घोराहीमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु

घोराही,१९ भदौ । दाङको घोराहीमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८३ सुरु भएको छ । हाप्किडो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आत्मरक्षा सीपको प्रवद्र्धन गर्ने उद्देश्यले दाङ जिल्ला हाप्किडो संघको आयोजनामा भएको च्याम्पियनसिपको उद्घाटन प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले आत्मरक्षा र अनुशासन कायम गर्न मार्सल आर्ट हाप्किडो खेलको महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जिल्लामा हाप्किडोप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै गौतमले च्याम्पियनसिपले नयाँ खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसरका साथै आत्मरक्षा सीप सिकाउनमा समेत महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो ।

दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, नेपाल हाप्किडो संघका केन्द्रीय कोषाध्यक्ष विजयाकुमारी वाइवा, नेपाल हाप्किडो संघका केन्द्रीय सदस्य राजेन्द्र मदाई, दाङ जिल्ला हाप्किडो संघका प्रमुख सल्लाहकार थम्मनबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै हाप्किडा खेलसँगै अन्य खेलको विकासका लागि प्रशिक्षणसँगै खेल पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । खेल पूर्वाधार नहुँदा ठुला प्रतियोगिता सञ्चालन गर्न कठिनाई भएको भन्दै सहभागी बक्ताहरुले तीनै तहका सकारबाट खेलकुदका गतिविधिसँगै पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

घोराही उपमहानगरपालिका–१५ स्थित न्यू स्केट पार्कमा भदौ १९ देखिदेखि २१ गतेसम्म तीन दिन सञ्चालन हुने च्याम्पियनसिपमा जिल्लाका विभिन्न डोजाङका चार सय खेलाडीको सहभागिता रहेको अध्यक्ष थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार सहभागी खेलाडीले प्रतियोगिताअन्तर्गत विभिन्न तौल समूहमा महिला तथा पुरुष खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।