लीलाधर वली
दाङ, १९ भदौ । दाङमा साढे आठ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि २०८३÷०८४ मा विद्यालयमा अध्ययनरत सात हजार सात सय ५३ जना र विद्यालय बाहिर रहेका दुई सय ५० जना किशोरी गरेर सात हजार आठ सय ७२ जना किशोरीलाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये खोप लगाउनेमा घोराही उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार पाँच सय ८३ जना र विद्यालय बाहिर रहेका एक सय सात जना गरी दुई हजार छ सय ९० जना किशोरीलाई खोप लगाउन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार एक सय ६९ जना र विद्यालय बाहिर रहेका ६५ जना गरी दुई हजार दुई सय ३४ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत छ सय १९ र विद्यालय बाहिर रहेका २६ जना गरी छ सय ४५ जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिएका छन् ।
खोप फोकल पर्सन वलीका अनुसार राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत पाँच सय ३५ जना र विद्यालय बाहिर रहेका दुई जना गरी पाँच सय ३७ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत पाँच सय १८ जना, राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ९२ जना र विद्यालय बाहिर रहेका सात जना गरेर दुई सय ९९ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक सय ८६ जना र विद्यालय बाहिर रहेका सात जना गरेर एक सय एक सय ९४ जना रहेका छन् ।
यसैगरी शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ८९ जना र विद्यालय बाहिर रहेका १६ जना गरी तीन सय पाँच जना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत तीन सय २२ जना र विद्यालय बाहिर रहेका चार जना गरेर तीन सय २६ जना र बङ्गलाचुली गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ४० जना र विद्यालय बाहिर रहेका १६ जना गरेर दुई सय ५६ जना किशोरीलाई खोप लगाउन थालिएको छ ।
खोप फोकल पर्सन वलीका अनुसार खोपका लागि जिल्लाका दश स्थानीय तहमा तीन सय ६७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । जस अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा एक सय पाँच वटा, तुलसीपुर उपमहानगरपालिकामा एक सय वटा, शान्तिनगर गाउँपालिकामा ३१ वटा, लमही नगरपालिका र गढवा गाउँपालिकामा २५÷२५ वटा, बबई गाउँपालिकामा २० वटा, राप्ती र बङ्गलाचुली गाउँपालिकामा १७÷१७ वटा, दंगीशरण गाउँपालिकामा १६ वटा र राजपुर गाउँपालिकामा ११ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
अभियानका क्रममा विद्यालयमा कक्षा ६ मा अध्ययनरत सात हजार सात सय ५३ जना छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका दुई सय ५० जना किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिने फोकल पर्सन वलीले जानकारी दिएका छन् । स्वास्थ्य कार्यालयका अनुसारले अभियानका लागि आवश्यक खोपको व्यवस्थापन तथा स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो चरणमा घोराही, बङ्गलाचुली, लमही, गढवा र राजपुरमा भदौको २२, २३ र २४ गते, दोस्रो चरणमा तुलसीपुर, दंगीशरण, बबई र राप्तीमा भदौको २४, २५ र २६ गते र शान्तिनगर गाउँपालिकामा असोजको १, २ र ५ गते खोप कार्यक्रम सञ्चालन गरिने छ ।
स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहलाई निर्धारित मिति र स्थानमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न तथा लक्षित समूहका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन आग्रह गरेको छ । साथै सोही अनुसार स्थानीय तहसँग समन्वय र कार्यक्रमलाई प्रभावकारी बनाउनका लागिव छलफलसमेत गर्दै आएको जनाएको छ ।