विपद्का समयमा सञ्चारमाध्यम र पत्रकारको भूमिका अघिपछिको भन्दा निकै संवेदनशील, जिम्मेवार र महत्वपूर्ण मानिन्छ । विपद्का बेलामा एउटा सही सूचनाले जीवनरक्षा गर्न सक्छ भने एउटा गलत सूचनाले ठुलो अनिष्ट निम्त्याउन सक्छ । यति मात्र होइन सही उद्देश्य र मनसायले परिचालित भएको पत्रकार र पत्रकारिताले राहत र उद्धारमा प्रभावकारी निर्वाह गर्न सक्छ भने नकारात्मक सोच भएकाको गतिविधिबाट समस्या थप बल्झन सक्छ ।
नेपालमा बुधवार (२०८३ भदौ १०) तिब्बत तिरबाट भोटेकोशी नदीमा आएको बाढी (जो पछि त्रिशूली र नारायणी नदीमा पनि मिसियो) ले पु¥याएको क्षति र त्यसपछि सिर्जित अवस्थाका सन्दर्भमा पत्रकार र सञ्चारमाध्यमको भूमिका सम्बन्धमा बहस सुरु भएको छ । यो बहसमा केन्द्रित रहेर गोरक्ष दैनिकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झासँग कुरा गरेको छ । प्रस्तुत छ उहाँसँगको कुराकानीको सम्पादित अंश ।
विपद् के हो र यो बेलामा मिडिया र पत्रकारको भूमिका कस्तो हुनु पर्छ ?
प्राकृतिक विपद् भन्नाले सामान्यतया बाढी, पहिरो, भूकम्प, वा हिमपहिरो आदि भन्ने बुझिन्छ । यस्ता विपद् पूर्वसूचनाविना वा पूर्वतयारी नपुग्दै आउँछन् । हालै तिब्बत तिरबाट आएको बाढीले भोटेकोशी, त्रिशूली र नारायणी नदीमार्फत् विकराल अवस्था मात्र निम्त्याएन बरू यसले नेपाल भविष्यमा पनि विपद्को उच्च जोखिममा रहेको पुष्टि गरेको छ । यस्तो संवेदनशील अवस्थामा सञ्चारमाध्यम (मिडिया) केवल सूचनाको वाहक मात्र नभएर मानवीय सेवा, नागरिक सुरक्षा र सङ्कट व्यवस्थापनको अभिन्न अङ्ग बन्नुपर्छ ।
सायद विपद्मा पत्रकार र सञ्चारकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका यही हो । विपद्का बेला सनसनीपूर्ण समाचार बनाएर पत्रकार र सञ्चार संस्था ‘टिआरपी’ वा भ्युजका लागि मरिहत्ते गर्नेे होइन कि नागरिकको ज्यान जोगाउने र राहत तथा उद्धारलाई प्रभावकारी बनाउने दिशामा केन्द्रित हुनु वाञ्छनीय हुन्छ । विपद्को समयमा सञ्चारमाध्यमले तीन मुख्य चरणमा काम गर्नुपर्छ, पहिलो विपद्पूर्व, दोस्रो, विपद्को समयमा र तेस्रो विपद्पश्चात् ।
विपद् आउनु अघि जल तथा मौसम विज्ञान विभाग वा अन्य सरोकारवाला संस्थाले उपलब्ध गराएका सूचनालाई पत्रकारले गम्भीरतापूर्वक ग्रहण गरेर सर्वसाधारणले बुझ्ने सरल भाषामा तुरुन्त प्रसार गर्नु आवश्यक हुन्छ । हामीकहाँ विगतमा मेलम्ची नदीमा आएको बाढीबाट जोगाउन स्थानीय रडियोले निर्वाह गरेको सकारात्मक भूमिकालाई उदाहरणका रूपमा लिन सकिन्छ । यसै सन्दर्भमा पत्रकारले सत्य र तथ्यपूर्ण सूचना प्रवाह गरेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । भनिन्छ, ‘पत्रकारितामा जानकारी सत्य र वस्तुनिष्ठ मात्र भएर पुग्दैन, परिपक्व र आवश्यकतामा आधारित पनि हुनुपर्छ ।’
कहिलेकाहीँ सूचना सत्य हुँदाहुँदै पनि त्यसले समाजको तत्कालको आवश्यकतालाई सम्बोधन गर्दैन र त्यसले नकारात्मक प्रभाव पनि सिर्जना गर्न सक्छ भने त्यस्तो सूचना सम्प्रेषण नगर्नु नै उचित हुन्छ । यसैगरी अफवाह, भ्रामक खबर र काल्पनिक तथ्याङ्कलाई रोकेर आधिकारिक र प्रत्यक्षदर्शीका आधारमा सत्य सूचना प्रवाह गर्नेतर्फ सञ्चारकर्म केन्द्रित हुनु आवश्यक छ । विपद्पछिको अवस्थामा उद्धार र राहतमा समन्वय गर्न पनि पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ । बाढी वा पहिरो प्रभावित क्षेत्रमा अड्किएकाहरूको स्थिति र स्थानबारे उद्धार टोली (सेना, प्रहरी, स्थानीय प्रशासन) लाई खबर पु¥याउने र त्यस्ता टोलीबाट आवश्यक जानकारी लिई आमव्यक्तिसमक्ष पु¥याउन पनि मिडियाले पुलको काम गर्नुपर्छ ।
यसैगरी सम्बन्धित निकायलाई जवाफदेही बनाउने सन्दर्भमा पनि पत्रकार र मिडियाको निर्णायक भूमिका हुन सक्ने यथार्थलाई अस्वीकार गर्न सकिँदैन । राहत वितरणमा भएको ढिलाइ, विभेद वा भ्रष्टाचारबारे निगरानी गर्ने र पीडितका आवाज सरकारसम्म पु¥याएर मिडियाले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ । यसैगरी विपद्को त्रासबिच पनि उद्धारका सफल प्रयास, मानवीय सहायता र एकताका कथाहरू प्रसारण गरी समाजमा धैर्य र आशा जगाउने सन्दर्भमा पनि पत्रकार र मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
विपद्को समयमा पत्रकारिताको भूमिका, आचारसंहिताको पालना र स्वनियमनको महŒवलाई कसरी हेर्नुहुन्छ ?
त्यसो त पत्रकार आचारसंहिताको जहिले पनि जुनसुकै बेला पनि महत्वपूर्ण भूमिका हुन्छ तर विज्ञका अनुसार विपद्का बेलामा पत्रकार आचारको महत्व अझै बढ्दछ । यस्तो अवस्थामा पत्रकारले विवकेको प्रयोग गर्नु आवश्यक छ । हुन त हामीकहाँ प्रेस काउन्सिल नेपाललले जारी गरेको आचारसंहिता कार्यान्वयनमा छ तर विपद्का अवस्थामा त्यो संयन्त्रमात्र पर्याप्त नहुन सक्छ । निश्चय पनि आचारसंहिताको कार्यान्वयन निकै महत्वपूर्ण हुन्छ ।
आचारसंहिताको कार्यान्वयनले जहाँ एकातिर मिडियालाई विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पु¥याउँछ भने अर्कोतिर देश र समाजप्रति जिम्मेवार र उत्तरदायी बन्न पनि प्रेरित गर्दछ । आचारसंहिताको पालन एउटा सञ्चारगृहका लागि जति महत्वपूर्ण हुन्छ सञ्चारकर्मीका लागि पनि त्यति नै महत्वपूर्ण हुन्छ । यसले एक जना सञ्चारकर्मी वा पत्रकार कति व्यावसायिक र आफ्नो पेसाप्रति कति जिम्मेबार छ भन्ने कुराको मापन पनि गर्दछ ।
पछिल्लो समयमा मिडियामा स्वनियमनको विषय विश्वव्यापी चर्चामा छ । नेपालमा अलि ढिलो गरी बहस प्रारम्भ भएको स्वनियमनको सन्दर्भले सरोकारवालालाई सोच्न उत्प्रेरित गरेको छ । सायद अहिलेको भोटेकोशीको बाढी र त्यसपछि सिर्जित अवस्थामा नेपालमा स्वनियमनको बहस एक पटक पुनः सान्दर्भिक हुन पुगेको छ । नेपालमा यदाकदा स्वनियमनलाई स्वनियन्त्रणका रूपमा पनि बुझ्ने गरिएको छ, जो गलत हो । मिडियामा स्वनियमनको सामान्य अर्थ भनेको मिडिया र मिडियाकर्मीले उत्तरदायी र जिम्मेवार भई आफ्नो काम र भूमिका आफैँ निर्देशित गर्नु हो । अहिलेको अवस्थामा पत्रकार र मिडियाले हदैसम्मको ‘विवेक’ प्रयोग गरी स्वपरिभाषित रूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु अपरिहार्य छ ।
प्राकृतिक वा मानव सिर्जित विपद्का बेला नागरिकलाई सही सूचना दिएर ज्यान जोगाउने, उद्धारमा सहयोग पु¥याउने र पीडितलाई राहत दिलाउन पहल गर्ने जिम्मेवारी मिडियाको हो । यस्ता घटनामा पत्रकारले समाचार सङ्कलन, सम्पादन र सम्प्रेषण गर्दा विशेष ध्यान दिनुपर्छ । यस आलेखमा विपद्का बेला पत्रकार र मिडियाले निर्वाह गर्नु पर्ने भूमिका, अपनाउनु पर्ने सावधानी, सम्प्रेषण गर्नु पर्ने सूचना र सूचना प्रवाह गर्ने तरिकाबारे केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।
यो क्षण अत्यन्त संवेदनशील पनि हो । यो संवेदनशील क्षणमा पत्रकारले अपनाउनु पर्ने सावधानीहरू कस्ता कस्ता हुन् ?
विपद्का समयमा एउटा पत्रकारले आफ्नो दायित्व निर्वाह गर्नु निकै चुनौतीपूर्ण हुन्छ । अनेक समस्यासँग जुध्नु पर्ने हुन्छ । कहिलेकाहीँ त समाचार कि जीवन महत्वपूर्ण ? भन्ने प्रश्नसँग अलमलिनु पर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा काम गर्ने पत्रकारले निश्चय पनि ‘समाचारभन्दा जीवन महत्वपूर्ण’ भन्ने दर्शनमा आधारित रहेर भूमिका निर्वाह गर्नु उचित हुन्छ । पत्रकारले सबैभन्दा पहिला आफ्नै जीवनका बारेमा सोच्नु जरुरी हुन्छ । एउटा ‘स्कूप’को लोभमा परेर पत्रकारले जीवन गुमाउनु उचित होइन ।
बरू पत्रकारको जीवन रहे भविष्यमा त्यस्ता अनेकौँ स्कूप फेला पर्न सक्छन् भन्ने मान्यता आत्मसात गर्नु आवश्यक छ । समाचार सङ्कलनका सन्दर्भमा पत्रकारले जहिल्यै पनि जेखिमपूर्ण स्थानमा जानबाट पन्छिनु उचित हुन्छ । उर्लिरहेको बाढीको किनार, ढल्नै लागेका पुल वा पहिरो झरिरहेको भीरमा गएर रिपोर्टिङ गर्ने वा ‘लाइभ’ गर्ने जोखिम नलिनु उचित हुन्छ । यसैगरी समाचार सङ्कलनका सन्दर्भमा फिल्डमा जाँदा आफ्नो जीवनरक्षासँग सम्बन्धित विषयमा गम्भीर हुनु अपरिहार्य छ ।
जीवनरक्षक ज्याकेट, हेल्मेट, बलियो जुत्ता र प्राथमिक उपचार किट जस्ता सामग्रीको जोहो आवश्यक हुन्छ अनि समूहमा काम गर्ने अभ्यासलाई पनि यो समयमा बढावा दिनुपर्छ । विशेषतः विपद्का समयमा पत्रकार कहिल्यै पनि एक्लै फिल्डमा जानु उचित हुँदैन । समूहमा काम गर्नु सुरक्षित हुन्छ । आफ्नो अवस्थितिबारे आफ्ना सम्पादक वा सहकर्मीलाई निरन्तर जानकारी गराइराख्नु आवश्यक हुन्छ ।
पत्रकारिताले मानवीय संवेदनालाई सधैँ ख्याल गर्नुपर्छ र आचारसंहिता त पत्रकारको ‘गुरुमन्त्र’ नै भइहाल्यो । अब विपद्को समाचार सम्प्रेषण गर्नु भनेको फेरि पीडा नै लेख्ने हो, अभाव, समस्या नै लेख्ने हो । यो बेला मानवीय संवेदनालाई पत्रकारले कसरी ध्यान दिनु पर्ने हुन्छ जस्तो लाग्छ ?
माथि पनि चर्चा गरियोे, विपद्का समयमा पत्रकार आचारसंहिता र मानवीय संवेदनाको अत्यन्त बढी महत्व हुन्छ । पीडितको गोपनीयता र सम्मानको ख्याल गर्नु निकै जरुरी हुन्छ । क्षतविक्षत शव, रुँदै गरेका साना बालबालिका वा अचेत अवस्थाका पीडितको तस्वीर÷भिडियो सामग्रीको प्रयोगबारे पत्रकार गम्भीर हुनु आवश्यक हुन्छ । यसैगरी को सँग र कस्तो अन्तर्वार्ता लिने ? के कुरा गर्ने ? किन र कसरी कुरा गर्ने ? के सोध्ने भन्ने सन्दर्भमा पत्रकार संवेदनशील हुनु जरुरी हुन्छ ।
भर्खरै आफन्त गुमाएका व्यक्तिलाई ‘तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’ जस्ता अमानवीय र उद्वेलित बनाउने प्रश्न सोध्नुलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन । पत्रकारले मानवीय संवेदनालाई उच्च महत्व दिँदै भय उत्पन्न गराउनेखाले सामग्री सम्प्रेषण गर्नु हुँदैन । उत्तेजक शब्द (जस्तैः ‘सर्वनाश भयो’, ‘हाहाकार’, ‘खत्तम भयो, वर्वाद भयो’, ‘सबै सिद्धियो’) को प्रयोग नगरी शान्त र सन्तुलित भाषा प्रयोग गर्दा त्यसको सकारात्मक प्रभाव पर्नेतर्फ पत्रकार सचेत हुनु आवश्यक हुन्छ ।
सूचना पनि सापेक्ष हुनुपर्छ भन्ने मान्यता छ । यो बेला कस्ता सूचना सम्प्रेषण गर्दा यो मान्यतालाई बोकेको ठहर्छ ?
एउटा जिम्मेवार पत्रकारले यो प्रश्नको उत्तर खोजेर आफूलाई निर्देशित गर्नु उचित हुन्छ । स्मरण रहोस, विपद्का समयमा कस्ता सूचनाको सम्प्रेषण आवश्यक हुन्छ भन्ने निक्र्याैल गरेर पत्रकारले समाचार सङ्कलनमा जुट्नुपर्छ । विपद्को समयमा उपभोक्तालाई मनोरञ्जन वा उत्सुकताभन्दा पनि जीवनोपयोगी सूचना आवश्यक हुन्छ । आमव्यक्तिलाई तत्काल चाहिने सुरक्षा सूचना जस्तै नदी तटीय क्षेत्रका बासिन्दा कहाँ जाने ?
कुन बाटो प्रयोग गर्ने ? कसरी सुरक्षित रहने भन्ने विषय महत्वपूर्ण हुन्छ । मृत्यु, घाइते, बेपत्ता र भौतिक क्षतिको आधिकारिक र पुष्टि भएको तथ्याङ्क मात्र प्रकाशन÷प्रसारण गर्नु उचित हुन्छ । जिल्ला प्रशासन कार्यालय, रेडक्रस, प्रहरी, एम्बुलेन्स, उद्धार टोली र अन्य सरोकारवाला संस्थाका हेल्पलाइन र सम्पर्क नम्बरहरू प्रसारण÷प्रकाशन गर्दा प्रभावित क्षेत्रका वासिन्दालाई निकै मद्दत पुग्न सक्छ । मौसम र सम्भावित जोखिमको जानकारी नियमित रुपमा गराइरहनु उचित हुन्छ । यसले भविष्यका लागि आवश्यक रणनीति तयार गर्न मद्दत पुग्छ । जस्तै आगामी २४ देखि ७२ घण्टाको मौसम पूर्वानुमान र बाढीको सम्भावित बहावसम्बन्धी अद्यावधिक जानकारी सम्प्रेषणले ठुलो अर्थ राख्छ । यस्तै राहत र आश्रयस्थलसम्बन्धी जानकारी सम्प्रेषणले पनि प्रभावित क्षेत्र र व्यक्तिका लागि ठुलो महत्व राख्दछ ।
विपद्को बेला सूचना सम्प्रेषण कसरी गर्ने भन्ने तरिका अरू बेलाको भन्दा फरक हुन्छ कि हुँदैन ?
सूचना सही भएर मात्र पुग्दैन, सङ्कट र विपद्का बेला सूचना पु¥याउने तरिका पनि उत्तिकै प्रभावकारी हुनुपर्छ । पत्रकारले आफूले सम्प्रेषण गर्ने सन्देशका सन्दर्भमा छोटो र सरल वाक्य तथा प्रस्ट भाषको प्रयोग गर्नुपर्छ । प्राविधिक वा जटिल शब्दावलीको प्रयोगलाई परहेज गर्नुपर्छ । सञ्चारकर्मी र सञ्चारमाध्यमले आफ्ना सामग्री सार्वजनिक गर्नु अघि त्यसको पुष्टि गर्नु जरुरी हुन्छ । विपद्का बेलामा हल्लाका सामग्री धेरै हुन्छन् । अपुष्ट सूचना सामग्रीको बाढी नै हुन्छ । यति मात्र होइन, सामाजिक सञ्जालमा आएका पुराना वा अन्य देशका भिडियो÷तस्बिरलाई अहिलेकै भनेर पनि प्रशारण गर्ने गरिएको पाइन्छ । यस्ता सामग्रीलाई विनापुष्टि कुनै पनि हालतमा ‘स्रोत’ बनाइनु हुँदैन ।