धर्म र संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन्

नारायणप्रसाद श्रेष्ठ

धर्म र संस्कृति हाम्रा धरोहर हुन् । जहाँ धर्मको रक्षा हुन्छ, त्यहाँ समृद्धि र सुशासनको प्रत्याभूति हुनसक्छ । एक अर्काबिच सुमधुर सम्बन्ध कायम गरी अनुशासित जीवनशैली अपनाउन मद्दत पुग्दछ । धर्म र संस्कृति मासिने भनेको हाम्रो मौलिक आदर्श समाप्त हुनु हो । मौलिक आदर्शलाई गुमाउनु भनेको हाम्रो आफ्नो अस्तित्वलाई गुमाउनु हो । तसर्थ यस कुरालाई हेक्का राखी हाम्रो संस्कृति र संस्कारले सिकाएको पौराणिक मान्यता तथा हाम्रो पूर्खाले सिकाएको संस्कारलाई मान्यता दिई जीवन्त राख्नु हामी सबैको दायित्व हो ।

हालै केही दिन अगाडि हामीमा निकै ठूलो विपत आइप¥यो । रसुवामा आएको अकल्पनीय बाढीको कारण कयौँ नागरिक हताहत भएको, घाइते भएको खबर दिनदिनै आइरहेको छ । यस्तो विषम परिस्थिति र विपतको घडीमा हामी सबै एक भई विपत्तिको सामना गर्न लाग्नु परेको छ । एकले अर्काको उछिनो काड्नुभन्दा एक अर्कालाई कसरी सहयोग गर्न सकिन्छ त्यतातिर लाग्नु पर्दछ । मृतक आत्मालाई शान्ति मिलोस् भनी कामना गर्दै घाइतेलाई शिघ्र स्वास्थ उपचार र पीडितलाई समय मै राहत पु¥याउनु अहिले हाम्रो जिम्मेवारी रहेको छ ।

एक थुकी सुकी हजार थुकी नदी भने झै सबैले यथासक्य सहयोग र सद्भाव बढाउनु परेको छ । यस्तो अवस्था किन भयो ? यसको पनि समीक्षा गर्नुपरेको छ । हिजो हाम्रा पूर्खाले नदी तटीय क्षेत्रमा खेती पाती गरी अन्य सुरक्षित स्थानमा बसोबास गरेका थिए कतै हामीले यो कुरा भुल्यौ कि यसको पनि समीक्षा हुन जरुरी छ ।

अब केही समय पछी हाम्रो घर आँगनमा नेपाली माटो सुहाउँदो, हाम्रो संस्कृति र संस्कारसँग जोडिएको विभिन्न चाडपर्वहरु एक पछी अर्को गर्दै आउने छन् । यस अवस्थामा एकातिर हामी शोकमा डुबेका सबै नेपाली दाजुभाइ दिदीबहिनीको आँसु पुछ्दै उनीहरुलाई सान्वना दिनु परेको छ भने अर्कोतर्फ हाम्रो संस्कृति र संस्कारलाई पनि जिवन्त राख्दै अगाडि बढ्नु परेको छ । यस्तो अवस्थामा धैर्य र सहनशिलता अपनाइ हामी सबैले आफ्नो जिम्मेवारीलाई बुझेर जीवनलाई गति दिनु परेको छ । समयले यही बताइरहेको छ ।

हिन्दु संस्कृति र सम्पदाभित्र हुर्केको हाम्रो धर्म संस्कृतिमा देखिने विविध कार्यशैली र आचरणको आआफ्नै परम्परा र प्रचलन भए पनि यसले एकता र सद्भाव कायम गर्न निकै मद्दत पु¥याएको कुरा बिर्सनु हुदैन । तुलसी रोप्नदेखि सुरु हुने हाम्रा चाडपर्वहरु विविध संस्कृति र मान्यता बोकेर प्रस्तुत भएका हुन्छन् । केही समय अगाडि नेवार समुदायभित्र मनाइने गठे मङ्गल, गाईजात्रा पर्वले समुदायलगायत हिन्दु सनातन सारथीहरुबिच नयाँ उत्साह र सम्बन्ध विस्तार गर्दै गुज्रिएको छ । रक्षाबन्धन जस्ता पवित्र पर्वले दाजुबहिनी बिचको न्यानो सम्बन्धलाई पुनर्ताजगी गरेको छ ।

आपसी सम्बन्ध र सहयात्राको मान्यतालाई स्थापित गरेको छ । हाम्रो धर्म र संस्कृतिले सिकाएको मान्यताले सम्बन्धमा प्रगाढता प्रदान गरेको छ । अब केही दिनपछि कृष्ण जन्माष्टमीको पनि पर्व हाम्रो सामुन्ने आउनेछ । संस्कृतिभित्रको बाबुको मुख हेर्ने पर्व तथा हरितालिका तिज पनि हाम्रो सामु आउनेछ । यस अवस्थामा हामीले आफूलाई संयम र धैर्यता कायम राखी असत्यमाथि सत्यको विजय हुने सन्देश सबैतिर फिजाउनु परेको छ । सत्य सधै सत्य हुन्छ असत्य सधै टिक्दैन, यसले विस्तारै बिनासको बाटो अवलम्बन गर्दै जान्छ ।

यसरी नै जब पृथ्वीमा पापको भार बढ्दै जान्छ मानिसमा अहंकार घमण्डले परिपोषित गलत प्रवृत्तिले प्रभाव जमाउन सुरु गर्छ भनिन्छ । तब त्यसको नाश गर्न मानिस स्वयम् जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ भन्ने सन्देश पनि हामीलाई हाम्रो धर्म र संस्कृतिले सिकाउँदै आएको छ । हिन्दु धर्म र संस्कृतिले सिकाएको असल आचरण र व्यवहार गर्न सबैलाई जागृत गर्दै कर्म नै जीवन हो भन्ने मान्यतालाई सिरोधार्य गर्दै सगुन साकार आचरण गर्न उत्प्रेरित पनि संस्कृतिले सिकाएको हुन्छ ।

विचारमा पवित्रता चिन्तनमा सकारात्मकता र कर्ममा विश्वास र भरोसा जगाउन हाम्रो संस्कृति र संस्कारले हामी सबैलाई आकृष्ट गरेको हुन्छ । समाज त्यसै परिवर्तन हुँदैन । यसको लागि आचरण र व्यवहारमा परिस्कृत हुन जरुरी छ । यही शिक्षा हामीलाई हाम्रो धर्म र संस्कृतिले सिकाउँदै आएको कुरालाई बिर्सन हुँदैन । किनकि धर्म र संस्कृति र पौराणिक मान्यता हाम्रा लागि अमूल्य सम्पत्ति हुन् । यसको संरक्षण र सम्वर्धन हाम्रो जिम्मेवारी पनि हो ।

चार वेद १८ पुराणमा उल्लेख भएका चार युगमध्ये सत्य, तेत्रा, द्वापर र कलीको बारेमा विभिन्न पौराणिक प्रसंगहरु जोडिएको पाइन्छ । तेत्रा युगमा रावण प्रवृत्तिलाई नाश गर्न तथा द्वापर युगमा कंश प्रवृत्तिलाई नाश गर्न मानिसको रुपमा ईश्वरीय अवतरण भएको प्रमाणित गर्दै कलियुगमा हुने अत्याचार, दुराचार प्रवृत्तिलाई नाश गर्न धर्म र संस्कृति एवम् पौराणिक मान्यताले हामीलाई गतिलै शिक्षा दिएको पनि देखिन्छ, छ पनि । यति मात्र होइन यसले सत्य पथमा हिँड्न, उत्प्रेरित गर्दै रिसराग, द्वेष र अहंकार जस्ता मानवमा देखा पर्ने कुप्रवृत्ति हटाउन सचेत गर्दै कलियुगमा हुने अनैतिक कर्मलाई निमिट्यान्न पार्न पनि व्यक्ति स्वयम् जिम्मेवार भई जीव र परमपिता परमात्मासँगको सम्बन्धलाई अझ गहिराईमा बुझ्न मानिसलाई सधैं घचघचाइरहेको छ । उत्पत्ति हुने नष्ट हुने प्रक्रियासँगै युगको परिवर्तन हुने

सत्यलाई स्वीकार्दै राजा हरिश्चन्द्रको इमान्दारिता र कर्तव्यलाई दृस्टान्त दिइ नेपालीको चरित्रमा हुने आदर्शता, इमान्दारीलाई अझ सजग र सतर्क हुन हाम्रा पौराणिक ग्रन्थहरुले हामीलाई घचघचाइरहेको छ । धर्म र संस्कृतिले सिकाएको संस्कार र पद्धति नै जीवनयापनको सकारात्मक पक्ष हो भनी यसैमा लाग्न प्रेरणा जगाइरहेको छ । सत्य युगपछि तेत्रा र त्यसपछि द्वापर युगको जसरी अन्त्य भयो त्यसरी नै कलियुगको अन्त्य पनि अवश्य हुन्छ भनि हाम्रा पौराणिक ग्रन्थले हामीलाई सिकाएको छ ।

युग एकै पटक परिवर्तन हुँदैन । परिवर्तनका लागि केही आधार पनि निर्माण भइरहेको हुन्छ । वर्तमान अवस्थामा देखिने विभिन्न रोग, भोग, शोक र चिन्ता एवम् बाढीपहिरो लगायतले समयलाई परिवर्तन गर्दैछ भन्ने संकेत गरेको देखिन्छ । वर्तमानमा देखा परेको भू–क्षय बाढीपहिरोले जे जति धनजनको क्षति भयो त्यसमा कहीँ न कतै मानिस स्वयम् जिम्मेवारी भएको त होइन यो पनि प्रश्न उठेको छ । अतिवृष्टि अनावृष्टि जस्ता अप्रत्यासित गतिविधि तथा वायुमण्डल एवम् पर्यावरणमा देखेको परिवर्तित अवस्था, नारी अस्मिता माथि बोलिएको धावा तथा गलत कर्महरु कतै परिवर्तनको कारक त होइन ? यसतर्फ पनि सोच्न मानिस लाई जरुरी छ । दिनपछि रात र रातपछि दिन जसरी सुरु हुन्छ त्यसरी नै समयको प्रभाव पनि एकपछि अर्को गर्दै बदलिरहने प्रकृतिको नियमलाई बुझी हामीले अपनाउँदै आएको हाम्रो धर्म र संस्कृति र संस्कार तथा पौराणिक मान्यतालाई बुझ्न जरुरी छ ।

हुन त भौतिकवादी चिन्तकले हाम्रो संस्कृति र संस्कारप्रति भरोसा र विश्वास नगरिरहेको अवस्था देखिन्छ तर पनि एउटा बुझ्नु पर्ने कुरा के हो भने अहिले संसारमा जे जति किसिमका आधुनिक प्रविधिको विकास भएको छ यी सबै हाम्रै पौराणिक ग्रन्थमा उल्लेख भएका ज्ञानका कुराहरुको माध्यमबाट भय गरेको देखिन्छ । पश्चिमी मुलुकमा जे जति आविष्कार भएका छन् ती सबै पौराणिक संस्कृति र संस्कारका कुराले सिकाएको हो भन्ने कुरा हामी सबैले बुझेको सत्य हो । सत्य सधैं सत्य भएर नै प्रकट हुन्छ भन्दै यसको यथार्थ जानकारी वर्तमानमा देखा परिरहेको छ ।

वर्तमानमा जे जस्ता अन्तरविरोधहरु देखिएका छन् ती सबै हामीले हाम्रो आँखाले देखेको सत्यलाई मात्र स्वीकार गरेको अनुभूति मात्र हुन् । जे देख्छौँ त्यही मात्र सत्य हो भन्ने सोच तथा हाम्रो आँखाले देखेको सत्य मात्र के सत्य हो ? हाम्रो धर्म र संस्कृतिले सिकाएको सत्य सत्य होइन र ? समयले गम्भीर बन्न भनिरहेको छ । यस समयमा जे जस्ता गलत प्रवृत्तिहरु देखा परेका छन् । त्यो केवल अहंकारको स्वरुप मात्र हो । तसर्थ अन्तर मनको सत्य रुपलाई बुझेर हामीले हाम्रो आचरण र व्यवहारमा पवित्रता ल्याउन सिकौँ ।

परम्परादेखि चल्दै आएको हाम्रो पर्व, धर्म, संस्कृति हाम्रो आचरण सुधार गर्ने पवित्र आधार हुन् भन्ने मान्यता राखी हामी सबैले आफूलाई जिम्मेवार बोध गर्नुपरेको छ । नैतिक आचरणयुक्त जीवन पद्धति हाम्रो संस्कृति हो । तसर्थ संस्कृति र संस्कारको परिपालन गर्दा हिनताबोध हुन जरुरी छैन संस्कृति र संस्कारभित्र हुर्किँदै आएको चाडपर्वलाई र यसको सत्यतालाई बुझी रमाउन सिकौँ । अहंकार, घमण्ड र व्यभिचारी भावनालाई परित्याग गरी नैतिकवाण भई धर्म र संस्कृतिको संरक्षण गरौँ । एक अर्काका सहयोगी र सहचारी बनी आफूलाई प्रस्तुत गरौँ । यो वर्तमानले खोजेको सत्य हो । चेतना भया ।