भुवन पोख्रेल
विपत् बाजा बजाएर आउँदैन, यसले कुनै जात, धर्म, धनी, गरिब भन्दैन । विपत् भनेको एउटा आपतकालीन अवस्था हो । यसले जनधनको क्षति वा समुदायको दैनिक दिनचर्यालाई खलबल्याउँछ । नेपालमा भौगोलिक बनावट र मौसमका कारण विभिन्न प्राकृतिक विपत्का घटनाहरु घट्दछन् । भर्खरै भाद्र १० गते भोटेकोशीमा आएको बाढीले ठूलै संख्यामा जनभनको क्षति पु¥याएको छ । यस्तो बाढीको वितण्डा र घातक परिणाम नेपालले यस अघि सामना गर्नु परेको थिएन ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा गाउँ नै बगाएर क्षतविक्ष्ँत तुल्याएको छ । सडक, विद्युत, पुलपुलेसा केही नाम निशान छैन । कयौँ घरबारविहीन भएका सदस्य गुमेर बेसाहारा बनेका छन् । यो दर्दनाक पीडा नेपाल र नेपालीका लागि महाविपत्ति हो । नेपालमा प्रकृतिको प्रहार बारम्बार भएको छ । गत भदौमा भोटेकोशीमा आएको बाढी एकाएक सुनामी जस्तै आएको थियो । भोटेकोशी नदीको बहाब दर्जनौँ गुणा बढ्नु, विशाल ढुंगा, माटो, रुख, हिउका ढिस्का, पुल, सडक, जलविद्युत आयोजना बजार तथा बस्तीलाई पुछेर स्वात्तै बगाएर लानु प्रकृतिको विनाशकारी चाल देखियो । यसलाई जलवायु परिवर्तनका कारण आएको हिमाली सुनामीभन्दा अतिशयोक्ति नहोला ।
नेपाल हिमाली क्षेत्रमा अवस्थित भएको हुँदा प्राकृतिक जोखिमको अवस्थामा छ । नेपाल संसारकै सबैभन्दा सुन्दर हिमाली राष्ट्र हो तर यही हिमाल हाम्रो शक्ति मात्र नभई चुनौतीका रुपमा पनि उभिएको छ । बिहानको ९ बजेतिर रसुवाको टिमुरे नाकाबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा एकाएक भयङ्कर ठूलो बाढी आयो बर्षा नभई पनि नदीको बहाव अकस्मात भयङ्कर र शक्तिशाली भइदिँदा क्षणभर मै विनाश निम्तियो । विपत्को अवस्थामा मानिसहरु निसाहाय हुन्छन् । उनीहरुको खानपिन, लुगाफाटा, घरबास, औषधोपचार, सुरक्षा आदि आवश्यकीय प्रणाली अवरुद्ध हुन्छन् ।
परिवार समुदायसँग तत्काल यी सुविधाहरु परिपूर्ति गर्न सक्ने क्षमता हुँदैन । त्यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणी क्षति हुन्छ र सामान्य सामाजिक अवस्था अवरुद्ध हुन्छ, यही स्थिति अहिले नेपालमा रसुवागढी, टिमुरेमा आएको विनाशकारी बाढीको घाउ बल्झिरहेको छ । यस्तो प्रलयकारी घटना कारण नेपालीहरुको मन मात्र रोएको छैन, अन्तर्राष्ट्रिय जग.त पनि स्तब्ध भएको छ । भोटेकोशीको आकस्मिक बाढी र लेदो सहितको भेलले मानिस, घर, होटल, सडक, पुल, सवारीसाधन, व्यापारिक संरचना, सुरक्षाका संरचना बगाएको छ । अझै कतिपय सम्पर्कविहीन छन् ।
खोज तथा उद्दार कार्य जारी रहेकाले मृतक र बेपत्ताको अन्तिम संख्या यकिन हुन सकेको छैन । राज्यले आफ्नो शक्ति र सामर्थले भ्याएसम्म यस अवस्थामा विपत्मा परेका पीडित र जनधनको क्षतिलाई जोगाउन तत्काल गरिने उद्दार प्रतिकार्यलाई अघि बढाएको छ । जनभनको क्षति कम गर्न अल्पकालीन राहत सेवा, विपत् प्रभावित व्यक्तिहरुको उद्दार, संरक्षण, अमानवीय व्यवहार हुनबाट जोगाउने र पुनर्लाभ कार्यहरु पर्दछन् । विपत्मा परेका व्यक्तिको उद्दार, तत्कालीन आवश्यकताका वस्तुहरुको आपूर्ति र भौतिक र मानवीय क्षति एवम् पीडा कम गर्ने उपाय पर्दछन् ।
विपत् पछिको अवस्था पुनः निर्माणको अवस्था हो । यो अवस्थाममा विपत्बाट भएको गम्भीर क्षतिलाई सम्बोधन गर्ने योजना निर्माण र कार्यान्वयनलाई समावेश गरिन्छ । यस चरणमा क्षतिका विवरणहरु सङ्कल, भत्किएका संरचना निर्माण र कार्यान्वयनलाई समावेश गरिन्छ । नेपालमा विपत् पूर्वको अवस्थामा खासै सावधानी नअपनाएको देखिन्छ । यस अवस्थामा भविष्यमा आउन सक्ने विपत्बाट मानवीय, भौतिक र वातावरणीय क्षतिको सम्भावनालाई कम गर्न अपनाइने कार्य पर्छन् ।
विपत्को सामना गर्ने क्षमता बढाउन समुदायलाई सशक्तिकरण गर्ने ज्ञान, सिप र क्षमताको विकास गराउन तालिम, शिक्षा, सडक, नाटक आदि गर्ने कार्य पर्दछन् । यस चरणमा भुकम्प प्रतिरोधात्मक घर बनाउने, नदी किनारामा बाढी रोकथामका लागि टेला पर्खाल लगाउने, वृक्षारोपण गर्ने, पूर्वसूचना संयन्त्र बनाउने आदि कार्य गर्न सकिन्छ । वर्तमान समयमा जलवायु परिवर्तन, योजनाविहीन विकास, अव्यवस्थित सहरीकरण, औद्योगिकरण, गरिबी आदिले मानवीय विपत्का घटनाहरु निम्त्याइरहेका छन् ।
नेपालमा विपत्का घटना बारम्बार दाहरिने गर्दछन् । यहाँ कुनै पनि समयमा विपत् आउन सक्ने सम्भावना रहेको छ । नेपालमा बाढी, पहिरो, अनियमित वर्षा, हिमताल विस्फोटन, भुकम्प, सुख्खा, खडेरी, आगजनी आदिले विपत्का घटनाहरु निरन्तर घटिरहेका छन् । नेपालमा विपत् हुनाका कारणमा नेपालको भौगोलिक स्थिति वा भुपरिस्थिति पनि मुख्य कारक मानिन्छ । नेपालको भौगोलिक अवस्थिति भारतीय र तिब्वतीय प्लेट जोडिएको ठाउँमा रहनु, पृथ्वीभित्रको अत्यधिक ताप, चापका कारण भुकम्पको जोखिम रहनु, धरातल ठाडो तथा भिरालो हुनुका कारण बाढी, भुस्खलन र पहिरो जाने कारणले विपत्का घटनाहरु घट्छन् ।
अनियमित वर्षा, अतिविष्टी, अनाविष्टी, खण्डवृष्टिका कारण विपत्का घटनाहरु घट्छन् । जसले बाटी, पहिरोको जोखिम निम्त्याउँछ, जलवायु परिवर्तनका कारण वायुमण्डलको तापक्रम दिन प्रतिदिन बढिरहेको छ । यसको कारण सुख्खा खडेरी, बाढी, मौसमी विपत्को सम्भावना बढ्दै जान्छ । जलवायु परिवर्तनबाट खाद्य सुरक्षा तथा जिविकोपार्जनका क्षेत्रमा असर पर्छ ।
हिमताल फुट्ने ः नेपालमा जलवायु परिवर्तनको असर उच्च हिमश्रृङ्खलामा पनि परेको छ । तापक्रम वृद्धिले हिउ पग्देर हिमतालहरुमा पानीको भार बढ्न गई ताल फुटेर बाढी आउने गर्छ । हिमताल फुटेर आएको बाढीले पहाडी र तराई क्षेत्रको जनजीवनलाई बढी प्रभावित पार्छ अहिले भोटेकोशीमा आएको बाढीले ल्याएको विपत् पनि यस्तै अनुमान गरिएको छ । भविष्यमा यस्ता किसिमका सम्भावित विपत्को सम्बन्धमा सचेतनाको अभावका कारण पनि सानादेखि ठूला विपत्का घटनाहरु घट्छन् ।
भू–वर्गीय अवस्था अध्ययन अवलोक नगरी बनाइएका सडक, पुल, विद्यालय, भवन, बस्तीहरुका कारण पनि सानादेखि ठूला विपत्का घटनाहरु घट्न गई ठूलो परिमाणमा मानवीय, भौतिक पक्षको क्षति भएको छ । तसर्थ विपत्बाट हुने क्षतिलाई कम गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सुरक्षित बस्ती निर्माण, परम्परागत सिपको प्रयोग र आवश्यक तालिम, गोष्ठीको आयोजना गरी सचेतना बढाउनुपर्छ । नेपालमा विपत्का घटनाहरुबाट बर्सेनि धनजनको ठूलो क्षति भइरहेको देखिन्छ ।
विकास निर्माण कार्यमा मापदण्डविहीन निर्माण कार्य र सामग्रीको प्रयोग, प्राकृतिक स्रोत साधन इन्धनको अत्यधिक प्रजजनले हरितगृह ग्याँसको निस्कानले विपत्तर्फ डो¥याइरहेको छ । रसुवागढीको घटनाले अहिले मुलकलाई नै स्तब्ध बनाएको छ । इतिहासमै नभएको विपत्ति आइलागेको छ । यस घटना हजारौँ मानिस प्रभावित र वेपत्ता भएका छन् । स्थानीयबासीले क्षति अत्यन्त ठूलो भएको बताएका छन् । यस्तो संवेदनशील घडीमा राज्यका अङ्ग दत्तचित्त भएर उद्दार कार्यमा जुटेका छन् । प्रत्येक शबको पहिचा गर्नुपर्छ । प्रत्येक वेपत्ताको खोजी हुनुपर्छ, प्रत्येक पीडित परिवारले राज्यबाट अधिकारिक सूचना पाउनुपर्छ । किनकि राज्यको तथ्याङ्कमा केवल एउटा संख्या देखिए पनि त्यो संख्याको पछाडि एउटा सुन्दर परिवार र उज्यालो सपना र जीवन्तता अडेको छ । पर्यटकको गन्तव्य र सम्भावना बोकेको यो क्षेत्र आज क्षत्विक्षत् हुनु भनेको सबैलाई अकल्पनीय तुल्याएको छ ।
स्थानीय समुदायलाई पनि विपत् व्यवस्थापनको केन्द्रमा राख्नुपर्छ । बाढीपहिरो आउँदा केन्द्रबाट उद्दार टोली पुग्न समय लाग्नसक्छ, खराब मौसमका कारण हेलिकप्टर समेत उड्न नसक्ने अवस्था आउला । तसर्थ स्थानीय युवा, महिला, शिक्षक, स्वास्थ्यकर्मी स्वयम्लाई प्रशिक्षित गर्नुपर्छ । स्थानीय जनतालाई पीडित मात्र होइन, समाधानको पहिलो शक्ति बनाउनुपर्छ । विपत् आएपछि मात्र होइन, विपद् आउनु अघिनै जोखिमयुक्त क्षेत्रमा तयार राख्ने नीति बनाउनुपर्छ ।
विपत् व्यवस्थापनमा स्थानीय ज्ञानको प्रयोग गर्नुपर्छ । यो ज्ञान स्थानीय वातावरणसँगको अन्तरक्रियाबाट आर्जन हुन्छ । समुदाय नै ज्ञानको पुस्ताअन्तरण गर्दै जान्छ । समुदायको सहभागीता र स्वामित्वमा गरिएका विपत् व्यवस्थापन कार्यहरु पुस्तानुकुल हुँदै आएका छन् । नेपालमा विपत् व्यवस्थापन संयन्त्र र योजना निर्माणमा परम्परागत अवधारणामा परिवर्तन भएको देखिन्छ । नेपालको संविधान २०७२ ले नागरिकलाई विपत्बाट सुरक्षित गराउन सबै तहको सरकारको प्राथमिक दायित्व हुने व्यवस्था गरेको छ ।
स्थानीय सरकार सञ्चालन एने २०७४ ले विपत् व्यवस्थापनमा स्थानीय सरकारको प्रमुख भूमिका रहने व्यवस्था गरेको छ । गृहमन्त्रालय विपत् प्रतिकार्यका लागि मुख्य सरोकारवाला मन्त्रालय हो । गृहमन्त्रालयले स्थानीय तहमा विपत् पूर्वतयारी, प्रतिकार्य योजना र समग्र विपत् व्यवस्थापनमा सहयोग गरिरहेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन समतिको व्यवस्था गरेको छ । यो समिति ७७ वटै जिल्लामा क्रियाशील रहेको छ ।
विपत् पूर्वतयारी तथा प्रतिकर्या योजना कमजोर मानियो, भोटेकोशी बाढीको घटनामा । बाढी आउनु अगाडि गरिएको प्रहरीको सूचनालाई अलि गम्भीर रुपमा नलिँदा ठूलो जनधनको क्षति भएको छ । त्यति गम्भीर किसिमको घटना घट्ने गरी बाढीले वितण्डा मच्याउँला भन्ने कल्पनाभन्दा बाहिरको स्थिति भयो । प्रकोपको प्रकृति, सम्भावित प्रभाव क्षेत्रको पूर्वानुमानमा आधारित भरपर्दो सूचनाको अभावका कारण जनधनको क्षति व्यहोर्नु परेको हो ।
सही पूर्वानुमान र उपलब्ध अग्रिम समयका आधारमा पूर्वतयारीका कार्यहरु निर्धारण गरिन्छन् । यसमा सामान्य सतर्क रहनैदेखि जोखिमयुक्त ठाउँमा रहेका समुदाय र स्थानात्रण गर्न मिल्ने धनसम्पत्ति अस्थायी रुपमा सुरक्षित ठाउँमा सार्ने सम्मका काम हुनसक्छन् । तर, अहिेको विपत्का एकाएक सेकेढडको अन्तरले मानिस बाढीको भेलामा धकेलिएका छन् । एकदमै कम समयको अन्तरमा घटना घटेको छ । विपत्को समय एकदमै छोटो छ तर विनाश प्रलयकारी छ ।
विपत् पश्चात र विपत् समयमा सुरक्षित स्थानमा सार्ने जस्ता राहत गतिविधिहरु समावेश हुन सकेनन् । सबैलाई आआफ्नो ज्यानको रक्षा कसरी गर्ने भन्ने डर र त्रा पैदा भयो र भागदौड मच्चियो, प्रहरी जनचेतनाका लागि माइकिङ गर्दै हिड्दा नागरिकले सामान्य बाढी त होला भनी हेलचक्रयाई पनि गरे होलान् । प्रहरीले अरुलाई बचाउ गर्दा गर्दै आफै बाढीमा बगेर बेपत्ता बनेका छन् । घटना यति विद्युतीय शैलीमा घट्यो कि उद्दार गर्ने स्थानान्तरण गर्ने समय नै रहेन । खोज, उद्दार र स्थानान्तरण तथा विपत् पश्चात परिस्थितिले सामान्य नहुन्जेलसम्म गर्नु पर्ने प्रतिकार्य तथा शीघ्र पुनर्लाभका कार्य अहिले भइरहेका छन् ।