सरस्वती माविमा आइटी अध्ययनरत विद्यार्थी : विद्युतीय भोटिङदेखि डिजिटल प्लेटफर्म बनाए

गोरक्ष समाचारदाता

दाङ, १८ भदौ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित सरस्वती माध्यमिक विद्यालयमा डिप्लोमा आइटी छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न अनलाइन प्लेटफर्महरू विकास गरेका छन् । डिप्लोमा आइटी छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले मेजर प्रोजेक्ट अन्तर्गत दैनिक जनजीवनमा उपयोगी हुने गरी तयार पारेका लोकल टुरिजम, ई–कमर्श मोबाइल इप, लाइब्रेरी व्यवस्थापन प्रणाली र अनलाइन भोटिङ प्रणालीसम्बन्धी प्लेटफर्म विकास गरेका हुन् ।

आपूmले विकास गरेका प्लेटफर्महरू बिहिबार विद्यालयमा प्रस्तुत गरेका छन् । जस अन्तर्गत डिप्लोमा आइटी छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी अनिता जैशी, रविना सेजुवाल, गणेशा विष्ट, वसन्त सुनार र सन्देश चौधरीको समूहले लोकल टुरिजम प्लेटफर्म, विद्यार्थी राजन केसी, लक्ष्मण डाँगी, रमेश कँवर र अनिता विष्टको समूहले ई–कमर्श मोबाइल एप, विद्यार्थी सम्झना देवकोटा, पूर्णविक्रम केसी, अन्जु बुढा मगर, दीपेश पुन मगर र निपुन पुन मगरको समूहले लाइब्रेरी व्यवस्थापन प्रणाली र विद्यार्थी दीपक वली, पवन गोराथोकी, मदन नेपाली र नविना घर्ती मगरको समूहले अनलाइन भोटिङ प्रणालीसम्बन्धी अनलाइन प्लेटफर्म विकास गरेका हुन् ।

विद्यार्थीले विकास गरेका अनलाइन प्लेटफर्ममा विद्यालयका शिक्षक नविन नाथले प्राविधिक रूपमा मार्गदर्शन गरेका थिए । कार्यक्रममा जानकारी दिँदै शिक्षक नाथले विद्यार्थीले विद्युतीय निर्वाचन प्रणाली, स्थानीय पर्यटन प्रवर्धन, पुस्तकालय व्यवस्थापन र व्यावसायिक प्रवर्धनका लागि आवश्यक पर्ने अनलाइन प्लेटफर्महरू विकास गरेको बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले विद्यार्थीलाई हौसला दिँदै समाजमा देखिएका समस्या पहिचान गरी ती समस्याको समाधानमूलक अनलाइन प्लेटफर्म विकास गर्न सुझाव दिएका थिए । त्यसका लागि विद्यार्थीलाई आवश्यक पर्ने सहयोग गर्न विद्यालय तयार रहेको बताए । समाजमा हुने अपराध नियन्त्रणमा टेवा पु¥याउने र विपद्बारे पूर्वसूचना दिने सफ्टवेयर निर्माणतर्फ पनि अध्ययन अनुसन्धान अघि बढाउन विद्यार्थीलाई आग्रह गरेका थिए ।

विद्यार्थीले विकास गरेका सफ्टवेयरहरू उपयोगी रहेको बताउँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासनले थप अनुसन्धानमा लागेर नयाँ नयाँ अलनइन प्लेटफर्म विकास गर्न विद्यार्थीलाई आग्रह गरेका थिए । उनले बदलिँदो समयमा कम खर्चिलो र चाँडै मानिसले धेरै कुराको जानकारी लिन र दिन चाहेको समयमा अनलाइन प्लेटफर्म हरेक क्षेत्रका लागि उपयोगी हुने बताएका थिए । विद्यार्थीले विकास गरेका अनलाइन प्लेटफर्मको प्रचारप्रसारका लागि सहयोग गर्ने बताएका थिए ।

विद्यालयका आइटी कोअर्डिनेटर लक्ष्मण गिरीले आइटी विषयमा अध्ययनरत विद्यार्थीलाई हौसला दिँदै नयाँ खोज अनुसन्धानम लागेर नयाँ प्लेटफर्म निर्माण गर्ने गरी लाग्न सुझाव दिएका थिए । सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा आइटी छैठौँं सेमेस्टरमा १८ जना विद्यार्थी अध्ययनरत छन् ।