैन । सबैप्रति समान र सद्भाव जागृत हुन्छ । जब मानव जीवन सकारात्मक भावका साथ अघि बढ्ने संकल्प गर्न सक्षम हुन्छ तब त्यहाँ अमन, चयन र शान्तिको उद्घोष हुन पुग्छ । त्यसैले जीवनको हरेक गोरेटोमा आइपर्ने जति पनि मानवीय चरित्र छन्, त्यसलाई शुद्धता दिन विश्वासको आधार बलियो बनाउनु पर्छ । विश्वास मानव जीवनलाई शुद्ध र आचरणयुक्त बनाउने महत्वपूर्ण आधार हो । यसलाई यसरी व्याख्या र विश्लेषण गर्नु पर्छ ।
हुन त वर्तमान अवस्थामा देखिएको रोगले आक्रान्त भएको अवस्थामा विश्वास डग्मगाउन सक्छ । अरुलाई परेको समस्यालाई आफ्नो नठान्ने प्रवृत्तिले मानिसबीच विश्वासको खडेरी नपर्ला भन्न सकिन्न । अन्नमा घुन लाग्न सक्दैन यो पनि भन्न नसक्ने अवस्था पनि छ । गलत मानवीय कूप्रवृत्तिका कारण विश्वासमा वक्रदृष्टि र धोकाको गन्ध नआएको पनि होइन । जीवनमा झिनामसिना गलत प्रवृत्तिले देखापरेको अस्वाभाविक चिन्तनले मानिस पीडित नहोला भन्न पनि सकिन्न । तर यथार्थ सत्यलाई बुझ्ने हो भने जहाँ विश्वासमा अटल र दृढ संकल्प हुन्छ त्यहाँ यस्ता धोकाले क्षणिक कष्ट पु¥याए पनि विश्वासको बलियो सत्य कहिल्यै डग्मगाउँदैन । यो कुरालाई भुल्नु हुँदैन । अर्काे कुरा छद्मभेषी मानव चरित्रमा देखिने उच्छृंखलता र उत्दण्डताले धोका हुन पनि सक्छ । यस्तो चिन्तन गर्न पनि छोड्नु हुँदैन । किनकि प्रकृतिमा एकै स्वभावका मनिस पाइँदैनन् । सोच र चिन्तनको आधारमा मानवीय चरित्रमा विविधता पनि देखिन्छ । तर सत्य कदापि डग्मगाउँदैन । यो कुरालाई बुझ्न जरुरी हुन्छ । जसरी नदीको कल्कलाउँदो वहावमा जति पनि फोहर हुन्छन् ती आफै पाखा लागेको प्रत्यक्ष देख्न र महशुस गर्न सक्छौँ, त्यसरी नै आफूलाई दृढरत र संकल्परत राखी जीवनलाई सत्यप्रतिको विश्वासमा अटल राख्ने हो भने जीवन अवश्य सार्थक हुन्छ । शुक्ल पक्षको चन्द्रमाले जसरी शीतलता प्रदान गरी नयाँ विहानीको उज्यालो महशुस गर्ने परिस्थिति सिर्जना गर्छ र जीवनलाई सहज गतिमा अगाडि बढाउन यसले निरन्तर घच्घच्याइरहन्छ, त्यसरी नै विश्वासले पनि अनुशासित र कर्तव्यपरायण भएर अगाडि बढ्ने शाहस र जिम्मेवारी दिएको हुन्छ । यस कुरालाई हामीले कदापि भुल्नु हुँदैन । समय परिवर्तन भइरहन्छ, प्रत्येक क्षणले नयाँ अवसर दिइ पनि रहेको हुन्छ । तसर्थ यस कुरालाई स्मरण गर्दै वर्तमान समयमा देखापरेको कोरोना पनि अस्ताउँछ । यो सबैले जानौँ र विश्वास गरौँ । यो वर्तमानको आवश्यकता हो ।