ब्रह्माकुमार माधव तिमिल्सेना
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी आउँछ । मन्दिरहरु सजिन्छन्, बालकृष्णका झाँकीहरु निर्माण हुन्छन्, भक्तजनहरु उपवास बस्छन्, भजन–कीर्तनले वातावरण गुञ्जायमान हुन्छ र मध्यरातमा श्रीकृष्ण जन्मको उल्लास मनाइन्छ । यो दृश्य हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनको सुन्दर पक्ष हो । तर, एउटा प्रश्न भने अझै गम्भीर रुपमा उठाउनुपर्ने हुन्छ– हामी जन्माष्टमी मनाइरहेका छौँ कि श्रीकृष्णले प्रतिनिधित्व गर्ने जीवनमूल्यलाई आफ्नो जीवनमा जन्म दिइरहेका छौँ ? संसारमा करोडौँ मानिस जन्मिन्छन् र आफ्नो जीवनयात्रा पूरा गर्छन् ।
समयको प्रवाहसँगै अधिकांश नामहरु विस्मृत हुन्छन् । तर, केही व्यक्तित्व इतिहासका पात्र मात्र बन्दैनन्; उनीहरु सभ्यता, संस्कृति र सामूहिक चेतनाका प्रतीक बन्छन् । श्रीकृष्ण यस्तै अद्वितीय व्यक्तित्वमा पर्नु हुन्छ । उहाँको स्मरणसँगै बालसुलभ निर्मलता, असाधारण आकर्षण, प्रेम, पवित्रता, निर्भयता, सौन्दर्य, विवेक र दिव्यताको बिम्ब हाम्रो मानसपटलमा उपस्थित हुन्छ । यसैले श्रीकृष्ण जन्माष्टमीलाई केवल एउटा धार्मिक पात्रको जन्मदिनका रुपमा बुझ्नु यसको गहिरो आध्यात्मिक अर्थलाई सीमित गर्नु हो ।
‘कृष्ण’ शब्दलाई आकर्षणसँग जोडेर व्याख्या गर्ने परम्परा छ तर वास्तविक आकर्षण शरीरको बनावट, पहिरन वा बाहिरी व्यक्तित्वमा मात्र हुँदैन । मानिसको स्थायी आकर्षण उसको चरित्र, चेतना, व्यवहार र संस्कारबाट पैदा हुन्छ । आजको संसारमा आकर्षणको परिभाषा धेरै हदसम्म बाह्य प्रदर्शनसँग जोडिएको छ । सामाजिक सञ्जालमा देखिने छवि, भौतिक सम्पन्नता, लोकप्रियता र उपभोगको प्रदर्शनले मानिसलाई क्षणिक रुपमा आकर्षित गर्न सक्छ तर त्यस्तो आकर्षण समयसँगै क्षीण हुन्छ । चरित्रबाट उत्पन्न आकर्षण भने पुस्तौँसम्म प्रभाव छोड्न सक्छ ।

श्रीकृष्णको आकर्षणलाई यही अर्थमा बुझ्न सकिन्छ–सुन्दर देखिने मात्र होइन, सुन्दर भएर बाँच्ने कला । त्यसैले जन्माष्टमीले हामीलाई एउटा मौलिक प्रश्न सोध्छ हामी श्रीकृष्णलाई किन मन पराउँछौँ ? उहाँका कुन गुणहरु हाम्रो जीवनमा प्रवेश गरेका छन् ? श्रीकृष्णको जन्म मध्यरातमा भएको कथा विभिन्न धार्मिक आध्यात्मिक परम्पराको अत्यन्त महङ्खवपूर्ण प्रतीक हो । मध्यरातलाई घडीको समयका रुपमा मात्र हेर्दा यसको आध्यात्मिक गहिराइ छुट्न सक्छ । यसलाई अन्धकारको चरम अवस्था र उज्यालोको आरम्भबीचको संक्रमणका रुपमा बुझ्न सकिन्छ ।
ब्रह्माकुमारीजको आध्यात्मिक दृष्टिकोणमा वर्तमान समयलाई संगमयुग अर्थात् पुरानो संसारको परिवर्तन र नयाँ स्वर्णिम चेतनाको उदयबिचको संक्रमणकालका रुपमा हेरिन्छ । यस दृष्टिले श्रीकृष्णको जन्म अन्धकारबाट प्रकाशतर्फको यात्राको प्रतीक बन्छ । ‘कारागार’ लाई केवल भौतिक जेलका रुपमा नभई विकार, भय, दुःख, असुरक्षा र अज्ञानताले घेरिएको मानवचेतनाको अवस्थाका रुपमा बुझ्दा कथा अझ अर्थपूर्ण हुन्छ । त्यही अन्धकारभित्र दिव्यताको जन्म हुनु एउटा गहिरो आध्यात्मिक रुपक हो । अर्थात प्रश्न केवल श्रीकृष्ण कहिले जन्मिनु भयो ? भन्ने होइन । अझ महत्वपूर्ण प्रश्न हो–हाम्रो चेतनाभित्र
श्रीकृष्णीय गुणहरु को जन्म कहिले हुन्छ ?
महाभारतलाई बाहिरी युद्धको इतिहास मात्र मानेर पढ्दा यसको एउटा महत्त्वपूर्ण आयाम छुट्न सक्छ । कुरुक्षेत्रलाई मानिसको आफ्नै कर्मक्षेत्र र चेतनाको मैदानका रुपमा हेर्दा कथा आजको जीवनसँग जोडिन्छ । पाण्डव सत्य, विवेक, ईश्वरप्रेम र सकारात्मक चेतनाका प्रतीक बन्न सक्छन् भने कौरवलाई लोभ, क्रोध, मोह, अहंकार र स्वार्थबाट निर्देशित प्रवृत्तिका रुपमा बुझ्न सकिन्छ । त्यस अवस्थामा कुरुक्षेत्र कुनै टाढाको युद्धभूमि होइन प्रत्येक मानिसको मन नै एउटा कुरुक्षेत्र हो ।
आज संसारमा हुने संघर्षको मूल कारण खोज्दै जाँदा हामी राजनीति, अर्थतन्त्र, भूगोल, सत्ता र स्रोतसाधनसम्म पुग्छौँ तर ती सबैभन्दा गहिरो तहमा पुग्दा समस्या मानवचेतनामै देखिन्छ । चेतनामा लोभ बढे शोषण जन्मिन्छ; घृणा बढे हिंसा जन्मिन्छ; अहंकार बढे द्वन्द्व जन्मिन्छ । त्यसैले वास्तविक विजय अरुलाई पराजित गर्नु होइन, आफ्नै कमजोरीलाई जित्नु हो । यही अर्थमा राजयोग र आध्यात्मिक ज्ञानलाई अहिंसक संग्रामको साधनका रुपमा बुझ्न सकिन्छ । जहाँ युद्ध बाहिर होइन, भित्र हुन्छ; शस्त्रको प्रयोग होइन, चेतनाको रुपान्तरण हुन्छ ।
श्रीकृष्णलाई विषालु नागमाथि नृत्य गरिरहेको स्वरुपमा पनि चित्रण गरिन्छ । यो दृश्यलाई केवल पौराणिक आख्यानका रुपमा हेर्नुभन्दा मानव मनोविज्ञानको प्रतीकका रुपमा पढ्दा यसको सन्देश अझ समकालीन देखिन्छ । काम, क्रोध, लोभ, मोह र अहंकारलाई मानव चेतनालाई विषाक्त बनाउने पाँच प्रमुख विकारका रुपमा आध्यात्मिक परम्पराले हेर्दै आएको छ । नागमाथि श्रीकृष्णको विजयलाई विकारमाथि विवेकको विजयका रुपमा बुझ्न सकिन्छ ।
आज विज्ञान र प्रविधिले मानव सभ्यतालाई अभूतपूर्व शक्ति दिएको छ तर शक्ति बढ्दै जाँदा चेतना पनि त्यही अनुपातमा परिष्कृत भएको छ कि छैन भन्ने प्रश्न अझ गम्भीर बनेको छ । मानिसले अन्तरिक्षमा पुग्न सिक्यो तर आफ्नै क्रोधबाट बाहिर निस्कन अझै संघर्ष गरिरहेको छ । सूचना संसारभर पु¥याउन सक्यो तर शान्तिको सन्देश आफ्नै मनमा स्थापित गर्न कठिन भइरहेको छ । त्यसैले आधुनिक युगको सबैभन्दा ठूलो आवश्यकता प्राविधिक विकास मात्रै होइन चेतनाको विकास पनि हो ।
श्रीकृष्णको मुरली अर्को अत्यन्त सुन्दर प्रतीक हो । मुरलीभित्र आफ्नो कुनै धुन हुँदैन; जब त्यसबाट ‘म’ हट्छ, तब संगीत प्रवाहित हुन्छ ।यसलाई मानव जीवनसँग जोडेर हेर्दा एउटा गहिरो दर्शन प्रकट हुन्छ र अहंकारबाट खाली भएको चेतनामा दिव्यताको संगीत सुनिन सक्छ । आज मानिसको मन अपेक्षा, तुलना, प्रतिस्पर्धा, असन्तुष्टि, भय र अहंकारले भरिएको छ । बाहिरी संसारमा आवाज बढ्दै गएको छ तर भित्रको मौनता हराउँदै गएको छ ।
राजयोगको आत्मिक अभ्यासले मानिसलाई शरीरको पहिचानभन्दा माथि उठेर आफूलाई चेतन आत्माका रुपमा अनुभव गर्न प्रेरित गर्छ । जब ‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर बाहिरी परिचयभन्दा गहिरो स्तरमा खोजिन्छ तब आत्मचेतना, स्थिरता र आन्तरिक शान्तिको यात्रा प्रारम्भ हुन्छ । यसरी हेर्दा मुरली कृष्णको हातमा रहेको वाद्ययन्त्र होइन; आफूलाई परम चेतनाको दिव्य प्रवाहका लागि योग्य बनाउने प्रतीक पनि भन्ने बुझाई हामीमा आउनु पर्ने समय आएको छ ।
श्रीकृष्णसँग जोडिएको ‘माखनचोर’ को कथा बाललीलाका रुपमा अत्यन्त लोकप्रिय छ । तर प्रतीकात्मक दृष्टिले यसमा पनि सुन्दर आध्यात्मिक अर्थ खोज्न सकिन्छ । जसरी दूधबाट क्रमशः प्रशोधन हुँदै माखन (नौनी) निस्कन्छ । त्यसरी जीवनका अनुभव, साधना, आत्मपरीक्षण र संस्कार–परिवर्तनबाट मानिसको चेतनामा रहेको शुद्ध सार प्रकट हुन सक्छ । तसर्थ ‘माखन’लाई हृदयको निर्मलता र पवित्रताको प्रतीक मानेर हेर्ने हो भने ‘माखनचोर’ को कथा एउटा प्रश्नमा परिणत हुन्छ कि–के हाम्रो हृदय यति निर्मल बनेको छ, जहाँ प्रेम र परमात्मीय अनुभूतिको स्थान हुन सकोस् ?
हाम्रो संस्कृति उत्सवको संस्कृति मात्र होइन; मूल्य र संस्कारको संस्कृति हो । सत्य, अहिंसा, प्रेम, करुणा, क्षमा, संयम, सहिष्णुता, सम्मान र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्यहरु यसको आधारभूत आत्मा हुन् तर विडम्बना के छ भने संस्कृतिको बाहिरी प्रदर्शन बढ्दै जाँदा आन्तरिक संस्कार कमजोर हुँदै गएको अनुभूति हुन्छ । धार्मिक कार्यक्रम बढेका छन्, तर धार्मिकताको सार मानिने करुणा, सहिष्णुता र आत्मसंयम त्यही अनुपातमा बढ्नु साटो गिरावट हुँदै गएको देखिन्छ । प्रविधि हाम्रो हातमा आएको छ तर विवेक हाम्रो व्यवहारमा आएको छ कि छैन ?
सूचना र सञ्चारमा हाम्रो पहुँच छ तर आत्मज्ञान बढेको छ कि छैन ? सम्पत्ति बढेको छ तर सन्तुष्टि बढेको छ कि छैन ? सम्पर्कका माध्यम बढेका छन् तर हृदय बीचको सम्बन्ध बलियो भएको छ कि छैन ? आज यी र यस्तै सयौं प्रश्नहरु जन्माष्टमीजस्ता पर्वहरुले हामीलाई सोध्नु पर्ने हो । हामी परम्पराका नाममा कर्ममाण्ड त पूरा गरिहेका हुन्छाँै तर त्यसभित्र भाव आदर्श र शिक्षालाई जीवनमा अपनाउन सकेका छैनौं त्यसैले हाम्रो उन्नति होईन अवगति बझ भनौं दुर्गतिको नजिक पुग्न विवश छौं ।
जन्माष्टमीका अवसरमा हामी श्रीकृष्णको झाँकी बनाउँछौँ तर एकदिन आफ्नै जीवनको झाँकी पनि हेरौँ । मेरो विचार कस्तो छ ? मेरो व्यवहार कस्तो छ ? मेरो बोलीले अरुलाई शान्ति दिन्छ कि चोट ? मेरो उपस्थितिले वातावरण हलुका बनाउँछ कि तनावपूर्ण ? म अरुको कमजोरी देख्न जति सजिलो ठान्छु, आफ्ना कमजोरी हेर्न त्यति नै तयार छु ? यी प्रश्नहरुको इमानदार उत्तर नै जन्माष्टमीको वास्तविक साधना हुन सक्छ । श्रीकृष्णलाई पूजा गरेर हामी सन्तुष्ट हुने कि श्रीकृष्णीय गुणलाई आफ्नो जीवनमा उतार्ने ? मन्दिरमा दीप बाल्ने कि आफ्नै मनको अन्धकारमा पनि एउटा दीप प्रज्वलित गर्ने ? मुरलीको धुन सुन्ने कि आफ्नै मनको कोलाहललाई शान्त पार्ने ? यही परिवर्तनले यस पर्वलाई धार्मिक आस्थामा सिमित नराखी जीवनदर्शनमा रुपान्तरण गर्छ ।
श्रीकृष्णलाई अतीतका देवपुरुषका रुपमा हेरेर हामी उहाँलाई पूजामा मात्रै सीमित गरिरहेका छौं । उहाँलाई आदर्श मानव चेतनाको प्रतीकका रुपमा बुझ्न सकियो भने उहाँ भविष्य निर्माणको प्रेरणाका श्रोत बन्न सक्नुहुन्छ । श्रीकृष्णको स्वरुपमा बालसुलभ निर्मलता छ, प्रेमको माधुर्य छ, नेतृत्वको क्षमता छ, आत्मविश्वास छ र पवित्रताको तेज छ । यही समन्वयले उहाँलाई सांस्कृतिक चेतनामा युगौँदेखि जीवित राखेको छ । ब्रह्माकुमारीजको शिक्षा अनुसार श्रीकृष्णलाई सतयुगको स्वर्णिम, पवित्र र दैवी जीवनको प्रतीकका रुपमा हेरिन्छ । त्यसैले जन्माष्टमीलाई आत्माको मूल पवित्र स्वरुप सम्झिने र त्यस दिशामा पुनः जागृत हुने अवसरका रुपमा लिन सकिन्छ ।
यस वर्षको जन्माष्टमीमा एउटा नयाँ संकल्प गरौँ । श्रीकृष्णको पूजा गरौँ, तर उहाँका गुणको पनि अभ्यास गरौँ । उहाँको झाँकी सजाऔँ, तर आफ्नो चरित्र पनि सजाऔँ । मुरलीको धुन सुनौँ, तर मनको कोलाहल पनि घटाऔँ । बालकृष्णको मुस्कान हेरौँ, तर आफ्नो व्यवहारमा पनि मुस्कान बाँडौँ । कृष्णलाई सम्झौँ, तर कृष्णीय चेतनालाई आफ्नो जीवनमा जन्म दिने प्रयास गरौँ । किनकि समाज परिवर्तनको सुरुवात संसद्, सडक वा संस्थाबाट मात्र हुँदैन; त्यो मानिसको चेतनाबाट सुरु हुन्छ ।
एउटा व्यक्ति क्रोधमाथि विजय प्राप्त गर्छ भने एउटा परिवार शान्त हुन्छ । एउटा परिवारमा प्रेम बढ्छ भने एउटा समाजको वातावरण बदलिन्छ । एउटा समाजले सहिष्णुता अपनाउँछ भने राष्ट्रको संस्कार बदलिन्छ । जब मानवचेतनामा पवित्रता, प्रेम र बन्धुत्वको विस्तार हुन्छ, तब नयाँ सभ्यताको आधार तयार हुन्छ । यस अर्थमा श्रीकृष्ण जन्माष्टमी विगतको स्मृति मात्र होइन; भविष्यको सम्भावनाको उत्सव पनि हो ।
हामीले श्रीकृष्णलाई बाहिर खोजिरहनु आवश्यक छैन । उहाँले प्रतिनिधित्व गर्ने गुणहरु– निर्मलता, पवित्रता, प्रेम, सत्य, निर्भयता, विवेक र आत्मिक आनन्द मानव चेतनाभित्रै सम्भावनाका रुपमा विद्यमान छन् । त्यसैले जन्माष्टमीको वास्तविक प्रश्न– ‘श्रीकृष्ण कहिले जन्मिए?’ होइन, ‘श्रीकृष्णीय चेतना हाम्रो जीवनमा कहिले जन्मिन्छ ?’ भन्ने पनि हो । जब मनको अन्धकारमा ज्ञानको प्रकाश जन्मिन्छ, जब विकारमाथि विवेकको विजय हुन्छ, जब अहंकारको स्थान आत्मसम्मानले लिन्छ, जब प्रतिस्पर्धाको स्थान सहअस्तित्वले लिन्छ, जब घृणाको स्थान प्रेमले लिन्छ साथै जब मानवले आफूलाई केवल शरीर होइन, चेतन आत्माका रुपमा अनुभव गर्न थाल्छ अनि त्यही क्षण एउटा नयाँ युगको सुरुवात हुन्छ । सायद यही नै जन्माष्टमीको सबैभन्दा ठूलो रहस्य हो । श्रीकृष्णको जन्मको उत्सवभन्दा पनि मानिसभित्र दिव्य
मानवताको पुनर्जन्मको उत्सव ।
अबको आवश्यकता हाम्रो गुमेको दैवी संस्कृतीको उत्थानका लागि आद्यात्मिकता र सांस्कृतिक जागरण हो । संस्कार परिवर्तनले संसार परिवर्तन सम्भव छ, परन्तु हामीमा संयमता, दृढ इच्छा शक्ति र मनोवललाई पुर्नजागृत गर्नुछ । त्यसैले योगी वनौ, पवित्र बनौँ । जीवनमा सच्चरित्रता अपनाऔं यही उद्घोष जन जनमा पु¥याऔं । मातृशक्तिको क्षमतालाई प्रत्यक्षता गर्ने समय आइसकेको छ । आजको दिनले हाम्रो दैवी सनातन संस्कृतीको रक्षाका लागि सोच्ने शुभ प्रेरणा समेत प्रदान होस् ।
निकट भविष्यमा यस कलियुगी कालरात्रीको महाविनाश आइसकेकोछ । हाहाकार पश्चात अवश्यमेव जयजयकार हुनेछ । चारैतर्फ जलमग्न हुनेछ र अविनाशी भरतखण्डेमा श्रीकृष्णको दिव्यजन्म निश्चय नै हुनेछ । त्यो समय हामी सबैको सन्मुख आउँदैछ । त्यसैको यादगार पर्व हो श्रीकृष्ण जन्माष्टमी । पुनः यस पावन घडीमा यहाँहरुको भौतिक तथा आद्यात्मिक उन्नती प्रगती हुदै जावस् यही मंगमय शुभकामना । ॐ शान्ति । ॐ शान्ति । ॐ शान्ति ।
(लेखक ब्रह्माकुमारीज दाङका प्रवक्ता हुन् ।)