‘खाद्यान्न पुग्छ, पुनर्वासका बारे सोचियोस्’

२०८३ भदौ १० तिब्बत तिरबाट भोटेकोशी नदीमा आएको बाढी, जो पछि त्रिशूली र नारायणी नदीमा पनि मिसियो । त्यो बाढीले निकै क्षति पु¥याएको छ भने त्यसपछि सिर्जित अवस्था पनि सामान्य छ । अहिले म नुवाकोटमा बसेर तपाईसँग कुरा गर्दै छु । अहिले यहाँको अबस्था तपाईले त्यहाँ बसेर सोचिँरहेको जस्तो खराब पनि छैन तर यहाँका हामी ढुक्कसँग बस्ने सक्ने अवस्था पनि छैन । हामी यो कहालीलाग्दो अवस्थामा बस्दा सम्भावना र आशाका साना सङ्केतलाई अत्यन्त सकारात्मक रूपमा लिएर बस्ने गरेका छौँ ।
उद्दार

उद्दारको सन्दर्भमा धेरै कुरा बाहिर आइसकेका छन् । आवश्यक समन्वय र दक्ष उद्दारकर्ताको समयमै व्यवस्थापन गर्न सकेको भए अझै धेरैको ज्यान जोगिन सक्थ्यो । अब त्यो सम्भावना समाप्त भइसकेको छ । त्यतातर्फ धेरै कुरा नगरौँ । शवको पहिचान र खोजीको कामलाई अगाडि बढाएर परिवारका सदस्यलाई सत्य अवस्थाको जानकारी सप्रमाण दिन सक्ने हो भने ठुलो कुरा हुन्थ्यो । त्यहाँ काम त भइरहेको छ तर पनि अझ बलियो समन्वय होस् भन्ने चाहना यहाँका मानिसमा देखिन्छ ।
राहत

राहत सङ्कलनका सन्दर्भमा त्यति समस्या देखिँदैन । म पत्रकार पनि हुँ र पीडित पनि हुँ । मैले पाएको सूचना र ममा जागेको विश्वासका आधारमा भन्नुपर्दा अहिले सङ्कलित खाद्यान्नले पीडितलाई झन्डै तीन महिनालाई पुग्छ तर यो वास्तविक पीडितसम्म पु¥याउने सन्दर्भमा भने सरोकारवाला गम्भीर र जिम्मेवार बन्नुपर्छ । अहिले राहत वितरणमा त्यति धेरै समस्या नभए तापनि वास्तविक पीडितको पहिचान गर्न भने स्थानीय सरकारसमेत गम्भीर हुन जरुरी छ ।

हुन त यो नैतिक कुरा पनि हो, नक्कली पीडित राहतका लागि लाइनमा बस्ने र पीडितको पनि एकै घरका तीन÷चार जनासम्म लाइनमा बसेको देखिन्छ । त्यति मात्र होइन, कम क्षति भएका र यो बेला घरमै बसेर काम चलाउन खान सक्ने पनि लाइनमा बस्न गएको देखिन्छ । यो लाजै नभएकाको सन्दर्भमा म अरु के नै भनुँ र ? डिजास्टरको बेलामा ‘टुरिस्ट पीडित’हरू पनि देखिँदा रहेछन् । ०७२ को भुकम्पमा पनि त्यस्ता पीडित देखिन्थे । अहिले पनि ती देखिन्छन् ।

सरकार

यहाँ प्रदेश सकारको उपस्थिति निकै राम्रो देखियो । बागमती प्रदेश मुख्यमन्त्री आफैँ प्रभावित क्षेत्रमा खटिएका छन् । नुवाकोटमा बागमती सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र पूर्व मन्त्रीको सङ्ख्या धेरै भएकाले पनि होला, त्यसो देखिएको । यातायातको वैकल्पिक व्यवस्थाका लागि तुइनको व्यवस्था पनि प्रदेश सरकारबाट भएको छ । स्थानीय सरकार पनि २४ सै घण्टा खटेको छ । आफ्नो क्षमता अनुसार उनीहरूको खटनपटनलाई हामीले सकारात्म रूपमै लिएका छौँ । सङ्घीय सरकारका संयन्त्र पनि क्रियाशील नै छन् ।

नेतृत्व

राजनीतिक नेतृत्व पनि पूरै फिल्डमा छ । वर्तमान सांसदहरूले भन्दा पूर्व सांसदहरूले अलि मेसो पाएको जसरी खटिएका छन् । नयाँ सांसदहरूको प्रयास र भूमिका नभएको त होइन तर उहाँहरूले त्यति मेसो पाएर काम गरेको भने देखिन्न । राजनीतिक परिवारहरू अर्जुन नरसिंहको परिवार, महत परिवा, हितमान मान्यज्युसहित उहाँका नेता कार्यकर्ताहरू मेयर, उपमेयरलगायर स्थानीय राजनीतिक नेतृत्वले सक्दो भूमिका निर्वाह गरिरहुनभएको छ ।

होल्डिङ सेन्टर

होल्डिङ सेन्टरमा खाना एकदम ठिक छ, विभिन्न सामाजिक संस्थाहरूले खुवाइरहेका छन् । पकाउने काममा पनि स्वयम्सेवकहरू खटिइरहेका छन् । बाढीबाट प्रभावित हुनुभएका होटेल व्यवसायीहरू पनि होल्डिङ सेन्टरको खाना व्यवस्थापनमा खटिइरहनुभएको छ । अहिले नुवाकोटमा २२ वटा होल्डिङ सेन्टर छन् । त्यसमा १६ सय बढी बसिरहेका छन् । सबै पीडित होल्डिङ सेन्टरमा बसेका छैनन् । कतिपय पीडितहरू नजिकका आफन्तकोमा गएर बसेका छन् । कोही काठमाडौंमा गएका छन् । बाढीबाट विस्थापित भएर जिल्ला बाहिर गएकाहरूको यकिन सङ्ख्या यहाँ कसैले पनि दिन सकिरहेको छैन । हामीले आफ्नो हिसाबले आँकडा निकाल्दा पनि त्यस्तो सङ्ख्या एक हजार माथि देखिन्छ ।

किरिया बस्न सुरु

लास पहिचान भएकाहरूको परिवारले काजकिरिया गर्न थालिसकेका छन् । आफ्नै आँखाले परिवारको सदस्यलाई बगाएको देखेकाहरू पनि कुशको लास बनाएर अन्त्यष्टि गरी किरिया बसेका पनि छन् ।
पुनर्वास अबको चासो र चिन्ता भनेको पुनरबासको हुनुपर्छ । तिहारपछि मात्र पुनरबास व्यवस्थित हुन्छ भन्छ स्थानीयले तर सबै तहका सरकारबिच आवश्यक समन्वय गरेर पुनरबासको कामलाई चाँडो गराउन सकेमा यहाँका पीडितलाई निकै सहज हुने थियो । अल्पकालीन र दीर्घकालीन योजना बनाएर यो काममा तदारुकताका साथ सबै तहका सरकार लाग्नु भन्ने हाम्रो चाहना छ ।

अब राहतमा दोस्रो चरण

पहिलो चरणको राहत अर्थात् खाद्यान्न झन्डै तीन महिनालाई पुग्छ भन्ने कुरा मैले अघि पनि भने । फेरि भूकम्पको समयको हाम्रो सिकाइ वा अनुभव के छ भने धेरै खाद्यान्न जुट्यो भने त्यो कुहिएर खेर जान्छ । त्यसकारण अब राहत दिनेले पनि र राज्यले पनि दोस्रो चरणको राहतको बारेमा सोच्नुपर्छ । त्यो भनेको के भने चामल, बिस्कुट, चाउचाउ, नमकिन होइन, अब नबिग्रने वस्तुको जोह गर्नु पर्ने भएको छ । जस्तो कि सिरक, ढसना, प्रेसर कुकरसहितका भाँडाकुँडा । अब राहतलाई दोस्रो चरणमा प्रवेश गराउनु पर्ने भएको छ ।

मिडिया

पत्रकारहरू आफैँ पनि पीडित छन् । तीन जना साथीहरू त हराउनु नै भएको छ । यहाँ स्थानीयस्तरमा काम गरिरहनुभएका साथीहरू आफ्नो बचेखुचेको स्याहार्न, परिवारलाई खाना र बसोबासको व्यवस्था गर्नमा व्यस्त छन् । सम्पूर्ण रूपमा रिपोर्टिङ गर्न सकिरहेका छैनौँ । यो बेला पनि महाभूकम्पमा जस्तै ‘टुरिस्ट मिडिया’ पनि बढी भयो । उनीहरूले न त यहाँको भूगोल थाहा पाउँछन्, न त वास्तविक पीडितलाई चिन्ने र उनीहरूलाई भेट्ने गर्छन् ।

बाटामा भेटिएकालाई ‘यसरी बोलिदिनुस्’ भनेर भिडियो खिच्ने गरेको देखियो । यस्तो ‘टुरिस्ट मिडिया’ले यहाँको अवस्थाको सही चित्रण गरिरहेको छैन । हामीलाई त स्थानीय सबै कुराको जानकारी हुन्छ । जस्तो कि आजै बिहान मैले तुप्चे, बेत्रावतीमा राहत त पुगेको छ तर पनि कम्प्लेन सुने, सुन्नासाथ समन्वय गरेँ । अवस्था सामान्य भयो । यस्तो बेलामा पत्रकारहरूको भूमिका लेख्ने कुराको सँगसँगै आवश्यक समन्वय गर्नु पर्ने पनि हुने रहेछ भन्ने अनुभव गरियो । आफ्नो पीडामा मात्र ध्यान दिने छुट हामीलाई हुँदो रहेन छ ।

नेपाल पत्रकार महासंघको भूमिका सकारात्मक छ । महाभूकम्पको बेला नआएको प्रेस काउन्सिल यो पालि आयो । यो सरकारात्मक ठानेका छौँ । अर्को भन्नै मन लागेको कुरा के भने यहाँ आउने मिडियाले अब यहाँको महासंघसँग समन्वय गरेर अनि यहाँ कार्यरत पत्रकारसँग पनि समन्वय गरेर आऊन् । यहाँको अवस्थालाई नै विचित्र र कुरूप बनाउने गरी कसैले समाचार सामग्री गर्ने अवस्था नहोस् भन्ने हामी यहाँका पत्रकारको चाहना छ ।

(गोरक्षका सम्पादक विपुल पोख्रेलले पत्रकार तथा बाढीबाट पीडित पत्रकार किरण अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश ।